म चित्रकलाको विद्यार्थी भएकोले सिर्जना कसरी राम्रो गर्न सक्छु भन्ने खोजमा छु – सन्जोश राई

कला साहित्य -संस्कृति
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)को दोस्रो तला ‘सामुहिक चित्रकला प्रदर्शनी सँगालो ।’

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)को दोस्रो तला एक हुल युवाको कलाले भरिएको छ । भित्ताभरि टाँगिएका छन्, चित्रकला । भूइँमा पग्लिएका छन्, हिउँ । जसरी यही २०७५ पहिलो साता देश नेपालका विभिन्न अग्ला ठाउँहरुमा हिउँ जमेका छन् । त्रिभुवन विश्वविद्यालय एमएफए (ललितकला स्नातकोत्तर)का कलाकारहरु उत्रिएका छन् ।

उनीहरु हुन्– हरिओम मेहता, कुमार दोर्जी तामाङ, निशा महर्जन, रामचन्द्र महर्जन, राष्ट्र कार्की, सन्जोश राई, सुरेश बस्नेत, सुरक्षा वाग्ले, सुरज जान सुबेदी र टीबी थापा मगर । नाम दिएका छन्, ‘सामुहिक चित्रकला प्रदर्शनी सँगालो ।’ सबै कलाकारका आ–आफ्नै शैली छन् । कलाका विशेषता छन् ।

यतिखेर चासो भने एकजनाको कलालाई मात्र लिइएको छ । किरातीपनलाई पस्किएका कलाकार सन्जोश राईसित केही कुराकानी गरिएको छ । नाम अलि अप्ठ्यारो जस्तो लाग्ने नाम स्कुल पढ्दाताका गुरुहरुले भुसुक्कै बिगारिदिएछन् । त्यसैले सन्जोश राईबाट सन्तोष राई बन्न पुगे ।

सन्जोशको घर प्रदेश नं.१ माझकिरात बुइपा हो । २०४६ सालमा जन्मिएका हुन् । बुइपाबाट चम्पावती माध्यमिक विद्यालय तह पास गरेर काठमाडौं छिरेका हुन्, उच्च शिक्षा हासिल गर्न । उनलाई चित्रकलाको सपनाले डो¥याएर यहाँसम्म आइपुगेका हुन् । प्लस टु बानेश्वर क्याम्पस, बिएफए र एमएफए गरेका हुन् । आठ वर्षको दौरानमा कला प्रदर्शनी गर्दैआएका छन् । आर्ट शिक्षकका रुपमा पाठशाला नेपाल फाउन्डेसनमा कला शिक्षकका रुपमा काम गर्दछन् । लिब्जुभुम्जु डटकमका लागि प्रधान सम्पादक गणेश वाम्बुले राईसँग भएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सँगालो प्रदर्शनीमा कतिजना कलाकारका कति चित्र छन् ?
हामी दश जना कलाकार छौं । हाम्रो ७३ वटा पेन्टिङ छन् । पाँच वटा इनस्टलेसन आर्ट (प्रतिस्थापन कला) छन् । एकजनाले पर्फमेन्स गरिरहनु भएको छ । पाँच दिनसम्म चल्छ ।

तपाईको कतिऔं प्रदर्शनी हो ?
मेरो एकल प्रदर्शनी गरेको छैन । सामुहिक प्रदर्शनीमा चाहिं वर्षमा एकचोटि सहभागी हुँदैआएको छु । ठ्याक्कै गन्ती गरेको छैन । लाग्छ, यो पाँचौं या छैटौं हुनुपर्छ ।

आफ्ना प्रतिस्थापन कलाका साथ सन्जोश राई

तपाईको कतिवटा पेन्टिङहरु छन् ?
मेरो यसमा आठवटा पेन्टिङ रहेका छन् । अनि एउटा प्रतिस्थापन कला रहेको छ ।

प्रतिस्थापन कलामा के के सजाउनु भएको छ ?
प्रतिस्थापन कलामा मैले अलिकति कन्सेप्टलाई केही वस्तुहरु राखेर म भित्रको अभिव्यक्तिलाई अभिव्यक्त गर्न खोजेको छु । माध्यमका रुपमा मैले हाम्रो किरातीको कल्चरल चिज चिन्डोहरु राखेको छु । किताब, ढुंगा, खरानी, तीन चुला, ब्रस राखेर आफ्नो कलालाई आकार दिन खोजेको छु । भन्नखोजेको हाम्रो चाम्लिङ भाषामा ‘सिङखिम्पो’ अर्थात् चुला भनिन्छ । चुला किरातीहरुले पुज्ने पुज्य ठाउँ हो । प्रकृतिपछाडि चुला । प्रकृतिलाई यसरी इन्डोरमा प्रदर्शनी ग्यालरीभित्र ल्याउन नसक्दाखेरी त्यसको अर्को विकल्प खोज्दाखेरी चुला लाग्यो । चुलालाई मैले मेन मोटिभको रुपमा लिएर चुलापुजक एउटा वंशमा जन्मेको कारण चुलालाई राखेर र म चित्रको विद्यार्थी भएकोले सिर्जना कसरी राम्रो गर्न सक्छु भन्ने खोजमा छु । यसरी हिंड्ने क्रममा जति पनि समाजमा भइरहेको चिजहरु छ, त्यसलाई अध्ययन पुस्तकलाई लिएर ढुंगा, माटो नराखीकन, पुस्तकहरुलाई नै जोडेर त्यसलाई चुलाको रुपमा बनाएको छु । मसँग भएको आयु र सिर्जनाबाट केही दिन सक्छु कि भनेर त्यहाँनेर चुलामा पुजेको छु ।

नेपालमा हिन्दुधर्मशास्त्र धेरै देखिएको छ, अरु ओझेलमा परेका छन् । त्यसैले यहाँ हिन्दुधर्मको किताबहरु देखाएको छु । यो धर्ममा जति पनि ठुलठुला किताबहरु पढेर होमादि गर्छन् । मसित भएका त्यही चिजहरुमा लगानी गरेर, मेरो चुलालाई पुजेर मैले सिर्जनालाई बाहिर निकाल्न सक्छु भन्ने लागेर तलको सतहबाट माथि ल्याउन खोजिरहेको छु । मेरो जन्मको आधार र कर्मको आधारलाई एकैचोटि राखेर मेरो समय निकाल्न खोजेको छु ।

यो दुइटा चिन्डो राख्नुको अर्थ के हो ?
यो चाहिं चुला पुजा गर्दाखेरी हामीलाई दुइटा चिन्डो चाहिन्छ । र अरु पनि सामानहरु चाहिन्छ । यहाँ मैले सांकेतिक हिसाबले, मिथको हिसाबले यतिले बोल्छ होला भन्ने लागेर दुइटा चिन्डो पुज्नको लागि राखेको हो ।

आफ्ना चित्रकला देखाउँदै सन्जोश राई

यहाँ किरात लिपिको पनि चित्रकला राख्नु भएको रहेछ ?
मैले पृष्ठभूमिमा आराखा (रक्सी) पकाइरहेको देखाएको छु । त्यो लिपिले चाहिं सम्पूर्ण नेपालमा भएको जति पनि श्रमजीवि वर्गहरु छन्, उहाँहरुलाई प्रतिनिधि पात्रका रुपमा लिएको छु । त्यो प्रतिनिधिको सिम्बोलका रुपमा त्यो लिपिलाई लिएको छु । मेरै वंशमा मेरो बुवा आमाले जन्माएको जेठो छोराको नामचाहिं मेरै बुवाको नामबाट रहन जान्छ । जस्तै, मेरो बुवाको नाम कुमार हो भने कुमारेम्पा भन्छ । पछाडि पछाडि जन्मेकाहरुको नाम हुँदैन । त्यसरी नै नेपालमा भएको सम्पूर्णले तिरेको करबाट राज्य चलिरहेको हुन्छ । त्यो राज्य संचालनको लागि सबै मान्छेले कर तिरिरहेको हुन्छ । जसले राज्य चल्छ । राज्य संचालन गर्दाखेरी सरकारले गलत ढंगले प्रयोग गरेको देखें ।

लुम्बिनीमा शान्तिको दीप युनेस्कोबाट ल्याएर नामसहित बालिरहेको छ । मलाई त्यसबाट अलिकति चोट पुग्यो । नेपालमा त्यो चिज नगरेको भए राम्रो हुन्थ्यो । त्यसरी युनेस्कोलाई नाम किन दिने ? देशको गरिबको, समाज परिवर्तनका निम्ति योगदान दिनेको नाम लेखिएको भए राम्रो हुन्थ्यो होला । त्यो शान्ति दीप दिनभरि रातभरि बल्दो रहेछ । मलाई वाहियात लाग्यो । नेपालचाहिं वनको धनी राष्ट्र, दाउरा धेरै हुन्छ । तर चौबिसै घन्टा ग्याँसबाट बाल्दा धेरै खर्च हुन्छ । त्यसैले हाम्रो श्रमलाई सोसेर जसरी रक्सीको भाँडाबाट पसिना निकालिन्छ । त्यसरी पसिना जस्तो बनाएर प्रतिकात्मक रुपमा राखेको छु । मैले गणेश दाइले प्रकाशन गर्नुभएको ‘लिब्जु–भुम्जु’मा छापिएको लिपि क, ख देखि ह सम्म लिएर यो चित्रकलामा राखेको छु ।

धमिनीको चित्रकला अगाडि कलाकार सन्जोश राई

धमिनीको चित्रकला पनि रहेछ नि ?
म जुन समुदायमा हुर्के ठूलो प्रश्न उब्जिरहन्छ । उहाँहरुको आफ्नो प्रोफेसन हो । तर खुलेर म धमिनी हो भन्न सक्नु भएको छैन । जसरी डाक्टरले म फलना डाक्टर, म चाहिं गाइनोलोजिस्ट, म न्युरोजोजिस्ट भनेर भन्छन् । त्यसरी उहाँहरुले आफ्नो प्रोफेसनलाई धान्न सक्नु भएको छैन । किनभने समाजले प्रोफेसनल रुपमा देखाउनु सकेन । काजगको फूलजस्तो मात्रै देखायौं । धमिनीको पछाडिको कागजको फूलचाहिं समाजको देखावटी रुप देखाएको हो । उहाँ आफैं बलियो हुनुहुन्छ । जिवन्त हुनुहुन्छ । तर हामी देखावटीमात्र गर्छौं । चाहिएको बेलामात्र प्रयोग गर्छौं । अरु बेला वास्ता गर्दैनौं । त्यही टपिक्स देखाएको छु ।

धामीको चित्रकला अगाडि कलाकार सन्जोश राई

यता धामी देखाउनु भएको छ नि ?
धामी पनि त्यही हो । धामी काम्दा उडेको जस्तो, उफ्रेको जस्तो पोजिसनमा राखेको छु । तर भूइँमा बेस छैन, कुनै पनि । सतहमा केहीमा बसेको जस्तो पनि छैन । बसेको पोजिसन छ । तर, हामी बेवास्ता गरिरहेका छौं । यसलाई सांस्कृतिक रुपमा परिमार्जन गरेर लैजाने कि भन्ने तरिकाले बनाएर राखेको छु । मैले दिन खोजेको सन्देश र दर्शकको सल्लाहबाट अरु काम गर्न चाहन्छु ।

घडी र घैला चित्रकलासाथ कलाकार सन्जोश राई

अर्को चित्रकलामा घैला, त्यो सँगै आफू र गोलाकार घडीमा किरात लिपिको १२ अंक देखाउनु भएको छ यो चाहिं के हो ?
किराती समुदायमा जन्मिन्छ । ऊ मरेपछि उसको चिनो चौतारी बनाइन्छ । मैले त्यही आधारमा लोककला प्रस्तुत गरेको छु । त्यहाँ माथि चन्द्र र सूर्य राखिन्छ । चन्द्र र सूर्यको प्रतिक मेरो जन्म र मृत्युको दुरी राखेको छु । त्यो समयलाई कसरी सदुपयोग गर्छु त भनेर घडीका १२ वटा अंकको फ्रेमभित्र चल्नु पर्छ । त्यसरी चल्दाखेरी आधार चाम्लिङको लुम्बु हुन्छ । त्यसको बिडो थाम्ने कि नथाम्ने ? अर्को म चित्रकार भएको कारणले घडीको काँटाहरु सबै निकालेर ब्रस राखेको छु । आत्म समीक्षा गरिरहेको छु । मेडिटेसनको रुपमा म आफैंले सोचेर बसेको छु ।

अबको योजना के के छन् ?
मैले जतिपनि सिर्जना गरेको छु । समुदायकै कुरा काम गर्दैछु । मैले जान्न बाँकी कुराका निम्ति समुदायले बाटो दिने अपेक्षा राखेको छु । त्रुटि, कमजोरी सुधारको पक्ष सल्लाह सुझाव लिन चाहेको छु । कला सिर्जना निरन्तर राख्ने छु ।

चित्रकला प्रदर्शनीमा कलाकार सन्जोश राई

तपाईको प्रतिस्थापन कलामा लैनसिंह बाङ्देल र अर्जुन खालिङको पुस्तक पनि देखिन्छ । उहाँचाहिं को हुन् ?
उहाँहरुसँग सँगै काले राई पनि हुनुहुन्छ । यहाँ समुदायकै कुराहरु आएको छ । हलेसीको किताब, चाम्लिङको मुन्दुम होसुम पनि छन् । यतिखेर जहाँ म उभिएको छु, नेपाल कला परिषद्को भवन । यो भवन परिकल्पनाकार वरिष्ठ चित्रकार लैनसिंह बाङ्देल र अरु दुई जना हुनुहुन्थ्यो । यो भवन ठड्याएर जानुभयो, जसले गर्दा हामीजस्ता नयाँ पुस्ताले ठाउँ पाएका छौं । अर्जुन खालिङ अघि र पछिको ब्याचलाई पढाउनु भयो । मेरो ब्याचलाई पढाउनु पाउनु भएन । यद्यपि उहाँ गुरु हुनुहुन्थ्यो, ललितकलाको । उहाँ सांस्कृतिक बिम्बहरु खेलाउने सफल नेपाली कलाकार हुनुहुन्थ्यो । चाँडै बितेर जानुभयो । उहाँहरुको प्रेरणा लिएर हामी अगाडि बढिरहेका छौं ।

पत्रकार गणेश वाम्बुले राई र कलाकार सन्जोश राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *