वाम्बुले कवितामा अम्बिर राई प्रथम

कला साहित्य -संस्कृति

लिभु संवाददाता

काठमाडौं– वाम्बुले राई भाषाको २२औं कविता प्रतियोगितामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँका अम्बिर राई प्रथम हुनु भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २३औं स्थापना दिवसका अवसरमा मंसिर २० गते आयोजित भर्चुअल कविता प्रतियोगितामा प्रथम हुनु भएको हो । उहाँको ‘आर्याक्बुन्चो कबिता’ (नलेखिएको कविता) शीर्षक रचनालाई पुरस्कृत गरिएको हो ।

अम्बिका वाम्बुले राई

यसैगरी खोटाङकै अम्बिका वाम्बुले राईको ‘काक्सि’ (माटो) शीर्षक कविता द्वितीय र ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ फोकुल गाउँकी कवि सम्झना राईको ‘मामा उनु ख्राम्नुम द्याम’ (आमा तिमी रोयौ रे) तृतीय घोषणा गरिएको छ ।

सम्झना राई

मानेभन्ज्याङ गाउँपालिका–३ रिनुवालका कवि रेन्जाप्रसाद राईको ‘स्याल्मो’ (सांस्कृतिक वनस्पति) र मानेभन्ज्याङ गाउँपालिका–५ उदयपुर गाउँकी मुना वाम्बुले राईको ‘मामाङ क्वाल ब्अिम्ता’ (आमाको एक सम्झना)ले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ ।

रेन्जाप्रसाद राई
मुना वाम्बुले राई

प्रथम पुरस्कार १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार र सान्त्वना दुई–दुई हजार रुपैयाँ तथा प्रमाणपत्र रहेको छ ।

 

स्वदेशको उदयपुर, काठमाडौं, दाङ, विराटनगर तथा विदेशमा भारत, दक्षिण कोरिया, मलेसिया र कतारबाट ३३ जना कवि प्रतियोगितामा सहभागी थिए । दशौं स्थान प्राप्त कविमा रोशन वाम्बुले, बिशु राई, कमल किराती, लयसिंह राई र मंगलदर्शन राई रहनु भएको निर्णायक मण्डलका संयोजक शुभचन्द्र राईले घोषणा गर्नु भएको थियो ।

वाम्बुले राई मातृभाषाको कविता प्रतियोगिता तथा गोष्ठी २०५५ सालदेखि हरेक वर्ष गाउँघरमा हुँदैआएको थियो । कोभिड–१९ का कारण यो वर्ष भर्चुअल (अनलाइन) माध्यमबाट कविता प्रतियोगिता गरिएको हो ।

समारोहमा अविनाथ राई, शुभराज राई (काजी), मिलनकान्छा किराती, विनोद वाम्बुले र राजुमान राईले अप्रतियोगी कविता वाचन गर्नु भएको थियो । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यता रहेको समारोहमा किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले २६ भाषी राई जातिको पहिचान संरक्षणबारे विचार व्यक्त गर्नुभएको थियो । सभाध्यक्ष तथा वाम्रास संस्थाका अध्यक्ष गजुरधन राई, उपाध्यक्ष गणेश वाम्बुले राईले संस्थाका संक्षिप्त प्रगति तथा महासचिव जीवन हाताचो राई कार्यक्रम संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.