राई र उपाध्यायलाई वातावरण साहित्य पुरस्कार

पत्रपत्रिका

लिभु संवाददाता

काठमाडौं । बेलायतबाट सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय पर्यावरण साहित्य पुरस्कार दुईजना स्रष्टालाई दिने भएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा दर्जन मुलुकका स्रष्टा सहभागी भएमध्ये नेपालबाट गणेशकुमार राई र भारतको असम धर्मेन्द्र उपाध्याय छनोटमा परेका हुन् । दुई दिने अन्तर्राष्ट्रिय वेबिनार सम्मेलनमा वाचित ८३ कविका कवितामध्ये राईको ‘ए धोबिनी चरी’ र उपाध्यायको ‘यो विश्व तिम्रो निम्तिमात्र होइन’ शीर्षक रचना उत्कृष्ट चयन भएको हो । राई कान्तिपुरकर्मी हुन् ।

बेलायतमा क्रियाशील १४ वटा साहित्यिक संस्थाले उक्त सम्मेलनको आयोजना गरेका हुन् । साहित्य सम्मेलनका संयोजक विजय हितान मगरले छनोटमा परेका दुई स्रष्टालाई जनही दश हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जनाएका छन । ‘काठमाडौंमा गर्ने पूर्वनिर्धारित सम्मेलन कोभिड–१९ ले सम्भव भएन,’ बेलायतमा कार्यरत वातावरणविद् विजयले विज्ञप्तिमा भनेका छन्, ‘सम्भव भएसम्म अर्को वर्ष नेपालमा छैटौं पर्यावरण सम्मेलनको आयोजना गरिनेछ । र सोही समारोहमा घोषित पुरस्कार प्रदान गरिनेछ ।’

उक्त दुई दिने सम्मेलनमा नेपालबाट समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, भारतको असमबाट प्राध्यापक ज्ञानबहादुर क्षेत्र, बेलायतबाट राजदूत डा. दुर्गाबहादुर सुबेदी (दुवसु क्षेत्री), रसाबाट कृष्णप्रकाश श्रेष्ठ तथा नेपालबाट वातावरणविद् आनन्द भण्डारीले विषयगत विचार व्यक्त गरेका थिए ।

बेलायतबाट जित रानाभाटले सहजीकरण गरेको वेबिनारमा नेपालबाट कवि प्रगति राई, लुना खतिवडा, सीता काफ्ले, विष्णु एस राई, उषा शेरचन, हेमा आले, भुटानबाट शिवराज भट्टराई, असमबाट देबेन सापकोटा, दिल्लीबाट डा. नाज सिंह र डा. सरिता शर्माले रचना वाचन गरेका थिए । त्यसैगरी अफगानिस्थानबाट केदार संकेत, बेल्जियमबाट दीपा लिम्बु राई, अमेरिकाबाट हेमराज ढकाल, मेदनी भण्डारी, बेलायतबाट मन्जु खरेल, विश्वासदीप तिगेला, बालकवि आगत खरेल, सुमलकुमार गुरुङलगायतले पर्यावरणस“ग सम्बन्धित रचना वाचन गरेका थिए ।

https://nagarikkhabar.com/2020/6/37108

Leave a Reply

Your email address will not be published.