मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री दिए कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले 

प्रवास मुख्य समाचार

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री 

गणेश वाम्बुले राई

भर्चुअल संवादमा जुटेका ओखलढुंगेली

काठमाडौं– विश्वका २१ मुलुकमा रहेका ओखलढुंगेलीले कोभिड–१९ को दोस्रो महामारीमा ६४ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएका छन् । कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालमार्फत् उक्त रकम जुटाएका हुन् ।

उक्त रकमबाट ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक मिसन अस्पताललाई दुई–दुई वटा मनिटरसहितको आईसीयु बेड उपलब्ध गराएका छन् । त्यसैगरी सिद्धिचरण नगरपालिका र सात गाउँपालिकालाई चालीस लिटरको उपकरणसहितको पाँच–पाँच वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

एक महिनाको अभियानमा यो रकम तथा सहयोग जुटाइएको हो । दुई चरणमा सहयोग प्रदान गरिसकेको छ । दोस्रो चरणमा सामुदायिक अस्पताललाई थप ३ वटा आईसीयु बेड, जिल्ला अस्पताललाई १० सिलिन्ड, हेल्थ पोस्टहरूलाई सिलिन्डर र एक–एक वटा साधारण बेड उपलब्ध गराएको छ । अब थप स्वास्थ्य पूर्वाधार तथा सामग्री जुटाइने जनाइएको छ ।

विश्वव्यापी सञ्जालका संयोजक शिवजी श्रेष्ठका अनुसार ओखलढुंगामा पहिलो पटक आईसीयु बेड व्यवस्था गरिएको हो । ‘महामारीको बेला जन्मभूमिलाई सम्झेर हामीले सञ्जाल निर्माण गरेका हौं,’ बेलायतमा रहेका श्रेष्ठले वेबिनारमा भने, ‘जिल्ला अस्पताल र सामुदायिक अस्पतालमा कम्तिमा आईसीयु बेड, अक्सिजन सिलिन्डर उपलब्ध गराउने लक्ष्य राखेअनुसार पूरा गरेका छौं ।’

जिल्लाको प्रशासन प्रमुख, जनस्वास्थ्य प्रमुख, जनप्रतिनिधिहरू र उद्योग वाणिज्य संघको परामर्शमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले जनाए । अहिलेसम्म ६४ लाख ३२ हजार रुपैयाँ सहयोग जुटाइएको थप जुट्ने क्रममा रहेको संयोजक श्रेष्ठ जनाएका छन् । उक्त रकम सिद्धिचरण नगरपालिका मेयर मोहन श्रेष्ठको संयोजकत्वमा गठित स्थानीय समितिले व्यवस्थापन गर्दैआएको छ ।

‘दक्ष स्वास्थ्यकर्मी र सेवा पाउन नसक्दा मेरो दाइ शिव अधिकारीलाई कोरोनाबाट बचाउन सकिनँ,’ ओखलढुंगाका एमाले नेता किशोर अधिकारीले आफ्नो पीडा सुनाउँदै भने, ‘जिल्लामा पर्याप्त सुविधा नभएकाले केन्द्रसम्म ल्याउँदासमेत बचाउन असफल भयौं ।’ अधिकारीले स्वास्थ्य उपकरण भएरमात्र हुन्न प्रविधि चलाउने दक्ष प्राविधिकको आवश्यक रहेको बताए । पालिका स्तरमा स्वास्थ्य सेवा व्यवस्थित गरिनु पर्ने, अक्सिजन प्लान्टको व्यवस्था गर्न जरुरी रहेको उनले बताए । सामुदायिक मिसन अस्पतालमा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर जिल्लावासीले स्वास्थ्य सेवा पाइरहेका छन् ।

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले मानेभन्ज्याङ गाउँपालिकासँग समन्वय गरी एम्बुलेन्स सेवा संचालन गरेको समाजका पूर्वअध्यक्ष श्रीराम गुरुङले बताए । ‘कम्तिमा कोभिड–१९ विरुद्ध अहिलेका दुई अस्पताल बलियो बनाउने, आठ पालिका ७५ वटै वडाको स्वास्थ्य सेवा बलियो बनाउने हाम्रो लक्ष्य छ,’ दक्षिण कोरियामा रहेका सञ्जालका सचिव गुरुङले भने, ‘हेल्थ पोस्टहरूलाई ४० लिटरको १–१ थान अस्सिजन र एक–एक बेड उपलब्ध गराउने छौं ।’ ओखलढुंगाको जनस्वास्थ्य चुस्त राख्न विश्वव्यापी स्वास्थ्य अभियान जोडिएको भारतमा रहेका पेशलराज बुढाथोकी बताए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीक्षान्त प्रसाई आईसीयु बेड इमर्जेन्सीमा राखिएको जनाए । ‘विश्वसनीय स्रोतबाट अक्सिजन सिलिन्डर पाएका छौं,’ वेबिनारमा डा. प्रसाईले भने, ‘अहिले हामीसँग ३० भन्दा बढी सिलिन्डर छन् । अब ४० वटा पुग्दैछ । हरेक १० वटै बेडमा अक्सिजन सिलिन्डर पु¥याउदैछौं ।’

सामुदायिक अस्पताल निर्देशक डा. युवराज आचार्यले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ वासीलाई सेवा पु¥याउँदै आएको जनाए । कोभिड पोजिटि भएका ९६ जनामध्ये ८२ जना डिस्चार्ज भइसकेको र ७ जनाको निधन भएको उनले जनाए । ‘प्रदेश सरकार र दाताबाट सहयोग प्राप्त भएको छ,’ डा. आचार्यले भने, ‘स्थानीयले पनि सहयोगको हात बढाइरहनु भएको छ । अहिले अक्सिजन प्लान्ट बनेको छ ।’

विश्व सञ्जाल स्थानीय समितिका संयोजक तथा मेयर श्रेष्ठले प्रत्येक पालिकालाई ५– ५ सिलिन्डर वितरण गरिसकेका बताए । छौं । ‘सञ्जालले कोभिड–१९ विरुद्ध लड्दै नागरिकको जीवन रक्षामा एकजुट हुन सिकाएको छ,’ सुनौलो ओखलढुंगा निर्माणमा सबैको सहभागिता सराहनीय भएको उल्लेख गर्दै उनले भने, ‘नगर सभाको नीति तथा कार्यक्रममा सञ्जालको नाम अंकित गर्नेछु । संस्थागत रेकर्ड हो, भावी पुस्ताले अनुशरण गर्न सक्छ । अन्य पालिकाको सभाले पनि संस्थागत गर्न जरुरी छ ।’ ओखलढुंगा जिल्लाको जनस्वास्थ्यबारे आवश्यकतालाई पहिचान भएको जनाए ।

Leave a Reply

Your email address will not be published.