इतिहास : तिखेदेवल मन्दिर परिसरमा रहेको शिलालेखको प्रतिलिपि लेखन सन्दर्भ

कला साहित्य -संस्कृति स्वास्थ्य
प्राज्ञ अमर तुम्याहाङ

विषय उठान

किरात वंशका राजा शस्कुहाङ वा शङ्खाहाङ भनी इतिहासकारहरूले उल्लेख गरेका शेसिकुहाङ किरात राजाले पाटनको तिखे गाउँमा उमा महेशको देवल मन्दिर बनाई त्यस देवल मन्दिरमा देवशीला राखेका थिए । त्यो देवल मन्दिर लिच्छिवि काल हुँदै मल्ल कालसम्म आइपुग्दा जीर्ण भएर रहेको अवस्थामा मल्ल वंशका राजा शक्ति सिंहले त्यसको जीर्णोद्धार गरे ।

किरात राजा शेसिकुहाङले बनाएको र मल्ल राजा शक्ति सिंहले जीर्णोद्धार गरेको उमा महेशको उक्त देवल मन्दिर मल्लकाल, राणाकाल हुँदै वि.सं. २०११/१२ सालसम्म आइपुग्दा देवल मन्दिर भत्की पाताल भई देवमूर्तिमात्र बाँकी रहेको थियो । सोही पुरानो भग्नावशेष रहेको ठाउँमा सुब्बा पे्रमबहादुर माबोहाङले विक्रम संवत् २०१३ साल जेठ १७ गते पुनः पक्की मन्दिर र मन्दिरको बायाँतर्फ पक्की सत्तल बनाए । यसका साथै मन्दिर र सत्तल मर्मतसम्भार र नियमित पूजापाठका लागि मोरङ तिली जाँतेमा रहेको बारकोठे नामको ३ विगाहा खेत गुठी राखी यी सबै विवरणहरू उल्लेख भएको खस नेपाली र याक्थुङ लिम्बु भाषामा शिलालेख पनि राखेका थिए ।

ती शिलालेखहरू मार्बलमा साना अक्षरमा लेखिएकाले अहिले आएर पढ्न निकै कठिन हुने अवस्थमा पुगेका छन् । त्यहाँ राखिएको सबैभन्दा पुरानो शिलालेखमा भएका अधिकांश अक्षरहरू मेटिएर पूर्ण रूपमा पढ्न नसकिने भएको छ । यसरी नै लिम्बु भाषामा लेखिएको शिलालेख पनि पढ्न नसकिने अवस्थामा रहेको छ । खस नेपालीमा लेखिएको शिलालेख भने तुलनात्मक रूपमा अलि बढी पढ्न सकिने अवस्थामा रहेको छ । यी शिलालेखहरूको यो अवस्थालाई ध्यानमा राखी किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिले ग्रेनाइटमा प्रतिलिपि लेखन गर्ने गराउने कार्य गरेको छ ।

सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेखको पठन र प्रतिलिपि लेखन

सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेख यस प्रकार रहेको छ :

सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको यस शिलालेखको मूल पठन प्राज्ञ वैरागी काइँलाले गरेका हुन् । पछि वैरागी काइँला र अमर तुम्याहाङले संयुक्त रूपमा त्यसलाई थप निखार्ने काम गरेका थिए । यो शिलालेख १८ लाइनमा लेखिएको छ । यस शिलालेखमा पढ्न सकिएका विवरणहरू निम्न अनुसार उतार गरिएको छ :

यस विवरणमा राखिएका थोप्ला थोप्ला ( … ) ले पढ्न नसकिएको अक्षर वा शब्द विवरणहरू जनाउँदछ । यस विवरणमा सानो कोष्टकभित्र राखिएका अक्षर वा शब्दहरू वर्तमान उच्चारणसँग मेल गराउन प्रयोग गरिएका अक्षर वा शब्दहरू हुन् । माथि विवरणमा आएका शब्द वा वाक्यांशहरू पूर्ण लिम्बु उच्चारण अनुसार लेखिएका छैनन् । ती शब्दहरूलाई अर्थ लगाउन पनि निकै कठिन छ । तर यस विवरणमा उल्लेख भएका केही बुझ्न सकिने शब्द वा प्रसङ्गहरूलाई आधार मान्दा नागरी लिपिमा खस नेपाली भाषामा लेखिएका विवरणको निकट रहेको छ । यसर्थ सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेख प्रतिलिपिको रूपमा नभई देवनारी लिपि र खस नेपाली भाषामा लेखिएको प्रेमबहादुर माबोहाङले स्थापना गरेको शिलालेखको आधारमा रहेको मानेर तयार गरिएको छ । यस अनुसार तयार गरिएको सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखी पुरानो शिलालेखसँगै राखेको नयाँ शिलालेखको विवरण यस प्रकार रहेको छ :

माथि प्रस्तुत शिलालेखका शब्दावलीहरू पूर्ण रूपमा लिम्बु भाषा विज्ञान वा उच्चारण अनुसार लेखिएका छैनन् । कतिपय खस नेपाली पदावलीहरूलाई उही उच्चारणमा राखिएका छन् जस्तै ‘माबाङगी’, ‘जया’, ‘बारकोठे’ आदि ।

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको शिलालेखको पठन र प्रतिलिपि लेखन

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको शिलालेख यस प्रकार रहेको छ :

यो शिलालेख करिब करिब सतप्रतिशत पढ्न सकिने अवस्थामा रहेको छ । यसको प्रथम पठन प्राज्ञ तथा प्राध्यापक दिनेशराज पन्तले गरेका हुन् । प्राध्यापक दिनेशराज पन्तले पठन गर्न नसकेका अक्षर र शब्दहरू किरात इतिहासकार मञ्जुल याक्थुम्बा र अमर तुम्याहाङले संयुक्त रूपमा पठन गरी पूर्णता दिएका हुन् । यो शिलापत्र २३ लाइनमा लेखिएको छ । यसको पूर्ण विवरण यस प्रकार रहेको छ :

नागरी लिपि र खस नेपाली भाषामा रहेको शिलापत्रलाई माथि जस्ताको तस्तै उतारिएको छ । यस शिलापत्रका कतिपय शब्दहरू नबुझिने भएकाले वा नामसँग जोडिएका कपिय प्रसङ्गलाई प्रष्ट्याउन सानो कोष्टकमा शब्दहरू राखिएका छन् । त्यसरी राखिएका शब्दहरूले शिलापत्र लेख्दा त्यस समयमा हुन गएका फरकपनालाई स्पष्ट पार्ने र वर्तमान अवस्थामा त्यसलाई बुझ्न सजिलो बनाउने छ । यी बाहेक शिलापत्रको प्रतिलिपि जस्ताका तस्तै उतारिएको छ । यसको विवरण यस प्रकार रहेको छ :

…………………………………………………………………………….
उमा महेश
श्री ४ युग मध्ये कलीयुग गत ५०५७ शके (शाके) १८७८ विक्रम सम्वत् २०१३ साल जेष्ठ १७ गते जेष्ठ कृष्ण षष्ठि तिथौ बुधवासरे पूर्व पल्लो किरात लिम्बुवान देशमधे(मध्ये) जिल्ला धनकुटा थुम चौबिश मिक्लुङ नागी गाउँ निबासी सुब्बा पृथ्वी दलको नाती सुब्बा आकैस हाङ (औसनसिंह) लिंबु (लिम्बु) को छोरा श्री सुब्बा प्रेम बहादुर मुना गोत्री चन्द्र वंशी माबहाङ (माबोहा¬ङ) तस्य बामाङगी जया कुमारी गंगा कुमारी सुपुत्र पुण्य प्रसाद कनिष्ठ भ्रात पुत्र जिमीदार अग्नी प्रसाद सहित, म सपरिवारादी भई पाटन अर्थात ललीतपुर तिषेगाउँ मा अघी प्राचीन कलि युग २२४७ गत मा किरात वंश राज्यकालका शेसिकुहाङ (शस्कुहाङ÷शङ्खाहाङ) किरात राजाले उमामहेशको देवल मन्दीर बनाई देव शीला स्थापित गरेको मन्दीर जीर्ण हुदा (हुँदा) मल्ल वंश शक्ति सिंहले जिर्णो उद्धार गरेको मन्दीर भत्की पाताल भई देव मुर्ति मात्र रहेको पुरानु स्थानमा उमा महेश को पक्की मन्दीर १ र ˘व मन्दीर उत्तर बाँयाँ तर्फ पक्की सतल (सत्तल) धर्मशाला १ स्मेत (समेत) बनाई उमामहेशको नित्य पुजाको निमित्त धुप अक्षता तील जौलाई मैना (महिना) एकको मोहोर रु २ पुजारी के तलब माशिक मोहोर रु ३ का दरले जम्मा वर्ष १ को पुजा तलब स्हीत (सहित) मोहोर रु ६० एही (यही) २०१३ साल देखि फाल्गुण कृष्ण चदुर (चतुर) दशी शिवरात्री कादिन रुद्री आवृती ११ चण्डी आवृती ३ ब्राह्मण द्वारा पुजारी ले पाठगराउने के खर्च वार्षिक मोहोर रु ३० र धर्मशाला मम्र्मत (मर्मत) के खर्च मोहोर रु १० समेत जम्मा मोहोर रु १०० वार्षिक खर्च र लेखिएको खर्च भई बचेको आम्दानी साल वसाल गुठमा जम्मा गरी ˘व उमामहेश कोमन्दीर र धर्म शाला सतल बिग्रे भत्के मा मर्मत गर्ने कार्य निमित्त गुठ जगा मोरं (मोरङ) विराट नगर जिल्ला प्रगन्ना मिकलुङ पाहाड मौजा तिली जाँते १३ साल को हाल आवादी भिमबहादुर लिम्बु दाता भएको बार भोटे (बारकोठे) बिरौटा बिगाहा ३ खेत गुठी चढाएको छ ˘व जग्गाको आम्दानी लेखिए बमोजीम गुठ रही खर्च हुने संकल्प आज को प्रतिष्ठा शुभ कार्य को दिन यज्ञशालामा गरी चढाएको छ । ईति शुभम् ।।

प्रतिलिपि लेखन मिति : वि.सं. २०७५/१०/०१, कक्फेÞक्वा तङ्नाम ।
किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्य समिति, ललितपुर ।
…………………………………………………………………………….

यस शिलापत्रको अन्त्यमा प्रतिलिपि लेखन मिति र प्रतिलिपि लेखन गर्ने संस्थाको नाम भने पहिलाको शिलापत्रमा उल्लेख भएका विवरणमा थपिएका छन् ।

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो शिलालेखको पठन र प्रतिलिपि लेखन

तिखेदेवल मन्दिर परिसरमा रहेको सबैभन्दा पुरानो शिलापत्र यस प्रकार रहेको छ :

यो शिलालेख वा शिलापत्रको दायाँ र बायाँ छेउका केही भागमा थोरै अक्षरहरू देखिन्छन् । शिलापत्रको बिच भाग पुरै मेटिएको छ । यस शिलापत्रको तलतिरको भाग वल्लो छेउदेखि पल्लो छेउ वारपार नै अक्षरहरूको कुनै निसाना समेत नरहने गरी मेटिएको छ । यस शिलापत्रमा लेखिएको रूप हेर्दा मल्लकालीन शिलापत्र भएको सहजै अनुमान गर्न सकिन्छ । सुब्बा प्रेमबहादुर माबोहाङले यही शिलापत्र वा शिलालेख पढेर नै २०१३ सालमा उनले नयाँ शिलालेख राखेको विश्वास गरिएको छ । जे होस्, यो अत्यन्तै जीर्ण भएकाले यस शिलापत्रको पठन गर्न सकिएन ।

टुङ्ग्याउनी

पाटन तिखे गाउँमा किरात कालमा बनेको, मल्लकालमा जीर्णोद्धार भएको र २०१३ सालमा सुब्बा प्रेमबहादुर माबोहाङले पुनः निर्माण गरेको उमा महेशको देवल मन्दिरका साथमा नयाँ निर्माण गरिएको सत्तल अहिले यथा अवस्थामा रहे पनि त्यहाँ राखिएका शिलापत्रहरू पढ्न सकिने अवस्थामा रहेका छैनन् । यसो हुनुमा शिलालेख लेखिएको ढुङ्गो कमसल मार्बल हुनु, शिलालेख लेखिएको शिला राज्य र समुदायबाट संररिक्षत नहुनु जस्ता कारणहरू रहेका छन् । यस प्रकारका ऐतिहासिक शिलापत्र जसले हाम्रो प्रामाणिक इतिहास उजागर गर्दछन् त्यस्ता ठोस प्रमाणहरू संरक्षण गर्ने कार्यप्रति राज्य उदासिन हुनु दुःखद छ ।

आशा लाग्दो कुरा भने किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समितिले चासो देखाएर पढ्न सम्भव भएका शिलालेखहरू लामो समय टिक्न सक्ने ग्रेनाइटमा प्रतिलिपि लेखन गरी पुरानो शिलापत्रसँगै राख्ने काम गरेको छ । सबैभन्दा पुरानो शिलापत्र लिपि विशेषज्ञहरू लगाएर पठन गर्न लगाउनुपर्छ र यस शिलापत्रमा अभिलेखित इतिहास उजागर गर्नुपर्छ । यो अभिभारा राष्ट्रिय अभिलेखालय लिनु वाञ्छनीय हुन्छ ।

सानोठिमी भक्तपुर
२०७५ पुस १८ गते बुधबार 

स्रोत : वलिहाङ मुइङसक, वर्ष ६, अङ्क ६, पेज ३९-४७ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *