स्वरुप फेरिदै व्याकुल माइला गोल्डकप मैदान

पत्रपत्रिका समाचार

लिभु संवाददाता

हिलेपानी, ओखलढुङ्गा । लक्डाउनकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ ।

सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र विकास कोष अन्तर्गत चालू आ.व. २०७६/०७७ मा रु. १० लाख बजेट विनियोजन गरिदिनु भएको थियो ।

बन्दै गरेको व्याकुल माइला गोल्डकप खेल मैदान

गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईको अग्रसरतामा पहिलो किस्ताको रकम निकासा गरेर काम थाल्दै गर्दा कोरोनाको विश्वव्यापी सङ्क्रमणले सबैलाई आतङ्कित पारी अन्यौलग्रस्त परिस्थिति सिर्जना भयो । तर, त्यस्तो परिस्थितिमा समेत खेल र विकासप्रेमी पौरखी स्थानीय युवाहरू काममा जुटे । कोशी किनारको टन्टलापुर घाम र कोरोनाको सङ्क्रमणको कुनै पर्वाह नगरी प्राप्त विकासको अवसरलाई सदुपयोग गर्न दृढतापूर्वक जुटे ।

बन्दै गरेको व्याकुल माइला गोल्डकप खेल मैदान

“लक्डाउन सुरु भएको केही दिनपछि गाउँपालिकाका पदाधिकारीहरू आएर स्थगित गर्न लाउनु भएको थियो तर सिमेन्ट लगायतका निर्माण समाग्री बिग्रनसक्ने भएकोले केही दिन रोकिएर फेरि काम थालियो । त्यसैले अहिले गोल्डकप मैदानको रूप फेरिएको छ ” नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षमान राईले बताउनु भयो ।

यस कुनाकन्दरामा यतिको विकास योजना पर्दा पनि आश्चर्य मान्नु पर्ने अवस्था छ । युवा वर्गलाई सम्बोधन गर्ने कार्यक्रम भएकोले प्राप्त यस कार्यक्रमलाई सफल पार्न युवाहरू उत्साहपूर्वक श्रमदानमा जुटी लक्ष्यभन्दा बढी कार्य सम्पन्न गरेका छन् ।

यस मैदानमा स्थानीय युवाहरूले फुटबल खेल्न र सिक्नका साथै वि.सं. २०६८ सालदेखि बर्षेनी व्याकुल माइला गोल्डकपको आयोजना गर्दै आएका छन् ।

तस्बिर : व्याकुल माइला गोल्डकप फेसबुक पेजबाट

साभार enepalipage.com

Leave a Reply

Your email address will not be published.