ज्ञानबहादुर बायुङको नेतृत्वमा सुम्निखिम नयाँ कार्यसमिति

समाचार

लिभु संवाददाता
काठमाडौं– किरात बायुङ राई सुम्निखिमको पहिलो राष्ट्रिय अधिवेशनले ज्ञानबहादुर बायुङ राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘मौलिक भाषिक पहिचानको लागि बायुङ र जातीय एकताको लागि राई’ भन्ने मुल नारासाथ २०८१ वैशाख १५ गते कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य रहेको अधिवेशन उद्घाटन सत्रमा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राई, किरात राई प्रज्ञा परिषदका उपकुलपति डा. नेत्रमणी दुमिराईलगायतले शुभकामना व्यक्त गरेका थिए । तेजलाल बायुङ युम्बुचा राईद्वारा लिखित तथा सम्पादित ‘लोरो तुम्लो’ पुस्तक विमोचन गरिएको थियो ।

अधिवेसनमा देशभरिका ९ जिल्ला कार्यसमिति र प्रवास (हङकङ) शाखा समितिबाट प्रतिनिधि सहभागी थिए । यस्तै, बायुङ राई अग्रजहरू, नक्सो, जाम्चा, तुम्लोचा तथा सुम्निखिमकर्मी सदस्यहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्दसत्रमा महासचिव युवराज बायुङ राईले सुम्निखिमको सांगठनिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसैगरी कोषाध्यक्ष पार्वती बायुङ राईले सुम्निखिमको आर्थिक प्रतिवेदन पेस गरेका थिए । अधिवेशनले संस्था विधानको निर्वाचन सम्बन्धी व्यवस्था र कार्यसमितिको पदावधि संशोधन सहित सुम्निखिमको झण्डा सम्बन्धि ब्यवस्था थप गरेको छ ।

सुम्निखिमका सल्लाहकार तथा जिमी राई उत्थान समाजका अध्यक्ष यसबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समित गठन गरिएको थियो । कार्यसमितिका अध्यक्ष ज्ञान बहादुर बायुङ राई (सोलुखुम्बु), उपाध्यक्षद्वय दिपककुमार बायुङ राई (खोटाङ) र प्रेमकुमारी बायुङ राई (ओखलढुंगा), महासचिव युवराज बायुङ राई (खोटाङ), सचिव भिमकुमारी बायुङ राई (सोलुखुम्बु) र कोषाध्यक्ष पार्वती बायुङ राई (ओखलढुंगा) रहेका छन् ।

यसैगरी सदस्यहरू लोकबहादुर बायुङ राई (ओखलढुंगा), विनायक बायुङ राई (ओखलढुंगा), जीवन बायुङ राई (सोलुखुम्बु), मनकुमारी बायुङ राई (उदयपुर), रबिन बायुङ राई (खोटाङ), देवबहादुर बायुङ राई (मोरङ), जीवन बायुङ राई (झापा), आकृता बायुङ राई (सोलुखुम्बु), सविना बायुङ राई (भोजपुर), युवराज बायुङ राई (ओखलढुंगा) र गाहान सिंह बायुङ राई (उदयपुर) छन् ।

देशविदेशमा छरिएर रहेका किरात बायुङ राई जातिको एकता, इतिहास, भाषा, साहित्य, मुन्धुम संस्कृति, परम्पराको जगेर्ना तथा सामाजिक जागरणका निम्ति गठन भएको सुम्निखिम २०७७ पुस २० गते जिल्ला प्रशासन कार्यालयबाट दर्ताप्राप्त छ । सुम्निखिमले ‘चासुवा’ वार्षिक स्मारिका प्रकाशन गर्दैआएको छ । तथ्यांकमा बाहिङ/बायुङ भाषा बोल्नेको जनसंख्या १४ हजार ४४९ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *