वाम्बुले भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगामा

समाचार

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगाको मानेभन्ज्याङमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा ‘२०औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता’ आयोजना गर्न लागिएको संस्थाका महासचिव जीवन हाताचो राईले जानकारी दिनु भएको हो ।

मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ मानेभन्ज्याङ बजारको माथिल्लो टुंडिखेलमा आगामी मंसिर २० गते हुनेछ । उक्त प्रतियोगिताका निम्ति प्रतियोगी र अप्रतियोगी वाम्बुले भाषी कविहरुले ‘खाक्चिलुपा रिनाखा’ शीर्षकमा २५० शब्दमा कविता रचना गर्नुपर्ने उल्लेख छ ।

‘कविले वाम्बुले मुन्धुम संस्कृति अनुसार ‘खाक्चिलुपा रिनाखा’ शीर्षकमा अनुबन्धित भएर कविता रचना गर्नुपर्ने छ,’ नियमबारे महासचिव हाताचोले विज्ञप्तिमा भन्नुभएको छ, ‘सो कविता देवानगरी लिपि र किरात लिपि दुवैमा स्विकार्य हुनेछ । कविता अप्रकाशित हुनुपर्नेछ । प्रतियोगी कवि स्वयं कार्यक्रममा उपस्थित भएर कविता वाचन गरेको हुनुपर्ने छ ।’ प्रतियोगी कविले मंसिर १० गतेभित्र आयोजक समितिलाई रचना बुझाइसक्नु पर्ने र तीमध्ये उत्कृष्ट पाँचवटा कवितालाई आकर्षक नगद पुरस्कार, सहभागी कविहरु सबैलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अनुबन्धित शीर्षकको सबै कविता पुस्तक कृतिका रुपमा प्रकाशन गरिने जनाइएको छ ।

वाम्रास संस्थाले २०५५ सालदेखि वाम्बुले भाषाको कविता गोष्ठी प्रतियोगिता आयोजना गर्दै आएको हो । २०७४ सालदेखि मुन्धुम संस्कृतिमा आधारित रहेर ‘सुरिम’ शीर्षक कविता प्रतियोगिताको सुरुवात गरेको र उक्त शीर्षकको कवितासंग्रह कृति प्रकाशन तयारी गरेको जनाइएको छ । वाम्बुले राईको परिचय, मुन्धुम परम्परा र ‘सुरिम’को विस्तृत चर्चासहितको कविता कृति २०औं कविता प्रतियोगिता समारोहमा विमोचन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.