गणेश राई
महागुरु फाल्गुनन्द नेपालको १६औं राष्ट्रिय विभूति हुन् । नेपाल सरकारले फाल्गुनन्दका योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । घोषणासँगै कात्तिक २५ गतेलाई ‘फाल्गुनन्द जयन्ती’ मनाउने र उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो वर्ष (२०७५ साल) महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती मनाइदैछ । प्रदेश नं.१ का स्थानीय सरकारले फाल्गुनन्द जयन्तीका सार्वजनिक विदा दिने घोषणा गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, झापाको दमक नगरपालिका, इलामको माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
फाल्गुनन्दको जन्म जन्म वि.सं. १९४२ कात्तिक २५ गतेका इलामको इभाङ चुक्चिनाम्बामा भएको थियो । उनको वास्तविक नाम नरध्वज लिङदेन थियो । रुढिवादी समाजमा फलामको चुरा लगाइदिए रोग निको हुन्छ भनेर अभिभावकले लगाइदिएछन । त्यसपछि फलामसिंह लिङदेन भनियो ।
युवावस्थामा उनी फलामसिंह भएर बेलायती गोर्खा फौजमा भर्ती भएका थिए । बेलायती गोर्खा फौज उस बेला भारतमै थियो । फरक विचारले उनले आफ्नो बाटो लाहुरे होइन रहेछ भन्ने बोध गरेपछि फौजबाट राजीनामा दिएर जन्मथलो फर्किएका थिए । त्यसपछि आफ्नो आत्माले मानेको काम समाज सुधार, ज्ञानगुनको प्रवद्र्धन अनि शान्तिको पक्ष लागिपरे । त्यतिखेर किरात समाज अत्याधिक मद्यपानको कुलत, आर्थिक दलदलमा फँसेको थियो । त्यसका अलावा धेरै किसिमका सामाजिक परम्पराले समाज थिचिएको, मिचिएको, किचिएको पाएका थिए । जसलाई सुधारको खाँचो देखेका थिए । अशान्ति हुनुको प्रमुख कारण मद्यपान, फजुल खर्च र अनावश्यक ढर्रालाई उनले औंल्याएका थिए ।
फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते तत्कालीन १० लिम्बुवान र १७ थुमका गन्यमान्य समाजसेवीहरु, विशिष्ट व्यक्तित्वहरुलाई बोलाएर चुम्लुङ (सभा) राखे । पा“चथरको फिदिमस्थित लब्रेकुटी भन्ने ठाउँ (जुन अहिले पवित्र धार्मिक स्थलका रुपमा चिनिन्छ) बृहत् चुम्लुङ (सभा) गरी १० बु“दे लिखित मुचुल्का जारी गरेका थिए । जसलाई ‘सत्यहाङ्मा मुचुल्का’ भनियो । त्यसपछि त्यही मुचुल्काका प्रचारप्रसारमा किराती समाजमा हिंडे । त्यही क्रममा विभिन्न ठाउँमा सातवटा माङहिम (मन्दिर) बनाए । कुम्भकर्ण हिमाल किरातीको पवित्र तीर्थस्थलका रुपमा चिनाए । त्यहाँ माङहिम बनाएर माङसेवा (पूजा गर्ने) स्थलका रुपमा प्रसिद्ध तुल्याए ।
उनले किरात समाजमा व्याप्त बलिप्रथाको अन्त्य हुनुपर्ने अभियान चलाएका थिए । बलिपूजाको सट्टा फलफूल र नैवेद्यबाट पूजाआजा गर्ने चलन बसाए । त्यसैगरी लिम्बू समुदायमा छोरीचेलीको विवाह गर्दा कुटुम्बबाट सोतरीत (रुपैया“, मासु, जा“ड, रक्सी, सुन आदि बुझाएपछि छोरी दिने चलन) खाने प्रचलन हटाएका थिए । छोरा–छोरीलाई समान व्यवहार गर्ने र लेखपढ गर्न सिकाउने अभियान चलाएका थिए । किरात धर्मशास्त्र नै मुन्धुम हो । भन्दै र सुन्दै श्रुति स्मृति परम्परामा रहेको मुन्धुमलाई लिपिवद्ध गर्ने क्रम फाल्गुनन्दले सुरु गरेका हुन् । महागुरुले छोरीको मृत्यु र सुतक तीनदिनसम्म बार्नु, छोराको ४ दिन र किरीयापुत्रीले ९ दिनसम्म बार्नुपर्ने थिति बसालेका थिए । समुदायमा उनी ‘महागुरु फाल्गुनन्द’ भनेर चिनिए । फाल्गुनन्द समाज सुधार हुन् । समाज सुधारको पहल किरात समुदायको सामाजिक, सांस्कृतिक पक्षलाई केलाएर अघि बढेका थिए, जुन धार्मिक कृत्यसँग जोडिन्छ । उनकै अभियानको प्रतिफल हो– किरात धर्म र किरातीहरुको धार्मिक एकता ।
किरात याक्थुङ चुम्लुङले केन्द्रदेखि सबै जिल्ला कार्यसमितिसम्म महागुरु फाल्गुनन्द जयन्ती मनाउने क्रम जारी राखेको छ । फाल्गुनन्दको योगदानलाई लिएर चर्चा गरिदैआएको चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम बताउँछन् । पूर्वनिर्धारित योजनाअनुसार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको योगदानबारे विभिन्न मिडियाहरुमा चर्चा चलाउँदैछौं,’ चुम्लुङका अध्यक्ष वनेम भन्छन्, ‘समाजशास्त्री र मानवशास्त्रीले फाल्गुनन्दको समाज सुधारको पक्षमा बहस गर्नेछन् । मुन्धुमविदले लिम्बू भाषा, मुन्धुम संकलन, अभिलेखिकरण र संग्रहका पक्षमा बोल्ने छन् । र किरात धर्म तथा साहित्य उत्थान संघको पहलमा धार्मिक पक्षमा चर्चा हुनेछ ।’ राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक विभिन्न ठाउँमा बनाइएका छन् । चुम्लुङ हिम ललितपुर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुममा सालिक रहेका छन् । यो वर्ष पाँचथर फिदिममा सालिक अनावरण गरिदैछ ।
‘महागुरुको योगदान सामाजिक कार्यमा खर्च घटाउने, चालचलनमा सुधार ल्याउनेलगायत भयंकर महत्वपूर्ण पाटो छन् । मुन्धुमको संग्रह गर्नमा जुनबेलामा जुन अवस्था थियो । उहाँले मुन्धुम, भाषा, लिपिको संरक्षण गर्नुभयो । यसै आधारमा सम्झिन्छौं ।’ चुम्लुङका अध्यक्ष वनेमको कथन छ ।
महागुरु फाल्गुनन्दको निधन २००५ चैत २२ गते भएको थियो । उनको मननीय अभियानले किरात समाजलाई झकझकाएको हो । फाल्गुनन्दको जन्मजयन्तीमा किरात धर्मावलम्बीहरू जुट्ने गरेका छन् । उनका अनुयायीहरू स्वदेशदेखि विदेशसम्म छन् । नेपाल, भारतको दार्जिलिङ र सिक्किम, भुटान, बर्मा, हङकङ, बेलायतलगायत मुलुकमा फाल्गुनन्द जयन्ती मनाउँदछन् । महागुरु फाल्गुनन्दलाई किरात समुदायले समाज सुधारक, धर्मगुरु र दार्शनिकका रुपमा मान्ने गरिन्छ ।
खासमा लिम्बू समुदायमा व्याप्त परम्परागत चालचलनलाई उनले सुधार खोजे र सुधार गरे पनि । कतिपय कुरीति र कुसंस्कारका विरुद्ध आवाज उठाए । जाँड र रक्सीको प्रयोग निषेध गर्ने, बलि प्रथाको अन्त्य नै यसको प्रमुख विशेषता हो । उनले परिमार्जन गरेको मुन्धुम यसैमा आधारित छ । महागुरुको अभियान, उपदेश, सुधारका पक्षहरू लिम्बू समुदायमै विरोधाभास र विवादित पनि छन् ।
विश्लेषक अमर तुम्याहाङको ठम्याइमा शंख फुक्ने, डमरु बजाउने, चरु पोल्ने, होम यज्ञ गर्ने, हरेक ठाउँमा हवन केन्द्र स्थापना गर्ने काम लिम्बुको मौलिकताभित्र पर्दैन । मुन्धुम परम्परालाई मौलिकताभन्दा हिन्दुधर्मको एक हाँगोका रुपमा विकास गर्न थालिएको भन्दै आएका छन् । फाल्गुनन्दले युमा (महिला)को रुप धारण गरेका थिए । त्रिशूल बोके । वर्तमान उनका अनुयायी आत्मनन्द लिङदेनले आफूलाई हाङसाङ थेवा (महादेव वा राम)को प्रतिरुप भन्न थालेका छन् । सामाजिक द्वन्द्व बढाउने गरेको विश्लेषकले उल्लेख गरेका छन् ।
राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु गौरवको विषय हो । लिम्बू कुलमा जन्मिएकाले उनी लिम्बू थिए । उनका सुकार्यले गर्दा महागुरु फाल्गुनन्द बन्न सकेका हुन् । राष्ट्रिय विभूतिको गरिमा बढाउन सरकारले नै विशेष कार्ययोजना तथा कार्यक्रमहरु सञ्चालन व्यवस्था गर्न आवश्यक छ । राष्ट्रिय विभूतिका बारेमा थप अध्ययन, अनुसन्धान गराउन आवश्यक छ । समाजमा विविध क्रियाकलाप संचालन हुन जरुरी छ । स्मरणीय पक्ष महागुरुले समाजलाई दिएको योगदानको समीक्षा गर्नु र सकरात्मक पक्षलाई मनन गर्नु अहिलेको आवश्यकता जहिल्यै रहिरहन्छ ।