पूर्वराजदूत प्रा.डा. नोवल किशोर राईको लकडाउन डायरी

जीवनशैली

प्रा.डा. नोवल किशोर राई

कोरोना भाइरसले विश्वलाई गाँजेको बेला हामी भाग्ने ठाउँ छैन । नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि घरभित्रै सीमित हुनु परेको छ । म ललितपुरको धोबिघाटस्थित घरमै छु । सुरुको केही दिन त धेरै उकुसमुकुस भइयो । सातौं दिनसम्म आइपुग्दा तालिकावद्ध हुन सिकेको छु । उमेरले ७४ वर्ष पुगेको छु । श्रीमतीको साथमा छु ।

बिहान प्राय चार बजे उठ्छु । ब्रह्म महुर्तमा रहन्छु । झ्यालढोका खोलेर धरती, आकाश हेरेर खुशी हुन्छ । आहा आज पनि बाँचियो भनेर । चर्पी जान्छु । मुख धोएपछि थर्मसको एक लिटर मनतातो पानी पिउँछु । कहिले साधा त कहिले कागती पानी पिउँछु । नित्य कर्म गर्छु ।

चारदेखि ६ बजेसम्म भजन, गीतसंगीत सुन्छु । प्राणायाम, व्यायाम आदि गर्छु । त्यतिन्जेल एक लिटर पानी पिइसक्छु । त्यसपछि आफ्नो बगैंचाका रुखमुनि पन्ध्र मिनेट जति घुम्छु । साढे सात बजे तिर पूजा प्रार्थना गर्छु । गाउँमा शंख, घण्ट बजाउँछौं । हामी जोसमनी सन्त र फाल्गुनन्द परम्पराका छौं । त्यसैले गाउँमा नब्बे प्रतिशतले पूजा गर्छौं ।

साढे सात बजेपछि बिहानको हल्का खाजा खान्छु । आठदेखि साढे ९ बजेसम्म घरलाई मियो बनाएर वरिपरि घुम्छु । सानो बगैंचामा टहलिन्छु । यही बेला गाउँघर, छरछिमेकलाई फोन गर्छु । आँखा कमजोर भएकोले किताब पत्रपत्रिका पढ्न सक्दिन । त्यसैले जनसम्पर्क गर्छु । एघार बजेतिर खाना खान्छौं । त्यसपछि बगैंचाको रुखमुनि बसेर पुराना नेपाली, हिन्दी गीत सुनेर आनन्द लिन्छु । दिउँसो सुत्दिन तर उँगेर बस्छु । त्यसपछि दिउँसो साढे एक बजेदेखि दुई घण्टा बान्तावा शब्दकोको काम गर्छौं । म र युवा भाषाविद् पदम राई दुई जना सुट्दै आएका छौं ।

यसअघि पदम मेरो निवासमै आएर काम गथ्र्यौं । तर, अहिले कोरोना भाइरस र लकडाउनले गर्दा आपसमा भेट गर्दैनौं । भाइबरबाटै आपसमा कुराकानी गर्छौं । हामी अहिले यो शब्दकोश तेस्रो चोटि दोहोर्‍याउँदै छौं । अंग्रेजीको कम ज्ञान र हाम्रो संस्कृतिको कारण अल्झिरहेका छौं ।

सन् १९८५ मै पुना विश्वविद्यालयबाट भाषाविज्ञान विषयअन्तर्गत ‘बान्तावा भाषाको व्याकरण’मा पीएचडी गरेको थिएँ । त्यसअघि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३१ सालमा प्रकाशित गरेको पर्यायवाची शब्दकोशमा बान्तावा भाषा समावेश गर्ने बेलामा का गरें । अहिले बान्तावामा भाषाविज्ञानसम्मत शब्दकोश भने अहिले बन्दैछ ।

२०६९ सालमै बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति निर्माण गरेका हौं । सुरुमा चरणवद्ध कार्यशाला सम्पन्न गर्‍यौं । कामको जिम्मेवारी बाँडफाँड गर्दा शब्दकोश केलाउने जिम्मा हाम्रो भागमा परेको छ । गरिबले छोरीको बिहे धनीको जसरी गर्ने भन्ने जस्तो भएको छ । बान्तावा–नेपालीमात्र भइदिएको भए प्रकाशन भइसक्थ्यो । अंग्रेजमा समेत प्रकाशन गर्ने हुँदा ज्यादै ढिलो हुनुपुग्यो । बान्तावा भाषामा हतुवाली, आम्चोके र दिल्पाली भाषिका रहेका छन् । कोश निर्माण विधिअनुसार यी तीनै भाषिकाको शब्द संकलन, विशेषता केलाउने, छुटाउन, सांस्कृतिक शब्दहरू थप्ने, नयाँ शब्द निर्माण गर्ने र त्यसलाई देवनागरीमा उतारिएका छन् । युनिकोडमा बदलिएका छन् । रोमन र भाषाविज्ञानअनुसार आईपीए (इन्टनेसनल फोनेटिक अल्फाबेट) फन्टमा विस्तार गरिएका छन् । चौधहजार जति शब्दसहित केही थान पाण्डुलिपि तयार भएको छ । अंग्रेजीले हैरान खेलाउँदा त यो नराखेको भएपनि हुने थिएछ जस्तो लाग्छ ।

मेरो दैनिकीमै फर्किन्छु । अपराह्न ४ बजे खाजा खान्छौं । त्यसपछि दुई घण्टा सबैखाले युटुब हेर्छु । समाचार हेर्छु । म टेलिभिजन बहुत कम हेर्छु । लाहुरे परिवारको भएकोले हुनसक्छ मलाई युद्धका फिल्म हेर्न रुचाउँछु । अरु फिल्मले पटक्कै तान्दैन । एफएम सुन्छु । साढे छ बजेदेखि बाहिर बोटबिरुवासँग टहलिन्छु । मेरा छोराछोरीजस्तै लाग्छ । फूल र बोटबिरुवामा किरा लागेको छ कि भनेर हेर्छु । साँझ सात बजे हल्का खाना खान्छौं । धेरै खाना सकस हुन्छ । कहिले एक गिलास दुधमात्र खाँदा पनि हुन्छ । त्यसपछि फेरि युटुब हेर्छु । बिदेशमा रहेका परिवारसित भाइबरमा कुराकानी गर्छु । भाइबरले सजिलो भएको छ । राति दश बजेतिर दश मिनेट जति ध्यान गर्छु । दिनभरि के के काम गरें भनेर सम्झिन्छु । राम्रा नराम्रा सबै सोच्छु । भलाईको कामहरु, दुष्ट्याइँका कामहरु सम्झिन्छु । साढे दश बजे सुतिसक्छु । नत्र निद्रा बिग्रिन्छ । इष्टदेवता, पितृहरुलाई सम्झिन्छु । प्रार्थना गर्छु ।

म घरमा कम बस्ने मान्छे हो । सभा सम्मेलन, मिटिङमा हिडिरहने, धेरै बोल्नु पर्ने बानी छ । तर अहिले लकडाउनले थुनिएको प्राणीजस्तो भएको छु । आगामी मेई २२ तारिखमा बेलायत जाने प्लेनको टिकट जोहो गरिसकेको थिएँ । यसपालि ६ महिना उतै बस्ने योजना थियो । तर, कोरोना भाइरसको संक्रमणले गर्दा योजना रद्ध भएको छ । कोरोनाले गर्दा धुवाँ, धुलोबाट बचेको छु । अधिक समय रेडियो एफएमहरू सुन्छु । यी मेरा साथी हुन् ।

(नेपाल सरकारले कोरोना भाइरसको प्रभाव न्युनिकरण गर्न २०७६ चैत ११ गतेबाट देश बन्दाबन्दी (लकडाउन) गरेको छ । पहिलो चरणमा चैत २५ गतेसम्म लगाइएको लकडाउन पुन: २०७७ वैशाख ३ गतेसम्म बढाइएको छ । यसै सन्दर्भमा लिब्जुभुम्जु डटकमका प्रधान सम्पादक गणेश वाम्बुले राईले पूर्वराजदूत तथा भाषाशास्त्री प्राध्यापक डा. नोवल किशोर राईसँग गरेको कुराकानीमा आधारमा यो डायरी प्रस्तुत गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *