ब्रिटिस आर्मी ट्रेनिङ गराउँदै डायनामिक गुर्खा ट्रेनिङ एकेडेमी

समाचार

लिभु संवाददाता
ललितपुर– बेलायत सरकारले ब्रिटिस गुर्खा पल्टनमा सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाएको छ । हाल ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । कडा मिहिनेतसहित दक्षता हासिल गर्न चाहने युवाहरू संख्या बढ्दो छ । तिनै युवालाई लक्षित गर्दै यत्तिखेर तालिम दिने संस्था थपिएको छ । ब्रिटिस आर्मी, सिंगापुर पुलिस फोर्स, नेपाल आर्मी र इण्डियन आर्मी बन्न चाहने युवाहरुलाई तालिम दिने उद्देश्यले डायनामिक गुर्खा ट्रेनिङ एकेडेमी संस्था निर्माण भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्तीमा रहेको डायनामिक गुर्खा ट्रेनिङ एकेडेमीको उद्घाटन समारोहमा संस्थाका संस्थापक परिवार

यो संस्थाले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्ती वाम्रास भवनमा तालिम सुरु गरेको छ । सन् २०२०÷२१ सेसनलाई लक्षित गरी तालिम सुरु गरेको हो ।

संस्थाका संस्थापकहरुमा सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त इन्स्पेक्टर–२ भुवनसिंह राई, चिफ इनस्पेक्टर टीकाराम सुनुवार, एसएसआई अम्बरबहादुर राई, एसआई मोतीलाल राई, एसआई अर्जुनबहादुर राई, एसएसआई जेशन राई हुनुहुन्छ । त्यसैगरी प्रशिक्षण अनुभवप्राप्त युवा सञ्जय राईलगायत रहनु भएको छ ।

‘हाम्रो लक्ष्य भनेको ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती लाग्न चाहने युवालाई तालिम दिनु हो,’ एकेडेमीका अध्यक्ष भुवनसिंह राई भन्नुहुन्छ, ‘यसो गर्दा हाम्रो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण हुन्छ नै । त्यो भन्दा पनि यहींका युवालाई समयानुकुलको तालिम लिन पाउँछन् ।’ प्रशिक्षणमा अवकाशप्राप्त अफिसर्सहरु, स्वदेशमै प्रशिक्षण अनुभवी प्रशिक्षक तथा अंग्रेजी, गणित विषयका शिक्षकको व्यवस्था गरिएको अध्यक्ष राईले जनाउनु भएको छ ।

डायनामिक गुर्खा ट्रेनिङ एकेडेमीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्तीमा युवालाई प्रशिक्षण दिइदै

दैनिक रुपमा बिहान र बेलुका दुई सत्र शैक्षिक कक्षा लिइन्छ । त्यसैअनुसार शारीरिक व्यायाम र प्रशिक्षण संचालन गरिएको छ । ‘प्रशिक्षण सुरु भइसकेको छ,’ फिजिकल प्रशिक्षक सञ्जय राईले भन्नुभयो, ‘अहिले विभिन्न जिल्लाबाट १२ जना युवा सहभागी रहेका छन् ।’

यहाँ ब्रिटिस र सिंगापुर पुलिस फोर्सको रिक्वाएरमेन्ट पूरा गरेका युवालाई आवश्यक योग्यताअनुसारको तालिम दिइन्छ । उनीहरुलाई ब्रिटिस र सिंगापुर पुलिस फोर्सबाट न्युनतम २५ देखि २७ वर्षसम्म कार्य अनुभव प्राप्त प्रशिक्षकहरुले तालिम दिलाउने छन् ।

डायनामिक गुर्खा ट्रेनिङ एकेडेमीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्तीमा युवालाई प्रशिक्षण दिइदै

‘सैनिक र प्रहरीमा आवश्यक सबै किसिमका प्राविधिक तालिममात्र होइन, अनुशासनसमेत सिकाइन्छ,’ अध्यक्ष राई भन्नुहुन्छ, ‘ब्रिटिस र सिंगापुर पुलिस फोर्सलाई आवश्यक शिक्षाको तालिम दिइन्छ । शारीरिक, मानसिक, अन्तर्वार्ताको प्रशिक्षण गराइन्छ ।’ ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्स केन्द्रित तालिम लिंदा अहिले नेपाली युवाले अवसर लिदैआएका नेपाल आर्मी, इण्डियन आर्मी, फ्रान्स आर्मी, दुबाई पुलिस, बहराइन रोयल गार्डलगायत देशमा समेत काम लाग्न सक्ने उहाँ बताउनु हुन्छ ।

सन् १८१५ देखि नेपाली युवाले ब्रिटिस गोर्खा आर्मीमा भर्ती हुन थालेको इतिहास रहेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । गत वर्ष चार सयजना ब्रिटिस आर्मीमा भर्ती भएका थिए भने यो पटक ४ सय ३२ जना युवा भर्ती भएर बेलायत पुगिसकेका छन् । त्यसैगरी सिंगापुरमा १ सय ४० जना भर्ती भएका छन् ।

 

Leave a Reply

Your email address will not be published.