कविता – म वाम्बुले बुहारी

कला साहित्य -संस्कृति

-लोचन ज्योति चाम्लिङ

म वाम्बुले बुहारी
मलाई हतार छ
मेला पात भन्दा पनि
भाषा सिक्नु हतार छ
रितीरिवाज गर्नु हतार छ
बिशेष त आफु सिकेर
नयाॅ पुस्तालाई सिकाउनु
हतार छ !

लिब्जु उपोलाई
साक्षी राखेर
वाम्बुले भाषा बोल्नु छ
वाम्बुले भेषभुषा लगाउनु छ
ढ्वाङकुम पुज्नु छ
सेसा न्वागी गर्नु छ
खाउमो खाउमो सिली नाच्नु छ
राम्दाले सालाङ
संगिना चाम्दो गाउनु छ
सालमाया गाउनु छ
किराती रित पुर्याएर
चाम्लिङ घर सिगारदा सिगारदै
चाम्लिङ भाषा बोल्दा बोल्दै
ढोल झ्याम्टा बजाउदा बजाउदै
साकेला नाच्दा नाच्दै
माछा कुवा र तोरेम्पा छोडेर
वाम्बुले घरमा आएको म
वाम्बुले भाषा रिती सिक्नु छ
अनि छोरा नातिलाई सिकाउनु छ !

मेरो गुरू सासु आमा पल्टाउनु हुन्छ
मुन्धुमी पाना सुनाउनु हुन्छ
फेरिस्त किम्बदन्ती कोर्नु हुन्छ
लिब्जु भुम्जको क्यानभास सिकाउनु हुन्छ
मौलिक संस्कार मन भरि ईन्द्रकमल फुलाएर
गर्वले छाती चौडा पारेर
सासुले भने झै सिकी रहेछु
घरीघरी आफैलाई भुल्दै
रम्दु खोलाको ईन्द्रणी
बन्दै हैमा पाखाको पारिजात बन्दै
ज्याफलको चट्टान बन्दै
लिब्जुको भुई कुहिरो बन्दै
सासुको बिनायो धुन बन्दै
वाम्बुले भाषा संस्कार सिकीरहेछु !

Leave a Reply

Your email address will not be published.