दशै बहस – दसैँको राजनीति

कला साहित्य -संस्कृति विचार / ब्लग
आनन्द पी राई

राई–लिम्बूहरूले ‘बहिष्कार’ नभनिकन पनि दसैँ नमनाउन सक्छन् ।

२०३६/३७ सालतिर काठमाडौँमा केही किरात राई युवक ‘नेपाल उत्पीडित जाति उवा समिति’मा सङ्गठित थिए । घल राई, टङकबहादुर राई आदि अगुवा रहेको समति पञ्चायती व्यवस्था विरोधी गतिविधिसँगै किरातहरूको भाषिक–सांस्कृतिक उत्थानमा सक्रिय थियो । हाम्रा भान्जेदाइ तिलक राई सोही समूहका प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ ‘कोङपी’, ‘पारुहाङ’ लगायत पत्रिका र पर्चाका ससाना पोका बोकेर मोरङ रमाइलो झोडास्थित हाम्रो घरमा आइरहनुहुन्थ्यो । पक्राउ पर्ने खतरा बढेको बेला हामीकहाँ भूमिगत बसाइ महिना–डेढ महिनासम्म लम्बिन्थ्यो ।

उहाँ हिन्दू राज्य–सत्ताले लादेको दसैँ किरातीहरूले ‘परित्याग’ गरेर आफ्नै चाडबाड मनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँको तर्क हुन्थ्यो– संसारका कुनै पनि जातिले दोहोरो – तेहरो धर्मको चाडबाड मनाउँदैनन्, राईले मात्र किन मनाउने ? उहाँकै प्रभावबाट हाम्रो परिवार २०४३ सालबाट दसैँ नमान्ने टुङ्गोमा पुग्यो । धरान, दमक र बोराबाँधबाट आउनुभएका फुपूहरू ठूलो विस्मात्का साथ खाली निधार फर्कनुभयो । तिहारमा भेट्ने कुराले विस्मात् कम ग¥यो ।

२०४७ सालपछि गोरेबहादुर खपाङ्गीले जोडतोडले ‘दसैँ बहिष्कार’ अभियान चलाए । दसैँको रातो टीका र क्षत्री – बाहुनबारे उनको व्याख्या निकै विषाक्त थियो । नभन्दै, २०४८ को अष्टमीमा मारको निहुँमा हाम्रा छिमेकी मानबहादुर गुरुङ र हरि खड्काको झगडा प¥यो । टोलका बुढापाकाले त्यो झगडालाई धन्न साम्रदायिक वितण्डामा परिणत हुनबाट रोके । जो होस्, पञ्चायती हिन्दू सत्ताको उकुसमुकुस हटेको परिवेशमा खपाङ्गीको चर्को आह्वानले जोडदार काम ग¥यो, आदिवासी जनजातिहरूले धमाधम दसैँ ‘बहिष्कार’ गर्न थाले । कतिपय गाउँमा काङ्ग्रेसका जतिले दसैँ माने, कम्युनिस्टहरूले ‘बहिष्कार’ गरे । तिहारलाई चाहिँ सबैले निरन्तरता दिए ।

२०४८ सालको आम निर्वाचनमा जनजातिहरूले भोट त काङ्ग्रेस र कम्युनिस्टलाई नै दिए, तर खपाङ्गीको ‘दसैँ बहिष्कार’ अभियान यति असरदार भयो कि कतिले बुइँगलमा जमरा राखेर, राति झ्यालढोका थुनेर छोराछोरीलाई टीका लगाइदिए । कतिले परिवारका बृद्धबृद्धा संरक्षकको शेषपछि बहिष्कार गर्ने भन्दै जमरा राखे । २०५९ भदौमा तत्कालीन राजा ज्ञानेन्द्रले मन्त्री बनाएपछि खपाङ्गीले पनि दसैँ मनाए । त्यसपछि त दसैँको टीका लगाउन कसैले लुकिरहनै परेन ।

दसैँको भारी
नेपालका प्राचीनतम बासिन्दा किरात समुदाय प्रकृतिपूजक हुन् । उनीहरूको जीवनदर्शन मुन्धुममा आधारित छ । जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार, संस्कृति र चाडपर्व भएका किरातीहरूलाई रणबहादुर शाहको शासनकालपछि दसैँ मनाउन बाध्य पार्न थालिएको ऐतिहासिक प्रमाणहरू पाइन्छन् ।

रणबहादुरदेखि राजेन्द्रविक्रम शाहसम्मको नीति राई–लिम्बूलाई हिन्दूकरण गर्ने रहेको बुझिन्छ । त्यसबेला गोबध निषेधदेखि दसैँमा दुर्गा भवानी र हातहतियारको पूजा गर्ने, मौलो गाडेर बलि चढाउनेसम्मका आदेशहरू जारी भए । हिन्दू वर्णश्रम व्यवस्थालाई कानूनी रूप दिएका जङ्गबहादुर राणाको शासनमा दसैँ नमनाएको ‘अपराध’मा धनकुटाका रिदमा र राम्लि हाङ राईलाई वि.सं. १९३३ मा झुन्ड्याइएको इतिहास छ ।

पूर्वी नेपालमा गोर्खाली आधिपत्य स्वीकारिसकेपछि राई–लिम्बूले दसैँको भारी बोक्नुपर्ने अर्को बाध्यता आइलाग्यो । आँगनमा मौलो गाडेर, मार हानेर, सिकुवाको भित्तामा रगतको पञ्चाछाप लगाएर राई, सुब्बा, जिम्मावाल, अमाली आदिको रूपमा स्थानीय शासक हुन पाइने भयो । दसैँ नमनाए छाला काढिने, धुमधामले मनाउँदा क्षत्री, बाहुन समेत आफ्नौ रैती हुने र सिसार–दस्तुर बोकेर राई÷सुब्बाकहाँ आउने भए । ज्यान सजाय तोकेर हिन्दूकरणको नीति लागू गरेको राज्य सत्ता पनि जाँडरक्सी, सुँगुरको मासुजस्तो अभक्ष सिसार बाँड्दै राई–लिम्बूहरूले दसैँ मनाउँदा खुसी भयो !

आम रूपमा दसैँ पूजा–उपासना भन्दा बढी भेटघाट, खानपान र आमोद–प्रमोदको अवसर हो । हिन्दू सत्ताले राजनीतिक रूपमा लादेकै भए पनि दसैँको यस्तो सामाजिक–सांस्कृतिक पक्ष ग्रहण गर्न रामरमाइलो मन पराउने किरातीको ठूलो हिस्सालाई धेरै गाह्रो भएन होला । समय क्रममा यसले सामाजिक सद्भावलाई पनि बलियो बनायो । त्यसो त किरातीहरूले हिन्दूको दसैँ नमान्दा नेपाली सद्भाव खलबलिने पनि होइन, तर त्यसलाई ‘बहिष्कार’ भन्दै नकारात्मक सन्देश प्रवाह गरियो ।

कुनै पनि संस्कृति दुई पुस्तामा पूरै आफ्नो हुन्छ भनिन्छ । बाध्यताले होस् या रहरले, राई–लिम्बूले हिन्दूको दसैँ–तिहार मनाउन थालेको अढाइ सय वर्ष पुगेको छ । यस हिसाबले हेर्दा दसैँ–तिहार अब किरातीको पनि चाड हो । दोहोरो भारी बोक्न नचाहनेका लागि किराती बाजे पुर्खाले हिन्दू सत्तासँग जुध्दै आफ्नो समृद्ध मुन्धुमी संस्कृति, परम्परा सग्लो राखिदिएकै छन् । त्यसलाई निरन्तरता दिँदा नेपाली विविधता बलियो हुन्छ ।

दसैँ ‘बहिष्कार’ नगर्नेले तिहार पनि मनाउनु हुँदैन भन्ने अर्को मूढाग्रह छ । कुनै चाड मनाउन चाहनेले मनाउँछन्, नचाहनेले मनाउँदैनन् । कसैले कसैको संस्कृति ‘बहिष्कार’ गर्नु अलोकतान्त्रिक हो । फेरि कोही कसैको संस्कृतिमा रमाउँदैमा धर्म–संस्कृति परिवर्तन भइहाल्ने पनि होइन ।

धर्म निरपेक्ष नेपालको जय होस् । हिन्दूहरूको महान् चाड दसैँको अवसरमा शुभकामना !

स्रोतः साप्ताहिक खबरपत्रिका हिमाल, २८ असोज – १० कात्तिक २०७५, पेज ६० ।
http://nepalihimal.com/article/16214

Leave a Reply

Your email address will not be published.