विश्वव्यापी अनलाइन यलम्वर सङ्गीत प्रतियोगितामा प्रवृत्ति राई विजयी

मनोरन्जन

धरान : किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले आयोजना गरेको विश्वव्यापी अनलाइन यलम्वर सङ्गीत प्रतियोगितामा प्रवृत्ति राई विजयी भएकी छिन् ।

प्रवृत्ति राई

अनलाइनमार्फत विश्वव्यापी रूपमा सञ्चालन भएको यलम्वर सङ्गीत प्रतियोगिताको शनिवार भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट १० मा परेका अन्य ९ प्रतिस्पर्धीलाई पछाडि पार्दै खोटाङ दिप्रुङ चुईचुम्मा ४ की प्रवृत्ति राईले उपाधि कब्जा गरेकी हुन् ।

ललितपुर स्थित द यलखिम रेस्टुरेन्ट पार्टी प्यालेसमा घोषणा गरिएको फाइनल प्रतिस्पर्धामा सुनसरीकी सरिता राई ’फस्ट रनर अप’ खोटाङकै लकेस राई ’सेकेन्ड रनर अप’ भएका छन् । त्यस्तै, दर्शक छनौटमा भने सुनसरीका रामकुमार राई उत्कृष्ट प्रतिभा घोषित भएका छन् ।

सरिता राई

प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङ्गीतकर्मी सूर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राई रहेका थिए । फाइनल प्रतिस्पर्धामा प्रमुख अतिथिमा गायक तथा सङ्गीतकार जितेन राई एवं विशेष अतिथिमा किरात राई यायोक्खाका महासचिव जनक राईको उपस्थितिमा घोषणा भएको प्रतियोगिताका प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी दिएका छन् ।

लकेस राई

प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अनलाइनमार्फत विश्वव्यापी रूपमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १० देशका २ सय १३ जना प्रतिस्पर्धीहरूबाट विभिन्न चरणबाट अन्तिम प्रतिस्पर्धाको लागि उत्कृष्ट १० मा छानिएकाहरू बिचमा शनिवार फाइनल प्रतिस्पर्धा भएको थियो ।

उत्कृष्ट १० मा खोटाङका लकेश राई, प्रवृत्ति राई र मञ्जु राई, ओखलढुङ्गाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट नीलिमा साम्पाङ राई रहेका थिए ।

उत्कृष्ट १० प्रतिस्पर्धीहरुले ग्रान्ड फिनालेमा समेत आफ्नो गायन प्रतिभा अनलाइनबाटै प्रस्तुत गरेका थिए भने कार्यक्रम किरात राई सांस्कृतिक कलाकार सङ्घको आधिकारिक युट्युब च्यानलमार्फत लाइभ प्रसारण गरिएको थियो ।

किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिले वार्षिक रूपमा राष्ट्रव्यापी गर्दै आएको प्रतियोगितालाई कोरोनाका कारण यो वर्ष विश्वव्यापी अनलाइन मार्फत प्रतियोगिता गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिका अध्यक्ष रामकर राईले बताए ।

प्रतियोगितालाई सामाजिक–सांस्कृतिक जागरणका लागि अभियानका रूपमा सञ्चालन गरिँदै आएको सङ्घका केन्द्रीय अध्यक्ष राईले बताए । किरात इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विकासको लागि प्रतियोगिताको आयोजना गरिने उनले बताए ।

प्रतियोगिताका विजेता प्रवृत्ति राईले प्रत्येक वर्ष किरात राई याक्खा हङकङले आयोजना गर्ने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउने भएकी छन् । त्यस्तै, उपविजेता सरिता राईले एउटा गीत रेकर्डिङ गर्न पाउने भएकी छन् ।

यस भन्दा अघिको यलम्वर सङ्गीतको पहिलो संस्करणको उपाधि सागर संसार राईले जितेका थिए । यस्तै, दोस्रो संस्करण निश्चल राई, तेस्रो संस्करणमा नम्रता राईले उपाधि जितेकी थिइन् । किरात राई समुदायका प्रतिभाहरूका लागि प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको प्रतियोगिताको चौथो संस्करणमा सोनाम राई प्रथम बने भने गत वर्ष अर्थात् पाँचौँ संस्करणमा भने अम्बिका राईले जितेकी थिइन् ।

https://www.kapurinews.com/news/view

Leave a Reply

Your email address will not be published.