उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली

प्रवास

एजेन्सी । उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्नका लागि वार्ता टोली तय गरेको छ । कोरियन समाचार एजेन्सी योनापले दिएको खबर अनुसार ‘रि सन वन’को नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी आइतबार नै दक्षिण कोरियालाई पठाउने तयारी भएको छ ।

वार्ता टोलीका संयोजक ‘रि’ सिपीआरके का अध्यक्ष रहेका छन् । वार्ता टोलीमा सीपीआरके(Committee for the Peaceful Reunification of Korea)का उपाध्यक्ष ‘जोन जोङ सु’ र खेलकूद मन्त्रालयका उच्च अधिकारी ‘वन किल उ’ लगायत रहेको योनापले जनाएको छ ।

वार्तामा मुख्य गरी अगामी फेब्रुवरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका विषयमा छलफल हुने बताइएको छ । दुई देशीबीच उत्पन्न तनाब अन्त्य गर्ने र कोरियन प्रायद्वीपमा शान्ति स्थापना गर्न गर्ने बारे पनि कुराकानी हुनसक्ने कोरिया अधिकारीहरुले जानकारी दिएको योनापले जनाएको छ ।

१ जनवरीमा नयाँ वर्ष २०१८ को शुभकामना दिनेक्रममा उत्तर कोरियाका राष्ट्रपति किम जोन उनले दक्षिणमा हुन लागेको शीतकालीन ओलम्पिकमा आफ्नो सहभागिता हुनसक्ने र त्यसका लागि दक्षिणसँग उच्चस्तरीय वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । साथै दुई देशबीच रगतको नाता रहेकाले एकआपसमा समझदारी गर्नु पर्ने तर्क अगाडि सारेका थिए ।

सोही दिन दक्षिण कोरियाले किमको अभिव्यक्तिको स्वागत गर्दै वार्ताका लागि तयार रहेको जवाफ दिएको थियो । दुई वर्षदेखि बन्द रहेको दुई देशको हटलाइन सेवा गत बुधबार पुनस्र्थापित गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.