सम्झनामा मेरो पापा “रानाज्यु” – गगन राई

जीवनशैली समाज

संस्मरण

poet Gagan Wambule Rai

म सम्झिरहेछु ,२०७५ साल फागुन महिनाको १७ गतेको त्यो दिन । जुन दिन बिहानको ४ः०० वजे म काम गर्ने विद्यालयको मेरो प्रधानाध्यापकले मलाई निद्राबाट उठाएर अप्रत्यक्ष रुपमा मेरो बुवाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।

 

मेरो प्रधानाध्यापकले दिनुभएको अप्रत्यक्ष जानकारी मैले देखेको सपनासँग मिलेको थियो । उता मेरो बुवा मृत्युसँग लडिरहँदा यता मैले एकदमै डरलाग्दो सपना देखिरहेको थिएँ । सपनामा मेरो बुवालाई एउटा ठुलो कालो भैँसीले लखेट्दै सिङ्ले हानेर मेरो घुरेन बारीको पश्चिम पट्टिको कुवाखोलाको खोल्सीमा झारेको थियो ।
मेरो बुवा मृत्युसँग हारिसकेको र यो धर्ती छोडेर स्वर्गवास हुनुभएको थाहा पाएर फतक्कै गलेको जस्तै भएको थिएँ । आकाश खसेर मलाई थिचकोजस्तो भएको थियो । मनमा भुइचालो गइरहेको थियो । आँसुको मुल फुटेर परेली भरिएको थियो ।

म मेरो प्रधानाध्यापकसँग दोहोरो वोल्न सकेको थिइनँ । त्यो चिसो विहानीमा उहाँ र एक जना गाउँले दाईले डोर्याउँदै मलाई आधी बाटोसम्म पुर्याइदिनुभएको थियो । आधीबाटोबाट मलाई मेरो दाई ठण्ड सिंहले बाइकबाट घरसम्म पुर्याइदिनुभएको थियो ।

म टोक्सेलबाट घर पुग्दा रिमरिम उज्यालो भइसकेको थियो । घरभित्र बुवा लम्पसार सधँैको लागि सुतिरहनुभएको थियो । उहाँलाई घरपरिवारका सदस्य अनि छिमेकी तथा आफन्तहरुले चारैतिरबाट घेरेर उहाँसँग विलौना गर्दै रोइरहेका थिए । म उहाँको अगाडी ठिंग उभिएर एकछिन त्यो मेरो बुवा र त्यो शोकाकुल वातावरण नियालेको थिएँ । जिन्दगगीमा सोच्दै नसोचेको किन हुन्छ भनेर मनमनै आफैलाई प्रश्न गरेको थिएँ । मृत मेरो बुवाको अनुहार सिरकले छोपिदिइएको थियो । मैले सिरक हटाएर उहाँको अनुहार हेरेको थिएँ । हातले सुम्सुम्याउँदै “ पापा .. पापा..” भनेर बोलाएको थिएँ । तर उहाँले मलाई “ होइ..” भनेर मसँग दोहोरो बोल्नु भएको थिएन । कता कता मसँग रिसाएर नबोल्नुभएको जस्तो देखिनु भएको थियो । उहाँको प्राण पखेरु उड्ने बेला उहाँको साथमा हुन नसकेपनि उहाँलाई भेटेको बेलासम्म उहाँ जिवित जस्तै देखिनु भएको थियो ।

हामी परिवार अनि समाज कसैले सोचेका थिएनौँ कि मेरो बुवाले हामीलाई यति चाँडै छोडेर जानुहुन्छ भनेर । आज उहाँ वित्नुभएको वर्ष दिन भयो । यस घडीमा उहाँको चिर आत्माको शान्तिको कामना सहित शब्दहरुको गुच्छाले श्रद्धान्जली दिदै उहाँको बारेमा जानेको केही कुराहरु लेखेर तपाईहरुलाई पनि उहाँको बारेमा थप जानकारी गराउँन चाहेको छु । स्वीकार्नु होला ।

हजुर बुवा लाखधन राई र हजुर आमा काचु माया राईको कोखबाट वि.सं. २०१२ साल पौष महिनामा जन्मिनु भएका मेरो बुवा हजुर बुवाको तेस्रो अनि अन्तिम छोरा हुनुहुन्थ्यो । मेरी हजुर आमाको चाहिँ एक्लो छोरा हुनुहुन्थ्यो । त्यो कसरी भने मेरी हजुर आमा हजुर बुवाको तेस्री श्रीमती हुनुहुन्थ्यो ।

मेरो बुवाको नागरिकताको नाम ओम वीर राई । उहाँ आफुलाई कहिले “वाम्बिर” अनि कहिले “अम्बिरे” भनेर अरुलाई चिनाउँनुहुन्थ्यो । जसलाई भेटेपनि “रानाज्यु” भनेर बोलाउँनु हुने उहाँको बानी भएकोले पछि उल्टै उहाँलाई नै “रानाज्यु” भनेर बोलाइएपछि “रानाज्यु” हुनुभएको थियो । यही नामले नै उहाँ सर्वत्र चिनिनु पनि भयो ।

मेरो बुवा हजुर आमाको गर्भमा छँदा नै भीरबाट लडेर हजुर बुवाको मृत्यु भएपछि गर्भे टुहुरो हुनुभएको थियो । उहाँलाई हजुर आमाले जन्म दिएर हजुर बुवाको समेत माया दिएर दुखले हुर्काउनुभएको थियो । हजुर बुवाको मृत्युपछि हजुर आमाको काँधमा घरपरिवार चलाउँने जिम्मा आएको थियो । परिवारमा हजुर आमा र बुवा मात्र नभएर माइली हजुर आमा पटटीको ठुलो बुवा पनि हुनुहुन्थ्यो । माइली हजुर आमाको मृत्यु भएपश्चात हजुर बुवाले मेरो हजुर आमा बिहे गर्नुभएको थियो । किनकी ठुलो बुवा त्यस्तै दुई तीन वर्षको हुनुहुन्थ्यो । ठुलो बुवाको मातृवात्सल्य प्रेम कमी नहोस अनि उहाँको स्याहार सुसार पुगोस भनेर हजुर आमा विहे गर्नुभएको थियो ।

मेरी हजुर आमा पनि पहिल्यै दुई बिहे गरिसक्नु भएको थियो । गौमाको बुवा र आमा भनेर चिनिनुहुने पुर्खाहरुको माइली छोरी ( माइती नभएकी ) र हालको काशीरामको बुवा, हर्कुको बुवा, दिलसिँको बुवा र झल्लरीहरुको फुपु पर्ने मेरी हजुर आमा पहिलो पटक पिपले पारी दिहिको सौखरेको पापजेठासँग विहे गर्नुभएको थियो । उहाँहरुबाट एकजना छोरी अस्मि राई जन्मिएकी थिइन् । केही समय पछि सुकेनाश र हैजा रोगले पहिलो श्रीमान सौखरेको पापजेठा वित्नुभयो । मेरी हजुर आमालाई उहाँको पहिलो श्रीमान बित्नुभएपछि राम्रो शील स्वभाव भएकी र काम गर्ने हुनुभएकोले आफनै माइला देवरले पत्नी बनाएर राखेका थिए । उहाँहरुबाट पनि एउटी छोरी जन्मिएकी थिइन् । उहाँको नाम माक्से । उहाँ हाल चिम्टाघारी वस्नुहुन्छ । मेरो बुवालाई उहाँले आफ्नै भाइजस्तै माया गर्नुहुन्थ्यो । मेरो हजुर आमाको भाग्य नै त्यस्तै थियो शायद र त उहाँलाई जीवनसाथीको साथ अनि सन्तानको सुख कहिल्यै मिलेन । यस्तै पीर व्यथा लिइ भौतारिरहनुभएको बेला हजुर बुवाले साथ माग्दा उहाँले पनि जिउँज्यानै सुम्पिनुभएको थियो । हाम्रो प्यारी हजुर आमा बन्नुभएको थियो ।

हजुर आमाले ठुलो बुवा वासवर्ण राईलाई पनि आफनै छोराजस्तै माया दिएर हुर्काउनुभएको हो । ठुलो बुवा सँगसँगै मेरो बुवा पनि हुर्किदै जानु भयो । दुवै छोरा हुर्किसकेपछि हजुर आमाले पहिले ठुलो बुवाको विहे विसौनाको कातु राईसँग गरिदिनुभयो । ठुलो बुवा र ठुली आमाको दाम्पत्य जीवन लामो समय टिक्न सकेन । विहे गरेको दुई तीन वर्षपछि ठुली आमाले ठुलो बुवालाई छोडिदिनु भयो । हजुर आमाले पछि फेरी भावाचाचोमे पाछाकी कोलडाँडा टोलकी असिधरा राईसँग ठुलो बुवाको विहे गरिदिनुभयो । केही समय पछि सवै वन्दोवस्त मिलाएर तेह्र वर्षको कलिलो उमेरमा बुवाको पनि विहे उहाँभन्दा १ वर्ष जेठी मेरी आमा सुगामाया राईसँग गरिदिनुभयो ।

मेरो बुवाको विहे गरिदिन खासमा मेरी आमाको दीदीसँग ठेकी मारेका थिए । उहाँको दीदी मेरो बुवासँग विहे गर्न राजी नभएकोले भागेर रिचुवा विहे गरेपछि माउली हजुर बुवा, हजुर आमा र मामाहरुले जवरजस्ती दिदीको सटटा बहिनी ( मेरी आमा ) मेरो बुवालाई जिम्मा दिएका थिए । माइतीको इज्जत राख्नकै लागि आफना सारा खुशीहरु अनि चाहानाहरु बन्धकीमा राखेर मेरी आमा मेरो बुवासँग विहे गर्नुभएको थियो । मेरी आमाको माइती चाहिँ जेरोद्याल हो ।

मेरो आमासँग बुवाको सम्बन्ध सुरुका दिनहरुमा राम्रो भएन । दिदीको घानमा आफुलाई पारिदिएको हुनाले आमाले घरमा वस्न मनपराउँनु भएन । त्यही भएर मेरी आमा छ सात वर्ष जति माइतमै बस्नु भयो । मेरी आमा घर नफर्कि धरै पाउँनु भएन । उहाँ फर्किनु भएपछि विस्तारै हामी पाँच जना छोराहरु र चार जना छोरीहरु जन्मियौँ । दुई जना दाई र दुई जना दिदीको शिशु अवस्थामा नै मृत्यु भयो । एक जना वहिनीको भने सात वर्ष पहिले भीरबाट लडेर मृत्यु भयो । अहिले हामी तीन दाजुभाई र एक जना वहिनी छौँ । म चाहिँ कान्छो छोरा हुँ ।

हामी सवैजनाको विहे भइसकेको छ । जेठा दाई दलश्वर राई र भाउजुको तीन छोराहरु जन्मिएर पनि हुर्किसकेका छन् । माइला दाई चित्रकुमार राईको पनि एक छोरा र एक छोरी जन्मिसकेका छन् । मेरो पनि साना साना एक छोरा र एक छोरी छन् । वहिनीको समेत सानो एक छोरा जन्मिसकेको छ ।

मेरो बुवाले धेरै दुख गरेर हामीलाई हुर्काउनु भयो । आर्थिक अवस्था नाजुक भएपनि आमासँग मिलेर सुख दुख हामीलाई पढाउनु भयो । हाम्रो लागि उहाँले भारी बोक्नु भयो । अर्काको घर बनाउने काम गर्नुभयो । हलो जोत्नु भयो । अनि ढुंगा फुटाउँनुभयो । घाँस दाउरा अनि वनपाखा गर्नुभयो । साहुहरुको गाली खानुभयो । आज हामी जे छौँ हाम्रो बुवाकै कारण छौँ । उहाँको त्याग अनि संघर्षकै कारण छौँ ।

“ सिन्धुलीमा तोप चल्यो, मेरो झोँक चल्यो ।” , “ सिम्मल काडे दुध चाँडे, तरुनीभन्दा मै साँढे ।” , “ डप्परी दक्र्यो डप्परमा , दुःखै मात्र लेख्या रैछ भगवानले मेरो खप्परमा ।” , “ आः कुपि …चालिङ् टुपि ।” नेपाली भाषामा ( मेरो भाग्य.. कुकुरको टुपि ।) जस्ता साहित्यिक कथनहरु लेख्न नजाने पनि कथेर आफनो तीता मीठा अनुभुति अनि विचार अरु माझ व्यक्त गर्नुहुने साहित्यिक व्यक्तित्व पनि हुनुहुन्थ्यो, मेरो बुवा । उहाँमा साहित्यिक खुराक यति धेरै थियो की जो कोहीलाई पनि कविता अनि गीतबाट बोलाउने अनि कुरा गर्ने गर्नु हुन्थ्यो । कविताकै श्लोक बनाएर अरुलाई हसाउँने, गाली गर्ने अनि आफ्नो दुख व्यक्त गर्ने गर्नुहुन्थ्यो । माथि उल्लेख गरेको श्लोकको हरफहरु त केही उदाहरण मात्र हुन् । उहाँमा विलक्षण कला, गला अनि प्रतिभा थियो । अशिक्षा, गरीबी अनि उचित अवसरको कमीले गर्दा उहाँ पर्दा पछाडीको प्रतिभा बन्नुभयो ।

मेरो बुवा गीत गाउँन र बाँसुरी बजाउनमा यति धेरै सौखिन हुनुहुन्थ्यो की त्यसकै खातिर गाउँघरमा लाग्ने हाटबजार, मेलापात, जात्राहरु, विहे र कार्यहरु भर्न कुनै पनि छुटाउँनु हुन्न थियो । मुरली पनि दशै र तिहारमा बजाउँने गर्नुहुन्थ्यो । अझ भन्ने हो भने मेरी आमा विहे गरिसकेपछि पनि उहाँ तरुनीहरुसँग त्यो बेलाको सराद गाउँन र संगीना नाच्न साथीहरुसँग जानुहुन्थ्यो । रातभरी नाचगान गरेर विहान पख मात्र आउँनु हुन्थ्यो । त्यस्तै मेरो बुवासँग बाँसुरी, विनायो, मुरली लगायत डोको, हलो, जुवा, जाँते र ढुंगाको जाँतो जस्ता सामानहरु बनाउँने सीप थियो । विहे गर्नु अघि र पछि सम्म पनि तरुनीहरुलाई विनायो चिनो बाँड्नुहुन्थ्यो । विशेष गरी उहाँका जवान हितैषीहरुलाई पनि बाँसुरी र मुरली बनाएर दिनुहुन्थ्यो ।

मेरो शरीरमा मेरो बुवाको रगत बगिरहेको छ । म उहाँकै रगतबाट जन्मिएकोले मेरो बुवाको आधाउधी गुण अनि विशेषताहरु मेरो विशेषतासँग मिल्छन् चाहे त्यो शारीरिक, मानसिक, संवेगात्मक, भावनात्मक, सामाजिक, बौद्धिक, अध्यात्मिक, साहित्यिक, सांगीतीक, साँस्कृतिक अनि अरु विविध पक्षमा नै किन नहोस् । साँगीतीक विशेषता मिलेर नै होला म गीत संगीतलाई औधी मन पराउँछु । सांगीतिक क्षेत्रमा मेरो नाम स्थापित गर्ने लक्ष्य लिएर हिँडिरहेको छु । लक्ष्यसम्म पुग्नकै लागि चार पाँच ओटा गीत रेकर्ड पनि गरिसकेको छु । अझसम्म सानैदेखिको गाउँने धोको मारेको छैन । साहित्यिक विशेषता अनि गुण मिलेर नै होला म मेरो मातृभाषामा र नेपाली भाषामा कविता, गीत, कथा, गजल, मुत्तक, नाटक, हाइकु आदि लेख्छु । मैले लेखेको मेरो मातृभाषाको कविताले पुरस्कारहरु समेत जितेर पुरस्कृत भइसकेको छु । अनि एउटा मुक्तक संग्रह पनि छापिने अन्तिम तयारी भइरहेको छ ।

मेरो बुवाको प्रायः अरु सवै विशेषताहरु मेरो सँग मिलेको पाउँदछु । मात्र म उहाँजस्तो शारीरिक रुपमा बलियो अनि साहासी छुइनँ । मेरो बुवा यति साहसी र बलियो हुनुहुन्थ्यो की जो कोही पनि उहाँको साहसिक कार्य र बलले चकित पर्थे । उहाँले जस्तो भीर पाखा शायद उहाँको हुरीकाले गरेका छैनन् होला । उहाँले बोकेको जति गहु्रंगो भारी कसैले बोकेका छैनन् होला । अचम्म लाग्दो उहाँको एउटा काम भनेको आङै सिरिङ्ग बनाउँने भीर पाखाको रुखमा भएका अरिंगाल अनि बारुला जलाउँनु हुन्थ्यो । हामीलाई कति हो कति ख्वाउँनु हुन्थ्यो ।

मेरो पहिलो गुरुआमा त मेरी आमा नै हुनुहुन्छ । आमा पछिको गुरु मेरो बुवा नै हुनुहुन्थ्यो । आमाले जस्तै बुवाले पनि मलाई धेरै ज्ञान सिकाउँनु भयो । मानवता अनि मानव जीवनको परिभाषा सिकाउनु भयो । त्यति मात्र होइन जीवन कसरी जिउँने भन्ने पनि सिकाउनु भयो । आज उहाँबाटै सिकेको ज्ञानले जीवन नामको गाडी चलाउँदैछु । पौरख र पसिनाले उहाँको इज्जत अनि मान प्रतिष्ठालाई बचाउँदै छु ।

पढेको थिएँ, “ शुद्ध आत्मामा इश्वरको वास हुन्छ ।” वास्तवमा मेरो बुवाको आत्मा शुद्ध थियो । उहाँको आत्मामा इश्वरले बास गर्नु भएको थियो । र त मैले कतै भगवान खोज्नु परेन । उहाँको आशिर्वाद सधैँ पाइरहेँ । उहाँकै आशिर्वाद र उहाँबाट पाएको ज्ञानले आज यो स्थानमा छु । दाम कमाउन नसके ता पनि थोरै भएपनि नाम कमाएको छु जस्तो लाग्छ ।

मेरो बुवा मेरो मात्र भगवान हुनुभएन । उहाँ अरु मानव प्राणी र पशु प्राणीहरुको पनि भगवान हुनुभयो । उहाँले न स्वास्थ्य चौकी न अस्पतालको सुविधा भएको जमाना पहिलेको मेरो गाउँका धेरै महिलाहरुलाई सुत्केरी गराई उनीहरुको जीवन बचाइदिनुभयो । गाई र भैसीको आङ् खस्ने समस्या समाधान गर्ने र पेट भित्रै मरेको बच्चा निकालिदिने काम गरि तिनीहरुको पनि ज्यान बचाइदिए । यो भन्दा बाहेक उहाँले धेरै दुःखी अनि गरिबलाई सहयोग गर्नुभएको छ । उहाँले नजोतिदिएको बारी गाउँमै कसैको छैन । नछाइदिएको घर गाउँमै कसैको छैन । चार पाँच झाङ् बाँसघारीका धनी मेरो बुवाले चाहिँदो वाँसको घना त्यतिकै नदिएको मान्छे गाउँमै कोही छैनन् । मर्दा पर्दा ज्यानको पर्वाह नराखी छिमेकीलाई सहयोग नगरेको अभिलेख छैन ।

मेरो बुवालाई नराम्रो भन्ने मान्छे कोही पनि भेटेको छैन । उहाँले जाँड रक्सी खाएर घरिघरी झगडा गर्न खोज्नु हुँदा बरु मैले नराम्रो भनेँ हुँला । बाहिर जे जस्तो भए पनि भित्रको मनकारी अनि दीलदार हुनुहुन्थ्यो । उहाँ मनकारी अनि दिलदार भएर नै धेरैलाई उहाँहरुको सुख दुखमा सहयोग गर्नुभयो । राम्रो मान्छेलाई भगवानले छिट्टै आफनो बनाएर लान्छ रे भन्ने सुनेको थिएँ । मेरो बुवाको हकमा त्यो सत्य सावित भइदियो । ६३ वर्ष दुई महिनाको अल्प आयुमा २०७५ साल फागुन महिनाको १७ गते विहान ३ः४५ वजे अकास्मत व्यथाको कारण मेरो बुवाको निधन भयो । उहाँसँग सधैँ सधैँको लागि हामी विछोडियौँ । त्यही दिन देखि म पनि टुहुरो भएँ ।

मलाई याद छ । शिक्षा अनि चेतनाको कमी भएकोले नै होे सानो छँदा “ पढन्ते पनि मरन्ते ….नपढन्ते पनि मरन्ते ।” भन्दै मेरो बुवाले मलाई पढ्न निरुत्साहित गर्नुहुन्थ्यो । घासँ गोठ अनि खेतीपातीको काममा बढी खटाउँनु हुन्थ्यो । तर म २०६८ सालदेखि अस्थायी शिक्षकको जागिर श्री भगवती मा. वि. मानेभञ्ज्यांगबाट खान सुरु गरेँ उहाँ विस्तारै पोजिटिभ हुनु भएको थियो । उहाँ मसँग धेरै खुशी हुनुभएको थियो । मलाई छोरा नभनेर गगन सर भन्नुहुन्थ्यो । अरुसँग कुरा गर्दा पनि मेरो गगन सर भनेर नै कुरा गर्नु हुन्थ्यो । त्यति मात्र नभएर मेरी दुईटी वहिनी ( अहिले एउटी मात्र छिन्) हरुलाई राम्रो पढाउँनु भनी अह्राउँने हुनुभएको थियो । यसरी समयअनुसार मेरो बुवा परिवर्तन हुनुभएको थियो । उहाँको आशिर्वादले हुनुपर्छ म आज स्थायी शिक्षक भएको छु तर विडम्बना उहाँले त्यो देख्न पाउँनुभएन ।
हाम्रो बुवाले यति अल्प आयुमै हामीलाई छोडेर जानुहुन्छ भन्ने परिवारले मात्र नभएर छिमेकी र समाजले कल्पना समेत गरेका थिएनौँ । अझैँ धेरै वर्ष बाँच्नुहुन्छ भन्नेमा विश्वस्त थियौँ । विश्वस्त यो मानेमा थियौँ की उहाँको हँुकार शक्तिशाली थियो । जो कोही उहाँसँग कुस्ती खेल्नु परे हिम्मत गर्दैन थिए । किनभने उहाँको हात पाखुरा वलिष्ठ नै थिए ।

उहाँ अत्याधिक जाँड र रक्सि खानुहुने । जाँड रक्सीकै कारण म काठ्माण्डौमा स्नातक तह पढ्दै गर्दा एक पटक विरामी भएर थला नै पर्र्नुभएको थियो । मैले नै उहाँलाई घर लिन आई काठ्माण्डौ लगेर वीर अस्पतालमा उपचार गराएर ठीक हुनुभएको थियो । दुई तीन महिना मसँगै काठ्माण्डौमा राख्दा मैले जाँड रक्सी खान छोडाएको पनि थिएँ । तर पछि घर ल्याएपछि उहाँले फेरी खान थाल्नुभयो । त्यसपछिका दीनमा त्यति विरामी पनि पर्नु भएको थिएन । शायद उहाँको लेखान्त नै त्यस्तै थियो भनौ या धेरै जाँड रक्सीकै कारण भनौ एकै छिनको व्यथाले उहाँको प्राण गयो । मैले त उहाँको अन्तिम साँस पनि भेट्न सकिनँ ।

बुवाको निधनले सारा गाउँ स्तब्ध बनायो । सारालार्ई रुवाउनु भयो । झण्डै दुई सय जनाको हाराहारी उहाँको खातिरको लागि मलामीमा आएका थिए । किराँत मुन्धुमी संस्कार अनुसार उहाँको अन्त्येष्टि गरियो । अन्त्येष्टिको बेला र अघि पछि प्रायः सबैले मेरो बुवालाई धर्माती भनेको सुनेँ । उहाँजतिको राम्रो मान्छे शायद पाइदैन भनेर कुरा गरेको पनि सुनेँ । उहाँको बारेमा गरिएको यस्तो कुराले म भावुक पनि भएँ गर्वको महसुस पनि गरेँ । किनकी मान्छेको जीवन सधैँको लागि हुँदै होइन । एक न एक दिन निश्चित हामी मरेर जानैपर्छ । मरेर जाँदा केही राम्रो काम गरेर जान पाइयोस् । जसरी मेरो बुवाले गरेर जानुभयो ।

राष्ट्रियगानका रचनाकार खासमा साइनोले मेरो भतिज प्रदीपकुमार राई “व्याकुल माइला” ले मेरो बुवाको निधनको खवर सुनेर आफनो फेसबुक वालमा भावपुर्ण श्रद्धान्जलीका साथमा वाम्बुले राईहरुको मौलिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने हेतुले वाम्रास, नेपालले २०७४ साल साउन १५ मा आयोजना गरेको वाम्बुले वाँसुरी दिवसमा मेरो बुवाले बाँसुरी र विनायो बजाउँनुभएको भिडियो पोष्ट गर्नुभएको रहेछ । मैले त दुई तीन दिन पछि मात्र सवैजनाले उक्त पोष्टको चर्चा गरेपछि थाहा पाएको थिएँ । मैले आफनो फेसबुक वालको कमेन्ट बक्सबाट व्याकुल माइला भतिजलाई धेरै आभार अनि धन्यबाद व्यक्त गरेको थिएँ ।

त्यतिबेला सम्म व्याकुल दाईको उक्त पोष्टलाई सामाजिक सन्जालका साथीहरुमध्ये १३१ जनाले लाइक र ७० जनाले कमेन्ट गरेका थिए भने मेरो बुवाको वाँसुरी र विनायो बजाउँनुभएको भिडियोलाई २७१३ जनाले हेरिदिइसक्नुभएको थियो । जसजसले लाइक, कमेन्ट, अनि उक्त भिडियो हेरिदिनुभयो शायद त्यतिबेला तपाईहरुलाई धन्यबाद दिन सकिनँ । यो घडीमा तपाईहरु सम्पुर्णलाई हार्दिक धन्यबाद व्यक्त गर्न चाहान्छु । तपाईहरुको भावपुर्ण श्रद्धान्जलीले मेरो बुवाको चिर आत्माले शान्ति अवश्य मिलिरहनेछ । व्याकुल माइलाको फेसबुक पोष्टको स्क्रिन सट तस्वीर यस्तो छ :

फागुन १, २०७६
चिसंखुगढी – ६, ओखलढुंगाा

Leave a Reply

Your email address will not be published.