वाम्बुले युवा दलकुमार प्रहरी निरीक्षकमा दीक्षित

समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तालिममा उत्कृष्ट प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ‘प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूह’को दीक्षान्त समारोह उक्त पुरस्कार वितरण गर्नुभएको हो ।

दलकुमार वाम्बुले राई दीक्षान्त समारोहमा पापा चामधनसिं राई र मामा बैसरी राईकासाथ

दीक्षित हुने ९५ जना प्रहरी अधिकृतमध्ये १२ जना महिला हुनुहुन्छ । तीमध्ये दलकुमार वाम्बुले राई एक हुनुहुन्छ । उहाँको खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–१ निङलाम (साबिक बाहुनीडाँडा–६) गाउँमा २०४९ माघ २५ गते जन्म भएको हो । पापा चामधनसिं राई र मामा बैसरी राईको तीन सन्तानमध्ये एक्लो छोरा हुनुहुन्छ । उहाँको दुई बहिनी प्रमिला र पुष्पा राई हुनुहुन्छ । दलकुमारले खोटाङको श्री दाम्ली माध्यमिक विद्यालयबाट २०६६ सालमा एसएलसी प्रथम श्रेणी उत्तीर्ण गर्नुभयो । त्यसपछि उच्च शिक्षाका निम्ति राजधानी प्रवेश गरी काठमाडौंको जोरपाटीस्थित चामुन्डा उच्च माविबाट कक्षा ११ र १२ द्वितीय श्रेणी हासिल गर्नुभयो । त्यसैगरी बौद्धको बज्र इन्टरनेसनल कलेजबाट बिबिएस द्वितीय श्रेणी उत्तीर्ण गर्नुभयो ।

त्यसपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धाबाट २०७४ जेठ ७ सेवा प्रवेश गर्नुभएको हो । विभिन्न चरणको तालिमहरू लिई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहबाट दीक्षित हुन सफल हुनुभएको छ । दीक्षान्त समारोहमा उहाँका बाबा र आमा सहभागी हुनुहुन्थ्यो । प्रहरी सेवा प्रवेश गर्नुअघि नेपाल वायु सेवा निगममा समेत प्रतिस्पर्धाबाट चौथो तह सहायक पदमा छनोट भई केही महिना सेवा गर्नुभएको थियो ।

इनस्पेक्टर दलकुमार वाम्बुले राई

दीक्षान्त समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, माननीय सांसदहरु, गृहसचिव प्रेमकुमार राई, नेपाल सरकारका सचिवहलगायतको नेपाली सेनाका बलाधिकृत रथि, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पदाधिकारीहरु, पूर्व प्रहरी महानिरीक्षकहरुलगायतको उपस्थिति रहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको वेबसाइटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.