संमृद्धिको खाका ः ओखलढुंगाको उँबु गाउँ र ब्ओकुला

विचार / ब्लग

बी. मुक्काचो राई

विषय प्रवेश
आदिवासी किरातीको पुख्र्यौली थातथलोहरूको आ–आफ्नै लोककथा, किंवदन्तीहरू, मिथकहरू छन् । ओल्लो किरात दुधकोसी वारि ओखलढुंगा जिल्लाको दक्षिणमा चौरास थुम पर्दछ । यही चौरास थुमलाई वाम्द्याल भनेर चिनिन्छ । कालान्तरमा उँबु गाउँ भनियो । उँबु गाउँ विकास समिति रहेको बेला वडा नं.१ र हाल मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ मा वाम्द्याल पर्दछ । किराती वाम्बुले राईहरूको आदिम बस्ती वाम्द्याल समुद्री सतहदेखि करिब ११ सय फिट माथितर्फ रिनुवाल भन्ने गाउँ रहेको छ । रिनुवाल गाउँ छेउमा एउटा दह थियो, जसलाई स्थानीय भाषामा ‘ब्ओकुला’ भनेर चिन्दछन् । जान्दछन् । यो जंगलमाझमा रहेको दह अहिले अवशेषमात्र छ । ‘ब्ओकुला’ भन्नाले ठूलो दह भन्ने अर्थ लाग्छ । तर, यो ठाउँ अहिले लात्तेभकुन्डो अर्थात् फुटबल खेल्ने मैदानमा परिणत भएको छ । यो मैदानको इतिवृत्तिलाई केलाएर विकासको केन्द्रविन्दुका रूपमा लिन सकिने दृष्टिकोणले केही लेख्ने जमर्को गरिएको छ ।

 

‘ब्ओकुला’ के हो ?

ओखलढुंगाको उँबु गाउँ र ब्ओकुला ओखलढुंगा जिल्लाको दक्षिणमा चौरास थुम मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ मा वाम्द्यालको ‘ब्ओकुला’

ब्ओकुला नाम कसरी रहन गयो ? भन्ने कुराको यकिन हुन सकेको छैन । वाम्बुले राई भाषामा ‘ब्ओ’ भनेको ‘कुखुरा’ हुन्छ । सायद धेरै पहिला यहाँ वरीपरी धेरै बन कुखुराहरू थिए । चरेर हिँड्थे होला । ती बन कुखुराहरू चर्ने र बास बस्ने क्रममा त्यहाँ वरीपरीबाट कुलो जस्तै बगेर आएपछि जमेको पोखरीमा पानी खान आउँथे । त्यही ब्ओ र कुला अर्थात् कुलो अपभ्रंस भएर ब्ओकुला भएको हुन सक्छ ।

अर्को अनुमान अनुसार र्वाक्या अर्थात बाहिङ भाषामा पानीलाई ‘वाकु’ भनिन्छ । परापूर्व कालमा त्यहाँ वाकु (पानी) जम्ने अर्थात् वरीपरीबाट भल पानी आएर बनेको पोखरी भएकोले पनि ब्ओकुला भनिएको हुन सक्छ । ब्ओकुलामा ठुलो पोखरी या आहाल थियो । यो कुरा पछिल्लो पिँढी धेरैलाई थाहा छ । कतिले सुनेको भरमा कतिले देखेको भरमा विभिन्न कुरा कहानी गर्लान् ब्ओकुलाको बारेमा ।

ब्ओकुलाको पल्लो कुनामा हुलमाबाट बर्खे भल आएर झर्ने ठाउँमा ठुलो खाल्डो थियो । त्यो सानो पोखरीमा हामी सानो केटाकेटी हुँदा माथि डिलबाट हामफालेर पौडी खेल्थ्यौं । त्यही खाल्डोमा चाहिँ पहिला ठुलो राँगो डुबेर मरेको थियो रे भन्ने भनाइ छ । खै के देवी कि राक्षसको वास हुन्थ्यो ब्ओकुलामा भनेर कल्पुमको सुन्दलाल राई धाँमी काकाले भन्ने गर्नु हुन्थ्यो । बर्खामासमा ब्ओकुला आहाल टन्न भरिएको हुन्थ्यो । हामी सानो केटाकेटी बीचमा जान डराएर छेउछेउमा पौडी खेल्थ्यौं । रिनुवाल भरीको भैंसीहरू चरनमा आएर छेउछाउमा सुत्थे । वाम्बुले भाषामा भन्नु पर्दा ब्अ‍ेइसोख्वा चिंगिलि पाम्मेथि । अनेक चराचुरूङ्गीमध्ये विशेष गरी केकुवा (हुटिट्याउँ) कराइ रहन्थे ब्ओकुला वरीपरी ।

इतिहास
सानो छँदा म बाजेले लाने गाई, गोरू र भेडा, बाख्रालाई पछ्याउँदै सेप्नाल पुगेको हुन्थेँ कि चैं बजुले लाने भैसी पछ्याउँदै ब्ओकुला हुलमा र पोन्डोपु वरीपरी घुमी रहेको हुन्थेँ । मलाई थाहा भएसम्म ब्ओकुलाको पश्चिमतिरको डाँडामा ठुलो सिमली घारी, बनमारा घारी, अँगेरी घारी घारी, अर्थुंगे घाँस, सिरू घाँस र अलि अलि खर पनि हुन्थ्यो । ब्ओकुलाको उत्तर–पूर्व अर्थात् मुख्य गौंडा (प्रवेशद्वार) तिर दुई वटा बर र दुई वटा पीपलका रूखहरू थिए । वर्षा लागेपछि त्यो ठाउँमा चिसो र सेपिलो हुने भएकोले च्याउ र सिमसाग उम्रिने गथ्र्याे । दक्षिण–पुर्वतिरको डाँडालाई फुम्लाचोङ क्ल्वाम (फुम्लाचोको चिहानघारी) डाँडा भन्ने गरिन्थ्यो, जहाँ सल्लाको सानो सानो र बाक्लो बिरूवाहरू हुन्थे । अनि, त्यही वरीपरी झिर्कोलो (फिस्टा) चराहरू चिरबिर गरी रहन्थे । ब्ओकुलाको दक्षिण–पश्चिमतिर हुलमा हुँदै ब्ओकुलामा आउने बर्खेपानी भलको ठुलो खोल्सा हुन्थ्यो । ब्ओकुला पोखरीमा बाह्रैमास पानी जम्ने भएकोले केकुवा (हुटिट्याउँ) चरीहरू समेत कराएको सुनिन्थ्यो । मास्तिर पोन्डोपु डाँडातिर हुटिट्याउंको गुँड, अण्डा र बचेराहरू पाइन्थे । त्यहाँ वरीपरी भएका खरायो र एकाध मृगहरू पानी खान आउने पोखरी पनि थियो ब्ओकुला ।
बर्खामासमा ब्ओकुला पोखरीमा पानी भरिने गथ्र्यो । पोखरीको पश्चिम मोहडामा एउटा ठुलो पिपलको रूख थियो । त्यही पिपलको रूख पछाडिबाट कुलो अर्थात् सानो खोला खनिएको थियो । भरिएको पानी त्यही कुलो भएर रामेध्याप्ती तर्फको खोलामा जाने गथ्र्यो ।

 

ब्ओकुलाको पानी सुक्दै जानुका कारण
पहिला जस्तो बन जंगल नभएको र पानी परेर वर्षाको मूल नफुट्नाले आहालमा प्रशस्त पानी जम्न छोड्यो । २०४२ सालको भारी वर्षाले ब्ओकुला आहाल भरिएर पुर्वतिरको डिलबाट पानी पोखिएर गएको थियो । सायद त्यही वर्ष या त्यसको कुनै अर्को वर्षतिर एकजना काका पर्नेले आहाललाई प्वाल पारेर पानी लानु भयो, वानाङ्कु खेतमा । त्यसले गर्दा आहालको हिलो र ताल निख्रिएर पानी जम्न छोड्यो भन्ने कुरा पनि आउन थाल्यो । तर त्यो आंशिक सत्य कारण मात्र थियो ।

पोन्डोपु डाँडा खनजोत
स्थानीय टाठाबाठाहरूले पोन्ड़ोपुलाई आवाद गर्ने पहल भएछ । उहाँहरूको उर्दीअनुसार स्थानीयहरूले आ–आफ्नो हल गोरू र हलो कोदालो लिएर आए । सायद जेठ, असार (?) महिना भएकोले त्यहाँ गहत छरियो । पछि फेरी गाउँकै केही अरू टाठाबाठाहरूले निजहरूको नाममा सार्वजनिक मुद्दा लगाई दिएपछि पोन्डोपुलाई आवाद गर्ने काम पुरा हुन सकेन । मैले थाहा पाएसम्म पनि पोन्डोपु डाँडा वरीपरी अलिअलि कान्ला भित्ता र हलोको डोब (निशानी) हरू देखिन्थे । त्यसरी खनजोत गरेपछि माटोको भल र लेदो आएर पोखरीको ताल माथि उठ्न थालेको भन्ने मान्यता छ ।

 

कुलोको असर
रिनुवाल र वाइलीको जनताहरूमा के सोच आयो भने अब पोन्डोपु डाँडा वरिपरिबाट कुलो खनेर बर्खामासको पानीलाई ब्ओकुलामा जमाउनु पर्छ । र, त्यसै गरियो पनि । तर, त्यसको नराम्रो असर के प¥यो भने पानीको बर्खे भलसँगै माटो र गेगर पनि आएर पोखरीको ताल भरिन थाल्यो । अनि आहालको सतह माथि उठ्यो र पहिलाको सानो सानो तालहरू झन पुरिएर सम्म मैदान हुन थाल्यो । यसरी पोखरी चौंरमा परिणत हुँदै गएको थियो ।

भैंसी चरन
रिनुवाल, बिसौना र कोल्पुमका केही घरहरू र गोठहरूबाट भैंसी चराउन र पानी खुवाउनलाई ब्ओकुला वरिपरि लगिन्थ्यो । ब्ओकुलाको दक्षिण–पश्चिमतिर भैंसीहरू नियमित रूपमा पौडी खेल्ने र चिंगिली गर्दै लडी हिँड्ने भएकोले त्यहाँ वरिपरि पानीको सानो सानो पोखरीहरू र खाल्डाहरू हुन्थे । भैंसीहरूले पौडी खेलेपछि पानी हिलो र मैला हुन्थ्यो । साथै पोखरीको तल तालमा लिपिन्थ्यो र पानी जमिनमुनि सोसिन र भासिन कम हुन्थ्यो । त्यसैले पानी हिउँद वर्षा सुक्दैनथ्यो । म जवान हुँदासम्म अर्थात् मैले थाहा पाउँदापाउँदै ब्ओकुलामा एउटा पनि भैंसी पुगेन । कारण त भैंसीहरू बँधुवा भए । त्यसपछि वर्षामा ब्ओकुलाको आहाल भरिएला भरिएला जस्तो मात्र हुन्थ्यो । हिउँद लागेपछि चैत–वैशाख सम्ममा त पानीको ताल मात्र रहने गथ्र्यो ।

बर्खे झरी र ब्ओकुला
मैले थाहा पाएअनुसार हाम्रो गाउँमा सबैभन्दा ठुलो र धेरै पानी परेको साल, २०४२ थियो । कति दिनसम्म पानी परी रहेको थियो भन्ने बारेमा यकिन त थाहा भएन, तर धेरै दिनको लगातार वर्षापछि एक दिन अचानक पानी पर्न छोड्यो र दिन पनि उघ्रेर घाम लाग्न थाल्यो । हामी रिनुवाले र वाइलीलेहरू सदाझैं बस्तु, बाख्रा लिएर पोन्डोपुतिर लाग्यौं । त्यसको एक दुई दिन अगाडिदेखि नै ब्ओकुलाको पोखरी भरिएर पानी बाहिर समेत बगिरहेको हल्ला चलिरहेको थियो । त्यसैले गाउँका सबै बैंशालु ठिटाहरूसमेत जानी नजानी पौडी खेल्न र केटाकेटीहरू रमिता हेर्न आउनेको भीड भयो । अलि पौडी खेल्न जान्नेहरू र जवानहरू चैं पोखरीको बीचसम्मै पुग्थे । बीच भागमा पुगेपछि उभिन खोज्दा चुर्लुम्मै डुब्थे र फेरी हतास पौडेर निस्कन्थे । हामी साना केटाकेटीहरू त डुबिन्छ भन्ने डरले छेउ छेउमा पौडी खेलेजस्तो मात्र गथ्र्यौं । पोखरीको पश्चिम कुनाबाट ध्याप्तीतिर जाने र बस्तु बाख्रा हिँडाउने बाटो हुन्थ्यो । त्यो बाटोसमेत पानीले भरिएर एक हप्तासम्म खुलेको थिएन ।
हामी दिनभरि त्यहाँ पौडी खेलेको रमिता हेरेपछि छक्काल दिनतिर सिलिङ ड्याबा, झ्यापेङ कटेर र चार देउरालीको खोलातिर बस्तु बाख्रा खोज्न हिँड्थ्यौँ । पारि भुम्जु डाँडातिर हेर्दा भुम्जु डाँडा, च्यास्मिटार र गेलुङ खोला वरिपरिदेखि दुधकोसीतिर झर्ने हरेक सानोतिनो खोल्साहरूबाट सेतो झरना र कुलो जस्तो पानी छङछङ बगेर आइरहेका देखिन्थ्यो । बर्खेझरीले साँच्चै पानीको मूल फुटेछ र अब त यो गाउँ ठाउँमा कहिल्यै खडेरी र अनिकाल लाग्दैन कि क्याहो जस्तो गरी भान बनाउने मनोरम दृश्य मैले पहिलो पटक देखेको थिएँ । सायद, अन्तिम क्षण थियो र त्यसयता त्यसरी गाउँघरमा पानी परेन होला ।

नर्सरीको असर
वि.सं. २०४० को दशकतिर उँबु गाउँमा पनि नर्सरी रोप्ने प्रचलन आयो । नर्सरीको मुख्य बिरूवाहरू फोकुल भन्ज्याङमा उमारिने गरिन्थ्यो । त्यहाँबाट विभिन्न जातका रूखहरू इपिल, साल, सिसौ, उत्तिस, गोब्रे सल्ला ल्याएर पोन्डोपु डाँडा वरिपरि रोपिएको थियो । त्यसले गर्दा त्यहाँको डाँडाकाँडा अलि बढी हरियो र मलिलो जस्तो भएको पनि थियो । तर, त्यहाँ वरिपरि गाई, भैंसी र भेडा, बाख्रा चराउन नपाइने भयो । श्री ५ को सरकारले गाउँको एक जना सक्रिय व्यक्तिलाई महिनावारी केही तलब दिएर हेरालु भन्ने नामको सुरक्षा कर्मीसहित खटाएको थियो । जंगलमा अर्थुंगे जस्तो भुइँ घाँस पनि टनाटन हुन्थ्यो । घाँस र सानोतिनो रूख बिरूवाहरू गाँजिएपछि बर्खे भल पनि पहिलाको भन्दा कम बग्न थाल्यो । अझ अफसोचको कुरा त के भयो भने २०५० सालतिर त्यो सेप्नाल बनबाट आगलागी सुरू भएर नर्सरी समेत सवै जलेर गयो । नर्सरीमा रोपिएका नयाँ रूख बिरूवाहरू सबै मासिए । त्यसको ठाउँमा पुरानो सल्लाको बिरूवाहरू मात्र बाक्लो गरी उम्रिन थाल्यो । फलस्वरूप पोन्डोपु रानीबनको रूप र असर झन नराम्रो हुन गयो ।
यी यावत कारणहरूले गर्दा ब्ओकुलाको दक्षिण–पश्चिम भागमा रहेको पुरानो पानीको खाल्डाहरू पुरिएर समथर र हरियाली चौंर हुन थाल्यो । त्यही चौंरमा हामीले भलिबल खेल्ने मैदान बनायौं । पछि विस्तारै फुटबल मैदानको रूपमा प्रयोग गर्न थालियो ।

ब्ओकुला फुटबल मैदानमा परिणत
२०५० को दशकमा म पनि अल्लारे थिएँ । वर्षको नौ महिनाजस्तो कटारी काठमाडौंतिर हुन्थेँ । बाँकी तीन महिना जस्तो गाउँघरमा हुँदा भलिबल र फुटबल खेल्ने चलन आयो । रिनुवालको रिटायर्ड (अवकास प्राप्त) क्याप्टेन तीर्थबहादुर राई काकाले आफ्नो छोरा उदयजितलाई फुटबल किनिदिनु भएको थियो । सुरु सुरुमा हामी त्यही बल खेल्थ्यौं । पछि हामी आफै पैसा उठाएर फुटबल किन्ने र खेलको आयोजना गर्न थाल्यौं । त्यति बेलासम्म हामीले चौंरमा मात्र भलिबल र फुटबल खेल्थ्यौं ।
२०५३ सालमा म बेलायती सेनामा भर्ती भएँ । २०५४–५५ सालको तिहारमा गाउँमा देउसी भैलोको साथ साँस्कृतिक कार्यक्रम गरेर फुटबल मैदान खन्ने चन्दा संकलन गरियो । यसको प्रसंग मेरो साइला भाइ नवल र साइला मामाको छोरा विकासले अझै पनि घरी घरी निकाली रहन्छन् । गाविसले पनि केही सहयोग अनुदान दिएको थियो । खेल मैदान खनेपछि उद्घाटन समारोहमा तत्कालिन गाविस अध्यक्ष लक्ष्मण राईलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । २०५७ सालमा म पहिलो छुट्टी जाँदा सानो शिल्ड किनेर स्थानीय रूपमा एउटा फुटबल प्रतियोगिताको आयोजना गरेको थिएँ । त्यो प्रतियोगिता र शिल्डको छोटो भिडियो फुटेजलाई मैले रिनुवाले फेसबुक पेज र युट्युबमा समेत पब्लिस गरेको छु । २०६० सालमा दोस्रो पटक नेपाल छुट्टी आउँदा वडास्तरीय फुटबल खेलको आयोजना गरेको थिएँ । साविकको मानेभन्ज्याङ गाविसमा पर्ने उदयपुर गाउँबाट पनि एउटा टिमले भाग लिन आएको थियो । त्यो भन्दा अघि र पछि पनि त्यही मैदानमा विभिन्न खेलकुदहरूको आयोजना हुँदै आएको छ ।

तीर्थस्थलको केन्द्रविन्दु र एक राते राँकेबजार केन्द्र
हरेक वर्ष ठुलो एकादशीपछि पुर्णिमा दिनदेखि वानाङ्कुस्थित ककनी (महादेव) थानमा तीर्थालुहरूको घुइँचो लाग्छ । तीर्थालुहरू ककनी दर्शन गरेर आएपछि रोटेपिङ र लिंगेपिङ खेल्नलाई ब्ओकुला हुँदै उँबु र वाक्सा गाउँतिर जाने चलन छ । विशेष गरी युवायुवतीहरूले ब्ओकुला वरिपरिको सल्लाघारीमा फोटो खिच्ने चलनको समेत विकास भएको पाइन्छ ।
चतुर्दशीमा हलेसी महादेवथान दर्शन गरेर फर्किआएको रात ब्ओकुला एकराते ठुलो मेला (जसलाई वाम्बुले भाषामा जातुर) लाग्ने गथ्र्यो । मैले थाहा पाएअनुसार आठ–नौ वटा पेट्रोलमेक्स (मैन्टोल) बालेर झिलिमिलीको साथ ठुलो र भव्य जात्रा लाग्थ्यो । त्यो जमानामा फोकुल, दार्बु गाउँबाट मादल, बाँसुरी र राम्दले तथा स्थानीय झ्याउरे भाका गाउँदै ठुलो जत्थामा बजार भर्न आउँथे । फोकुलेहरूले माथिल्लो ढ्वाङ्कुम छोडेर फोकुलमा नै ढ्वाङ्कुम मान्न थालेपछि एक जुट भएर ठुलो संख्यामा बजार आउने र जाने भनेको नै चतुर्दशीको बेला ब्ओकुला बजार थियो । उँबुका धेरैजसो र वाक्साबाट समेत केही बजारेहरू आउने भएकोले पनि ठुलो संख्यामा बजार लाग्ने गथ्र्यो ।
माओवादीको जनयुद्धको असर बढ्न थालेपछि कतिपय स्थानीय मेला बजारहरू बन्द भए । यहाँको ब्ओकुला बजारमा पनि प्रभाव प¥यो । हाल आएर स्थानीय युवा क्लबले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर चतुर्दशी बजारको सम्झना गर्ने र यसको शोभा बढाउने कामलाई निरन्तरता दिइरहेको छ । यद्यपि पहिला पहिलाजस्तो ठुलो संख्यामा भीडभाडको बजार लाग्दैन । मैले थाहा पाएसम्म ढ्वाङकुम जातुरपछि उँबु गाउँको सेरोफेरोमा लाग्ने सबैभन्दा ठुलो जातुर भनेकै ब्ओकुलामा लाग्ने चतुर्दशी बजार थियो ।

कसले काट्यो बर, मैले काटिन मलाई केको डर ?
म सानो छँदा ‘ कसले काट्यो बर, मैले काटिन मलाई केको डर ? ..’ बोलको लोकगीत गाएको खुब सुनिन्थ्यो गाउँ घरमा । एक दिन म ब्ओकुलातिर जाँदा सोही गीत गाउँदै गाउँको एकजना दिदीले बरको रूखमाथि बसेर बरको डाला काट्दै आफ्नो भेडा, बाख्रालाई खुवाउँदै हुनुहुन्थ्यो । त्यतिबेला त मलाई एक किसिमको मज्जा लाग्थ्यो । अहिले सम्झिदा पनि मलाई हाँसो उठ्छ । त्यसरी नै बर–पीपलको हाँगा काटेर बेलाबेलामा बस्तु, बाख्रालाई घाँस खुवाउने गरिन्छ । आफ्नो खेत बारीतिर हाँगा फैलियो भने सेप (छायाँ) परेर पात झरेर खेतबारीमा बाली फल्दैन भनेर काट्दा गाउँको पुरानो बर, पिपलहरू मासिँदै गएको पाइन्छ । ब्ओकुलाको ठुलठुलो बर, पिपलहरू पनि कुनै प्राकृतिक प्रकोप अर्थात् हावा हुरीले ढलेका छन् । कतिपय चाहिं फुटबल खेल मैदानकै खातिर पनि कटान हुन थालेका छन् । ब्ओकुलाको अर्को आकर्षण र परिचय भनेको त्यहाँको ठुलो ठुलो बर, पिपल पनि थियो । त्यसैले त्यहाँ भएका बर, पिपललाई रक्षा गरेर र वरिपरि अझ धेरै बर, पिपल रोपेर पनि यसलाई सुन्दर बनाउन सकिन्छ । सल्लेरी बनका सल्लालाई मासेर अन्य उन्नत खालका रुख रोप्नु उपयुक्त हुन्छ । किनभने सल्लाको रुख ज्यादै रुखोमात्र होइन, त्यसको वरिपरि अरु खालका कुनै पनि रुखबिरुवा हुर्किन दिंदैन । सल्लाले जमिनलाई सुख्खा बनाउँछ ।

ब्ओकुला चौरस्ता जस्तो
पोन्डोपु, सेप्नाल र ध्याप्ती खण्डमा घाँस गोठाला जानेहरूको लागी ब्ओकुला नै मुख्य केन्द्रविन्दु र गौंडा हुन्थ्यो । चरनका निम्ति बस्तुभाउको हुल चारैतिर छोडेपछि तरूनी तन्नेरीहरूबीच एक दुई घण्टा भेला भएर गफ हुन्थ्यो ब्ओकुला चौंरमा । हामी सानो केटाकेटीहरू अनेक खेलहरू खेलहरू खेल्थ्यौँ । अलि सानो हुँदा टालोको भकुण्डो बनाएर सानो–सानो दस–एघार वटा ढुंगा चिटेर गेम खेल्ने गथ्र्यौं । ठुलो हुँदै जाँदा भलिबल र फुटबल खेलको विकास पनि हुँदै गयो । २०५२ साल मंसिर महिनामा पहिलो पटक त्यहाँ बनभोज कार्यक्रमको आयोजना भएको थियो । त्यसपछि त ब्ओकुलालाई पिकनिक स्पटको रूपमा उपयोग गर्न थालियो ।

घोडा तालिम
घोडा भन्ने बित्तिकै छिटो र बलियो पशु मानिन्छ । घोडालाई पनि तेज रफ्तारमा र तरिकाले कुदाउन तालिमको जरूरी हुन्छ । रिनुवालको सेरोफेरोमा घोडा पाल्ने व्यक्तिहरूमा पदमबहादुर राई (रामेध्याप्ती) र शरणजित राई (रिनुवाल) को नाम सुनिन्थ्यो । तर, उहाँहरूले घोडा तालिम कसरी गराउनु भयो ? कहाँ गराउनु भयो या भएन ? भन्नेबारे थाहा भएन । योचाहिं सुनिन्छ कि पदमबहादुरले घोडालाई ज्यादै तेज रफ्तारमा कुदाउने गर्थे । त्यति मात्र होइन कि सानोतिनो कान्ला उकालो र ओरालोमा घोडालाई सिधै उफारेर तल्लो या मास्लो कान्ला पुर्याउँथे ।
मैले देखेर थाहा पाएपछि खचापुको भीमबहादुर राई (तत्कालिन प्रधान पन्च) र रिनुवालको क्याप्टेन तीर्थबहादुर राईको घोडा थियो । क्याप्टेन काकाले चाहिँ कहिले काहिँ चराउनु लानु भएको मात्र थाहा छ । तर, भीमबहादुर काकाको माइलो छोरा ब्रिगबहादुर राईले चाहिँ घोडा कुदाउने तालिम गराउन हरेक बिहान खचापुबाट ब्ओकुला ल्याउनु हुन्थ्यो । तालिम गराउनु हुन्थ्यो ।

मान्छेको तालिम
अरुले ब्ओकुलालाई कतिको तालिम केन्द्रको रूपमा लिए या प्रयोग गरे भन्ने कुराको त्यति हेक्का छैन मलाई । व्यक्तिगत पहुँच, इच्छा र अवसरको कुरा पनि हो । तर, मैले चाहिँ यो ठाउँलाई आफ्नो तालिम गर्ने ठाउँको रूपमा अधिकतम प्रयोग गरेको थिएँ । सानो, हुँदा यहाँको पोखरीमा पौडी खेल्न सिकेको थिएँ । अलि, ठुलो भएपछि अर्थात् किशोर अवस्थामा त्यही ठाउँको दक्षिण–पश्चिम कुनाको चौरमा दस–एघार वटा सा–सानो ढुंगा चिटेर टालोको भकुण्डोसँग खेलिने डुम नामको गेम खेलियो । जवान भएपछि भलिबल र फुटबल खेल पनि खेलियो । भर्ती हुनलाई ६ महिना अगाडिदेखि यति कडा तालिम गरेको थिएँ कि त्यही मैदानको वरिपरि कुदी हिँड्दा झार मरेर अर्को नयाँ बाटो जस्तो देखिएको थियो । त्यही मेरो कडा तालिमले गर्दा पोखरामा त्यति बेलाको शारीरिक तन्दरुस्ती (पीटीएफ) भनिने २४०० मीटरको रनिङमा ८ मिनट ५ सेकेन्डमा आएर म पहिलो भएको थिएँ ।

पिकनिक स्पट
ब्ओकुलाको पोखरी पुरिँदै गएपछि त्यहाँ हरियो र आकर्षक चौर बन्यो । त्यहाँ सामान्य खेलकुद मैदान त छँदै थियो । त्यसको अलावा हिउँद लागेपछि गाउँ घरका मान्छेहरूको बनभोज खाने ठाउँ पनि बन्न थाल्यो । २०५२ सालको मंसिर महिनामा हामी रिनुवाले र वाइलिलेहरूले पहिलो पटक त्यहाँ पिकनिक आयोजना गरेका थियौं । हलोचोक्फुको लाहुरे ठाइँला बासुदेबले हङकङबाट ल्याउनु भएको टेप रेकर्डमा ‘माथि माथि सैलुंगेमा चौंरी डुलाउनेलाई…’ भन्ने मीठो गीत घन्की रहँदा लाग्थ्यो, ‘यो रनबन साँच्चै प्रेमीहरूको जोडी घुम्ने र दुःख पीर भुल्ने ठाउँ हो । उँबु डादद्याल टोलबाट र माझगल्ली टोलबाट पनि माघ महिनामा त्यहाँ बनभोज खान आएका सम्झना अझै छ मलाई ।

वर्तमान खेल मैदान र बजार
पहिलादेखि अहिलेसम्म पनि यहीको खेल मैदानमा हरेक वर्ष जस्तो फुटबल खेलको आयोजना हुने गर्दछ । हरेक वर्षको दशैंमा यहाँ रोटे पिङ, लिंगे पिङ र जाँते पिङ झुन्ड्याएर बजार लगाउने पनि गरिन्छ । यसले गर्दा गाउँघरको मान्छेहरू जम्का भेट हुने र नव जवानहरूले हाँस्ने खेल्ने ठाउँ पनि भएको छ । कहीँ न कहीँ र केही न केही निहुँ अर्थात् बहानाले भेटेर एउटा सामाजिक संजाल बनाउने पक्ष राम्रो हो । यद्यपि यसका केही नकारात्मक पक्ष होलान् । तर, पिङ र बजारको माहोलले गाउँलेहरू माझ ब्ओकुलाको सुन्दरता र चर्चा बढाएकै हुन्छ । नत्र, देश विदेशबाट दशैंको बेला गाउँघर गएर आ–आफ्नो घरमा मात्र दशैं मान्दा गाउँघर नै सुनसान हुन सक्छ । सामाजिक अन्तरघुलन भनेकै रमाइलो मनोरन्जन पनि हो । सामुहिक जमघटको वातावरण थलो ब्ओकुला बनेको छ । उँबु गाउँकै सन्दर्भमा पनि अरू गाउँ टोलभन्दा रिनुवाललाई विशेष आकर्षणको रूपमा भोग्दै र देख्दै आएको छु । त्यसैले हरेक वर्ष पिङ झुन्ड्याउने र मेला लगाउने चलन पनि निरन्तर हुनु पर्दछ ।

चौरास म्याराथन
ब्ओकुलाको शोभा र आकर्षण बढाउनको लागि विगत केही बर्षदेखि यसै ठाउँमा चौरास म्याराथन आयोजना हुँदै आएको छ । सो म्याराथनलाई अझ बृहत र व्यापक बनाउनलाई देश विदेशबाट चन्दा संकलन गर्ने क्रम जारी छ । यसले प्रायोजक पाए र सरकारबाट केही बजेट पारित हुन सक्यो भने निकट भविष्यमा अझ ठुलो सहभागिता र भव्य आयोजना हुनेछ । त्यसले निरन्तरता पाउने छ । सामाजिक परिवर्तनका निम्ति कुनै पनि राम्रो काम एक पटकभन्दा निरन्तर हुँदामात्र प्रभाकारी हुने गर्दछ ।

ब्ओकुला आहालको संरक्षण
जुन गोरूको सिङ छैन, उसैको नाम तिखे भने जस्तो भएको छ, उँबु गाउँको काकड्याम (आहाले) । आहालेलाई वाम्बुले राई भाषामा काकड्याम भनिन्छ । जहाँ अहिले हरेक बिहीबार हाट लाग्ने गर्छ । बेंसीतिरबाट स्थानीय उत्पादन सुर्तीजस्ता व्यापार ल्याउँछन् । नुन, तेल, खाद्यान्न, तरकारीजन्य नगदेबालीको व्यापार हुने गर्छ । त्यही ठाउँमा सन्देश आधारभूत विद्यालय छ । र, हरेक पटक निर्वाचन हुँदा यही ठाउँमा मतदान केन्द्र राखिन्छ । यी विभिन्न कारणले गर्दा उँबु गाउँको केन्द्रसमेत पर्ने भएकोले यो ठाउँ लोकप्रिय छ । ठाउँको नाम चाहिँ आहाले नै भनिन्छ तर अहिले आहाल छैन । ओखलढुंगा जिल्लाको सदरमुकाममा ओखलजस्तो ढुंगा नभएको भए यसको परिचय कहाँबाट खोज्ने ? यस्तै यक्ष प्रश्न उभिएको छ ब्ओकुलामा पनि । ठाउँको नाम ब्ओकुला । तर, त्यसको पुरानो परिचय बोकेको पोखरी छैन । त्यसैले पहिला जस्तो ठुलो गहिरो पोखरी नभएपनि अहिले खेल मैदान भएको उत्तर पूर्वको सानो मैदानलाई प्रयोग गरेर पानीको आहाल खने मात्र र त्यहाँ पानी जमाउन सकेमात्र वरिपरिको चरा चुरुङ्खी र जनावरहरूले पानी खान पाउने छन् ।

खेल मैदान र एथलेटिक्स ग्राउण्ड
इतिहासको पाना पल्टाउँदा पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरेका थिए । सामाजिक र सांस्कृतिक एकीकरण गरेनन् । जहानियाँ राणाशासनले देशको सम्पूर्ण स्रोत आफू केन्द्रित गरे । प्रजातन्त्र त्यसपछि अहिले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । प्रदेश नं.१ को एक अभिन्न मुटुका रुपमा ओखलढुंगा पनि हो । अबको संघीय प्रदेशका हरेक जिल्लादेखि गाउँघर विकासको बाटो पहिल्याउने काम स्थानीय सरकारले गर्नेछन् । ओखलढुंगा प्रदेशसभा (ख) मा यो ब्ओकुला रहेको छ ।
स्थानीय युवाहरूको शारीरिक, मानसिक संमृद्धिका निम्ति खेलकुद अत्यन्त जरुरी विषय हो । उँबु वाक्सा र सेरोफेरोकै पहिलो फुटबल खेल मैदान भएकोले पनि यसको चर्चा त्यसरी नै हुने गर्दछ । सो ठाउँलाई निकट भविष्यमा एक व्यवस्थित खेल मैदानको रूपमा विकास गर्न आवश्यक छ । त्यसनिम्ति युवा नेतृत्व र पहलमा सरकारी बजेटको व्यवस्था हुनुपर्छ । त्यसैगरी देश–विदेशबाट चन्दा संकलनको प्रक्रिया सुरू भएको पनि छ । स्थानीय युवा क्लब र जनताहरूको कार्य योजनाअनुसार निकट भविष्यमा ब्ओकुला मैदानलाई रंगशाला बनाउने छलफल अनुसार केही आधारभूत काम कुराहरू पनि सुरू भइसकेको अवस्था हो । विशेष गरी निर्माण समितिको संयोजकत्व रिनुवालवासी स्थानीय र सक्रिय युवक दर्बराज राईले गर्नु भएको छ । पूर्वसांसद रामहरि खतिवडाले ब्ओकुला मैदान विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । हाल मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्ने उँबु गाउँको वडाध्यक्षमा स्थानीय युवा नेता मेडल राई चुनिन सफल हुनुले पनि आशाको किरण छाएको छ । यही ब्ओकुला आसपासमा जन्मे, हुर्के, बढे, पढेका र यहींको सेवामा जननिर्वाचन भएको हुनाले यो खेल मैदान विकासमा अझ टेवा पुग्ने ठानिएको छ । त्यसनिम्ति स्थानीय जनताहरूले घचघच्याउनु जरुरी छ ।
यो मैदानमा जतिसुकै तोडले फुटबल हान्दा पनि डाँडा नाघेर जानसक्दैन । अब थलोलाई अझ फराकिलो र व्यवस्थित गर्दै सुन्दर खेल मैदान र एथलेटिक्स ट्रयाकको विकास गर्न सकिन्छ । ब्ओकुला मास्तिरको हुलमा भन्ने ठाउँमा भलिबल र बास्केटबल पिच बनाउन सुहाउने र मिल्ने ठाउँसमेत छ । मध्यपहाडी लोकमार्ग जयरामटारबाट करिब दश किलोमिटरमात्र उकालो बाटोमा रहेको छ । वरिपरि सडकसमेत बन्दै गरेकाले भविष्यमा क्षेत्रीय स्तरको खेलमैदान बन्न सक्छ । खेलमैदखानका साथसाथै अन्य योजनाहरूसमेत बनाएर ग्रामीण विकास गर्न जरुरी देखिन्छ ।

रिङ रोड
ब्ओकुला र पोन्डपु डाँडा वरिपरि चक्रपथ (रिग रोड) बनाउने प्रसंग पुरानै हो । २०५७ सालतिर म पहिलो छुट्टीमा गाउँ जाँदौ स्थानीय समाजसेवी तथा जिल्ला विकास समितिका सब–ओभरसिअर भक्त राईले त्यो योजना सुनाउनु भएको थियो । त्यति बेला ओखलढुंगा बजारमा समेत गाडी गुडेको थिएन । अहिले ब्ओकुलामै डोजर आइपुगेको स्थिति छ । ब्ओकुलादेखि भ्रुटुमान्चिङपुम (अमला डाँडा) भन्ने ठाउँ अर्थात् सेप्नाल सिरान तिरबाट पोन्डोपुलाई एक चक्कर लगाउने रोड खन्न सकियो भने भविष्यमा एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ ।

चिहानडाँडाको व्यवस्थापन
पोन्डोपु डाँडाभरि वाम्बुले राईहरूको चिहान घारी छ । हुलमा डाँडाको सिरानमा सर्ब क्ल्वाम डाँडा भन्ने उच्च जग्गा छ । जहाँ पहिला, गाउँ ठाउँको ठुलाठालु, धाँमी, झाँक्री, नाक्सो जस्ता सर्वश्रेष्ठ मान्छेहरूलाई मात्र मरेपछि गाड्ने चलन थियो रे । त्यसैले पनि सर्ब क्ल्वाम डाँडा भनिएको हो भन्ने भनाई छ । हाम्रो गाउँघरतिर चिहान डाँडादेखि डराउने र हेला गर्ने चलन छ । हाम्रै नेपालको कतिपय सहर बजारतिर र विशेषगरी विकसित देशतिर चिहान घारीलाई ज्यादै व्यवस्थित पार्कको रूपमा संरक्षण र संवद्र्धन गर्ने चलन हुँदो रहेछ । चिहान डाँडालाई पवित्र स्थल मानेर वर्षौंपछि पनि आफ्नो पिता पूर्खाको सम्झनामा त्यहाँ गएर प्रार्थना गर्दै फूलपाती र भेटी चढाउने चलन छ । हाम्रो गाउँतिरको चिहान डाँडा खाली र बन जंगलसरिको हुन्छ । अमेरिका र बेलायत जस्तो देशमा चिहान डाँडाको वरिपरि फूल बगैंचा रोपिन्छ र चिहानलाई सुरक्षित रूपमा राखिन्छ । अब, पोन्डोप डाँडालाई पनि वरिपरि रिङ रोड बनाएर आकर्षित र सुरक्षित घेराभित्र राख्न सके भावी सन्ततिले यसलाई सराहना गर्ने छन् ।

पर्यटकीय स्थल
यो ठाउँको विकास गरेर पर्यटकको निम्ति भ्रमण, अवलोकन गर्ने ठाउँका रुपमा विकास गर्न सकिन्छ । वनजंगल छँदैछ । नजिकै जंगलमा धार्मिक गुफाहरु छन् । जंगलमाझ पोखरी र खेल मैदान आसपासमा आराम गर्ने रमणीय स्थल हुने नै भयो । त्यहीँ नजिक जन कल्याण आधारभूत विद्यालय छ । उत्तरतर्फ सुन्दर गाउँ रातो माटो र सेतो कमेरोले लिपिएका घर बस्तीहरूका जनहरूले पाहुनालाई न्यानो स्वागत गर्न आतुर हुन्छन् । हरेक घर अतिथिका निम्ति होमस्टे हुनेछन् ।

परम्परागत पूजाआजा
म सानै हुँदा गाउँमा एक साल वैशाख–जेठमा ठुलो खडेरी लाग्यो । मकै छर्ने बेला भइसक्दा पनि पानी परेको थिएन । रिनुवाल, वाइली, ध्याप्तीतिरको सबै जनताहरू मिलेर लिब्जु उपोको नाममा एउटा राँगो पुजा गर्नु पर्छ भन्ने भयो । सुन्दलाल धामीको सल्लाहअनुसार गाउँलेहरूले त्यसै गरे । माथिको मुख्य लिब्जु थान हामीलाई धेरै टाढा भयो । त्यसैले अबदेखिको लिब्जु थान यहीं हो भनेर सर्ब क्ल्वाम डाँडामाथि अग्लो ठुलो ढुंगा गाडेर लिब्जु सामा पूजा गरिएको थियो । मलाई थाहा भएसम्म सो लिब्जु थानको सामाले निरन्तरता पाउन सकेको थिएन । तर, उक्त ठाउँ अग्लो भागमा रहेको र त्यो ठाउँबाट वरिपरि हेर्दा तल दुधकोशी र धेरै टाढासम्म देख्न सकिने भएकोले त्यहाँ सबैतिर देखिने ‘भ्यु टावर’ बनाउन सके ब्ओकुला घुम्न जानुको अर्को उद्देश्य र आकर्षण थपिने छ ।

बिजुवा धामीझाँक्री थलो
वाम्बुले राई समुदायमा मुन्दुम परम्परा कायम छ । जन्मदेखि मृत्यु पर्यन्तसम्म मुन्दुम पुकारेर परम्परागत संस्कार, संस्कृतिको विधि पूरा गरिन्छ । मुन्दुम रीतलाई थाम्ने काम नाक्सोहरू, ङाबुचोहरू, स्वाम्दिचोहरूले गर्नुहुन्छ । त्यसो त हरपल दुःखबिमार पर्दा जोखना हेर्नेदेखि देउदेउताको पूजाआजा, झारफुक, तन्त्रमन्त्र गर्ने, चिन्ता बसाएर मानसिक, शारीरिक शान्तिको काम धामी, बिजुवा, झाँक्रीले गर्दछन् । सहज मृत्यु वरण गरेकाहरूलाई बाटो लगाउने काम नाक्सो, ङाबुचोहरुले गर्दछन् । तर, असहज मृत्यु वरण गरेकाहरुलाई बाटो लगाउने काम तिनै बिजुवा, धामी, झाँक्रीले गर्दछन् । त्यसैले वाम्बुले राई कुल संस्कार परम्परामा धामीझाँक्री अपरिहार्य छ । ब्ओकुलाजस्तो एक पवित्र थलोमा यिनै बिजुवा, धामी, झाँक्रीहरुलाई भेला गराएर सामूहिक मेला लगाउन पनि सकिन्छ ।

नर्सरी बिरूवा
पोन्डोप डाँडालाई अझ मलिलो र आकर्षक बनाउनलाई त्यहाँ वरिपरि नयाँ बिरूवाहरू लगाउन जरुरी छ । साल, सिसौ, धुपी, गुराँस अझै अन्य मुलुकबाट भित्राइएका नयाँखाले बिरुवाहरु अर्थात् त्यहाँको माटो सुहाउँदो अनुसार जेजे हुन्छ नयाँ रूख बिरूवा रोपेर सकेसम्म पुरानो सल्लाको रूखहरूलाई मास्न र विस्थापित गर्दा राम्रो हुन्छ । सल्लाको रूख रूखो अर्थात् माटो सुख्खा बनाउने भएकोले र यसको प्रयोजन पनि अरू रूखपातभन्दा कम हुने भएकोले सल्लाको रूख भन्दा अरू नयाँ प्रजातिका रूख बिरूवा रोप्न सके बनको शोभा अझ बढ्न सक्छ ।

चर्पी र नुहाउने ठाउँको व्यवस्था
ब्ओकुलामा अहिले एक धारा पानी गएको छ । त्यसैले अब नजिकै एउटा चर्पी र नुहाउने धारा भएको कोठा बनाउन सके जथाभावी दिसा पिसाब गर्ने क्रम रोकिन्छ । वातावरण प्रदुषण कम हुनेछ । साथै टाढा टाढाबाट आउने खेलाडी र दर्शकहरूलाई समेत त्यहाँ नुहाई धुवाई र लुगा फेर्न सक्ने सुविधा बढ्नेछ । त्यहाँ दशैँ टीका बेलुकादेखि एकादसीको पंचमीसम्म लाग्ने पन्ध्र दिनमा दुई रात लाग्ने हुइसा बजार लाग्ने गर्छ । त्यसको अलावा चतुर्दशी बजारमा नाटक र साँस्कृतिक कार्यक्रमको आयोजना हुने गर्दछ । यी सवै कारणहरूले गर्दा पनि त्यहाँ चर्पीको व्यवस्थापन गर्न जरूरी देखिन्छ । उक्त काम स्थानीय युवा क्लबको सक्रियता र गाउँपालिकाबाट बजेट छुट्टाएर पनि गर्नु पर्ने हुन्छ ।

व्यवस्थित शिक्षालय
रिनुवाल गाउँको गहनाको रुपमा जन कल्याण आधारभूत विद्यालय रहेको छ । अहिले सरकारी विद्यालयप्रति समुदायको वितृष्णा जागे पनि आखिर सरकार र समुदाय मिलेर बनेको संस्था नै दीर्घकालीन बन्ने निश्चित छ । ब्ओकुला खेलमैदानको कुराले मात्र यो ठाउँको शोभा बढ्न सक्दैन । त्यसैले अब विद्यालयको व्यवस्थित भवन बनेसँगै व्यवस्थित इन्टरनेर सुविधासहितको पुस्तकालय बन्न जरुरी छ । पुस्तकालयको विकाससँगै युवाहरुका निम्ति प्राविधिक तथा व्यावसायिक सीप सिक्ने थलोका रुपमा विकास हुनुपर्छ । त्यसो हुँदा केटाकेटी भेटघाट पनि गर्ने, आनन्दले पढ्ने ‘मेरो प्यारो ब्ओकुला र रिनुवा’ भन्न सक्ने थलोका रुपमा विकास गर्न जरुरी छ । अबको पुस्ताका निम्ति सहर प्यारो नहुन पनि सक्छ । बिजुली बत्ती, इन्टरनेटको सेवा सुविधाले कुनै गाउँ अब गाउँ होइन, संमृद्धिको पाटो पनि जोडिएर आएको छ । साथसाथै, यो शिक्षालयलाई प्राविधिक विद्यालयका रुपमा विकास गर्न सकेमा अन्यत्रबाट समेत पढ्नका निम्ति विद्यार्थी आउने वातावरण बन्नेछ । त्यसनिम्ति व्यवस्थित छात्रावास निर्माण हुनुपर्छ ।

चराचुरुङ्गी र जीवजन्तु जोगाऔं
यो संसार दिन र रात मिलेर चलेको छ । दिन नहुँदा अँध्यारै अँध्यारो हुन्थ्यो भने रात नहुँदा उज्यालै उज्यालो हुन्थ्यो । आधा दिन र आधा रात हुँदा यो संसारको जीवनचक्र पनि दुई फरक किसिमले चल्दैआएको छ । मानिसलगायत घरपालुवा जीवजन्तुले दिउँसो राज गर्दछौं । तर रातमा राजगर्ने अरु जीवजन्तु पर्यावरण पनि हुन्छ । हामी आफ्नो राजलाई मात्र ध्यान दिने भएकाले अरुको त्यत्ति ख्याल गर्दैनौं । तर, हुनेचाहिं जलचर (पानीमा चर्ने), थलचर (मैदानमा चर्ने), निशाचर (राति चर्ने) प्राणी हुन्छ । मान्छे खाने नरभक्षी बाघ, भालु आदि हुन्छ । मांसहारी र साकाहारी जीवजन्तु हुन्छ । चराचुरुङ्गी हुन्छ । मान्छेहरु सधैं त्यस्ता नरभक्षी पशुदेखि डराउँछौं । सतर्क रहन्छौं । रहनुपर्छ । तिनै पशु र पंक्षीले गर्दा मानवसंसारलाई फाइदा भएको भन्ने भुल्नु हुँदैन । अनेक थरी रुख, बिरुवाहरु हुन्छन् । पर्यावरणले गर्दा पानीको स्रोतहरु उब्जिन्छ । हावा, पानी, माटो, जीवजनावरको आपसी तालमेलले गर्दा संसारको अडिएको हुन्छ । ब्ओकुलाको संवद्र्धन, प्रवद्र्धन र विकास गर्दा यी पक्षलाई ध्यान दिन सक्नु पर्छ ।

प्रदेश सरकार र बिजुली
उदयपुरको गाइघाट हुँदै ओखलढुंगाको पूर्वी भेगका गाउँघर र सदमुकामसम्मै बिजुलीको राष्ट्रिय प्रसारण लाईन जोडिइसकेको हुँदा उँबुगाउँमा पनि निकट भविष्यमा यो सुविधा पुग्ने नै छ । संघीय प्रदेश निर्धारणसँगै स्थानीय निकायको निर्वाचनबाट गाउँपालिका र नगरपालिकाहरुमा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भइरहेको छ । देश नेपाल अब नयाँ ढाँचामा विकास भइरहेको छ । ओखलढुंगामा जन्मिएका त्यागी नेता बलबहादुर राईको करामतले ओखलढुंगाले सडक बाटो चाँडै पाइसकेको छ भने त्यसपछि मध्यपहाडी लोकमार्गले समेत छोएको छ । अबको विकास रहेक गाउँको संमृद्धिसँग जोडिन्छ । हामी विदेशमा रहेर पनि गाउँघरप्रति माया, मोह राख्दै धेरथोर योगदान गर्दैआएका छौं । सास रहेसम्म सकेको योगदान गर्ने प्रतिवद्धता जारी छ ।

हाल ः बेलायत
(लिब्जु–भुम्जु पूर्णाङ्क ७१, २०७४)

Leave a Reply

Your email address will not be published.