उपराष्ट्रपतिज्यूको यिपिन भ्रमण

अन्तराष्ट्रिय

नेपाली विद्यार्थीसँग अन्तरक्रिया
लिभु संवाददाता
यिपिन, सिचुवान– चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।

यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ सहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको सहर भनेर चिनिन्छ ।

उपराष्ट्रपतिले शनिबार विहान सिचुवान यूनिभर्सिटी एण्ड ईन्जिनियरिङको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा उहाँलाई विश्व विद्यालयलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले स्वागत गरे ।

नेपाली विद्यार्थीहरुसँग संक्षिप्त अन्तरक्रिया गर्नुहुँदै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा लिएर नेपालको शीर उचो राख्न आग्रह गर्नुभयो । उहाँले यिविन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान यूनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताएको सुनाउनुहुँदै थप प्रगतिका लागि शुभकामना दिनुभयो ।

‘हिजो मैले यहाँका नगर सेक्रेटरीसँग भेटेँ, उहाँले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको सुनाउनुभयो, यो हाम्रो लागि ज्यादै खुशीको कुरा हो,’ उपराष्ट्रपतिले भन्नुभयो, ‘तपाईंहरुले अझै राम्रो गर्नुस्, तपाईंहरुले राम्रो नतिजा ल्याउन अरु नेपाली विद्यार्थीलाई पनि यहाँ आउन सहज हुन्छ ।’

विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूहरुले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्व विद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताउनुभयो । सो अवसरमा विश्वविद्यालयका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिविङ मेले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताउनुभयो ।

उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाईल र लिगो मोबाईल उत्पादन उद्योगको अवलोकन भ्रमण गर्नुभयो । उहाँले चीनको सबै भन्दा लामो नदि याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गर्नुभयो ।

उपराष्ट्रपतिले शनिबार नै आधुनिक चीनका भवन निर्माण डिजाईनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गर्नुभयो । लियाङ चीन जापान युद्धको बेला बेईजिङबाट याङसी नदिको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उनले त्यहीं बसेर आधुनिक चीनको भवनहरुको डिजाईन गरेका थिए ।

उपराष्ट्रपतिले चीन जापान युद्धको क्रममा बेईजिङबाट लिच्वाङमा सारिएका विभिन्न विश्वविद्यालयका अवशेष तथा हाल ती विश्वविद्यालय सम्बद्ध कलेजहरुको अवलोकन भ्रमण गर्नुभयो । उहाँले करिब दुई सय वर्ष पूरानो बस्ती सिजको पनि भ्रमण गर्नुभयो ।

उपराष्ट्रपति शुक्रबार साँझ यिपिन आईपुग्नुभएको हो । उहाँको सम्मानमा शुक्रबार यिपिन नगर सरकारले रात्रीभोज दिएको थियो । उहाँ आईतबार छेन्दु फर्कनुहुने उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जनाउनु भएको छ ।

फोटो ः लिनकाङ आर्थिक क्षेत्रमा रहेको प्रविधियुक्त सामाग्री र लिगो मोबाईल उत्पादन उद्योगको अवलोकन भ्रमण गनुहुँर्दै उपराष्ट्रपति ।

Leave a Reply

Your email address will not be published.