संस्कृति : संकटमा किरात वाम्बुले राई जातिको महान् चाड ‘ढ्वाङ्कुमो’

प्रदेश प्रदेश १ विचार / ब्लग

गणेश वाम्बुले राई

परिचय
किरात राई जातिभित्र २८ भन्दा वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले राई भाषा एक हो । वाम्बुले राईको उत्पत्ति थलोमा मनाइने एक सांस्कृतिक चाड ढ्वाङ्कुमो हो । यसलाई ढ्वाङ्कुम पनि भन्दछ । हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा मनाइन्छ । प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ । वाम्बुले समुदायमा यो तिथिलाई ढ्वाङ्कुमपुर्ने भन्दछन् । मुन्दुम परम्पराअनुसार ढ्वाङ्कुमो चाड मनाइने भएकोले हिन्दु संस्कृतिभन्दा फरक मूल्यमान्यता रहेको छ । ढ्वाङ्कुमोमा लिब्जु उपो (लिब्जु बाजे), भुम्जु उपो (भुम्जु बाजे), दिब्जु उपो (दिब्जु बाजे), सिसि सिकारी, आकाश, धरती र पितृहरूको पूजा गरिन्छ । चारजना नाक्सो रहन्छन्, सिसि नाक्सो, ढ्वाङकुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो । लिब्जु यही ठाउँको अग्लो पहाडको नाम हो । यो पहाड समुद्री सतहदेखि करिब २ हजार मिटर उचाईमा छ । चौतर्फी जंगलले घरिएको पहाडको चुचुरामाथि लिब्जु बाजे, भुम्जु बाजे र दिब्जु बाजेको थान रहेको छ । लिब्जु उपोलाई मनोकामना पूरा गर्ने शक्तिको आराध्यदेवका रूपमा मानिन्छ । लिब्जु किरात वाम्बुले राईहरूको आदिम पुर्खा हुन् ।

सांस्कृतिक कानुनमा आधारित ढ्वाङ्कुमो
वाम्बुले समाजका प्रत्येक घर परिवारका प्रतिनिधिसहित सामुहिक भेला भएर पूजा हुने गर्दछ । मुन्दुम कथाअनुसार उहिले पुर्खाहरू माले गोरूको बलि दिएर लिब्जुमा जुरा चढाउँदथे । कालान्तरमा हिन्दुधर्म विस्तार भएपछि गोरूको बलि दिन प्रतिबन्ध लाग्यो । बाछालाई साँढे छोड्ने चलन छ । अहिले राँगालाई धनुर्वाणले हानेर बलि चलाउने गरिन्छ । वाम्बुले राईहरूको उत्पत्ति थलो उँुब गाउँ हो । यहाँ सामूहिक भेला भएर पुजागर्ने थलो रहेको छ, यस ठाउँलाई ढ्वाङकुमटार भनिन्छ । ढ्वाङकुमपुर्नेका दिन प्रत्येक घरबाट थुन्सेमा कागुनीको भात, एक मटिया जाँड, मकैका झुत्ता रीत थुन्सेमा राखेर ढ्वाङ्कुमटारमा पुग्नु पर्दछ । यदि कुनै घरको प्रतिनिधि रीतिथिति पु¥याएन भने त्यो घरलाई समाजले कारबाही गर्दथ्यो । उसले समाजप्रति बेवास्तार गरेपछि कुनै दाजुभाइ, इस्टमित्रबाट सहयोग पाउँदैनथ्यो ।

भौगोलिक अवस्थिति
संघीय नेपाल प्रदेश नं.१ ओखलढुंगा जिल्ला रहेको छ । वि.सं. २०१८ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजित हुनु अगाडि ओखलढुंगा ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो (सूचना विभाग, २०३१)। ओखलढुंगाको क्षेत्रफल १ हजार ७४ दशमलब ५ वर्गमिटर रहेको छ । ओखलढुंगा जिल्लालाई वि.सं. २०१५ सालको आमनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । २०१८ सालपछि २०४६ सालसम्म एउटा निर्वाचन क्षेत्र रहेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालको संसदीय आम निर्वाचनमा दुई क्षेत्र कायम गरिएको थियो । ऐतिहासिक संविधानसभाको निर्वाचन २०६४ र २०७० सम्म ओखलढुंगा जिल्लालाई दुई निर्वाचन क्षेत्रका रूपमा कायमै थियो । यसैगरी ११ वटा इलाका र ५६ वटा गाविस रहेका थिए । नेपाल सरकारको २०७१ को निर्णयपछि ओखलढुंगामा एक नगरपालिका र ५० वटा गाविसमा परिणत गरिएको थियो । नेपालको संविधान (२०७२) जारी भएपछि ओखलढुंगा जिल्लालाई एउटै निर्वाचन क्षेत्र कायम गरिएको छ । स्थानीय तह पुनःसंरचना गरिएपछि ओखलढुंगालाई सिद्धिचरण नगरपालिका, खिजिदेम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिसंखुगढी गाउँपालिका, मानेभन्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका, सुनकोशी गाउँपालिका कायम गरिएको छ ।

ओखलढुंगा नामाकरण
किंवदन्तीअनुसार १७औं शताब्दीमा भीम मल्लको फौजले किरात शासकहरूलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुंगामा कुटेर खाएका थिए । त्यही ढुंगाको ओखल रहेको ठाउ“लाई ‘ओखलढुंगा’ भनिएको हो । रानीतिक सीमांकन गर्दा त्यही नामबाट जिल्लाको नाम राखिएको थियो । ‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्य विस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ,’ नेपाल सरकार सूचना विभागबाट प्रकाशित ‘मेचीदेखि महाकाली–१’ पुस्तकमा छ, ‘अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरूको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन ।’

जातजाति र जनसंख्या
राष्ट्रिय जनगणना २०६८ अनुसार ओखलढुंगाको जनसंख्या जनसंख्या १ लाख ४७ हजार ९ सय ८४ रहेको छ । जसमा महिला ७९ हजार २ सय ९७ र पुरूष ६८ हजार ६ सय ८७ रहेका छन् । ओखलढुंगाको कुल घर संख्या ३२ हजार ५ सय २ रहेको छ । यहाँ क्षेत्री, मगर, बाहुन, राई, तामाङ, शेर्पा, नेवार, कामी, दमाई, सुनुवार, सार्की, भुजेल, गुरूङ, बाहिङ, माझी, दसनामी, थुलुङ, खालिङ, लिम्बु, याक्खा, जिरेल, कुमाल, घले, कानु, थारू, बिन, बादी, हजाम, यादव, ठकुरी, मारवाडी, राजवंशी, हलुवाई, धानुक, नटुवा, नुनिया, बराई, थकाली, दराई, केवट, सोनार, धिमाल, सतार, तेली, साङमाङ, कोइरी, चमार, मुसलमान रहेको देखाएको छ । यहाँ उल्लेख जातिमध्ये तराईमा रहेका कतिपय जाति ओखलढुंगामा नरहेको भन्ने छ । ओखलढुंगामा नेपाली, तामाङ, नेवार, मगर, शेर्पा, सुनुवार, वाम्बुले, बाहिङ, राई, गुरूङ, थुलुङ, भुजेल, खालिङ, साम्पाङ, याक्खा, दुमी, पुमा, हरियानी, बराम, भोजपुरी, मैथिली, धिमाल, सन्थाली, राजस्थानी भाषाको वक्ता रहेको उल्लेख छ । ओखलढुंगा जिल्ला कला र साहित्यमा सम्पन्न जिल्ला हो । ओखलढुंगा सन्त ज्ञान दिलदास र गायिका मेलवादेवी मात्र होइन प्रसिद्ध ‘मेरो प्यारो ओखलढुंगा’ कविताका रचयिता युगकवि सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९–२०४९) तथा नेपालको राष्ट्रगानका रचयिता व्याकुल माइला (वि.सं.२०२९ चैत २५)को जन्मभूमि पनि हो ।

ऐतिहासिक थुम
नेपाल एकीकरण हुन पहिले ओखलढुंगा जिल्लामा प्रान्तीय शासकले शासन चलाएका थिए । यस क्षेत्रमा धेरै थरी भाषा बोल्ने राई किरातीहरू बसोबास गर्दथे । राज्य शासन उनीहरूकै हातमा थियो । तिनै तत्कालीन शासकहरूको नामबाट त्यस क्षेत्रका विभिन्न ठाउ“ र जातिको पहिचान रहन गएको थियो ।
ओल्लो किरात प्रदेशमा ‘रुङबुढा’ नामक राजाले शासन गरेको क्षेत्रलाई ‘रुम्डाटार’ अपभ्रंश भई रुम्जाटार भनिएको हो । रुङबुढाका सन्तान या रैतीलाई ‘रुम्डाली’ राई भनिएको हो । रुम्डालीलाई बाहिङ राई भनेर चिनिन्छ । यसैगरी ‘च्यामाजिति राई’ ले शासन गरेको क्षेत्रलाई च्यानम चिसंखु भनिएको हो । ‘तोलो राई’ शासन गरेको क्षेत्रलाई ‘तलुवा’ (तलुवागढी) भनिए र तिनका रैतीलाई ‘तोलोचा राई’ भनिएको थियो । यस्तै ओखलढुंगा दक्षिण क्षेत्र÷मौजामा ‘वाङबाहाङ’ नामक शासकले राज्य गर्दथे । उनैका रैतीलाई ‘वाम्बुले राई’ भनिएको हो । उक्त क्षेत्रलाई वाम्द्याल (वाम्बुले गाउ“) अपभ्रंश भई उँबुगाउ“ भनिएको हो (राई, २०५०) ।
वाङबाहाङका सन्तान र राई जातिका रैतीलाई वाम्बुले राई भनिएको हो भन्ने कथन छ । अर्कोतर्फ वाम्द्यालमा बसोबास गर्ने राईलाई ‘चौरासे’ राई भनेर पनि चिनाइन्छ । किपट व्यवस्थाअनुसार यस भेगमा ८४ रूपे मालअड्डामा रैकर तिर्नुपथ्र्यो । चौरासी रूपे क्षेत्रलाई चौरास भनिएको र यहा“का राईलाई चौरासे राई भनिएको भन्ने छ । ओखलढुंगाको आठवटा थुमहरू बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । यी थुमहरूको ऐतिहासिकताबारे खोजी भएको छैन । यस भेगबाट अन्यत्र बसाईसरेर गएकाहरूले आफूलाई ‘चौरासे राई’ भनेर चिनाएको पाइन्छ । वाम्बुले भाषामा भालुलाई ‘वाम’ भनिन्छ । कसैकसैले उहिले यस भेगमा भालु पाइने भएकोले ‘वाम्द्याल’ (भालुगाउ“) भनिएको भन्ने पनि छन् तर विश्वासयोग्य आधार पाइन्न । अरू गैर राईहरूले ‘उ“बुगाउ“’ भन्दछन् ।
यस अर्थमा ओखलढुंगा जिल्ला तत्कालीन समयमा किरात शासकहरूको मूल थलोका रूपमा रहेको थियो । यहा“का रैथाने आदिवासी किरात राई जाति हुन् । त्यस भेगका ठाउ“, थातथलोहरूको नाम समेत स्थानीय भाषामा रहेका छन् ।

वाम्बुले राई
‘वाम्बुले’ राईहरू आफूलाई ‘वाम्बुले’ले नै भन्न रूचाउ“छन् । वाङ्बाहाङको सन्तान र रैतीका रूपमा आफूलाई चिनाउन चाहन्छन् नकि भालुगाउ“लेका सन्तान । ऐतिहासिक वास्ताविकतालाई किंवदन्तीले मापन गर्न नसकिने तर ऐतिहासिक तथ्यलाई प्रमाणित गर्न नसकिएसम्म किंवदन्तीलाई नै आधार बनाउनुपर्ने विज्ञहरूको धारणा रहेको छ ।
शब्द बनोटबारेमा ओम्बाहाङ – ओम्बा – ओम्बु – ओम्बुले वा वाम्बाहाङ – वाम्बा – वाम्बु – वाम्बुले भएको भन्ने कोशकार अविनाथ राईको मत रहेको छ । साथै, वाम्बुलाई नेपालीमा उ“बु भनिने सन्दर्भमा दुवैको समिश्रण स्वरूप उम्बुले लेखिएको पनि पाइन्छ । तर, उम्बुले भन्दा ओम्बुले वा वाम्बुले नै तुलनात्मक रूपमा शुद्ध देखिन्छ । त्यहा“का मातृभाषीहरूलाई वाम्बुले भनिने र उनीहरूले पनि आफूलाई वाम्बुले नै ठान्ने हुनाले वाम्द्याललाई उक्त मातृभाषाहरूको आदि तथा मुख्य थातथलो भएकोले सो थरका राईहरूलाई वाम्बुलेको सामूहिक संज्ञानबाट परिचय दिन उपयुक्त देखिएको सन्दर्भमा वि.सं. २०५० सालदेखि वाम्बुले राई लेख्न थालिएको हो । वाम्बुले राईको प्रयोग गरेर पत्रपत्रिका, शब्दकोश र अन्य प्रकाशनहरू प्रकाशित भइसकेका, भइरहेका छन् । राष्ट्रिय जनगणनाले पनि वाम्बुले र इन्टरनेटले पनि वाम्बुलेको नामबाट पहिचान दिएको छ ।
वाम्बुले राई जातिको सामाजिक संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले राष्ट्रिय जनगणना–२०६८ मा देशव्यापी जनजागरण अभियान सम्पन्न गरेको थियो । फलस्वरूप ‘वाम्बुले राई मातृभाषा’ लेखाउनेहरूको संख्या १३ हजार ४ सय ७० जना पुगेको छ । देशविदेश गरी ५० हजारभन्दा बढी वाम्बुले राईहरू रहेको वाम्रास संस्थाको दावी छ ।

मुन्दुम र आस्था
भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दु बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरूको मुख्यथलोका रूपमा लिन सकिन्छ । ज्यामितीय हिसाबमा कम्पासले गोलाकार बनाउदा यो परिकल्पना गरिएको हो । यी दुई नदीले उत्तर–पश्चिम र पूर्वमा ओखलढुंगा, दक्षिणमा दुधकोसी पारि खोटाङ, दक्षिण–पश्चिम सुनकोसी पारि उदयपुर र सिन्धुली जिल्ला पर्दछन् । यी चार जिल्लाको केही गाविसमा वाम्बुले राईहरूको सघन बसोबास रहेको पाइन्छ । वाम्बुले राईहरूको उत्पत्ति कथा आफ्नै थातथलोसित जोडिएको मिथक पाइन्छ । ‘लिब्जु उपो’ (लिब्जु बाजे), लिब्जु डांडा, लिब्जु जंगल, सिकारी युगको प्रसंग यसमा जोडिन्छ । मुन्दुम कथामा यही परिवेशलाई जोडेर पर्गेल्ने गरिन्छ ।
वाम्बुले राईहरूको आफ्नै भाषा, वेशभूषा, संस्कार–संस्कृति, लोकमान्यता, लोकपरम्परा रहेका छन् । आमाको कोखमा भ्रुण गर्भ रहेदेखि पूजाआजा सुरू हुन्छ । शिशुको जन्मदेखि मृत्युपर्यन्तका संस्कार छन्, जुन मुन्दुम (श्रुति र स्मृति परम्परामा चलेका मौखिक धर्मशास्त्र) अनुसार परिपालन गर्दछन् । आफ्नै कुलका धामी, बिजुवा, पितृकार्य गर्ने नाक्सो (कुलगुरू), ङाबुचो (सहायक कुलगुरु), मुन्धुमीहरू हुन्छन् । उनीहरूको बसोबास भूगोलभित्रका खोलानाला, पाखापर्वत, वनजंगल, ढुंगा, ओढार, जीवजन्तु, पशुपंक्षी सबै–सबैका कथाहरू छन् । उधौली होस् या उभौली सिमेभूमे, सिकारी ब्याखारी, सिजेरोजे, बोक्सीडाइनी, राक्षसहरू मन्साउने, पन्साउने विधिहरू छन् । हरेक ऋतुहरूको मान्यताहरू छन् ।

लिब्जु उत्पत्ति कथा
वाम्बुले राईहरूको मुन्दुम कथाअनुसार शताब्दीऔं वर्ष अगाडि एक दिन पूर्वजहरू अर्थात् बाजेहरू जंगलमा सिकार गर्न गएका थिए । बाजेहरूले सिकार ढुक्नको लागि ठूलो रूखलाई चुनेछन् । र सल्लाह गरेछन् । आज राति यही ठूलो रूखमा चढर सिकार ढुक्नु पर्छ । त्यसपछि बाजेहरू त्यस रूखमा चढ्नको लागि पहिले अखटा काट्न सुरू गरेछन् । जब अखटा काट्न सुरू गरे, त्यो रूखको भित्रबाट एक प्रकारको आवाज आएछ । ‘ए, मेरो घुँडा काट्छौं है !’ भनेछ । बाजेहरूले त्यो कुरा वास्तै नगरी फेरि अर्को अखटा माथि काट्न सुरू गरेछन् । फेरि पनि आवाज आएछ । ‘ए मेरो मुटु काट्छौं है !’ भनेर । अझै बाजेहरूले कुनै वास्ता नगरी तेस्रो अखटा काट्न थालेछन् । त्योपालि भित्रबाट ठूलो स्वरमा भनेछ । ‘ए, मेरो घाँटी काट्छौं है !’
यसरी पटक पटक आवाज आएपछि छक्कै परेछन् । यो रूखमा केको आवाज र यो रूख किन बोल्यो भनेर खुलदुलीमा परेछन् । त्यसपछि बाजेहरूले त्यो पहिले काटेको अखटामा फेरि गहिरो गरी काटेछन् । गहिरो काट्दा उनीहरूले रूखभित्र धोद्रो भेटेछन् । धोद्रोमा हेर्दा मान्छे उभिएको खुट्टा देखेछन् । यसरी खुट्टा देखेपछि भनेछन्, यहाँ त एउटा केटा पो रहेछ । को हो निकाल्नु पर्छ भनेर केटालाई जोगाएर रूख गिडेछन् । त्यसरी रूखको धोद्रोमा करिब नौ–दश वर्षको केटो फेला पारेछन् । अनि त्यो केटोलाई बाजेहरूले गाउँ फर्किएछन् । गाउँमा राखेछन् । पालेछन् । तर उसको कोही आमा–बाबु पत्तो लागेनछ । उसलाई गाउँमै गाउँलेहरूले पालनपोषण गरेछन् । केटा ज्यादै खन्चुवा थियो । पाल्नै धौधौ परेछ । एक दिन यस गाउँमा एउटा अपरिचित बुढो माग्दै आएछ र भनेछ– ‘म खाँडी लुगा छिप्ने मानिस हुँ ।’
त्यतिखेर गाउँलेहरूले भनेछन्– हामीले यो केटालाई जंगलमा भेट्टाएर ल्याएका हौं । लगेर गोठालो लगाऊ ।’ त्यसरी केटालाई बुढोलाई दिइपठाएछन् । त्यो केटाले गाउँ छोडेपछि पानी पर्न छाडेछ । खडेरी लागेछ । आज पर्ला, भोलि पर्ला, पर्सि पानी पर्ला भन्दाभन्दै बाह्र वर्षसम्म गाउँमा पानी परेनछ । सुख्खा लागेछ । गाउँका मानिसहरू पानी पाउने, जिउने विभिन्न उपायको खोजीमा लागेछन् । पानीको पाउने अनेक जुक्ति गर्दा आकाशमा पानी कहाँनेर बन्द भयो भनेर हेर्न र खोल्न जाने भएछन् । उनीहरूले सयौंको घाना गाँस्न थालेछन् । बाँसको भ¥याङ गाँस्दै जाँदा धेरै माथि माथि पुगेछ । माथि टुप्पोमा पुग्नेले भनेछन्– ‘ए, बाँस काटेर ल्याऊ है ।’ त्यति बेला फेदमा बसेकाहरूले सुनेछन्– ‘ए, हामीले पानी भेट्यौं, फेदमा काट है ।’ अनि काटेछन् । त्यसरी फेदमा काट्दा टुप्पोमा पुग्नेहरू लडेर अर्को गाउँतिर झरेछन् । फेरि त्यो गाउँमा दाजुभाइसित भेट हुन सकेन । अर्कैतिर पुगे । त्यस कारण राईहरूको खोलैपिच्छे भाषा नमिलेको भन्ने भनाइ छ ।
यसै क्रममा बाह्र वर्षसम्म सुख्खा लाग्दा सबै जंगल मासियो । मानिसहरूकोले विभिन्न जडिबुटी खाए । कति विष लागेर मरे । तर जो सिस्नुको जरा खाए, उनीहरू चाहिं बाँचे भन्ने भनाइ छ । त्यसकारण यस क्षेत्रका राईहरू मरण पर्दा सबै सब्जी खान हुने तर सिस्नु बार्नुपर्छ भन्ने मान्यता राख्दछन् । मरण पर्दा सिस्नु बारिन्छ ।
सुख्खाले विभिन्न अप्रिय घटनाहरू घट्दै गयो । गाउँका मानिसहरू मासिदै गए । बाजेहरू सोच्न बाध्य भएछन्, ‘के त्यो केटो भगवान त होइन ? उतिबेला गोठालो लगाऊ भनेर त्यो बुढोलाई दिइपठायौं ।’ त्यसपश्चात् बाजेहरूले त्यो केटालाई खोज्न जाने निधो गरेछन् । सोधीखोजी गर्दै बुढो मान्छे कहाँ पुगेछन् । गाउँमा बितेको बाह्र वर्षसम्म भएको सम्पूर्ण घटना सुनाएछन् । अनि बुढोले भनेछन्, ‘पहिले तिमीहरूले नचाहेर मलाई दियौं । अहिलेसम्म मैले पालनपोषण गरेर हुर्काएँ । दिन्न ।’
बाजेहरूले जसरी भएपनि दिनोस् भनेर जिकिर गरेछन् । अनि बुढोले भनेछन्, ‘त्यसो भए मलाई खाक्सी छिपको दाना (रित्लिचिन्चि) सात थुम्से खोजेर ल्याइदेऊ अनिमात्र दिन्छु ।’ अनि बाजेहरूले सात थुम्से खाक्सी छिपको दाना खोजेर बुढोलाई दिएछन् । त्यसपछि बाजेहरू त्यो केटालाई लिएर गाउँ फर्किएछन् । जब त्यो केटोले त्यस गाउँमा पाइला टेक्यो त्यसपछि गाउँमा पानी पर्न थाल्यो । हरियो परियोले ढकमक्क छाउन थाल्यो । त्यसपछि त्यो अल्लारे केटालाई ‘लिब्जु’ भनेर नामाकरण गरेछन् । वाम्बुले राई भाषामा ‘लिब्जु’ भन्नाले ‘लिब्चाम’ अर्थात् ‘लिप्चाम’ (फर्काउनु) भन्ने हुन्छ । बाह्रा वर्षसम्म सुख्खा लागेको गाउँमा जब ‘लिब्जु’ फर्काएर ल्याउन सफल भए, त्यसपछि सम्पूर्ण युग फर्केको थियो । त्यसपछि लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकार्न थाले । लिब्जुउपो, लिब्जु सामा (लिब्जु देउता) भनेर पुकार्दछन् ।
त्यसरी फर्काएर ल्याइएको ‘लिब्जु बाजे’ गाउँबाट एकाएक अलप भएछन् । सबैतिर खोज्दै गर्दा बिजुवामार्फत् गाउँको सबैभन्दा शिरमा रहेको जंगलमा रहेको भनेर जानकारी पाएछन् । त्यसपछि सबैले त्यो केटा साँच्चैका सृष्टिकर्ता भएको भन्ने बुझेर पूजाआजा गर्न थालेछन् । घना जंगलले घेरिएको पहाडलाई लिब्जु देउताका रूपमा मान्दैआएका छन् ।
वाम्बुले राईहरू र यस भेगका अन्य समुदायले समेत लिब्जुको पूजा गर्ने गर्दछन् । बाजेको पूजा वर्षमा दुई पल्ट गरिन्छ । पहिलो पूजा वैशाख र जेठको माझमा पर्ने पूर्णिमाका दिन गरिन्छ । थान सरसफाई गरिन्छ । पूजापछि भोलिपल्ट डुण्डुमा धुमधाम बजार लाग्ने गर्दछ ।
बृहत् पूजाचाहिं भदौ पूर्णिमा तिथिमा गरिन्छ । यो पूजालाई मुख्य मानिन्छ । यस क्षेत्रका किराती पुर्खाहरूले माले गोरू काटेर त्यसको जुरा चढाउने गर्थे भन्ने छ । सिकार, कोदो, काउनीको जाँड, काउनीको भात र नयाँ अन्न, फलफूल थुम्सेमा राखेर कन्यालाई बोकाएर बाजेको थानमा पु¥याउने गरिन्छ । त्यो विधिविधानलाई मुन्दुमी नाक्सो (कुलगुरू)हरूले मुन्धुम फलाकेर चढाइदिन्छन् । तर, जब नेपालमा हिन्दु धर्मको घोषणा भयो तब गोवध गर्न प्रतिबन्ध लाग्यो । त्यसपछि किराती पुर्खाहरूले राँगा काटेर ‘लिब्जु’ पूजा गर्दछन् । अहिलेसम्म बाजेको नाममा गोरू साँढे छोड्ने गरेका छन् । यहाँका अन्य समुदायले लिब्जुलाई डाँडादेव, बिजुवा पूजा भनेर फलफूल आदि चढाएर मनाउने गर्दछन् ।
लिब्जुपूजा गर्ने विभिन्न मान्यताहरू छन् । लिब्जु बाजेको थान जाँदा धुप, अक्षेता आदि लिएर थानभन्दा निक्कै वर रहेको त्याम्ली भन्ने दहमा नुहाएर जानु पर्छ । पूजा गरिसकेपछि त्याम्ली दहसम्म अक्षेता छर्दै फर्किनु पर्छ । पछाडि फर्केर हेर्न हुन्न भन्ने मान्यता छ । उहिले पुजा गरेर फर्किने क्रममा एकजनाले दह आइनपुग्दै पछाडि फर्केर हेर्दा ती अक्षताहरू सबै बाघको रूपमा भएर पछ्याएछन् । उनीहरूले बाघ देखेर सबैजना दहमा हामफाले छन् । त्यही मरेछन् । त्यो दहको स्वरूप अझै पनि रहेको छ ।
लिब्जु बाजे भनेको शक्तिको प्रतीक हुन् । यस भेगका राईहरू लिब्जु उपो भनेरपछि आस्था र विश्वास गर्दछन् । लिब्जु आत्मबल माग्ने आस्थाको देवता हो । पहिलो विश्व युद्ध होस् कि दोस्रो विश्व युद्ध या अन्य युद्धमा बहादुरी कमाउन जाने किरातीहरू जानुअघि लिब्जुको भाकल गरेर गएका थिए । अहिले पनि त्यसरी नै कार्यसफताका निम्ति लिब्जुबाजेको भाकल गर्ने चलन ज्यँुकात्यँु रहेको छ । त्यसैले लिब्जु एउटा पहाडमात्र होइन, यस भेगका वाम्बुले राईहरूको असीम आस्थाको केन्द्र लिब्जु देवता हो ।

ढ्वाङकुमटारमा ढ्वाङकुमो
लिब्जु देउतालाई वाम्बुले राईहरूले पहिले उत्पत्तिस्थल लिब्जु डाँडामै मान्ने पुज्ने गरेका थिए । लिब्जु अग्लो डाँडा, धेरै टाढा उचाईमा रहेको हुँदा त्यहाँ बुढापाका, केटाकेटीहरू पुग्न असजिलो भयो । त्यसैले समाज बसेर साविक उँबु–२ स्थित थोप्लोम डाँडा अर्थात् साम्फालिम डाँडामा लिब्जु थानको मठ थपना ल्याई पूजाआजा गरी धुमधामसँग ढ्वाङ्कुम चाड मनाउँदै आएका थिए । मुन्दुम कथाअनुसार साम्फालिम डाँडामा उहिले जाउमो र ख्लिउमो नामका दिदी–बहिनीले तान बुन्ने गरेको ठाउँ हो भनिन्छ । समाजमा जनसंख्या बढ्दै जाँदा साम्फालिम डाँडामा रहेको लिब्जुको मठ उखेलेर भुमथली डाँडा (हालको ढ्वाङ्कुमटार)मा ल्याई थानवान बनाएर पुजा गर्न थालिएको भन्ने रहेको छ । भूमथली डाँडामा रहेको एउटा बरको बोट उखेलेर लगि सुमथली डाँडा (तारकोम) मा रोपेका थिए र त्यो बर अहिलेसम्म जिवित रहेको छ ।
जनसंख्या बढ्दै गएपछि एकै थलो र एकै समूहमा मनाइने लिब्जु पूजा तथा ढ्वाङ्कुम चाड हाल उँबु गाउँमा ३ ठाउँमा मनाइन्छ । उँबुको भुमथली मूलथलो हो भने यसका अतिरिक्त सुमथली डाँडा र फोकुलको पनेर डेबामा मनाइन्छ । त्यसैगरी मानेभञ्ज्याङ्ग गाउँपालिका–५ उदयपुर गाउँमा विधिपूर्वक मनाइन्छ । खोटाङको हलेसी तुवाचुङ गाउँपालिका–१ झाप्पा गाउँमा पनि विधिपूर्वक मनाउँदछन् । सुनसरीको पानबारीमा लिब्जुथान थापना गरी पूजाआजा गर्दछन् । काठमाडौं उपत्यका र बेलायतमा रहेका वाम्बुले राईहरूले ढ्वाङ्कुमो चाडको अवसरमा सामुहिक भेला भएर मनाउँदछन् । त्यस्तै, बेलायतमा रहेका वाम्बुले राईहरूले सामुहिक रूपमा ढ्वाङ्कुम चाड मनाउने र संगिना नाच्ने गर्दछन् ।
किरात वाम्बुले राईले वर्षमा ३ पटक (धुले पूर्णे, चण्डी पूर्णे र ऋषि तर्पनी पूर्णे)मा आप्mनै रीतिथिति, संस्कारअनुुसार सामुहिक रूपमा लिब्जुको पूजा गर्ने गर्दछन् । सामुहिक पूजा गर्दा ४ थरी (पाछा)का ४ नाक्सो (कुलपुजारी)हरूद्वारा विशेष पूजा सरजामका साथ मुन्धुम फलाकेर प्रकृतिको पूजाआजा गरिन्छ । भदौपूर्णिमा तिथिमा चाहिं दुई दिन पूजाआजा र भव्यतासाथ ढ्वाङ्कुम मेला भर्दछन् । ढ्वाङ्कुमो पूजामा विभिन्न क्षेत्रबाट मेला भर्न आउने राईहरूसमेतको मुन्दुम रीत छुटाइएको हुन्छ । लिब्जुलाई देवता ४ जना धामी झाँक्रीहरूको जोखानाबाट पत्तालागेको हुनाले सामुहिक पूजा गर्दा ४ जना नाक्सोले मुन्धुम विधिअनुसार पुज्ने चलन रहिआएको किम्वदन्ती छ ।

अतिक्रमणमा भुमथली अर्थात् ढ्वाङ्कुमटार
ढ्वाङ्कुमटार भन्नासाथ वाम्बुले राईहरूले आफ्नो पुर्खाथलो लिब्जुको पुजा गर्ने पवित्र स्थल सम्झिन्छन् । यो ठाउँको पुरानो नाम भुमथली थियो भन्नेचाहिं बुढापाकाले समेत बिर्सिसकेका छन् । ठुलठुला बर, लाँकुरी, क्वार्बोलाक्ची, हर्रा, बर्रा, चिलाउने, फरिन आदिको रूखहरूले झ्याम्म ढाकिएको देउता थान भउको टारमात्र सम्झिन्छन् । हरेक वर्ष सामुहिक रूपमा ढ्वाङकुमो अर्थात् लिब्जु पुजा गर्दा यही ठाउँमा रीतिथितिअनुसारको कोसेली लिएर भेला हुन्छन् । परम्पराअनुसारका धार्मिक क्रियाकलापमा सहभागी हुन्छन् । लिब्जु उपोसँग बल माग्दछन् । दुई दिनसम्म नाचगान गर्दछन् । घर फर्किन्छन् ।
उहिले यो भुमथली सम्म परेको टार थियो । त्यसैले ढ्वाङ्कुमटार भनिएको थियो । यसको मौलिक नाम ढ्वाङकुमटाम थियो । अहिले यो ढ्वाङ्कुमटार अतिक्रमणमा परेको छ । वि.सं.२०१७ सालमा उँबुमा राज्य लक्ष्मी पाठशाला स्थापना हुनपुग्यो । वि.सं. २०२२ सालमा ढ्वाङ्कुमटारको पूर्वतर्फको कुनामा उक्त विद्यालय सारियो । सुरूमा प्राथमिक तह, त्यसपछि निमावि र २०४० सालमा माध्यमिक तहको पठनपाठन हुनथाल्यो । २०७३ सालदेखि कक्षा ११ र १२ सम्म सुचारू छ । अहिले विद्यालयको नाममा २५ रोपनी ५ आना क्षेत्रफल जग्गा चर्चिएको छ ।
यसरी दक्षिणतर्फ ढल्किएको पहाडको काखमा अवस्थित गाउँमा स्थापना गरिएको विद्यालयले ढ्वाङ्कुमटारको लिब्जु देवस्थल हातालाई कब्जा गरेको छ । एकजोडी ठूलो बरको फेदमा घेराबार गरिएको लिब्जु, भुम्जु, दिब्जुको थान र त्योसँगै भेला हुने थोरै चौर रहेको छ । वाम्बुले राईहरूले आफ्नो आदिम देवस्थ संरक्षण, संवद्र्धन गर्ने कार्यमा चुकेका छन् ।

ढ्वाङ्कुमटार संरक्षणको प्रयास
२०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पले ३२ जिल्ला धनजनको क्षति पु¥याएको छ । भूकम्पपछि नेपाल सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ओखलढुंगाको उँबुस्थित सो राज्यलक्ष्मी माविको नयाँ भवन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । एसियाली विकास बैंक (एडीबी) को १० करोड रूपैयाँ सहयोगमा भवन बन्ने टुँगोमा पुगेको छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले ‘वाम्बुले राई भाषा, संस्कार, संस्कृति हाम्रो पहिचान, संरक्षण र संवद्र्धन एकमात्र हाम्रो अभियान’ जारी राखेको छ । सो संस्थाको दोस्रो राष्ट्रिय सम्मेलन २०७२ फागुन १ र २ गते ललितपुरमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले ५ बुँदे घोषणापत्र जारी गर्दै बुँदा नं. (१) वाम्बुले राई भाषा, संस्कृति, संस्कारको संरक्षण, संवद्र्धन, प्रवद्र्धनको लागि विशेष प्राज्ञिक समितिहरू गठन गरी अभियान संचालन गर्ने । (३) वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाका मानार्थ सदस्य तथा राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला)को संयोजकत्वमा गठन भएको ‘लिब्जु सामा (धाम) धार्मिक पर्यटकीय क्षेत्र विकास’ अभियान तथा योजनालाई अघि बढाउने । साथै लिब्जु संरक्षणका नाममा स्थापना भएका स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य गरी लिब्जुको एकीकृत विकास पहल गर्ने । (४) किराती वाम्बुले राईहरूले आदिम कालदेखि धार्मिक थलोको रूपमा उपयोग गर्दै आएको ओखलढुंगाको उँबु–३ स्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक थलो ढ्वाङ्कुमटार अन्तर्राष्ट्रिय अभिसन्धि (आईएलओ)–१६९ अनुसार वाम्बुले राईहरूको पहिचान र अस्तित्वसँग जोडिएको धार्मिक स्थल भएकोले सो स्थानलाई अतिक्रमण गरी स्थापना गरिएको राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई उँबु गाविसको पायक पर्ने स्थानमा स्थानान्तर गरी ढ्वाङ्कुम स्थलको संरक्षण गर्ने ।
संस्थाको सो घोषणापत्रअनुसार राज्यलक्ष्मी माविको नयाँ भवन साबिक ठाउँमा बन्न नहुने अडान राखेको छ । त्यसका निम्ति नयाँ ठाउँ आवश्यक परेको विद्यालय व्यवस्थापन समितिले औल्याएपछि २०७५ फागुन महिनामा स्थानीयवासी वाम्बुले राई व्यक्ति तथा परिवारहरूले ८ रोपनी ७ आना क्षेत्रफलको जग्गा विद्यालयको नाममा निःशुल्क उपलब्ध गराएका छन् । तर, स्थानीय अन्य समुदायले विद्यालय साबिककै ठाउँमा बन्नु पर्ने भनेर विवाद सिर्जना गरेका छन् । यसरी किराती वाम्बुले राईहरू सामाजिक परम्परा सुचारू राख्ने ऐतिहासिक धार्मिक तथा सांस्कृतिक थलो अतिक्रमणको चेपुवामा परेको स्थिति छ ।

सन्दर्भ सामग्री :
राई, अविनाथ, (२०६८), किरात वाम्बुले राई जाति र द्वा¥वाङ्चा वंशावली, ललितपुर :बीरसिंह–रामेश्वरी–महेश्वरी स्मृति प्रतिष्ठान ।
राई, इन्द्र जाबा, वाम्बुले राईको मौलिक संस्कृति र परम्पराः ढ्वाङ्कुम मेला, इक लिब्जुभुम्जु त्रैमासिक, वर्ष ५, अंक १, २०७५ साउन–असोज ।
राई, गणेश राई (२०६८), किरात वाम्बुले लोकवार्ता, काठमाडौं :वाम्बुले राई साहित्य प्रकाशन ।
राई, दर्वाराज, वाम्बुले ढ्वाङ्कुमोको इतिहास, इक लिब्जुभुम्जु त्रैमासिक, वर्ष ५, अंक १, २०७५ साउन–असोज ।
राई, बालकाजी, वाम्बुले राईको देवता उत्पत्ति : लिब्जु हिमालय होइन, लिब्जु–भुम्जु पूर्णाङ्क ५, वर्ष ५, २०५३ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको घोषणापत्र– २०७२, लिब्जु–भुम्जु वर्ष २३ अंक १, पूर्णाङ्क ६५, २०७३ वैशाख–असार (किरात येले संवत् ३७९५÷सन् २०१६)।

(नेपाली लोकवार्ता तथा संस्कृति समाजले २०७६ जेठ १७ र १८ गते काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय लोकवार्ता सम्मेलनमा प्रस्तुत गरिएको सम्मेलन पत्र यस पटक प्रकाशन गरिएको छ । इक लिब्जु–भुम्जु वर्ष ६ अंक ४ र ५ संयुक्त, २०७६ वैशाख–असार (किरात येले संवत् ३७९८÷सन् २०१९)

Leave a Reply

Your email address will not be published.