कवि आशिष राईको कविता ‘राजनीति’

कला साहित्य -संस्कृति

राजनीति

आशिष राई

क्रिकेटको रमाइलो खेल हो राजनीति
हान्छन्, मौकामा छक्का–चौका बेस्सरी
फुटबलको अपत्यारिलो खेल हो राजनीति
गोल गर्दै बढछन् अगाडि

चौतारीको एउटा चटक हो राजनीति
हेर्नु पाउँछौं यहाँ कुुर्सीको खिचातानी
मनमानी, घमण्डको पराकाष्ठा हो राजनीति
गर्छन् यिनले जनतासँग बैमानी

झुठा–सस्ता आश्वासन हो राजनीति
गर्छन् यिनले भोका पेटसँग सौदाबाजी
पावर, पैसा, पहुँचवालाकै यहाँ छ हाली मुहाली
बिरलै देखिन्छ यहाँ सच्चा स्वाभिमानी

सिंगापुर, स्विटजरल्याण्ड बनाइदिने
केवल बहानामात्र हो राजनीति
मै खाउँ, मै लाऊँको चहानामात्र हो राजनीति
सिमाना हाम्रो साँगुरिदैछ मेची–महाकाली
सरकारलाई मतलब छैन
यहाँ स्थानीयले थामेका छन्– सुस्ता, दशगजा, कालापानी ।

सुदूरमा सुँक्क–सुँक्क रुदैछन् मुगु, हुम्ला, कर्णाली
सहयोगको व्यग्र प्रतिक्षामा छन् त्यहाँका गाउँवासी
जिउन एक गाँसमै अल्झिरहेका छन् जानी नजानी
नेताज्यू त्यहाँ जनलाई गर्छन् आनाकानी
महङ्गीले मर्दैछन् आम नेपाली
छैन सरल शहरमा पनि जिन्दगानी

चित्कार छाड्न सक्दैन् शहिदका सालिकहरू
खोक्रो बनाउँदैछन् देश लुटेर खाने मालिकहरू
राजनीति फोहोरी खेल कहाँ हो र हजुर
राजनीतिलाई कलुषित बनाउने
राजनीतिज्ञको खेलचाहिं हो राजनीति ।

विराटनगर–१० शान्तिचोक, मोरङ

aashishrai333@icloud.com

आशिष राई पेशाले एमबिबिएस इन्टर्न चिकित्सक हुन् ।

Leave a Reply

Your email address will not be published.