वाम्बुले राई जन्मदेखि मृत्यु पर्यन्तसम्मको संस्कार वृत्तचित्र

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई जातिको सामाजिक जीवनलाई समेटेर बनाइएको ‘वाम्बुले राई संस्कार’ वृत्तचित्र शनिबार प्रदर्शन गरिएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा प्रदर्शन गरिएको हो ।

वाम्बुले राई जातिको सामाजिक जीवनलाई समेटेर बनाइएको ‘वाम्बुले राई संस्कार’ वृत्तचित्र हेर्न पुगेका दर्शकहरु ।

किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय छन् । त्यसमा वाम्बुले राई एक भाषी समुदाय हुन् । वाम्बुले राईको मुलथलो ओखलढुंगा र खोटाङ जिल्ला हो । वृत्तचित्रमा वाम्बुले राईको जन्म संस्कार, पास्नी, छेवर, गुन्युचोली रहेका छन् । त्यसपछि विवाह संस्कारअन्तर्गत मागी विवाह, मुन्दुम विधि विधानहरू समेटिएका छन् ।

त्यसैगरी वाम्बुले राईले मृत्यु संस्कारलाई तीन किसिमको विधिबाट सम्पन्न गर्ने गरेका छन् । बालखैमा मृत्यु वरण गरेकालाई ङाचाका रुपमा ओढारमा राख्दछन् । तिनको मृत्यु संस्कार विधि सामान्य रहन्छ । त्यसैगरी वयस्क उमेर कालगतिले मृत्यु भएकालाई सहज ढंगले मुन्धुम विधिअनुसार चुलामा पुर्खाका साथ लगाउँछन् । भीर पहरामा लडेर, आगो वा पानीमा परेर, हत्या वा आत्महत्या जस्ता असहज मृत्युलाई उल्टो मृत्युका रुपमा लिने गर्दछन् । त्यस किसिमको मृतकको आत्मालाई धामीलाई चिन्ता बसाएर सिया धपाउने गर्दछन् ।

‘वाम्बुले राई संस्कार’ वृत्तचित्र लेखक तथा निर्देशक कृष्णजित राई

कृष्णजित राईले वृत्तचित्रको लेखन तथा निर्देशन गर्नुभएको हो । करिब दश वर्षसम्म निरन्तर अध्ययन, अनुसन्धान, लेखनपछि वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । ‘वाम्बुले राई जातिको सामाजिक जीवनलाई मैले निक्कै लामो समय, मिहिनेत, लगानी खर्चेको छु,’ नाट्य तथा अभिनयमा समेत संलग्न राई भन्नुहुन्छ, ‘वाम्बुले राईबारे ६ सय जीबीको भिडियो मसित छ । डकुमेन्ट्रीको नर्मसअनुसार ५५ मिनेटमात्र प्रस्तुत गरिएको छ ।’

आफैं वाम्बुले राई भएकोले आफ्नो पहिचानको खोजी गर्ने क्रममा यो काम गरेको उहाँको भनाइ छ । परिकल्पना, समय, आर्थिक, भिडियो क्यामेरा, सीप, जनशक्ति सबै सबै पक्ष लगानी गरेको उहाँ बताउनु हुन्छ । ‘यो काम गर्नको निम्ति बेलायत र सिंगापुरमा रहनु भएको केही आफन्तजनहरुले सहयोग गर्नुभएको छ,’ भन्नुभयो, ‘मैले आर्थिक रुपमा धेरै ठूलो लगानी गरेको छु । समुदायबाट थप सहयोगको आशा राखेको छु ।’ कृष्णजित राईको वाम्बुले नाटक संग्रह ‘ब्वाइचो फुरी’ (फुलेको फूल) कृतिसमेत प्रकाशित छ ।

वाम्बुले राई समाजका अध्यक्ष तथा पत्रकार गजुरधन राईले वृत्तचित्र हेरे खुसी लागेको बताउनु भयो । ‘वृत्तचित्रमा समावेस रीति परम्परामा संलग्न मुन्दुमी नाक्सो, ङाबुचोहरू जो अहिले यो धर्तीबाट विदा भइसक्नु भयो, ती श्रद्धेय व्यक्तित्व देखेर अझ भावुक भएँ,’ वृत्तचित्रमा वाम्बुले संस्कारबारे आवाज दिनु भएका अध्यक्ष राईले भन्नुभयो, ‘कृष्णजित राईको यो अथक प्रयासले हामी आम वाम्बुलेको पहिचानलाई उजागर गरेको छ ।’

लिब्जु फिल्मस प्रालिको तर्फबाट योगिता राईले यस वृत्तचित्रको निर्माता रहनु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तीन दिने महोत्सवको दोस्रो दिन तामाङ र मगर जातिको दुई दुई वटा, माझी, लिम्बु, भुजेल जातिसँग सम्बन्धित वृत्तचित्र प्रदर्शन गरिएको जनाइएको छ । तेस्रो दिन आइतबार थारु, शेर्पा, गुरुङ, सुनुवार, तामाङ र किरात राई जातिको ‘यारी’ चलचित्र प्रदर्शन गरिने छन् ।

Leave a Reply

Your email address will not be published.