सुनसरीमा आजभन्दा दशकअघि २०६७ सालतिर हो– दुई दिने वाम्बुले राई भाषिक तथा सांस्कृतिक कार्याशाला गोष्ठी भएको । गोष्ठीमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका कार्यबाहक अध्यक्ष गजुरधन राई, महासचिव गणेश राई र कोषाध्यक्ष जीवन हाताचो आउनु भएको थियो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष सदर राई, उबुले चौरासे राढु सुरिम उत्थान संघका अध्यक्ष जितबहादुर राई लगायत सुनसरीबासी वाम्बुले राईहरूको उपस्थिति रहेको थियो । त्यतिखेर हामी सुनसरीवासी वाम्बुले राईहरू उबुले चौरासे राढु सुरिम उत्थान संघअन्तर्गत संगठित थियौं । यही कार्यशालाबाट यो संघलाई विघटन गरी वाम्बुले राई समाज (वाम्रास) सुनसरीमा बिलय गरेका थियौं । विधिवत रूपमा शुभचन्द्र राईको नेतृत्वामा ११ सदस्यीय वाम्रास सुनसरीको नयाँ कार्यसमिति चयन गरिएको थियो ! कार्यसमितिमा म सहसचिव र पछि सचिव हुँदै तीन वर्षे कार्यकाल सम्पन्न गरेका थियौं । हाम्रो कार्यकालमा निक्कै कामहरू सम्पन्न भएको कुरा वाम्रास सुनसरीको मुखपत्र ‘स्याल्मो’ स्मारिकाले प्रमाणित गर्दछ ।
वाम्रास सुनसरी जिल्लाभित्र रहेका वाम्बुले राईहरूलाई संगठित गर्नु मुख्य उद्देश्य हो । वाम्रास केन्द्र काठमाडौंमा भएकाले पूर्वान्चलका विभिन्न जिल्लामा रहनु भएका वाम्बुले राईहरूलाई ‘हामी वाम्बुले राई’ भनेर जगाउने जिम्मेवारी आइलाग्यो । वाम्रास सुनसरीको नेतृत्वमा विभिन्न जिल्लामा पुगेर वाम्रास जिल्ला कार्यसमितिहरू गठन गर्न तम्सियौं । ती कार्यसमितिहरू हाल चलायमान छन् या छैनन् मलाई थाहा छैन । तर पनि मैले केही लेख्ने जमर्को गरेको छु ।
वाम्रास तेह्रथुम जिल्ला कार्यसमिति गठन
मिति २०६७ फागुन २७ गतेका दिन वाम्रास सुनसरी सहसचिव रामकर राई र म धरानबाट बिहान ७ बजे कुम्लोकुटुरो बोकेर थोत्रो बुढो इन्ताइसर बाईकमा उकालियौं । गफगाफ गर्दै बिसाउँदै संस्थाको पहिलो जिम्मेवारी बोकेर साँझ करिब ५ बजेतिर हामी तेह्रथुमको औंसीडाँडा पुग्यौं । म्याङलुङबाट औंसीडाँडा सम्मको यात्रा भने निक्कै कठिन थियो । भखरै बनेको बाटोमा हिंड्न असजिलो पक्कै हुन्छ । जसोतसो पुग्यौं । तत्कालीन वाम्रास सचिव गंगाबहादुर राई सरसँग भेट भयो । उहाँले दिनु भएको लोकेसनअनुसार हामी ओरालो झ¥यौं । भोलिपल्ट हुने भेलाको निम्तो दिएर हामी डेढ घण्टा पैदल यात्रा ओरालो लाग्यौं । झपक्कै साँझमा हामी उपो बीरबहादुर राईको घरमा बास बस्न पुग्यौं । त्यो रात त्यतै हाम्रो खान्तेपिन्तेको व्यवस्था भएको रहेछ । त्यहीं हामीले दिनभरिको थकान मेटायौं ।
भोलिपल्ट २०६७ फागुन २८ गते धेरै छलफल अनि रस्साकस्सीबिच कुलबहादुर राईको नेतृत्वमा ९ सदस्यीय वाम्रास तेह्रथुम जिल्ला कार्यसमिति गठन ग¥यौं । करिब १ बजेतिर त्यो मैतप्पा भन्ने गाउँबाट पुनः गंगाबहादुर सरसँग उकालो लाग्यौं । औंसीडाँडाबाट ३ बजेतिर बिदा भएर धरान फर्कियौं । तर बिच बाटोमा खुरूङ्ग खोला ओरालोमा एक्कासि बाइक बिच्क्यो । स्टार्ट हुनै मानेन । फकाइयो तर पिटिक्कै मानेन । अनि खोलाबाट उकालो ठेल्ने क्रम मच्चियो । साथी रामकर पनि ठेल्नु परेकोमा निक्कै बिच्कियो । तर के गर्नु उपाय नास्ती । साँझ ६ बजिसकेको थियो । बस्ने टुंगो थिएन । बाइक ठेल्दै सास्ती भयो । अलिक मास्तिर उक्लेपछि यसो उकालो हेरेको हली मेलामा होटेल देखियो । लु जेसुकै होस् भनेर खेतको कुनामा बुढो इन्ताइसरलाई थन्काएर हामी होटेल हेर्दै उकालो लाग्यौं । बल्लबल्ल खाने बस्ने जोहो भयो । खल्ती पनि त्यत्ति गतिलो न भएकोले त्यो रात जिउ दुखाईको दबाई चढाउन सकेनौं ।
भोलि २९ गते बिहान ६ बजे उठेर बाइक स्टार्ट ग¥यौं । तर फिटिक्कै मानेन । उकालो धकेल्दै होटेलसम्म ल्याइम । उपाय खोज्दै म्याङ्लुङको एकजना मिस्त्रीको फोन नम्बर पायौं । दिउँसो ३ बजे आइपुग्यो । यसो प्लग फेरेर लात्ती हानेको मात्र इन्ताइसर स्टार्ट भयो । अनि हामी हुइकिम धरानतिर । खोइ किन हो फेरि समस्या आयो । तैपनि धनकुटा ओरालो भएकोले ठेल्नु परेन । फेरि मिस्त्रीलाई देखायौं, उही प्लग खराब बिहान एउटा प्लगको १००० रूपैयाँ लियो । त्यहा भने २०० सयमात्र लियो । अनि अमिलो मन पार्दै झ¥यौं । धरान साँझ ८ बजेतिर आइपुग्यौं । यो कठिन यात्रा थियो हाम्रो लागि । तर आफ्नो बंश खोज्ने क्रममा भएकोले खासै दुःख भने लागेन । आज भोलि त्यो हाम्रो तेह्रथुमका वाम्बुलेहरूसँग कतिको सम्पर्क हुन्छ हँुदैन थाहा छैन । म पुन वाम्रास सुनसरीको सचिव पदमा रहेर काम गर्दैछु तर पहिलाको जस्तो ममा जाँगर छैन किन हो ! समय, उमेर, परिस्थिति वा बंशको संरक्षणमा दोहोरो आवश्यकता आदि इत्यादि कारण हुनसक्ला ।
वाम्रास मोरङ जिल्ला कार्यासमिति गठन
सुनसरीको छिमेकी जिल्ला मोरङस्थित पथरी शनिश्चरे भन्ने ठाउँमा धेरै वाम्बुले राईहरूको बसोबास रहेको छ । हामी तेह्रथुमबाट फर्केलगत्तै मोरङ जाने सल्लाह भयो । २०६७ चैत्र ५ गते अध्यक्ष शुभचन्द्र राई, म, रामकर, रेखा भाउजू, कुमार दाइ र साधारण सदस्य दुर्गा राई गरी ६ जनाको टोली शनिश्चरे हानियौं । त्यहाँ निक्कै लामो छलफलपछि कुमारी राईको नेतृत्वमा ९ सदस्यीय वाम्रास मोरङ जिल्ला कार्यसमिति गठन ग¥यौं । निक्कै घना बस्ती भएको हिसाबले त्यहाँ वाम्बुले राईहरूको राम्रै जमघट भएको महशुस हुन्छ अहिले पनि ।
वाम्रास सुनसरीले चौथौ अध्यक्ष पाइराखेको अवस्थामा म पुनः सचिव पदमा आएको छु । तर मैले खासै केही बुझेको छुइन । अहिलेको वाम्रास केन्द्रको गतिबिधिहरू सुनसरीसँगै समान हैसियत अनि एकै वर्ष गठन भएको अन्य जिल्लाहरूले कतिजना अध्यक्ष फेरि सक्यो ? नियमसंगत संस्था चलिरहेको छ÷छैन ? सम्मेलन भएको छ÷छैन ? कतिको हिसाब राखेको छ ? केन्द्रले अब आउने वाम्रास राष्ट्रिय सम्मेलनमा पक्कै प्रतिवेदनमा ल्याउला । हामी पर्खाइमा छौं । अर्को कुरा मोरङमा धमाधम वाम्रास भवन निर्माण हुँदैछ भन्ने सुनेका छौं । धरान अनि पानबारीबाट पनि केही सहयोग भएको हुन सक्छ । भवन निर्माण पक्कै पनि राम्रो अनि सकारात्मक छ । तर मेरो एउटा कुरा के हो भने कमसेकम भवन निर्माण हुँदै गरेको अनि वाम्बुले राईहरूको घनाबस्ती भएको ठाउँमा वाम्रास निस्क्रिय रहनु भनेको केको संकेत होला हजुर ? वाम्रास केन्द्र अनि मोरङसँग मेरो प्रश्न रहेको छ ।
इलाम वाम्रास जिल्ला कार्यसमिति गठन
ट्याक्कै मिति यकिन मलाई रामकर र म पुनः मेरै बुढो इन्ताइसर बाइकमा झापा अनि इलामतिर वाम्बुले राईहरूको खोजीमा निस्कियौं । बिहान ६ बजे धरानबाट हिंडेको ३ दिनपछि मात्र धरान फर्कियौं । सुरुको दिन झापाको धरमपुर, पाराबारी सक्यौं । भोलि पल्ट तघनडुब्बा हुँदै इलामको फिक्कलको आरूबोटे पुग्यौं । त्यहाँ पुग्दाको क्षण स्मरणीय छ । जसोतसो सोधपुछ गर्दै पुग्यौं । याङनाममा हामीले डाटा संकलन ग¥यौं । अहिले नेपाल सरकारको अधिकृत दशरथ राईको गाउँघर हो यो । त्यसपछि हामी चौरासे गाउँ पुग्यौं । त्यहाँ छिर्नेबित्तिकै हामीलाई कहाँ कता किन आको भन्ने सोधनी भयो । हामीले सारा कुरा सुनायौं । त्यसपछि कुन सस्थाबाट कति पैसा लिएर आयौ ? हाम्रो नाम टिपोट गरेर पेट पाल्ने काम त होला ? भन्ने कुराहरू पनि निस्कियो । तर हामी नआत्तिइकन हाम्रो कुरा निर्धक्क राख्यौं । अन्तमा एउटा सर्त मान्नु पर्ने भयो । हामी अतालियौं पनि । तर सर्त सुनेपछि भने खुसी लाग्यो । सर्त थियो, यदि वाम्बुले राई हो भने आफ्नो भाषा बोल्ने बुढी बजुसँग बोल्नु पर्ने । हामीले उहाँलाई बोलाउनु भनी सकेपछि उहाँ आउनु भयो । केही कुरा जस्तै पानी, आगो, घर अनि एक दुईवटा कुरा सोध्नु भयो । त्यसपछि भने बल्ल विश्वास भयो उहाँहरूलाई । हामी को हो भनेर । अनि हामीले नि केही कुराहरू उमोसँग ग¥यौं । कहाँबाट आउनु भयो ? कति सालमा यता बस्नु भयो ? अनि केही कुरा भएपछि हामी त्यताको जनसंख्या टिपोट ग¥यौं । अलिक पछि वाम्रास इलाम कार्यसमिति गठन गर्ने बाचासहित फर्कियौं । अहिले उहाँ बुढी बजु हुनुहुन्छ या हुनुहुन्न थाहा छैन । त्यसबेला हामीलाई सहयोग गर्नु हुने भाइ पुरन राईलाई सलाम छ !
हामीले जनसंख्या टिपोट सकेको १ दिनपछि २०६७ चैत्र ११ गते धरानबाट हामी २ जना नम्बरी उही भटभटेमा इलाम हुइाकियौं । तत्कालीन जिल्ला सदस्य कुमार दाइ भने बसमा जानुभयो । बेलुका ६ बजेतिर इलामको फिक्कलस्थित आरूबोटेमा कुमार दाइको पल्टनको साथीको घरमा खानपिन ग¥यौं । त्यसपछि ७ बजेतिर चौरासे गाउँतर्फ लाग्यौं । त्यहाँ हाम्रो बसाई सुबास चौरासेको घरमा हुने भयो । खाना खाइसकेकोले गर्दा एकछिन गफ गरेर ओछ्यानमा पल्टियौं । हाम्रो योजनाअनुसार भोलि बिहानै वाम्बुले राईहरूलाई भेला भयौं । सुबास चौरासेको नेतृत्वमा ९ सदस्यीय वाम्रास जिल्ला कार्यसमिति गठन ग¥यौं ।
हामी फेरि झापातर्फ झ¥यौं । झापामा वाम्रास सुनसरी अध्यक्ष शुभचन्द्र पापजेठाले सुरूङ्गामा पर्खिराख्नु भएको थियो । करीब १ बजेतिर सुरूङ्गा पुग्यौं । भेट भएपछि हामी धरमपुरतिर लाग्यौं । त्यहाँ हाम्रो मान्छेहरू हाम्रो पर्खाइमा थिए । तर वाम्बुले साथीहरूले अघि वाम्बुले नास्तापानीले टिनिक्कै भैसकेका रहेछन् । फोनमा कुरा त राम्रो भएको थियो । त्यहाँ पुग्दा कुरा कता कता घुम्यो । तैपनि सबैलाई सम्झाई बुझाई हामीले ३ घन्टाको छलफल चलायौं । अन्तमा जितेन्द्र राईको अध्यक्षतामा ९ सदस्यीय वाम्रास झापा जिल्ला कार्यसमिति गठन गरेर फर्कियौं । स्मरण रहोस् उहाँहरू तेह्रथुमबाट झर्नु भएको वाम्बुले राई हुनुहुन्छ ।
धनकुटा वाम्रास जिल्ला कार्यसमिति गठन
सम्पर्क भए जति जिल्लाहरूमा हामी पुग्यौं । धनकुटामा रहेका वाम्बुले राईहरूसँग निक्कै प्रयासपछि बल्लबल्ल सम्पर्क भयो । २०६७ चैत्र १९ गतेलाई साइत जु¥यो । उही दुई भाइ म र रामकर फेरि त्यही बुढो इन्ताइसर बाइकमा उकालो लाग्यौं । तम्मर खोलाबाट उकालो लागेपछि अलिक मास्तिरबाट हामी देब्रे कच्ची बाटो लाग्यौं । धुलो, ठाउँ ठाउँमा हिलो अनि ढुङ्गा पारगर्दै हाम्रो वाम्बुले बस्ती सोधपुछ गर्दै अघि बढ्यौं । निक्कै लामो बाइक गुडाइपछि बाइक बिसाएर उकालो पैदल बाटो हिंडाइ मच्चियो ।
उकालो बाटो आधा सासमात्र बाँकी रहँदा बल्ल हाम्रो वाम्बुले भेला भएको ठाउँ पुग्यौं । बिपी राईको नेतृत्वमा ७ सदस्यीय वाम्रास धनकुटा जिल्ला कार्यसमिति गठन ग¥यौं । त्यसपछि हामी त्यहाँबाट बिदा भयौं । उही ओरालो बाटो हुँदै बुढो बाइक चढेर तम्मर तीरैतीर हामी मुस्किलले साँझ धरान आइपुग्यौं ।
हाम्रो मान्छे खोज्नलाई नि निक्कै समस्या भयो । ज्यानले दुःख भोगेको छ । आफ्नो समुदायको लागि मैले र रामकरले निक्कै दुःख गरेका छौं । समुदायको निम्ति मेरो इन्ताइसर बाइकले निक्कै सहयोग गरेको छ । पछि विदेश जाने बेलामा बेच्दाखेरी जम्मा ५ हजार मरेर पाएको छु । त्यो पनि किस्ता किस्तामा ।
अन्तमा, खोइ किन हो म को हुँ भनेर आफूलाई नचिन्ने । अनि म हुनुमा गर्व नगर्ने । आफ्नो भाषा, धर्म, संस्कृति, मुन्दुम परम्पराप्रति लगाब नगर्ने । आफ्नाहरूलाई तिरस्कार अरूलाई सम्मान गर्ने । आफ्नो समुदाय अनि आफ्नो जिम्मेवारीप्रति इमान्दार नहुने हाम्रो समुदाय देखेर मलाई अचम्म लाग्छ ! अहिले म पुगेको ठाउँका नेतृत्वलाई सम्पर्क गर्दा कोही कसैसँग हुँदैन । मात्र इलामको सुबास चौरासे सरसँग घरी घरी कुराकानी हुन्छ । अन्य जिल्लाका नाताआफन्तहरूसँग कुरा हुन सकेको छैन । वाम्रास केन्द्रले पनि पक्कै सम्पर्क गर्दै खोज्दै होला । म विस्वस्त छु । अनि हाम्रै सुनसरीमा पनि तेह्रथुमबाट झर्नु भएका वाम्बुले राई दाजुभाइहरूसँग त्यत्ति राम्रो सहकार्य भइराखेको छैन । साथीहरू हामीबाट टाढा हुँदैछ्न । सुन्दैछु साथीहरूले आफैंले पित्री पुस्तक निर्माण गर्दैछन् रे । प्रकाशित भइसक्यो या हुनेवाला छ थाहा छैन । साथीहरूसँग निक्कै पल्ट बसेर छलफल गर्न खोजियो तर मिलिरहेको छैन । समय पाएका छैनौं, वाम्रास सुनसरीले । कुनै दिन होला, छलफल ।
उतिबेला राष्ट्रिय जनगणना २०६८ को बेला थियो । त्यति गर्न सकेकोले वाम्बुले राई भाषा बोल्नेको संख्या ९ हजारले बढेर १३ हजार ४ सय ७२ जना पुग्न सक्यो । अब फेरि २०७८ जेठ २५ गतेदेखि असार ८ गतेभित्र १२औं राष्ट्रिय जनगणना हुने तयारीमा छ । पक्कै पनि अब एक वर्षभित्र वाम्बुले राईहरूको व्यापक भेटघाट, कुराकानी हुने नै छ । हामी वाम्बुले राईहरूबीच सधैं पुस्तौं पुस्तासम्म वाम्बुले राई नै भएर रहन के के गर्नु पर्ने हो ? यी यस्ता कुराहरूमा वाम्रास केन्द्रको पनि ध्यानाकर्षण होस् भन्ने मेरो अनुरोध छ । बस इति !
जय वाम्रास ! जय वाम्बुले !
धरान उपमहानगरपालिका–६ पानबारी, सुनसरी