उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

अन्तराष्ट्रिय

लिभु संवाददाता
छेन्दु, चीन – चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गर्नुभएको । उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गर्नुभएको हो ।

चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवम् विविध सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान संझौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताउनुभयो । उहाँले चिनियाँ बन्दरगाहा प्रयोग सम्बन्धी संझौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा हस्ताक्षर भएपछि नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताउनुभयो ।

उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै लासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताउनुभयो । ‘अवश्य पनि यसबाट नेपाललाई पनि ठूलो लाभ हुनेछ’, उहाँले भन्नुभयो ।

उपराष्ट्रतिले अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड दिनुहुँदै केरुङ नाकाको स्तरोन्नती, ओलाङचुङगोला लगायतका नाका सञ्चालनमा जोड दिनुभयो ।
उहाँले नेपालले बुधबार नै संविधान दिवस मनाएको स्मरण गर्नुहुँदै संविधान जारी, तीन तहको निर्वाचन र स्थायी सरकार बनेपछि नेपालको एकमात्र ध्यान आर्थिक समृद्धि भएको बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै नेपालका समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले चीनसँग नेपालका ठूलो व्यापार घाटा रहेको उल्लेख गर्नुहुँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस् पहल गर्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपतिले नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण रहेको उल्लेख गर्नुहुँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्नुभयो । उहाँले नेपालको जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनका घनिष्ठ र साझेदारी देश भएको बताउनुभयो । उहाँले नयाँ युगमा चीन नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउनुपर्ने बताउनुभयो । उहाँले बेल्ट एण्ड रोड एनिसियटिभको कार्यक्रम मार्फत नेपालसँगको परम्परागत सम्बन्धलाई चीनले नयाँ उचाईमा उठाउन चाहेको बताउनुभयो ।

उपप्रधानमन्त्रीले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ् समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा खेलेको प्रभावकारी कदमका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालमा स्वतन्त्र तिब्बत सम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

उपप्रधानमन्त्रीले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवन स्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न चीनको सहयोग रहने बताउनुभयो । उहाँले नेपालमा चीनको विभिन्न परियोजनाहरु सञ्चालनमा रहेको स्मरण गर्नुहुँदै भूकम्पपछिको पुनःनिर्माणको लागि भएका संझौताहरु कार्यान्वयनमा रहेको उल्लेख गर्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग बढाउन सकिन्छ की भन्नेमा छलफल भईरहेको समेत बताउनुभयो ।

उपप्रधानमन्त्रीले काठमाडौंसम्म रेल पु¥याउन भईरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै चीन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुले प्रोत्साहन गरिरहेको बताउनुभयो ।

१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुग्नुभएको थियो । उहाँले बिहीबार मेलाको उद्घाटन समारोहलाई संबोधन गर्नुहुने कार्यक्रम रहेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जनाउनु भएको छ ।

फोटो क्याप्सन – उपराष्ट्रपति नन्दबहादु पुन पासाङसँग शिष्टाचार भेटको क्रममा चीनका उपप्रधानमन्त्री हुन छुन्ह्वा । सौजन्य – उपराष्ट्रपतिको प्रेस संयोजक

Leave a Reply

Your email address will not be published.