२०४३ सालमा एका-एक हाम्रो परिवारमा विपत् आइ परो । केराको थम्बा जस्तै मेरो काँइला भाइ ‘यूम्पीला’ खसेको ६ दिन पुग्दा न पुग्दै मेरो कान्छा भाइ ‘हाँसे’ को पनि निधन भयो । यो दुःखद घडीको क्षण अहिले सम्झिँदा पनि छाती भक्कानिएर आउँ छ । बरै खपियो, आमा र बुबालार्इ परेको पिडा अझ कस्तो थियो होला ? आकलन सम्म गर्न सकिन्न । जीवनमा सायद धेरै रोयको क्षण मेरो काँइला भाइलार्इ वन निकाल्दाको क्षण नै हो । कान्छालार्इ बाहि-याउँने बेलामा धेरै रून्छ भनेर मलार्इ कतै भुलाइएको थियो ।
उ बेला- ‘घाँस काट्नु खुर्केर , गयो जोबन हुर्केर , कसलार्इ दिउँ यो जोबन ? ’ गीत सारै रेडियोमा बज्दो थियो । यस गीतलार्इ छिमेकी काका रेख राज रार्इ ( खोमाको पापा ) को सालो ठाइँलो ( तत्कालीन समयमा मानसिक सन्तुलन गुमेको थियो ) ले गाइ रहने यो गीत मेरो काँइला भाइले पनि खुब गाउथ्यो । अझै पनि मलार्इ त्यो ठाइँलो काका र मेरो काइँलो भाइले गाएको त्यो गीतको याद झलझली आउँछ ।
मेरो भाइहरू काँइला टाइफाइडले र कान्छा निमोनियाँको बिमारी थिए छन् तत्कालीन समयमा । अहिले टाइफाइड र निमोनियाँका बिमारीहरू ठ्याक्क उस्तै प्रकृतिका बुझिन्छ । तर त्यति बेला यी कुराहरू बुझिएको थिएन । मेरा भाइहरूलार्इ धामी झाँक्री र पूजा पाठ बाहेक अन्य औषधी गर्न सकिएन । अहिलेको जस्तो स्वास्थ्य चौकी र अस्पतालको सुविधा थिएन । गाउँ घरमा स्वास्थ्य कर्मीहरूको त नाम निसान नै हुन्न थियो उ बेला ।
जब दुई जना मेरा भाइहरू को ६ दिन भित्र देहान्त भयो तब म घरको सबै भन्दा कान्छो भएँ । दुई जना दिदी र दुई जना दाजुहरूको एकलो भाइ क्रम सङ्ख्याले साइँलो भए पनि कान्छो समानको हुन पुगेँ । घर परिवारका सबै सदस्यहरूको प्यारो म घर देखिन टाढा गएको हुन्थें भने स्कूल पुगेको हुन्थें । कि चैँ घाँस गोठाला गर्न क्रयासा, सेब्नाल, ह्वारेङ्गु, किमफो, एब्वाकाकु र ग्ल्वाँजु पाखाहरू । यस भन्दा अन्त कतै गइएको थिइन । मलार्इ आमा र बुबाले अति नै माय गरेर म्वाम्फु नामले बोलाउनु हुन्थ्यो भने अन्य जन बोलीमा म्वाम्च्या भनेर बोलाइन्थ्यो । स्कुलमा भने मेरो नाम जगत बहादुर थियो ।
मेरो गाउँको दौँतरी साथीहरू भनेको लिम्बु, दमाइँ, पिच्चे, ध्रुव, मुसे, सुरे, माझी, ढुङ्गेहरू नै हुन । अलिक जेठो पाको तर दा माली जस्तै मिल्ने सङ्गातीहरू मनेको कामी, आइते, मगरास, स्वाभ्या, भ्यागुटा, ढड्डे, मन्त्री, फिस्टेहरू हुन भने अलिक कान्छोहरू तर उस्तै दा माली जस्तै मिल्ने र सह यात्रीहरूमा मसिने, पुन्चु, अडे, खम्बु, दीर्घ, ख्वामा, एम्पी र डब्बलेहरू थिए ।
२५/३० घर धुरी रहेको खचापु नामक मेरो गाउँमा ९० प्रतिसित घर परिवारले अनिवार्य रूपमा साहूको भारी हप्तावारी बोक्नु पर्थ्यो घरको चुल्हो नियमित बाल्न । हाम्रो घरको चुल्हो पनि साहूको भारी नबोके भनेको बेला भनेको जति बल्दैनथ्यो । बुबा लगायत दुई दाजु र दुई दिदीहरूले साहूको भारी हप्तावारी खेप्ने भएको हुनाले मलार्इ भने त्यो पेसाले छोएको थिएन । भनौं कि मलार्इ छुवाइएको थिएन । मेरो खचापु गाउँ ओखलढुङ्गा जिल्लाको साबिक उँबु गाविस, वडा नं.१ मा पर्छ । सायद जिल्लाकै दुर्गम गाउँ पर्छ अहिले पनि ।
यी दौँतरी साथीहरू मध्य मुसे, कामी, दमाइँ, सुरे, मगरास, पुन्चु र फिस्टेहरू उदयपुर जिल्लाको कटारी बजार धाइ रहन्थे । कहिले घरकै सरसामान बोक्न त कहिले साहूको भारी बोक्न भोट मदेस गरी रहन्थे । एक दिन मेरो अति नै हितैषी मित्र दमाइँ ले नयाँ खबर सुनाउनु भयो । खबर के हो भने, कटारी बजारमा सिनेमा हेरेको । सिनेमाको नाम फेरी भेटौला । सिनेमाको नायिका भनेको मनीषा कोइराला । मित्रको सिनेमाको वर्णन त के के हो हो ? अनि कुरै कुरामा अरू कुरा थपियो- मदेस जाँदा चिउरा र सक्खर खान पाइने, मासु भात खान पाइने, झिलिमिली बिजुली बजार घुम्न पाइने । यस्तै कुराहरूले मलार्इ मक्ख पार्दै मित्रले भन्नु भयो, लु साइँला तिमि पनि मदेस जाने भए तयारीमा बस । म र मेरो दाजु भोलि बिहानै हिँड्ने हो । गएर फेरी सिनेमा हेर्नु पर्छ ।
दिनमा गरेको यस्तो कुरा कानीले म बेलुका आम बोटेमा गोठ रुङ्न गा मान्छे पिटिक्कै निन्द्रा नै परेन । निदाउन जति कोसिस गर्दा पनि नभए पछि म नि जुरुक्क उठेर दमाइँको घरमा गएँ र भेटेर आफू पनि कटारी जाने निधो गरेको कुरा सुनाएँ तर म भागेर जाने भने । बिहान मेरै गोठ हुँदै आउनु भनेँ । खर्चबर्चको खाँसै कुरा भएन । एउटा डोको र नाम्लो भए हुन्छ भनेर भन्यो । दमाइँको दाजु कामी दाइ साथमा हुनु हुने भएको हुनाले खाँसै अरू चिन्ता भएन मलार्इ पनि । हाम्रो सल्लाह अनुसार म गोठमा आएर सुतेँ ।
सुत्न त सुतेँ तर निन्द्रा पर्नु त उही भयो । हुँदा-हुँदा भाले बस्यो । म नि जुरुक्क उठेर गाइ गोरुको गोबर सफा गरेँ । अनि घाँस हाली दिएँ । र आगो बालेर ताप्दै एउटा थोत्रो डोको र नाम्लो तयार गरेँ कटारी जान । कटारी गएर चिउरा, मासु, सक्खर खाँदै फेरी भेटौला सिनेमा हेर्ने सपना उन्दै ।
आगो तप्दै बस्दै थिएँ, कामी र दमाइँ दाजु भाइ ठ्याक्क आइ पुगे । अनि केही कुराकानी पश्चात् नाम्लो र डोको बोकेर हिँडियो कटारी साहूको भारी बोक्न । यता घरमा चैँ कुनै खबर छेडिएन । त्यो बेला मेरो ठुल दाजु पनि कटारी जानु भा हुनाले बाटोमा भेटिए रिसाउनु होला भन्ने डर चैँ भयो । तर कामी दाजुले म सम्झाइ दिउँला भन्नु भएको हुनाले खाँसै वास्ता गरिएन । मन भरी सिनेमा र चिउरा-सक्खर खेलाउँदै डाँडा-खोला काटियो ।
पहिलो पटक कटारी गएको हुनाले कुन बाटो र कुन कुन ठाउँ भन्ने कुरा केही थाहा भएन । घर देखिन हिँडेको भोलि बेलुका पख जहडी भन्ने ठाउँमा मेरो ठूलो दाइ सङ्ग भेट भयो । म भागेर कटारी आएको कुरा कामी दाइ बाट उहाँ ले थाहा पाउनु भयो । कराउनु होला भन्ने डर थियो तर कराउनु भएन । उल्टै केही पैसा दिनु भयो र भन्नु भयो- साहूको भारी नल्याउनू , घरको लागि नुन लिएर आउनु । म खुसी भएँ । त्यहाँ बाट आधा घण्टा पछि कटारी पुगियो ।
कटारी पुगेर कान्छी बजार भन्ने ठाउँमा बसियो । बेलुकाको खाना खाएर हामी सिनेमा हेर्न हिँड्यौ । सिनेमा हल तावा खोलाको किनारामा थिए छ । काठले बारेको हल । त्यो हल पनि वाम्बुले रार्इ कै थिए छ । टिकटको दाम थाहा भएन । हामी हल भित्र छिर्दा मान्छेको भिड अचाक्ली रहेछ । म भीडमा हराउँछु कि भनेर कामी दाजुको कमिज सामको सामकै गरेँ । बल्ल बस्ने ठाउँ पाइयो । ढुक्कले बसियो । सिनेमा सुरु भयो ।
सिनेमा सुरु भयो । कथा कहानी केही बुझ्नु छैन मान्छेहरू एकोहोरो हेरियो । मनीषा भन्ने नायिकाले अरू के के गरो केही थाहा पत्तो छैन तर एकोहोरो रु एको चैँ खुब याद भयो । मनीषा किन रोइ रहेको छ ? बुझेको भए त उही हो तर उल्टो रुनु पो सघाइयो धमाधम । भन्नै पर्दा यो सिनेमा मनीषा रुँदै सुरु भएको रोएरै सकियो ।
सिनेमाको रहर पुरा भयो । अब चिउरा र सक्खर खानु छ । सिनेमा हल बाट निस्केको बित्तिकै कुरा चली हाल्यो । कामी दाजुले त्यो पनि किनि दिइ हाल्नु भयो र खान पनि थालि हाल्यौं । सारै मीठो चिउरामा सक्खर मिसाएर चपाएको बेला । चिउरा खाँदै फेरी भेटौला सिनेमाको कुरा गर्दै घुप्लुक्क सुतियो त्यो बेलुका ।
भोलि बिहानै उठियो । साथीहरूले साहूको भारी खोज्न बाहिर निस्किने कुरा गरे र मलार्इ ५ पसेरी नुन किन्ने कुरा भयो । पाँच पसेरी नुन के कति हुन्छ केही थाहा थिएन । कामी दाजुले किनि दिनु भयो र डोकोमा हाली दिनु भयो । वहाँहरूले साहूको भारी पाउनु भयो र वहाँहरूले पनि भारी लाउनु भयो । र बेलुका पख बास सार्ने कुरा गर्दै हामीले कटारीको कान्छी बजार छोड्यौं । डोको बोक्दा थाहा भयो ५ पसेरी नुन त गरौं नै पो हुने रहे छ । हामी गएर गम्बुवा भन्ने ठाउँमा बास बस्यौं ।
पहिलो दिन त खाँसै नुनले पोलेन । दोस्रो दिन देखि त बाफ रे नि हौ ???????? हुन सम्म भयो । सहनु र कहनु दुवै सारो भयो । ४ दिन पछि घर आइ पुग्दा ढाडको छाला सबै पिल्सिएर पाप्रो नै पल्टियो । आमा बुबाको सामु रुनु न हाँस्नु हुँदा आमाले- ठिक्क परिस् जाँठा, भागेर भारी बोक्न गइस् हैन ? भनेर झन् आगोमा घिउ थपि दिनु भयो । करिब १५ दिन जती उत्तानो आसनमा सुत्न सकिएन । त्यस पछि विस्तारै सुताइको आसन फेर्दै गइयो ।
भारी बोक्ने क्रममा जानेका गाउँ, ठाउँ र चिनेका साथीहरू-
बाह्रै मास भारी बोकेर जीविका उपार्जन गर्ने घर परिवारलार्इ १४/१५ वर्षको छोरा भागेर भारी बोक्न जानु पक्कै पनि- ‘के खोजिस् कानो ? आँखो ।’ नै हुन्छ होला । भयो पनि त्यस्तै, जब म भागेर कटारी गए पछि मेरो दिनचर्या पुरै बदलियो । यती सम्म कि घाँस गोठालाको त कुरै छैन , स्कूल सम्म छोड्नु परो । घरकै छेउको स्कूलमा पनि वर्षमा दुई तीन महिना हाजिर हुनु भनेको स्कूल छोड्नु नै हो । जब सुरु भयो ढाक्रेको जीवन ।
हाम्रो क्षेत्र बाट कटारी झर्नु दुई वटा बाटो अपनाउनु पर्ने रहे छ । हिउँद यममा जोर्ती घाटको बाटो , जून छोटो बाटो भनि दो रहेछ । घर बाट हिँडेर जयराम पुल पुगे पछि- वाइरिप, स्वाक्वाप्टार, मन्धरे, जोर्ती, लामि बगर, कुसुम टार, बेल बोट, बेल बोट बाट भालु खोला हुँदै- आँपको बोट, साँघुरी, लाम्पाते बोट , हर्रा भन्ज्याङ, बेलटार, सोरूङ खोला, साङ्ले खोला, साङ्ले टार, हुपटार खोला, हुपटार, महाभारत ( हाल बेतेनी भन्ज्याङ ) कोल बोटे, कोल बोट घाँटी, चिलाउनेको बोट, कालीकाठ, कोदो बारी, खनिया बास, खनिया बास बाट ककुर खोलै खोला हुँदै- खयर बास, गम्पुवा, तित्री बोट, जहडी भएर कटारी पुगिने रहेछ भने ,
बर्सादको बेला ( जोर्तीमा घाट नचल्दा ) जयराम पुल बाट वाइरिब, जाक्मा, घले सार, मितेरी भन्ज्याङ, पीपले, भाँदरे, हर्क पुल, नाक थान, साँघुरी, पौरन टार, मोहन टार, तिन पीपले, ढोडेनी, बलौटे, मयाङकु, चौकी भन्ज्याङ सम्म बादुर खोलै खोला हुँदै, सिङकौले खोला, हरि थुमका, हरी थुमका फेदी हुँदै खनियाँ बासमा जोडिएर पुन ककुरी खोलै खोला- खयर बास, गम्पुबा, तित्री बोट हुँदै जहडी भएर कटारी पुगिने रहेछ ।
यो दुर्इ बाटोहरूको विशेषता भनेको जोर्तीको बाटो बाट जाँदा एक दिनमा पनि कटारी पुगिने तर मूल बाटो बाट कटारी जाँदा दुई दिन विना कटारी पुग्न नसकिने रहे छ । जसमा म पहिलो पटक कटारी जाँदा छोटो बाटो गएको थिए छु ।
जब यो पेसामा २०४४/४५ साल देखिन भर्ना भएँ तब यो पेसामा अति नै सुब्बे-फाब्बे भयो । यो भारी बोक्ने पेसा एक्कासि दिन दुई गुणा रात चौगुना बढेर गयो । डोको, नाम्लो, खकन र टेकन मिलाउन जानियो । साहूको भारी सामान हेरी-हेरी बनाउन जानियो । कटारी देखिन ओखलढुङ्गा त पानी पधेरो नै बनाइयो । ताल पर्दा र माल पर्दा सोलु, नेचा, रुम्जाटार, रम्बुवा, हलेसी, दिक्तेल, रावा खोला, साँवा खोला, ऐँसेलु खर्क कति गरियो । यती सम्मकी कहिले कही त साहूको भारी बुझाएर घर नफर्की बाटो बाटै कटारी झरिन्थ्यो र २०/२२ दिन पछि मात्रै घर आइन्थ्यो ।
यसरी साहूको भारी बोक्दा रूखको फेदमा, ओडारमा, खुल्ला आकाश मुनी, खोलाको किनार, दोभान, कोसीको गडतिर, पाटी, पौवा, भन्ज्याङ, चौतारी जस्ता ठाउँहरूमा कति बिसाइयो-बिसाइयो, कति बास बसियो-बसियो । मीठो मसिनो जे-जे खाइयो गाल परिएन सबै सहि पचाइयो । हावा-हुरी, झरी-बादल, घाम-पानी र सित-तुसारो सबै-सबै तापियो र थापियो ।
५ पसेरी देखिन सुरु गरिएको भारी बोकाइ १५ धार्नी, २० धार्नी, २५ धार्नी र ३० धार्नी गर्दै बढाउँदै गइयो । भारी साहूको मात्रै बोकीएन सरकारको अधिया भन्ने खाद्यान्न( कन्टुवाल ) बोकियो, खाने पानीको सिमेन्ट, रड, बालुवा र पाइप बोकियो । स्कूलको सामाग्रीहरू थुप्रै बोकियो । उमेर सङ्गै भारी थप्ने क्रममा २०४७ पछि कुइँटेले नै भइयो । १०० केजीको बोरा हप्तावारी बोक्ने भए पछि साथी भाइहरूको सामु सान पनि बढ्यो । घर परिवारको अरू डिमान्ड पनि बढ्यो ।
भारी बोक्ने क्रममा निकै साथीहरू पनि बनाइयो । गाउँकै साथीहरू भन्दा फरक छिमेकी गाउँका साथीहरू सङ्ग प्राय कटारी ओखलढुङ्गा गर्दा नै भेटियो । छिमेकी गाउँ ह्रवालमाफुका रुद्र, टीकाराम, सीताराम, जिखा, बडा जित, आछ्छावीर, चन्द्र, रामे, बिस्ना, बिस्नाको माइली र साइँली बैनी सबै-सबै भारी बोक्ने क्रममा नै चिन जान भयो । स्कूलको साथीहरू भन्दा पनि भारी सङ्गै बोक्ने साथीहरूको सम्बन्ध बाट हेर्दा प्रगाढ लाग्छन् यी साथीहरूको सामिप्यता । यता ध्यापती गाउँका साथी भाइहरू पनि सङ्गै भारी बोक्दा ताकाको यादहरू बाट नै नजिक छन् । कामि रार्इ काका, सङ्ख दाइ, दुर्गा दाइ, दिल्ली माइला, बन् छेउले दाजु, फापपुम्ले काका, टुक्ची दिदी, जूना बैनी, बनछेउको दिदी, बृखा नानी, गोठसे कान्छी, सार्की दाजु, सार्की दाजुको बैनीहरू माइली दिदी र कान्छी बैनी, सान्ती राम दाजु, कबुले दाजु र वहाँको बैनीहरू, सबै-सबै जीवनमा भुल्न नसकिने भरिया दौँतरीहरू हुन ।
अन्तिम भारी १२० केजी बोकियो-
भारी बोक्ने क्रममा ओखलढुङ्गा कटारी गरिएको पाइलाहरू खप्टिएको देखिने र त्यो पाइलाहरूको चाङ लाउने हो भने मेरो पाइलाको चाङ नै १००.०० केजी भन्दा बढी हुन्थ्यो होला । जति पनि भारी बोकियो प्राय अरूकै ज्यालामा बोकियो । भारी प्राय व्यापारीहरूकै हुने गर्थ्यो । अफै पनि व्यापारी भएर मट्टीतेल को टिन केही समय बोकियो तर नियमित व्यापार गर्न नसकेको हुनाले बीचमा छोडियो । ६/६ वटा सम्म टिन बोक्ने गोरुहरू मध्य म पनि एक पर्छु ।
भारी बोक्ने क्रममा सरकारको खाद्यान्न पनि बोक्न सम्म बोकियो । आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधिहरूले खाद्यान्न खोली रहन्थे । पहिला-पहिला गाउँको पञ्च प्रधान करवीर रार्इले खोल्नु हुन्थ्यो रे । उ बेला खाद्यान्नको गोदाम मिर्चैय छेउछाउको गोदार भन्ने ठाउँ बाट लिएर आउनु पर्थ्यो रे । तर मेरो पालामा चैँ आफ्नै सहोदर कान्छा काका लक्ष्मण रार्इको नेतृत्वमा खोलिएको खाद्यान्न बोकाइमा पटक-पटक परियो । खाद्यान्न बोकाइ ५० केजीको प्याक देखिन सुरु गरिएको थियो । जीवनमा भारी बोकाइको अन्तिम पटक २०४७ सालमा बोकियो ।
यो पटक म, मेरो ठूलो दाजु, भाउजू र बुबा जम्मा चार जना कटारी पुगेका थियौँ । हामीले ३ कुइँटेल-३००.०० केजी सरकारलार्इ र ३ कुइँटेल-३००.०० घरलार्इ हुने योजना अनुसार जम्मा छ कुइँटेल-६००.०० केजी चामल निकाल्यौं । निकालि सके पछि भारी लाउने बेला बुबा र भाउजूले एक कुइँटेल-१००.०० केजी उठाउन नसक्ने देखियो । जसरी पनि सरकारलार्इ ३ कुइँटेल-३००.०० केजी बुझाए पछि मात्रै बाँकी आफ्नो हक लाग्ने थियो । त्यसैले दाजु र मैले सल्लाह गरेर एक-एक कुइँटेल माथि पनि बुबा र भाउजूले बोक्न नसकेको चामल थप्ने भयौं । त्यसमाथी पनि खाजा, सामल, नुन, भुटुन, ओढ्ने र ओछ्याउने कपडा सबै आफैँले बोक्नु पर्ने । भारीको उचाइले ङारास्वाम काट्ने निश्चित भयो , तरै पनि हामीले हिम्मत हारेनौ । दाजु भाइको कुरा बराबरी भारी मै मिल्यो । भारी कसियो दम खिचेर ।
यो साल पानी नपरेर गाउँमा हाहाकार निकै मच्चिएको थियो । त्यसै हुनाले प्राय गाउँका सबै घर बाट कन्टुवाल बोक्न झरेका थिए कटारी । एउटा समूह बराबर २५ देखि ३५ जनाको हुल थियौँ । सबै समुहमा मेरो र मेरो दाजुको भारी सम्बन्धी चर्चा चल्यो । ‘म्वाम्च्या साइँलाले अब भारी बाटोमा फाल्छ, यसले यत्रो भारी बोक्न सक्दैन….’ जस्ता थुप्रै कुराहरू पनि अप्रत्यक्ष रूपमा सुन्न पाइयो । यस्तो कुराहरू सुनेर- ‘ यिनिहरूलार्इ देखाएर नै छोड्छु ’ भनेर मन मनै भन्थ्येँ ।
जब बाटो लागियो- कसैले गीत गाउने, कसैले मुखले नै दुरुस्त मादल बजाउने भने कसैले हुरहुर-ह्वाह्वा र फिउफिउ गर्दै अन्य हाउभाउ गर्ने । जसमा आफू पनि सामेल भइयो । हाम्रो समुह २३ जनाको थियो । एकै ठाउँ बिसाउने, एकै ठाउँ खाना पकाउँने र एकै ठाँउ बास बस्ने गरी बाटो लागेको हाम्रो समूहले पहिलो बास ककुरी खोलाको प्रवेशद्वारा गम्बुवामा बसियो । रूख पात र गोठ कटेरो जस्ता सित छल्ने केही ओत नभएको खुल्ला आकाश मुनी बसिएको बास एक प्रकारले रमाइलो नै थियो । खाना खाएर नाच गान सुरु गरियो , लगातार ११ बजे सम्म नाचियो गाइयो । यस क्षणमा ध्याप्तीका फापपुम्ले कान्छा सबैको प्रिय बन्नु भयो किन की उहाँले पुरै समय दोहोरो तालमा मुखै ले मादल बजाएर गीत गाउने र नाच्नेहरूलार्इ साथ दिनु भयो । वहाँको कला एक प्रकारले अनौठो थियो । यस्तो कला कसै कसैलार्इ मात्र प्राप्त हुन्छ ।
त्यस पछि को हाम्रो ढाक्रे यात्रा ककुर खोला हुँदै छोटो बाटो भइ अघि बढ्यो । हिँड्दै जाँदा भारी अलिक बढी नै भएको महसुस हुँदै गयो । बाटो साँघुरो र ठाडो अधिक मात्रामा थियो खनिया बास देखिन महाभारत ( हाल बेतेनी भन्ज्याङ ) हुँदै घरै सम्म । तरै पनि हिम्मत हारिएन छिचोलियो । जब बेतेनी भन्ज्याङ बाट हुप्टार ओरालो लागियो तब अरू समस्या मलार्इ परो । ओरालो बाटोमा अलिक सजिलो होला भनेको त गह्रौँ भारी ओरालो बाटोमा बोक्न अप्ठ्यारो हुने रहे छ । खुट्टो बाङ्गिएर घुँडा नै ठोकि दो रहेछ । मलार्इ यस्तो भएर हुप्टार खोला सम्म झर्न सारै समस्या भयो । तर कसैलार्इ सुनाइन । आफूलार्इ सम्हाल्दै साथीहरूको सामु बल गरियो । यस्तो समस्या साङ्ले टार देखिन साङ्ले खोला झर्दा र हर्रा भन्ज्याङ देखिन भालु खोला झर्दा सारै परो । अलि कति मात्रै खुट्टो रड्किए पनि काम तमाम हुने अवस्थालार्इ अहिले पनि सम्झिँदा आङ सिरिङ्ङ भएर आउँ छ ।
यो मेरो अति नै जोखिम भारी बोकाइ थियो । कटारी देखिन ७ दिनमा ओखलढुङ्गा पुग्दा खुट्टोको छेपारे सारै चम्रिएको थियो । निधार वरिपरिका केस सबै नाम्लोले तताएर झरी अर्ध तक्लुको अवस्थामा थियो । खगालोहरू खकनले गोरुको काँध झैँ पारी दिएर हेरी सक्नु थिएन । ढाड चैँ कस्तो भएको थियो आफैले देखिएन । यस्तो अवस्था हुँदा पनि पुरै बाटो भारी सङ्गै हाँसेर, गाएर, नाचेर नै पुरा गरियो । जब जिल्ला पुगियो तब ठूलो युद्द जितेको महसुस भयो ।
खाद्यान्न बुझाउने बेलामा मेरो भारी काँटामा लाउँदा १२०.०० केजी भन्दा पनि अलिक बढी थिए छ । यो देखेर सबै साथीहरू ३६ कै परे । बुबा, भाउजू, दाजु र मेरो जम्मा चामल जोख्दा ३००.०० केजी भन्दा बढी पुग नपुग एक पाथी चामल थिए छ । त्यो हामीलार्इ नै दियो । मेरो दाजु र मेरो भारी उस्तै थियो-१२०+१२०=२४०.०० र बुबा र भाउजु को सरदरमा ३०+३०=६०.०० केजी गरी ३००.०० केजी चामल सरकारलार्इ बुझाइयो । र ढुक्कले घर फर्कियो । घर फर्केर एउटा गाउँले साथीको बुढी बाख्रो काटियो । बुढी बाख्रोको मासु खाँदाको खुसी भन्दा पनि ३ कुइँटेल-३००.०० केजी चामल आफ्नो भागमा पारेको कुरा महत्वपूर्ण को थियो । मैले बाटोमा खेपेको कठिनाइका कुराहरू आमालार्इ सुनाउँदा आमाले भन्नु भयो- ‘साइँला, अब चैँ अलि-अलि ल्याउँदै खाँदै गर्नु पर्छ । केही हतारो छैन ’ यो भारी बोकाइ मेरो जीवनमा अन्तिम भइ दियो ।
मेरो उमेर एक मुरी पुग्दा मैले १२०.०० केजी चामल माथि खाना, खाजा र ओढ्ने ओछ्याउने सहित भारी बोक्नु अहिले सम्झिँदा सौभाग्य ठानेको छु । किन कि अभाव बाट मैले जिन्दगीमा धेरै कुराहरू सिक्ने अवसर पाएको छु । यदी म सम्पन्न परिवारमा जन्मेको हुँदो हुँ त अहिले म सम्पन्न परिवारमा जन्मिएका साथिहरू जस्तै हुने थिएँ हुँला । त्यसैले जब-जब मलार्इ दुख र कष्टहरू आइ पर्छ तब म मेरा पुराना दिनहरू सम्झिने गर्द छु ता कि ती बितेका दिनहरू बाट केही ऊर्जा मिलोस् ।
तस्बिर गुगलबाट