एसेज सिरिजको उपाधि अष्ट्रेलियालाई, इंग्ल्याण्ड ४–० ले पराजित

खेल

एजेन्सी । एसेज सिरिजको ५ टेष्ट क्रिकेट शृंखला अष्ट्रेलियाले ४–० ले कब्जा गरेको छ । अन्तिम तथा पाँचौं टेष्ट क्रिकेटमा इंग्ल्याण्डलाई एकै इनिङ्समा १२३ रनले जित हात पार्दै अष्ट्रेलियाले एसेज सिरिज जितेको हो ।

निकै कमजोर स्थितिबाट पाँचाैं दिन ब्याटिङ थालेको इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो । पाँचौ दिन ६ विकेट गुमाएसँगै इंग्ल्याण्ड पराजित भएको हो ।

इंग्ल्याण्डका लागि कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् । इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले ५८ र जोनी बैरस्टोव ३८ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।

यता, अष्ट्रेलियाका लागि पट कुम्मिन्सले ४ र नाथम लिओनले ३ विकेट लिए । यसअघि अष्ट्रेलियाले शानदार प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङ्समा ७ विकेटको क्षतिमा ६४९ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि ३ जना खेलाडीले शतक प्रहार गरे । उस्मान खवाजाले १७१ रन बनाए । त्यस्तै, शाउन मार्सले १५६ र मिचेल मार्सले १०१ रनको शतकीय पारी खेलेपछि अष्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो ।

पाहुना टोली इंग्ल्याण्डले सिड्नी क्रिकेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा ३४६ रन बनाएको थियो । अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो खेल भने बराबरीमा समाप्त भएको थियो । इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको ५ खेलको एक दिवसीय सिरिज भने जनवरी १४ तारिखदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published.