किरात राई सामुदायिक पुस्तकालय स्थापना

पत्रपत्रिका

भूपेन्द्रकुमार राई
हात्तीवन (ललितपुर) । किरात राई समुदायसँग सम्बन्धित मुन्धुम, संस्कार, संस्कृति, भाषा, साहित्य र इतिहाससम्बन्धी कृति एवम् किरात राई सर्जकले सिर्जना गरेका विभिन्न विधाका कृति संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले किरात राई सामुदायिक पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

चन्द्रकुमार राई हतुवाली, अरूणकुमार राई, ढुण्डीराज राई, सिक्टन राईको सक्रियतामा संवत् २०७० मा विधिवत दर्ता भएको पुस्तकालय किरात राई समुदायको केन्द्रीय पुस्तकालयका रूपमा स्थापित गरिने भएको हो ।

सो पुस्तकालय तथा अनुसन्धान केन्द्र वैशाखे पूर्णिमा (उँभौली) को शुभसाइत पारेर सार्वजनिकीकरण गरिने बताइएको छ । पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनार्थ चन्द्रकुमार राई हतुवालीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ । गठिन तदर्थ समिति सचिवमा भूपेन्द्रकुमार राई चयन भएका छन् । यसैगरी, पाँच सदस्यमा भोगीराज चामलिङ, राजुकुमार राई, नानुकला राई, कौशिला राई र निशान राई रहेका छन् ।

पुस्तकालय सल्लाहकारमा राष्ट्रगान लेखक व्याकुल माइला (प्रदीपकुमार राई), पुस्तकालय विज्ञ अरूणकुमार राई, अधिवक्ता दिलकुमारी राई र पत्रकार गणेश राई रहेका छन् ।

तदर्थ समिति संयोजक हतुवालीका अनुसार पुस्तकालय विज्ञ अरूणकुमार राईको घरमा पुस्तकालय कार्यालय रहनेछ । महालक्ष्मी नगरपालिका–५ हात्तीवनमा रहने पुस्तकालय कार्यालयका लागि राईले शुल्क नलिने वचन दिएका छन् ।
पुस्तकालय तथा अनुसन्धान केन्द्र तदर्थ समितिले पुस्तक संकलन, संकलित पुस्तकलाई ‘अनलाइन पब्लिक एक्सेस’ हुनेगरी दर्ता गर्ने, क्याटलग तयार पार्ने र इलाइब्रेरी व्यवस्थापनसम्बन्धी काम सुरु गरिसकेको छ ।

हतुवालीले किरात राई जातिसम्बन्धी लेखिएका र किरात राई सर्जकले सिर्जना गरेका कृति संकलनलगायतको व्यवस्थापन कार्य सफल पार्न सबैलाई आ–आफ्नो तहबाट सहयोग पुर्याउन आह्वान गरेका छन् ।

किरात राई सामुदायिक पुस्तकालय स्थापना

Leave a Reply

Your email address will not be published.