व्याकुल माइला गोल्डकप नवौं संस्करण : क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा (फोटो फिचरसहित)

खेल बिशेष

क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा, हलेसी तुवाचुङ–१ को अग्रता कायमै


लिभु संवाददाता
हिलेपानी (ओखलढुंगा) । ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनारमा जारी व्याकुल माइला गोल्डकप क्वार्टर फाइनल खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले अग्रता कायम राखेको छ ।


खेलको छैटौं दिन बिहीबार (२०८० कात्तिक १६ गते) बिहान भएको खेलमा खोटाङकै जनजागरण युवा क्लब र हतुनपा–१ वडा टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा हतुनपा–१ वडा टिमले १ का विरुद्ध २ गोलले जनजागहरणलाई पराजित गरेको छ ।


छैटौं दिनको खेल दिउँसो मितेरी युवा क्लब–बी र रिभोरुङ युवा क्लब बीच हुनेछ । यस्तै अपरान्हमा मितेरी युवा क्लब–ए र नव सगरमाथा युवा क्लबबीच हुने व्याकुल माइला गोल्डकप नवौं संस्करण मूलआयोजक समितिको सचिव नविनकुमार राईले जनाएका छन् ।


नवौं संस्करणको खेलमा २३ टिम सहभागी भएर प्रतिस्पर्धामा उत्रिएका थिए । पहिलो चरणको प्रतिस्पर्धा कात्तिक ११ गते उद्घाटन सत्रका दिन घुर्मी युवा समूह–बी र ज्वालामुखी युवा क्लब हर्कपुर बीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा घुर्मी युवा समूहले १–० गोलले जित हासिल गरेको थियो ।


खेलको दोस्रो दिन, नयाँ नेपाल सरोकार समाज संस्था सोक्मटार र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवा (४–५), मानेभन्ज्याङ स्पोर्टस क्लब र हलेसी तुवाचुङ नपा वडा–१ खोटाङ (१–२), बलिदान आरधाना मण्डली बाहुनटार खोटाङ र फूलबारी युवा क्लब जाक्मा (०–१) तथा मानेभन्ज्याङ युवा समूह र माथिल्लो जयराम युवा क्लब खोटाङ (४–१) भएको थियो ।


खेलको तेस्रो दिन, मितेरी युवा क्लब हिलेपानी–ए र सयपत्री युवा क्लब तल्लो रिचुवा (१–०), हिलेपानी युवा क्लव (एचएफसी) र जनजागरण युवा क्लब झाप्पा खोटाङ (१–०), घुर्मी युवा समूह–ए र सिद्धधाम कन्ट्रक्सन प्रालि हिलेपानी (१–०), सप्तरङ्गी युवा परिवार फोकुल र मितेरी युवा क्लब हिलेपानी–बी (०–१) बीच प्रतिस्पर्धा भएको थियो ।


खेलको चौथो दिन, प्रगतिशील समाज सेवा युवा क्लब खर्क खोटाङ र जिल्ला प्रहरी कार्यलय ओखलढुंगा (०–२), नव सगरमाथा युवा क्लब र सुनाखरी युवा क्लब (३–२) बीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको खेल प्रतिस्पर्धा रिभोरुङ युवा क्लब माथिल्लो रिचुवा र फूलबारी युवा क्लब जाक्मा (२–०), घुर्मी युवा क्लब र हतुनपा–१ वडा खोटाङ (०–२) भएको थियो ।


यसैगरी पाँचौं दिन बुधबारबाट क्वार्टर फाइनल खेल सुरु भएको छ । जसमा मितेरी युवा क्लब–ए र घुर्मी युवा क्लब–बी (२–०), मानेभन्ज्याङ युवा समूह र जनजागरण युवा क्लब झाप्पा खोटाङ (२–४) तथा दुधकौशीका आधारभूत विद्यालय सोक्मटार र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा (२–०) बीच खेल भएको थियो ।


‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालबाट व्याकुल माइला गोल्डकप सुरु भएको हो । प्रदेश–१ का सांसद प्रदीपकुमार सुनुवारले कात्तिक ११ गते नवौं संस्करणको उद्घाटन गरेका थिए ।

 

मूलआयोजक समितिका संयोजक क्षमाराज राईको अध्यक्षता रहेको उद्घाटन सत्रमा राष्ट्रगानका रचयिता व्याकुल माइला, मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राई, पालिकाका पूर्वउपाध्यक्ष सबिता राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

खेल उद्घाटनअघि जयरामघाटदेखि हिलेपानी मितेरी भन्ज्याङ र मितेरी भन्ज्याङदेखि खेलमैदानसम्म प्रभातफेरी प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा ललितपुरको बज्र कल्चर सेन्टरका कलाकारले नेवार जातिको धिमे बाजा, छिस्या भुस्या बाजा तथा लाखे नाच प्रदर्शन गरेका थिए ।

हजार जनाभन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमैदानमा विभिन्न कलाकार टोलीले साकेला सिली, मारुनी, झ्याउरे नाच प्रदर्शन गरेका थिए ।

खेल यही कात्तिक १८ गते समापन हुनेछ । समापन समारोहमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडा प्रमुख अतिथि रहने आयोजकले जनाएका छन् । यसैगरी, प्रदेश–१ सांसद बाबुराम गौतम, पूर्वसांसद यज्ञराज सुनुवारलगायतको उपस्थिति रहनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *