चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

अर्थ / वाणिज्य पत्रपत्रिका

काठमाडौं  । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ।

पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ। बाटो बिराउन थालेको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन ढिला भइसक्यो।’

चालु आवको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा आएको शिथिलता र चुलिँदै गएको व्यापार घाटाका कारण देशको शोधनान्तर घाटामा गएको छ। चालु आवको मंसिर मसान्तसम्म नौ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा छ।

कात्तिकसम्म दुई अर्ब ४० करोड बचत रहेको देशको शोधनान्तर पाँचौं महिनामा घाटामा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत आवको पहिलो पाँच महिनामा देश २८ अर्ब ७८ करोड शोधनान्तर बचतमा थियो। शोधनान्तर घाटाले देशको वाह्य अवस्था कमजोर छ भन्ने संकेत गर्छ।

देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढेपछि अघिल्लो महिना बचत रहेको शोधनान्तरस्थिति पाँचौं महिनामा घटेको हो । चालु आर्थिक वर्षका अघिल्ला दुई महिना ऋणात्मक रहेको शोधनान्तर असोजमा चार अर्ब २७ करोड रुपैयाँले बचत देखिएको थियो। कात्तिममा फेरि बचतको परिमाण घटेको छ ।

शोधनान्तर घाटमा जानुको अर्थ निक्षेप सिर्जना हुने स्रोत मै समस्या आयो भन्ने संकेत गर्छ। घाटाले निक्षेपको स्रोत र कर्जा प्रवाह प्रणालीमै लामो समय असर देखिने सम्भावनालाई अझ प्रवल बनाएको छ।

साढे नौ अर्बको शोधनान्तर घाटा हुनु अहिले अवस्थामा सामान्य भएपछि यो बढ्दै गएमा भने चुनौतीको सामाना गर्नुपर्ने पूर्वअर्थ सचिव डा.सुवेदीले बताए। ‘रेमिट्यान्स घट्नु र आयात बढ्नु मुख्य चुनौती हो’, उनले भने, ‘यस्तै भयो भने विदेशी मुद्राको चाप बढ्दै जान्छ।’आजको अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published.