तीर्थ – लिब्जु बाजे

अर्थ / वाणिज्य पत्रपत्रिका प्रदेश प्रदेश १

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई

 

ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ।

वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या दाजुभाइ देवताका रुपमा पुकार्ने गर्दछन्। भुम्जु भने दुधकोसी पारि खोटाङको डिकुवा, च्यास्मिटार र बाहुनीडाँडा ठाउँको शिरको अग्लो चुचुरो हो। सबैभन्दा ठूला देवता भने लिब्जुलाई मान्ने चलन छ।

लिब्जु डाँडा (१९ सय ५७ मिटर)ले ओखलढुंगा जिल्लालाई नै चिनाएको छ। डाँडामा विदेशी समेत आउन थालेका छन्। त्यहाँ दर्शन गर्दा घरमा शान्ति मिल्ने, स्वस्थ हुने र इच्छाएका सबै कुरा पुरा हुने जनविश्वास छ। मन्दिरमा कुखुरा, मालेगोरु लगायत वैशाख पुर्णेको अवसर पारेर छोडिन्छ।

‘परापूर्वकालमा लिब्जु पुजा माले गोरु काटेर गर्ने चलन थियो। तर, नेपाल एकीकरण र मुलुकलाई हिन्दुराष्ट्र घोषणापछि गाई, गोरु काट्न बन्देज लगाइयो। त्यसयता वाम्बुले राईहरुले माले गोरुलाई लिब्जुका नाममा छोड्ने र राँगा काटेर पूजा गर्ने चलन छ। मुन्धुम फलाक्ने बेलामा ‘माले गोरुले पूजा ग-यौं है’ भनेर पुकार्ने गर्दछन्।’

वाम्बुले राईहरुको महान चाड ढ्वाङ्कुम पुर्नेमा बर्खामा पाकेका मकै, अन्नबालीको जाँड, जिर्मा, विभिन्न परिकार आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई चढाउने प्रचलन छ। चार वर्ष अघि पनि म लिब्जु पुगेको थिए। सडक थिएन त्यसैले हिँडेरै जानु पथ्र्यो। फेरी यही जेठ ५ गते त्यहाँ जाने साइत जु-यो। १५ जनाको टोलीमा दुई घण्टा हिँडेर उंवुमा बनाइएको स्वालेवा पार्क हेर्दे डाँडामा पुग्यौ। त्यहाँ पुग्दा ठ्याक्कै रोडमा पाइला टेकियो। सडक खनिएको रहेछ। अब बुढापाकालाई पनि सजिलो भयो।

लिब्जु डाँडा चढ्दा सगरमाथा चढे झैं भयो। मन्दिरमा चारैतिर पर्खाल लगाएको रहेछ। चिसो हावा, रुखको हरियाली। फोटो खिच्न व्यस्त देखिन्थे भक्तजन। त्यो दिन खाजा खाएर दुण्दु र मानेभञ्ज्याङ मेला भरेर घर फकिर्यौ। लिब्जु डाँडाको संरक्षण भएको देख्दा खुसी लाग्यो। संरक्षणका लागि लिब्जु उपो सामाथान संरक्षण समाज गठन गरिएको छ। वाम्बुले राई समाज नेपाल (वाम्रास)ले पनि उक्त डाडाँको संरक्षण काम अघि बढेको छ।  लिब्जु उपो समाथान संरक्षण उपसमिति काठमाडौंका अध्यक्ष मोतिलाल राईले डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पहल भैरहेको बताए।

वाम्बुले राईहरूले पाकेका मकै, जाँड, जिर्मा आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई चढाउने चलन छ। 

‘वाम्बुले राईहरुको ऐतिहासिक लिब्जु डाँडा हो,’ उनले भने, ‘त्यहाँसम्म रोड पनि पुगेको छ। प्रचारप्रसारका लागि क्यालेन्डर प्रकाशन गरेका छौँ। भक्तजनलाई सजिलो पार्न  तलदेखी माथिसम्म सिँढी हाल्ने योजना छ। फोहर व्यवस्थापनका लागि डस्टबिनहरु पनि राख्न लागेका छौँ। कसरी पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भनेर यसमा छलफल गर्दे आएका छौँ।’

उनका अनुसार उक्त ठाउँमा पर्यटक तथा भक्तजन बस्ने कोठा पनि बनाइने छ। कोषका लागि सहयोगी दाताबाट आठ लाख रुपैयाँ उठेको छ। डाँडालाई व्यवस्थापन गर्न गाउँपालिकाले सहयोग नगरेकामा उनले दुखेसो पोखे। उनले भने, ‘गाउँपालिकाले बजेट दिएको छैन।’

किँबदन्ती
किंवदन्ती अनुसार बाजेहरुले जंगलमा सिकार ढुक्न ठूलो रुख चुनेछन्। त्यसमा चढ्न पहिले अखटा काट्दा सुरु गर्दा त्यो रुखको भित्रबाट एक प्रकारको आवाज आएछ–‘ए मेरो घुँडा काट्छौं है’ भनेर। बाजेहरुले त्यो कुरा वास्ता नगरी फेरि अर्को अखेटा काट्न सुरु गरेछन्। फेरि आवाज आयो, ‘ए मेरो मुटु काट्छौ है’ भनेर। त्यसलाई पनि वास्तै नगरी तेस्रो अखेटा काट्न सुरु गरेछन्। फेरी पनि ठूलो स्वरमा भनेछ ‘ए मेरो घाँटी काट्छौं है’ भनेर। यस्तो पटकपटक आवाजले बाजेहरु छक्क परेछन्। त्यसपछि पहिलो पटक काटेको अखटामा गहिरो गरी काटेछन्। रुखभित्र धोद्रो भेट्टाएछन्। धोद्रोमा मान्छे उभिएको खुट्टा देखेछन्। पूरा काटेर निकाल्दा नौ–दस वर्षको केटो फेला पारेछन्। गाउँमा ल्याएर पालेछन। एकदिन त्यहाँ अपरिचित बूढो मान्छे घुम्दै आएछ। त्यही बुढोलाई जंगलमा भेट्टाएको केटो दिई पठाएछन्।

त्यो केटाले गाउँ छाडेको दिनदेखि १२ वर्षसम्म गाउँमा पानी परेन। गाउँलेहरु जिउने विभिन्न उपायको खोजीमा लागेछन्। अन्ततः के त्यो केटा भगवान त होइन ? अरुलाई दिई पठायौं भनेर आत्मालोचना गर्दै लिन जाने निधो गरेछन्। उनीहरु बूढोमान्छे कहाँ पुगेर गाउँको सबै अप्रिय घटनाबारे बताए छन्। त्यसपछि सात थुम्से खाक्सी छिपेको दाना लगेर बुझाएर केटालाई लिएर गाउँ फर्केछन्। जब त्यो केटोले त्यस गाउँमा खुट्टामात्र टेक्यो, हरियो–परियोले ढकमक्क छाएको थियो रे। त्यसपछि त्यस व्यक्तिलाई ‘लिब्जु’ भनेर नामाकरण गरेछन्।

लिब्जु भन्नाले यस क्षेत्रको राईहरुको भाषामा युग फर्काउनु हो। किनभने १२ वर्षसम्म सुख्खा लागेको र जब लिब्जुले गाउँ टेक्यो सम्पूर्ण युग फर्केको थियो। लिब्जु राई लिब्जु उपो (बाजे) पनि भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *