गोपाल छाङ्छा
काठमाडौं – प्राचीनकालदेखि नै अस्तित्वमा रहेको किरात लिपीलाई आजका केही लिम्बु लेखकहरुले लिम्बू लिपी भनेर लेख्न थालेका छन् । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेकको कमी हो ? हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होइन । यस्ता विवादले किरात जातिको एकतामा पूर्णत्व आउन सक्दैन । यसो भएमा हामी शुन्यकै अवस्थामा बिलय हुनेछौं ।
हनत हामीले यस्तो स्थितिको सृजना गर्नु हुँदैन भन्ने मेरो मनसाय हो । तर आज ‘किरात लिपी’ जबरजस्त लाद्न खोजिएको देखिन्छ ।
यथार्थमा यदि ऐतिहासिक तथ्य हो भने ‘लिम्बू लिपी’ कसैको बाध्यता हुन सक्दैन । सत्य कुरालाई बंग्याएर हाम्रो स्वाभिमानभित्र कलंकको छाप पर्न दिनु हुँदैन । कि त राईहरु चुपचाप, शान्त भएर बस्नु पर्ने हो की ? कि त एउटा साँघुरो मस्तिष्क भित्र आएको कुरालाई के हो भनेर चित्त बुझाउनु पर्यो । कि त छाडी दियौं यस्ता कुरा भन्नु पर्ने हो । यस्तै हो भने बिनोवाभावेले भने जस्तै हुन सक्छ । विनोवाभावेले भनेका छन् “… इतिहासको सवक सिक्न नसके इतिहास दोहोरिन्छ ।”
यहाँ अब ‘लिम्बू लिपी’ बारेमा केही कुराहरु उल्लेख गर्न चाहान्छु । भारत सिक्किमका भूपू मुख्यमन्त्री सन्चमान लिम्बूले ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर बारम्बार भनी राख्नु भएको छ । यसरी नै पाँचथर घर हाल काठमाडौं बस्नु भएको कवि, साहित्यकार बैरागी काइला र दार्जीलिङ्ग मिरिकका विरही काइलाले पनि ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर ठोकुवा गरेका छन् । यसैक्रममा झापा विर्तामोडका टिकमध्वोज लिम्बू भुवन चन्द्र लिम्बू र अमित लिम्बू समेत तीन जनाले संयुक्त रुपमा “किरात लिम्बू वर्णमाला” वि.सं. २०६० सालमा प्रकाशित गरेका छन् । यसरी नै वि.सं. २०६० सालको “फाल्गुनन्द विशेषांकमा पाँचथर नागीका योङहाङ मच्छिन्द्र लिम्बूको पनि ‘युग पुरुष फाल्गुनन्द’ शीर्षक लेखको एक ठाउँमा महागुरु फाल्गुनन्दको बारेमा यसरी लेखेका छन् । “धर्मको कर्मकाण्ड आफ्नै लिम्बू भाषामा तयार गरी श्रीजंगा लिपीको प्रचार–प्रसार आजीवन गर्नुभयो ।”
वास्तवमा केही लिम्बू लेखकहरुले ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भन्नुको अर्थ के हो ? यदि योङहाङ मच्छिन्द्र लिम्बूले भने जस्तै किरात धर्मको सम्पूर्ण कर्मकाण्ड लिम्बू भाषामै लेखिएको हो भने हामी राई जातिलाई स्वीकार्य हुने छैन । किनभने राईहरुको पनि आफ्नै भाषा छ । तर भाषा अलग भए पनि लिपी एउटै हो भन्ने सम्झनु पर्दछ । बितेका गौरवलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । ऐतिहासिक तथ्यलाई हेर्दा हामी, राई, लिम्बू सबै किरात हौं । आजसम्म हामीले जानेका बुझेका ‘किरात लिपी’ भनेर भ्रम एवं अन्यौलमा पार्न खोज्नु ‘फुटाऊ र शासन गर’ भन्ने सोँचको उपज हो । यसरी फुट गाराउने तत्वसँग हामी सँधै सजग रहनु पर्दछ । किनभने हामी राई, लिम्बू ‘किरात हौं’ भन्ने कुरा स्वीकारी सकेका छौं । यदी यो यथार्थतालाई बुझ्न सकनौैं भने भोलिको दिनमा किरात इतिहास कलंकमा दरिन पुग्दछ । त्यतिबेला विश्वकवि रविन्द्रनाथ टेगौरले भने जस्तै हुनेछ । विश्वकवि टेगौरले भनेका छन्ः “… यदि सूर्यलाई गुमाएर आँसु बगाउँछौं भने तिमीले तारा पनि गुमाउनेछौं …।”
किरात लिपीको वास्तविकताः
हिजोआज हामी बीच चलन चल्तीमा आएको लिपीलाई ‘किरात लिपी’ भनेर लेखिएको उदाहरणहरु प्रसस्त देखिन्छन् । किरात भाषाविद् एवं इतिहासकार इमानसिंह चेम्जोङले आफ्ना कतिपय पुस्तकहरुमा ‘किरात लिपी’ नै लेखेका छन् । यसबाहेक लेफ्टिनेन्ट कर्णेल भन्सिटार्ट, डा.ब्राइन हडसन, कर्णेल कर्कपेट्रिक, प्रेफेसर आर.के. स्प्रींग, मेजर डब्लु क्रुक, क्याप्टन सी.जे. मोरिस, डा.कमला साकृत्यायन आदि विदेशी विद्वानहरुले पनि किरात जाति र किरात लिपीको बारेमा खोज अनुसन्धान गरी आ–आफ्नो पुस्तकमा स्पष्ट गरी सकेका छन् । वर्तमान किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङले पनि ‘किरात लिपी’लाई समर्थन गरी सक्नु भएको छ । तब हामी ‘लिम्बू लिपी’ भनेर किन लेख्ने ? फर्केर हेर्दा ‘किरात लिपी’को हस्त लिखित पुस्तकहरु लण्डनको ‘इण्डिया लाइब्रेरीमा’ सुरक्षित रहेको छ भनिन्छ । वास्तवमा किरात जातिको भाषा, लिपीको खोज अनुसन्धान उल्लिखित विदेशी विद्वानहरुले गरेका हुनाले नै यस बारे जान्न बुझ्न हामीलाई सहज सुविधा भएको छ ।
फेरि फर्केर हामी ‘किरात लिपी’ कै प्रसंगमा जाऊँ
तत्कालिन श्री ५ को सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभाग, राष्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशन गरेको ‘लिपी विकासको तालिका’ अहिलेको सन्दर्भमा हेर्न बुझ्न ज्यादै आवश्यक छ । त्यस तालिकामा नेपालमा लिच्वी पूर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंशकालसम्म र चलनचल्तीमा आएको ब्राह्मी, पूर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रञ्जना, भूजिमो, नेवारी, मैथिली, तिब्बती, नन्दिगिरी, देवनागरी समेतका लिपीहरु उल्लेख भएको पाइन्छ । तर त्यो लिपी सरसर्ति हेर्दा त्यहाँ राई लिपी र लिम्बू लिपीको अस्तित्व नरहेको देखिन्छ । अतः किरात इतिहासको मूल्य मान्यता एवं भाषा लिपीको अस्तित्व नरहेको देखिन्छ । किरात इतिहासको मूल्य मान्यत एवं भाषा लिपीको मान्यतामाथि खेलवाड गर्नु गराउनु हास्यास्पद हुन जानेछ । यस्तै क्रियाकलापमाथि मध्यनजर राख्दै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितामा कवि भूपी शेरचनले यस्ता कुरा लेखेका होलान् “हामीले आफ्नो पूर्व स्मृति गुमाई सक्यौ, हामीले आफ्नो विगत उचाइलाई बिर्सि सक्यौं ।”
अन्त्यमा उल्लिखित कुराहरुलाई हामी सम्पूर्ण किरातीहरुले मनन गर्नु पर्दछ, बुझ्न पर्दछ । किनभने हामी किरात–किरात नै हौं । किरात लिपी, लिम्बू लिपी र श्रीजंगा लिपी भनेर तर्क बहस गरिरहनु राम्रो होइन । हामीले सद्भाव, सचेतना र एकताको भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिले उपेक्षा गरिनु हुँदैन । इतिहास हेरेर केही लिम्बू लेखकहरुले ‘किरात लिपी’ भनेर लेख्न थाल्यो भने राईहरुले पनि भोलिका दिनमा ‘राई लिपी’ खोज्न थाल्नेछ । हामीबीच यस्तो भयो भने हाम्रो किरात अस्तित्व च्याङलिएको थाङ्ना जस्तो हुन जानेछ । तसर्थ अब आडम्बरको पराकाष्टमा पुगेर किरात इतिहासलाई खोक्रो प्रतिक बनाउनु हुँदैन ।
हामीमा भ्रमात्मक अवशेषहरु आउन दिनु हुँदैन । किनभने हामी किरातीहरु बीच ‘किरात लिपी’लाई कसैले ‘लिम्बू लिपी’ कसैले ‘श्रीजां लिपी’को मत मतान्तरमा बहस गरिरह्यौं भने हाम्रो लक्ष्य कहिले पुरा हुन सक्दैन, र हामी बैरागिएका पथिक झैं हुनेछौं र बेदनाले भरिएको पर्खालभित्र सीमित रहनेछौं । तब हामी निस्पन्द, निश्चल, शिथिल र चुपचाप भएर बस्नुपर्ने हुन्छ । तसर्थ हामीले वर्तमानको सोचाईप्रति जागरुक हुन आवश्यकता देखिन्छ । किरात लिपीबारे भ्रमको खेती गर्न हुन्न । किरात समाजमा दुःखद स्थितिको सृजना पनि गर्नु हुँदैन । अब हामीले सच्चाइको अनुभव गर्नुपर्दछ । वास्तविकता के हो ? गहिरिएर बुझ्नु पर्दछ । यसरी बुझ्न सक्यौं भने स्वस्थ सोचमा शुद्धता आई जातीय एकतामा क्रियाशीलता आउन सक्दछ । त्यसैले आयन्दा हामीले किरात लिपीलाई नै विवाद रहित अगाडि बढाउन सक्यौ भने हामी किरातीहरु(राई–लिम्बू) बीचको साइनो पनि झांगिदै जान सक्दछ ।
http://tibrasamachar.com/?p=26217