वेइमानी समयले
टुहुरो बनाएपछि,
यो बाल मन्दिरको
कोठा, चोटा र आँगनभित्र
रहर थुनिएको छ !
खुशी खसेको छ,
आशा मरेको छ ।
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
काठमाण्डू बाढीले बगाउदैछ,
बाढीको मुहान
मेरो आँखामा छ !
रोल्पाको म प्रशान्त,
मन्दिरभित्र पनि किन अशान्त ?
शान्ति तब न मिल्दो रहेछ,
जब,
बा-आमा मन्दिरभित्र भेटिन्छन् !
मन्दिरभित्र,
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
अहिले,
थाहा भैरहेछ -मलाई !
मानिसहरू घरमा देवता छाडेर
मन्दिरमा ढुङ्गा पुज्दा रहेछन्
आफ्नो फाइदा लुटेर अरूलाई
बेकामे र स्वार्थी बुझ्दा रहेछन !
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।
(आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका रोल्पाका प्रशान्त नामका बालकप्रति समर्पित कविता ! उनलाई आफ्नै काकाले काठमाडौँ बाल मन्दिर ल्याएर छाडेका छन ।)