लिब्जु उपो सामाथान संरक्षण समाजमा नयाँ नेतृत्व

समाचार

लिभु संवाददाता
ओखलढुंगा – लिब्जु उपो सामाथान संरक्षण समाज, नेपाल शेरबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ किर्सेपुमा यही २०७६ फागुन १० गते सम्पन्न तेस्रो साधारण सभाले २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Libju Upo Samangthan

उपाध्यक्षमा इन्द्रबहादुर राई, जदुमान राई, कल्याण राई, कमला केसी कार्की र जितेन्दकुमार राई रहनु भएको छ । त्यसैगरी महासचिवमा शेषकुमार राई (विशेष), सचिवमा कुलबहादुर कार्की, सहसचिवमा हेमनाथ राई र श्याममाया राई, कोषाध्यक्ष भुवनसिंह राई र सहकोषाध्यक्ष हर्कराज राई चुनिनु भएको छ । सदस्यहरुमा बडासिं राई, रामबहादुर कार्की, जनबहादुर बिक, डिकबहादुर राई, विष्णुप्रसाद राई, मौलाबहादुर राई, दिनेश राई, मित्रकुमारी राई, गोमा घिमिरे, गोमा खत्री, अम्बा राई, निशान राई, आकाश राई, बुद्धराज राई र रेन्जाप्रसाद राई रहनु भएको छ ।

उद्घाटन सत्रमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका उपाध्यक्ष अम्बरबहादुर राईको प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी विशेष अतिथिमा मानेभन्ज्याङ गाउँपालिकाका प्रमुख मोतीराज राई र उपप्रमुख सबिता राई रहनु भएको थियो । अतिथिहरूमा वडा नं.२ का अध्यक्ष उमेश कार्की, वडा नंं. ३ का अध्यक्ष मेडल राई, राजनीतिकर्मी धिरेन्द्र रुम्दाली लगायत रहनु भएको थियो । समाजका निवर्तमान अध्यक्ष भुपेन्द्रबहादुर राईले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।

लिब्जु संघीय नेपाल प्रदेश नं.१ ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं. २ र ३ (साबिक उँबु र वाक्सा गाविस) को शिरमा रहेको अग्लो चुचुरो पहाडको नाम हो । यस भेगका बासिन्दाहरुको धार्मिक आस्थाको चुली हो । समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाईमा रहेको छ ।

यस भेगका सबै जातजाति र धर्मका मानिसहरूले लिब्जुलाई ठूलो देवताका रूपमा आस्था, विश्वास एवं श्रद्धा भक्तिका साथ मान्दै पुज्दै आएका छन् । यो देवताको भरभाकल पूजा आराधना गरेमा अप्ठ्यारो परेको बेला बिघ्न बाधा एवं विपत्तिहरूबाट पार पाइन्छ । आफूले चिताएको कुरा पूरा हुन्छ । जनधनको रक्षा गर्छ । प्रकृतिमा अनुकुल मौसम ल्याउने एकमात्र महान शक्तिशाली देवताको रूपमा मान्दै आएको पाइन्छ । यहाँका आदिवासी किरात वाम्बुले राईहरूले परापूर्व कालदेखि ‘लिब्जु उपो’ भनेर कुल देवता (पुर्खा) को रूपमा मानिआएका छन् ।

किरात वाम्बुले राई जातिहरूले लिब्जु सामा (पुजा) वैशाख पूर्णिमा, जेठ पूर्णिमा र भदौ पूर्णिमा गरी वर्षको तीन पटक पुजा गरी मनाउँदछन् । त्यसमध्ये जेठ पूर्णिमा लिब्जु पूजा गर्ने विशेष दिनको रूपमा लिइन्छ । परापूर्वकालमा पुर्खाहरूले माले गोरुको बलि दिएर लिब्जुमाथि जुरो चढाउँथे । तर नेपालमा हिन्दु अधिराज्य घोषणा गरी गाईलाई राष्ट्रिय जनवार बनाइयो । सरकारले कानुनद्वारा गाई, गोरु काटमार गर्न प्रतिबन्ध लगायो । त्यसपछि भाकलअनुसार लिब्जु उपोको नाममा माले गोरु साँढे छोड्ने चलन चल्दैआएको छ ।

लिब्जु देवस्थल पहाडको प्राकृतिक र सांस्कृतिक पर्यावरणलाई निरन्तर राख्दै संरक्षण, विकास, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लिब्जु उपो सामाथान संरक्षण समाज, नेपाल संस्था २०७२ मंसिर १० गते स्थापना भएको हो ।

फोटो : विशेष राईको फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published.