देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै

पत्रपत्रिका समाचार
img

तिलक चाम्लिङ

पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस फाउन्डेसनका विद्यार्थीहरूले औपचारिकताका लागि मात्र विद्यालयमा परीक्षा दिन्छन् । स्कुल जाँदैनन् । फाउन्डेसनको व्यवस्थापनमा सामुदायिक जनजागृति आधारभूत विद्यालय रहेको छ । मा.वि. तहको परीक्षा सरस्वती मावि दिक्तेल र क्याम्पस तहका लागि दिक्तेल बहुमुखी क्याम्पसमा परीक्षा दिन्छन् । वि.सं. २०७० सालमा स्थापना भएको यस फाउन्डेसनले शिक्षामा नयाँ प्रयोग गरिरहेको छ । विद्यार्थीले विद्यालयबाट शैक्षिक प्रमाणपत्र र फाउन्डेसनबाट व्यावहारिक ज्ञान लिन्छन् । फाउन्डेसनका अध्यक्ष कृषिविद् मदन राईको लगानी र जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले सञ्चान गर्दै आएको यहाँको जीवनोपयोगी शिक्षा हेर्न पूर्वप्रधानमन्त्री, सांसदहरू, स्थानीय सरकारहरू र थुप्रै प्रधानाध्यापकहरू आइसकेका छन् ।

दर्शकहरूको ताँती

“गरेर सिक्ने सिद्धान्तमा आधारित खोटाङगको सुभद्रा–मदन फाउन्डेसनद्वारा सञ्चालित स्कुलबाट सबैले सिकौं !” पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फेसबुक स्टाटस लेखे, “पशुपंक्षी पालन, खेतिपाति, उद्योग, विज्ञानप्रविधि प्रयोगशाला, पाककला, निर्माण जस्ता सबै काम विद्यार्थी आफैले गर्ने यो ज्ञानलाई वैकल्पिक शिक्षाप्रणालीको रुपमा अपनाउन सके देशको दक्ष जनशक्ति अभाव, व्याप्त वेरोजगारी र श्रमपलायनको समस्या हल हुन सक्नेछ ! हाम्रा शैक्षिक नीतिनिर्माताहरूको ध्यान यतातिर जाओस् !”

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई २०७५ मंसिर २० गते शुभम फाउन्डेसन अवलेकान गर्न आइपुगेका थिए । फाउन्डेसनबाट प्रभावित भएर पूर्वप्रधानमन्त्री भट्टराईले स्थानीय तहले शैक्षिक सुधार गर्न शुभम फाउन्डेसनको सिको गर्नुपर्ने बताएका थिए । कम्युनिस्टहरूले भन्दैआएजस्तै जनवादी शिक्षा फाउन्डेसनमा हेर्न पाएकोमा भटट्राई खुसी भएका थिए ।

गाउँपालिका महासंघ नेपालका अध्यक्ष होम नारायन श्रेष्ठले आफ्ना पालिकाभरिका प्रधानाध्यापकहरूलाई लिएर फाउन्डेसनमा शैक्षिक भ्रमण आए । जुगल गाउँपलिका सिन्धुपाल्चोकका अध्यक्षसमेत रहेका श्रेष्ठले शुभम फाउन्डेसनका शिक्षाप्रणालीबाट अति प्रभावित भएर भने, “यस अभियानबाट अति प्रभावित भएँ, यो स्कुल देखाउन मेरा पलिकाबाट विशेष व्यक्तिहरूलाई लिएर चाँडै आउनेछु ।”

जिल्ला समन्वय समिति, मुस्ताङका प्रमुख छिरिङ ल्यामो गुरुङको नेतृत्वमा २५ जनाको समूह फाउन्डेसनको जीवनोपयोगी शिक्षा हेर्न आए । उनीहरू फाउन्डेसनको शिक्षाप्रणलीदेखि प्रभावित भए । मुस्ताङ पुगेर आफ्ना मातहतका स्थानीय सरकारहरूलाई यहाँको शिक्षाप्रणालीबारे सुनाइहाल्ने बताएका थिए ।

दुल्लु नगरपालिका प्रमुख घनस्याम भण्डारी दैलेखबाट फाउन्डेसन आइपुगे । २०७५ माघ ८, ९ र १० गतेसम्म तीन दिन यहाँको पढ्ने कला हेरेर गए ।

सहिद लखन थापा गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरू, स्रोत ब्यक्तिहरू, शिक्षा समितिका पदाधिकारिहरूले पनि २०७५ माघ ८ र ९ गते दुई दिन  फाउन्डेसनको अवलोकन गरेर गए । जानेबेला प्रअहरूले सामूहिक संकल्प गरे, “हाम्रा विद्यार्थीहरूलाई पनि भ्रमणमा ल्याउँछौं, हाम्रो स्कुल परिवर्तन गरेरै छोड्छौं ।”

फक्तालुङ गाउँपालिका, ताप्लेजुङबाट मिङ्मा शेर्पाको टोली पनि फाउन्डेसन खोज्दै आइपुगे । दुई दिने अध्ययन भ्रमण गरेर गए ।

मदन राईको गुनासो

संसार घुमेँ । ७५ वटै जिल्लाहरु घुमेँ । नेपालीहरू गरिब देखेँ । यो किन भयो ? नेपालको शिक्षाप्रणाली पापी हो । यो शिक्षाप्रणालीले विद्यार्थीहरू कोठामा थुनेर ठूलो अपराध गरिरहेको छ । किताब घोकाएर दिमाग काम नलाग्ने बनाइरहेको छ । मलाई भात पकाउन आउँदै । लुगा सिलाउन आउँदैन । बस्ने ठाउँ बनाउँन आउँदैन । पढेलेखेकाहरू धेरैलाई यस्तो सीप आउँदैन । हामी सबैलाई मोबाइल चलाउन आउँछ । बस मोटरसाइकल चढन आउँछ । तर, बनाउँन आउँदैन ।  हामी अरुले बनाएको मात्र उपभोग गर्ने ? अनि हामी गरिब नभएर को हुन्छ ?

छ वर्षदेखि १६ वर्ष उमेर भनेको सिक्ने उमेर हो । यो उमेर बच्चाको ज्ञानेन्द्रियहरूले अनुभव गर्ने उमेर हो । अमिलोपिरो, नरमकडा, तातोचिसो, उकालोओरालो सबै आफै अनुभव गरेर सिक्ने उमेर हो । नेपालको शिक्षा नीतिले उनीहरूलाई चारकोठाको जेलभित्र बस्नु बाध्ये पारेको छ । यो शिक्षाले सानोठुलो जात भन्न सिकायो । ठूलो जातले हलो जोत्नु हुँदैन भनेर सिकायो । पढेलेखेकाहरुले  काम गर्नु हुँदैन भनेर सिकायो ।  किताब पढ्नेले हलो जोत्नु हुँदैन भन्ने कुरा सिकाएकाले नेपालको शिक्षाप्रणालीमा खोट छ ।

बच्चाहरुले अक्षर, अंक, शब्द र वाक्य जाने हुन्छ । अरु कुराहरू व्यावहारले सिकाउने हो । चाइनिज, नेपाली, अँग्रेजी र हिन्दी चार भाषा जान्ने कोसिस गनुपर्छ । तर अंग्रेजी र नेपाली दुई भाषा अनिवार्य जान्नुपर्छ । ‘फिल्ड’मा जनुपर्छ जान्नलाई ।

खोटाङ विकास मञ्चबाट कृषि र कम्युटरमा १४ हजार, सिलाइबुनाइ र निर्माण गरी १८ हजारलाई सीप सिकाएँ । मैले किताब घोकाउन बन्द गर्नुपर्छ भनेको १३ वर्ष भयो । अहिलेको फाउन्डेसन त्यसैको निरन्तरता हो । यो काममा कर्म गर्ने सूर्य राई हुन् । मैले कहिलेकाही व्यवस्थापनमा सहयोग गर्ने हो । सल्लाहसुझाव दिने हो ।

स्कुल नपाउँदाकाे दु:ख 

२०७२ सालमा फाउन्डेसनले जनजागृति आधारभूत विद्यालय जिम्मा लिए । त्यसपछि बच्चाहरुलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थी संख्या घटेपछि खारेज हुनलागेको विद्यालयलाई फाउन्डेसनले पुनः जगाएको छ ।

कृषिविज्ञ मदन राईको लगानीमा नाहिमा कृषि स्रोत केन्द्र स्थापना भएको थियो । २०७० सालदेखि फाउन्डेसन बनाएका हुन् । यहाँ इलाम, मोरङ, झापा, सिरहा, उदयपुर, सर्लाही, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठमाडौं, हुम्ला, कालिकोट पूर्वपश्चिमका विद्यार्थीहरु पढेछन् ।

फाउन्डेसनले नयाँ स्कुल दर्ता गर्ने प्रयत्न गरेको थियो । तर नमिलेको गुनासो सुनाए मदन राईले, “सरकारी भए पनि प्राइभेट भए पनि स्कुलको लागि सम्बन्धित निकायहरूमा निबेदन हाल्यौं । सजिलो भएन ।” आफ्नै नाममा स्कुल नपाएपछि फाउन्डेसनले सामुदायिक विद्यालय जनजागृति प्रावि व्यवस्थापनको जिम्मा लिएको हो । यहाँ सरकारी दरबन्दीका दुई जना शिक्षकहरू छन् । सरकारी शिक्षकले फाउन्डेसनको शिक्षा नबुझ्ने र उनीहरुको ज्ञान फाउन्डेसनका बच्चाहरूका लागि कमा नलाग्ने कुरा राईले सुनाए ।

गुहुमुते स्कुल

फाउन्डेसनमा ट्वाइलेट छैन । विद्यर्थीहरू बाल्टिनमा दिसापिसाव गर्छन् । दिसापिसाब गर्नु अनि त्यसलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पनि ठूलो सीप रहेछ । दिसापिसाब एक ठाउँमा जम्मा गर्छन् । तीन महिनापछि बिरुवाका लागि अति पोसिलो मल तयार हुन्छ । कृषिविज्ञ राई आफ्नो स्कुललाई गहुमुते स्कुल भन्न रुचाउँछन् । सुन्दा गुहुमुते । नराम्रो तर, अर्गानिक खेती शिक्षा दिने स्कुल बनेको छ फाउन्डेसन ।

उमेर अनुसार सीप

फाउन्डेसनका विद्यार्थीहरू १० वर्षपछि मात्र कृषिश्रम वा शिक्षामा सहभागी हुन्छन् । १२ वर्षपछि यहाँका बच्चाहरूले बँच्ने कला जानिसकेका हुन्छन् । व्यापार गर्न सिपालु भइसक्छन् । १८ वर्ष पुगेपछि हरेकले मोटरसाइकल चलाउन जानेको हुनुपर्छ, बिग्रिएमा आफै बनाउन सक्नुपर्छ ।

‘खेताला–क्लास’

यो सालदेखि फाउन्डेसनले ‘खेताला–क्लास’ सुरु गर्दैछ । गाउँका किसानका खेतमा गएर खेताला कक्षा गर्नेछन् । दिनको छ घन्टाको खेताला क्लास हुन्छ । बीचबीचमा दुई घण्टा छलफल हुन्छ । विद्यार्थीहरूले माटोका प्रकार, हलोकुटो तथा खनजोत गर्दा चाहिने साधनहरूबारे ज्ञान पाउँछन् । खेतमा काम गरेबापत किसानले विद्यार्थीहरुलाई न्यूनतम पारिश्रमिक पनि दिनुपर्छ । किसानले सस्तोमा खेताला पनि पाउँछ । त्यो पैसा ‘फाउन्डेसन विध्यार्थी–कोष’को रुपमा स्थापना हुने कृषि वैज्ञानिक राईले बताए ।

छ वर्षमै शिक्षक

धेरैले सोध्ने गर्छन्, शिक्षक कति छन् । कृषि वैज्ञानिक मदन राईले सबैलाई भन्ने गर्छन्, “शिक्षक नभएर हुन्न र ? हाम्रा ‘मेन्टर’हरू छन्, ‘पियर’हरू छन् । उनीहरू नै गुरु हुन् । गुरुआमा हुन् ।”

‘सर्भेन्ट’ र ‘टिचर’ दुई शब्द बेकामे हो । फाउन्डेसनले यी दुई शब्द मनपराउँदैन । ‘टिचर’लाई ‘मेन्टर’ भन्ने गर्छ । त्यसपछि ‘पियर’ शब्द यहाँ प्रिय रहेछ । ‘पियर’ अथवा साथीसाथी सिकाई । समूहमा सिक्ने । समूहमा केही कुरा सिकाउनु छ भने एकजनाले बारम्बार मिहिनेत गरिरहनुपर्दैन । एकपटक सिकाएको कुरा कुन बच्चाले सबैभन्दा राम्रो टिप्छ, ऊ नै त्यो विषयको ज्ञाता हो । उसैले अर्कोपटकदेखि ‘मेन्टर’ भएर सिकाउँछ । ‘काउन्सेलिङ’ गर्छ । समूह सिकाइले शिक्षक पनि उत्पादन हुनेरहेछ । समूहमा सिकाएको कुरा छ वर्षभन्दा सानोले पनि जान्न सक्छ । अर्कोपालिदेखि छ वर्षका बच्चा शिक्षक अर्थात मेन्टर हुन्छ ।

शाखा बिस्तार

हलेसी तुवाचुङ नगरपालिका, खोटाङ र दुल्लु नगरपालिका, दैलेखका स्थानीय सरकारहरूसँग फाउन्डेसनको शाखा खोल्नेबारे कुरा अघि बढिरहेको छ । दिक्तेलमा सुरु भएको यो जीवनोपयोगी शिक्षा विश्वभरि पुर्याउने योजना छ फाउन्डेसनको । अहिले ४५ जिल्लाका बच्चाहरू यहाँ पढिरहेका छन् । यो वर्षदेखि ७५ वटै जिल्लाहरूका बच्चाहरूलाई समेट्दैछन् ।

गज्जबको पढ्ने रुटिन

विहान ५ बजे

फाउन्डेसनमा हिउँदमा विहान ५ः३० र वर्षामा ५ बजे जागरण गीत बज्न थाल्छ । गीत बजिसक्दा बच्चाहरूले आआफ्नो ओछ्यान चिटिक्क बनाएर पत्याइसक्नुपर्छ । कसको बेड सफा, चिटिक्क हुन्छ । उसले पुरस्कार पाउँछ । फाउन्डेसनमा ‘बेड कम्पिटिसन’ पनि हुन्छ । त्यसपछि सबै दौडिन जान्छन् ।

बिहान ६ बजे

मर्निङ वाकबाट छ बज्दा सबै फिरिसक्नुपर्छ । त्यसपछि बाल्टिनमा दिसापिसाब गर्छन् । हातमुख, ब्रस गरिसकेपछि प्रत्येक विध्यार्थीले अनिवार्य पानी पिउनुपर्छ, सानोले एक ग्लास र ठूलोले दुई ग्लास । यो यहाँको पानी पिउने रुटिन हो । त्यसपछि उनीहरूको रुची र क्षमताअनुसारको अभ्यास हुन्छ । कोही योगा गर्छन् । कोही परीक्षाको तयारी गर्छन् । चित्र बनाउँछन्, कोही खेल्छन् । पाककलाका लागि रुटिन परेकाहरू खाजा पकाउँन बस्छन् । कोही गीत गाउँछन् । कोही कम्प्युटर चलाउँछन् ।

बिहान ७ बजे

बिहान ७ बजे खाजा खाने समय हो । विद्यार्थीहरूको आआफ्नो समूह छ । खाजाखाना पकाउने प्रत्येक समूहको पालो हुन्छ । फाउन्डेसनमा ‘पाककला’मा पनि ‘कम्पिटिसन’ हुन्छ । प्रत्येक दिन फरफरक खाजा पाक्छ । उनीहरू आफैले फलाएर पकाएका खाना खान्छन् । अपुगमा चामल र तेल मात्र फाउन्डेसनले किन्छ ।

बिहान ८–११ बजे

बिहानको खाजा खाएपछि आआफ्नै विभाग हुन्छ । कोही कृषि फर्ममा जान्छन् । त्यहाँ उनीहरू कृषिविज्ञान पढ्छन् । तरकारी रोप्छन् । तरकारी रोप्दारोप्दै गणित पनि सिक्छन् । कसरी फलाउने भनेर खेती पनि सिक्छन् । कोही जाँचको तयारी गर्छन् । सिलाइबुनाइकाहरू लुगा सिलाउने काममा बस्छन् । कसले राम्रो सिलाउँछन् । त्यसमा पनि सीप परीक्षण हुन्छ । कोही निर्माणमा काम गर्छन् ।  ११ बज्दा सबै आइसकेका हुन्छन् । १२ बज्दा खाना खाइसकेका हुन्छन् ।

दिउँसो ३ बजे 

खाना खाइसकेपछि २ बजेसम्म हल्का सिकाइपढाइ हुन्छ । तीन बजे चियाको समय हो ।

बेलुका ६ बजे

बेलुका ५ बजे सबै आइसकेका हुन्छन् । ६ बजे खाना खाइसक्छन् । त्यसपछि डायरी लेख्छन् । दिनभरि के–के सिक्यो, केके काम गर्यो । त्यो सबैले अनिवार्य लेख्नुपर्छ । डायरी सुनाउने, इन्टरनेट चलाउँने र टेलिभिजन हेर्ने पनि रुटिन छ ।  राति १० बजे फाउन्डेसनको बत्ती निभ्छ । बच्चाहरू १० बजे सबै सुतिसकेका हुन्छन् । ठूलाले ७ र सानोले ८ घण्टा अनिवार्य सुत्नुपर्छ ।

सम्भावना

कृषिविद् मदन राई र सूर्य राई हुन् फाउन्डेसनका ‘थिङक ट्याङक’ । यहाँ ३२ जातजातिका एक सय ५० बालबालिका अध्ययनरत छन् । यहाँका विध्यार्थीले जागिरका लागि भौँतारिनु पर्दैन । बच्चाहरू बस्ने घर, आँगनमा फुलिरहेका फूल, बाटोबाटोका गमलाहरू यहाँका विद्यार्थीहरू आफैले बनाएका हुन् । हरेक शुक्रबार ‘ट्यालेन्ट–सो’ हुन्छ । खेल, सङ्गीत, चित्रकला, साहित्यिक प्रस्तुतिहरु यहाँ बेजोड हुनेरहेछ ।

https://www.youtube.com/watch?v=oStVRTfO380&fbclid=IwAR3VFNeKQ68FQnxL5drBqdAkry_z70VdUe2lm6ArnYDyT2Yca6TnqL7VL1k

छ कक्षामा पढ्ने सिन्धुपाल्चोककी १२ वर्षे एलिसा मगर एउटा उदाहरण हुन् । उनीजस्ता धेरै प्रतिभाहरू शुभम फाउन्डेसनमा छन् ।

https://www.ehulaki.com/news/detail/4652/

Leave a Reply

Your email address will not be published. Required fields are marked *