मृत भाषा संस्कृतको चाहिं हाई हाई
मलाई लागेको थियो- हामी पढेलेखेकाहरूले मातृभाषा लेख्ने अभियान सीमित व्यक्तिले मात्र अनुशरण गरेका होलान् । कोभिड- १९ महामारीको रूपमा विश्व आक्रान्त पारेपछि जब लकडाउन सुरु भयो तब आफ्नो सन्दर्भ कोट्याउने साइत जुर्यो । लकडाउनको साथी इन्टरनेट बन्दै आएको छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहज तुल्याएको छ । मोबाइल र ल्यापटपमा वाईफाई जोडेपछि साथी हुनु स्वभाविक हो । मैले पनि त्यसै गरेको छु । इमेल, फेसबुक, भाइवर, वाट्सएप, म्यासेन्जर, जुम प्रयोग गर्दै आएको छु । युटुबमा चाहेको विषय हेरेको छु । फेसबुकमा धेरै आफन्तहरू तथा युवा पुस्तासँग जोडिएर संवाद गर्ने अवसर जुटेको छ ।
कोरोना भाइरसको संत्रास फैलिएपछि अफिसले घरमै बसेर काम गर्न भनेर अनुमति दिएको छ । दैनिकी बदलिएको छ । घरमै धुमधुमती बस्नु पर्नेछ । के गर्ने, कसो गर्ने भन्ने हुने नै भयो । पढ्न लायक किताबहरूको चाङ छँदैछ । तर, मन त्यसमा गढिएको छैन । मूल ढोकाभन्दा बाहिर जाऊँ घरिघरि प्रहरी गस्ती आउँछ । कम्प्युटर, मोबाइलमा एकतमास झुण्डिनु अत्यास लाग्छ । टेलिभिजन हेर्न मन लाग्दैन । परिवारका सदस्यहरूसँग कुराकानी पनि कति गर्नु, आवश्यकभन्दा बढी बात मार्न पनि मनले मान्दैन । कोरोनाबाट बुढापाका, बालबालिका र विमार भएकालाई चाँडो संक्रमण फैलिन्छ भन्ने सुनिएको छ । घरभित्र उमेरले ६९, ८२ र ८८ वर्षका तीनजना ज्येष्ठ सदस्य हुनुहुन्छ । हाम्रो क्रियाकलापले उहाँहरूको सोचाइमा खराब प्रभाव पार्ला भन्ने मनोभाव जागिरहन्छ । दैनिक दिन कोरोना महामारीबाट विश्वभरि मान्छे मरेको मर्यै छन् । स्यानिटाइजर हातभरि घस्दाघस्ता खुइलिन लागी सक्यो । साबुन पानीले हात धुँदाधुँदा दिक्दार लागी सक्यो । मास्कले मुख छोप्दाछोप्दा सासै थुनिएजस्तो महसुस भइसक्यो । तैपनि लकडाउनको ५९ औं दिनसम्म आइपुग्दा बानी परिसकेको छ । घरभित्रै बस्ने, मास्क नलगाए पनि हुने, हातचाहिं धोइरहनु पर्ने, अगल घरमा बसेका परिवारका सदस्यहरू कसैसित भेटघाट नगर्ने, मोबाइलमै कुराकानी गर्ने गरिएको छ ।
मैले लकडाउन अघिदेखि विश्वेश्वरप्रसाद कोइरालाको ‘फेरि सुन्दरीजल’ (जेल डायरी २०३३-३४) पढ्दै थिएँ । सकिएको थिएन । सुरुमै सोचाइ आयो कि गर्दैआएको मुख्य काम नियमित गर्नैपर्छ । अब हामी पनि घरभित्रै बस्दैछौं । मैले घर डायरी किन नलेख्ने ? अर्थात् वाम्बुले राई मातृभाषामा ‘लकडाउन डायरी’ लेख्ने निधो गरें । सुरुका दुई दिन २०७७ चैत ११ र १२ गते नोटबुकमा केही टिपोट गरें । तर, यसरी लेख्दा दोहोरो काम हुनेछ भन्ने ठानें । हामी पत्रकारले कुनै पनि समाचार डायरीमा टिपोटमात्र गर्ने हो, फेहरिस्त लेख्ने काम कम्प्युटरमै हुनेगर्छ । त्यसैले चैत १३ गतेबाट दिनभरि भए, गरिएका, विश्वभरि कोरोना भाइरसबाट घटेका घटनाहरू लेख्न, टाइप गर्न थालें । मैले देवनगरी लिपिमै वाम्बुले राई भाषामा लेख्दै आएको छु । लकडाउनको ५९ औं दिनसम्ममा ५३ हजार शब्द पुगेको छ ।
२०४८ सालमा पहिलो पटक वाम्बुले भाषा लेखेर वाचन गर्दा साह्रै नयाँ काम गरेको अनुभूति भएको थियो । त्यसयता निरन्तर मातृभाषा लेखन, सम्पादन, पत्रिका प्रकाशन, कृतिहरू प्रकाशन गर्दै आएको छु । यसरी बितेको तीन दशकमा एकोहोरो दुई महिनासम्म हरेक दिन मातृभाषामा दैनिकी लेखेको चाहिं पहिलो घटना हो । दैनिक आफूले गरे, देखे, भोगेका, महसुस गरेका विषयहरू समेटेको छु । मैले अधिकत विषय किरात राई जाति र त्यसमा पनि वाम्बुले राई समाजको सामाजिक लोक परम्परा, रीतिथिति र अन्य किराती समुदायसमेत समेटेको छु । कोभिड–१९ बाट विश्वभरि दैनिक मृत्यु भएकाहरूको तथ्यहरू छँदैछ ।
मैले सुरुमै भनें कि मातृभाषा अभियान लेख्नु, लेखाउनु, प्रकाशन गर्नु मात्रै होइन । गीत, संगीत भर्नु, भराउनु पनि हो । आज ५९ औं दिनमा युवा गायक तथा संगीतकार मनोज साङसोन राई वाम्बुले भाषामा ‘सिलातालाम’ (मुन्दुम बन्दना) शीर्षक मेरो रचना संगीतवद्ध गर्नुभएको छ । म्यासेन्जरमै तमाम गरेका छौं । त्यो मात्र कहाँ हो र ? वर्तमान समाज तथा परिवारका सदस्यहरूले मातृभाषा बोल्नु, बोल्न लगाउनु चाहिं पहिलो कुरा हो । मैले यस पटकमात्र जानकारी पाएँ कि स्वदेश र विदेशमा बसेका वाम्बुले युवाहरूले फेसबुक म्यासेन्जरमा कुराकानी गर्नेमात्र होइन, वाम्बुले भाषामै गीतिलय हालेर जुहारी गाउँदारहेछन् । वाम्बुले समुदायमा सबैभन्दा लोकप्रिय बाह्रै मास गाइने राम्दले भाषा हो । यही भाकामा जुहारी गाउँदारहेछन् ।
त्यसरी जुहारी कोही नेपालमा छन् । कोही मलेसियामा छन् । साउदीमा छन् । कतारमा छन् । बहराइनमा छन् । युएईमा छन् । उनीहरूले ‘इक लिब्जुभुम्जु राम्दले सालाङ ग्रुप’ (हाम्रो लिब्जुभुम्जु राम्दल गीत समूह) मा बाँधिएर मातृभाषामा गीत गाउँदा रहेछन् । एकजना सुरिलो स्वरकी धनी चेली इण्डियाको गाजियावादमा रहिछिन् । मलाई मेलेसियामा रहेका टकबहादुर राईले जानकारी गराएका हुन् । टक एक सिर्जनशील युवा हुन्, जो खस-नेपाली र वाम्बुले-नेपाली मातृभाषामा रचना गर्दैआएका छन् । यसरी गीत गाउँनेहरू संघीय नेपाल प्रदेश नं. १ ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिकाका नागरिक हुन् । अहिलेसम्म वाम्बुले भाषामा राम्दले भाका जुहारी गाउँनेहरू टकबहादर राई (मलेसिया, क्वालालम्पुर), मोना राई (इन्डिया, गाजियावाद) इल्वाङ नबराज राई (मलेसिया, केल), सुबास राई (बहराइन), राजु राई (इटहरी, नेपाल) को गीत उतार्न भ्याएको छ । त्यसरी गाएका जुहारी गीतमा समसामयिक सन्दर्भसमेत जोडिएका छ । मोना र राजुले गाएका वाम्बुले-नेपाली भाषाको गीत खस-नेपाली भाषामा अनुवादसहित यसप्रकार छ-
मोना –
कोरोनाक पौलो डिउटि बाःम उँडा दिनभरि कामल्वा साँमे
(कोरोनाले गर्दा ड्युटी छ मेरो, दिनभरि काममै हराउँछु)
दिनभरि कामल्वा साँमे ला है दिनभरि कामल्वा साँमे
(दिनभरि काममै हराउँछु ला है दिनभरि काममै हराउँछु)
बाँसुरि इन स्वान्ढोम ठोमाखो ब्अेके उङ्गुइ ब्लाँमे
(बाँसुरी र तपाईहरूको आवाज सुनेर भरखर म आएँ)
ब्अेके उङ्गुइ ब्लाँमे हौ ला है ब्अेके उङ्गुइ ब्लाँमे
(भरखर म आएँ हौ ला है भरखर म आएँ)
राजु –
खेताला दिस्ना लाइपाचाम बाःमे खाजा साम्बल जुब्लो
(खेताला भोलि लाउनु छ खाजा सामल जुटाएँ)
खाजा साम्बल जुब्लो ला है खाजा साम्बल जुब्लो
(खाजा सामल जुटाएँ ला है खाजा सामल जुटाएँ)
ढिलोस् तिवाइँ ब्लान्नुम रै कान्छि स्वागत बाःम आम ग्रुपल्वा
(ढिलै भए नि आइछौ कान्छी स्वागत छ यो ग्रुपमा)
स्वागत बाःम आम ग्रुपल्वा ला है स्वागत बाःम आम ग्रुपल्वा
(स्वागत छ यो ग्रुपमा ला है स्वागत छ यो ग्रुपमा)
मोना –
सालाङ सिलि पासाख्वा लाक्तिमा त्याँस्वाम राऽत
(गीत नाच गरेर काटौं आजको यो रात)
लाक्तिमा त्याँस्वाम लु राऽत जाबा लाक्तिमा त्याँस्वाम लु राऽत
(काटौं आजको यो रात जेठा काटौं आजको यो रात)
ढिलोस ब्लावाँइ स्वागत पुइँम जाबालाइ धन्यवात
(ढिलै आएँ नि स्वागत ग¥यौ जेठालाइ धन्यवाद)
जाबालाइ धन्यवात ला है जाबालाइ धन्यवात ।
(जेठालाइ धन्यवाद ला है जेठालाइ धन्यवाद ।)
राजु –
मकै फुच्चाम ढिलो डुम्मे ट्याँसो चै ख्वार्बेङ बाःम
(मकै छर्न ढिलो भयो आज चाहिं जोतेको छु)
ट्याँसो चै ख्वार्बेङ बाःम ला है ट्याँसो चै ख्वार्बेङ बाःम
(आज चाहिं जोतेको छु ला है आज चाहिं जोतेको छु)
उनटिचो इल्वा ठिकाम्से होला नेपालल्वा रोग ब्वार्मेङ बाःम
(तिमरु त्यहाँ ठिकैछौ होला नेपालमा रोग बढेको छ)
नेपालल्वा रोग ब्वार्मेङ बाःम ला है नेपालल्वा रोग ब्वार्मेङ बाःम ।
(नेपालमा रोग बढेको छ ला है नेपालमा रोग बढेको छ ।)
मोना –
पर्देस हाल्सि माङख्वा जाबा घाँस सेउला आःरिसि
(परदेश हिंडेकोले जेठा घाँस सेउला काटिदैन)
घाँस सेउला आःरिसि जाबा घाँस सेउला आःरिसि
(घाँस सेउला काटिदैन जेठा घाँस सेउला काटिदैन)
रोगख्वा जाबा ख्याल्चो होकि आमा या आःचिसि
(रोगले जेठा छुने पो होकि केही पनि थाहा छैन)
आमा या आःचिसि हौ जाबा आमा या आःचिसि ।
(केही पनि थाहा छैन, जेठा केही पनि थाहा छैन ।)
राजु –
आः ङिमाइ चिरचिर लुम्याङ बाःमे ल्यातुमेंसे देम्खो
(मलाई डर अलिअलि लागेको छ लैजान्छै भन्दा)
स्यातुमेम्से देम्खो ला है स्यातुमेम्से देम्खो
(मार्छ नै भन्छ ला है मार्छ नै भन्छ)
थोरै सिम्मे रोगख्वा कान्छि धेरै सिम्मे क्र्याम्खो
(थोरै मर्छ रोगले कान्छी धेरै मर्छ भोकले)
धेरै सिम्मे क्र्याम्खो ला है धेरै सिम्मे क्र्याम्खो ।
(धेरै मर्छ भोकले ला है धेरै मर्छ भोकले ।)
मोना –
बिमारि थ्वासाक आम दुखा ब्अिम्साक आःखाम दुँल्वा ख्राँ बाःम
(बिमारी सुनेर यो दुःख सम्झेर एक्लै हुँदा रोएको छु)
आःखाम दुँल्वा ख्राँ बाःम हौ जाबा आःखाम दुँल्वा ख्राँ बाःम
(एक्लै हुँदा रोएको छु हौ जेठा एक्लै हुँदा रोएको छु)
दुखा पासाक आजाथु सिचाम समय जाबा ब्लाः बाःम
(दुःख गरेर नखाई मर्ने समय जेठा आएको छ)
समय जाबा ब्लाः बाःम ला है समय जाबा ब्लाः बाःम ।
(समय जेठा आएको छ ला है समय जेठा आएको छ ।)
मैले यी गीतका हरफहरू उतारिरहँदा स्वदेश र विदेशमा रहेका सांगीतिक मनहरू वाम्बुले भाषामा थप गीत गाइरहेका छन् । राम्दले भाषा मादल बजाएर सात दिन, सात रातसम्म गाउने परम्परा छ । आज फेसबुक म्यासेन्जर गु्रप बनाएर राम्दले भाका गाउँनेहरूले नयाँ चलन बसाएका छन् । सायद नेपालमा बोलिने अरु आदिवासीका स्रष्टाहरूले पनि मातृभाषामा जुहारी गाइरहेका होलान् भन्ने मनमा कल्पिरहेको छु ।
के मातृभाषालाई माया गर्नु महान् काम होइन र ? समाज, गाउँघर, रीतिपरम्परा, परिवार, साथीसँगी सम्झेर यसरी गीत गाउनु चानचुने कुरो होइन । तर विडम्बना नेपाल सरकारले भने कसैले मातृभाषाका रूपमा नबोलिने मृतभाषा घोषणा भइसकेको संस्कृत भाषा फेरि कक्षा १ बाटै पठनपाठन गर्ने भनेर कम्मर कसेको छ । संविधानअनुसार नेपालमा बोलिने मातृभाषाहरू संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्ने तथा गराउने निकाय भाषा आयोग हो । यो आयोगले नेपालका जीवित वाम्बुले राई भाषाजस्तै अल्पसंख्यक भाषाहरूलाई संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्नको साटो कसैको मातृभाषामा नरहेको मृत भाषालाई रातारात लागू गर्न जोडबल गरेको छ । यो कुरा ढिलो गरी चाल पाएपछि नेपालका आदिवासीहरू चुकचुकाउँदैछन् । त्यसमा वाम्बुले मातृभाषीहरू पनि पर्दछन् । तैपनि यो म्यासेन्जर ग्रुपमा राम्दले गाउँनेहरू थाकेका छैनन् ।
(लेखक राई २०५० सालदेखि २०७६ सालसम्म निरन्तर प्रकाशित ‘लिब्जु-भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकाका सम्पादक तथा मातृभाषा अभियन्ता हुन् ।)