राष्ट्रगानका रचनाकार व्याकुल माइला पितृशोकमा

समाचार

लिभु संवाददाता
काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई पितृशोक परेको छ । उहाँको पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा यही पुस १२ गते राति ओखलढुंगाको सोक्मटार गाउँस्थित आफ्नै घरमा निधन भएको हो ।

वाम्बुले राई समाजले वाम्बुले राईहरुको महान्चाड ढ्वाङ्कुमो २०७२ को अवसरमा आयोजना गरेको समारोहमा तत्कालिन सभामुख ओनसरी घर्तीमगरका साथमा मानबहादुर राई, व्याकुल माइला र सभाध्यक्ष गजुरधन राई, महासचिव जीवन हाताचोलगायत सामुहिक तस्बिर खिचाउँदै ।

स्वर्गीय राई केही वर्षदेखि मस्तिष्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । डाक्टरको परामर्शअनुसार घरमै उपचार हुँदैआएको थियो । उहाँको स्वास्थ्यमा केही दिनयता गडबडी आएपछि बिहीबार राति निधन भएको हो । स्वर्गीय राईको किरात परम्पराअनुसार शुक्रबार नै समाधिस्थ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

वर्गीय राई अवकासप्राप्त शिक्षक हुनुहुन्थ्यो । सानैदेखि सामाजिक सेवामा संलग्न राई शिक्षणमा अवकासपछि २०४९ सालमा तत्कालीन थाक्ले गाविसको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यसपछि २०५६ सालमा ओखलढुंगा जिल्ला विकास समितिका सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । उहाँ ओखलढुंगाको एक शिक्षाको अभियनता र समाजसेवीको रुपमा परिचित हुनुहुन्थ्यो । राईको दुई श्रीमती र व्याकुल माइलासमेत तीन छोरा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.