पश्चिम नेपालको गुरिल्ला राईडिङ ट्रेलको सम्झना : बाई बाई २०२२ ! मिस यु !

विचार / ब्लग
रेवती थापामगर (लेकाली गिठ्ठा)

सम्झनाको पेटारोमा छ– तिलिचो, थोरोङला, घोडेपानी र घान्द्रुक ट्रेक । माथिल्लो डोल्पा, मुगु र रारा ट्रेक । रुद्राक्ष राईडिङ ट्रेल । अन्नपूर्ण ट्रेक । गुरिल्ला राईडिङ ट्रेल ।

गुरिल्ला राईडिङ ट्रेल काठमाण्डुबाट सुरु भयो । यात्रा मोटरबाईक राईडिङको थियो । पोखरा, बाग्लुङ, रुकुम, जाजरकोट, सल्यान टेकियो । सुर्खेत, कालिकोट, जुम्ला, अछाम, डोटी, डडेल्धुरा हुँदै अघि बढ्यो । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, स्याङ्जा हुँदै काडमाण्डु फर्किदा २४५९ किलोमिटर दुरी छिचोलेछौं ।

मध्य पहाडी लोकमार्ग नेपालको पूर्वी भेगका जिल्लाहरू घुम्दा ज्यादै प्राकृतिक सौन्दर्यहरूले तानेको थियो । त्यही लोभले पश्चिम र सुदुर–पश्चिमका मध्य पहाडी लोकमार्ग दृश्यावलोकन गर्ने जोश पलायो । साथै कर्णाली राजमार्गका बस्तीहरू हेर्दै रारा ताल फेरो लगाउने योजना बन्यो । हामी चारभाइ (लेकाली गिठ्ठा, पाखाली भ्याकुर सूर्य बहादुर थापा मगर, नरेन राई र बाम गुरुङ) काठमाण्डुबाट २०७९ कार्तिक १३ गते ७ बजे काठमाण्डुको कलंकी हुँदै थानकोटबाट निस्केका थियौं ।

fbt

काठमाण्डुदेखि गुडेपछि धुवाँ र धुलोसँग कुस्ती खेल्दै हेर्नु पर्ने दृश्यहरू आँखाका ज्योतिमा पुराना भएकाले कतै नबिसाई बाग्लुङ बजारमा सिधै पुग्यौं । बाग्लुङ बजारदेखि मध्य पहाडी लोकमार्ग गुडिरहँदा ज्याँदै मनमोहक लेक, बेंसी, पहाड र बस्तीहरू भेटिए । बाग्लुङको घोडाबाँधे लेक, एक्ले खेत, निसी गाउँ, पाती हाल्ने ज्यादै रमाइला बस्तीहरू रहेछन् । बाग्लुङ, रुकुम र रोल्पाको सिमाना ३२५० मिटरमा अवस्थित पाती हाल्ने लेक यस राईडिङको सबैभन्दा अविष्मरणीय र अद्भूत रह्यो । रुकुम जिल्ला प्रवेश गरेपछि लुकुम कमल दह शाँख र चौउजहाडीको बस्ती, दह र तालले नजिकबाट तान्ने रहेछ ।

भेरी नदीको सुस्केरा सुन्दै जाजरकोटबाट मध्य पहाडी लोकमार्गलाई बिदाई गरेर छिन्चु डोल्पा सडकमा हुँत्तियौं । सुर्खेतको बुलबुले ताल नियाल्दै कर्णाली राजमार्ग कहाली लाग्दो अक्कर हत्तेरिका भनुँझै छ । पहाड फोर्दै निर्मित राजमार्गमा बटारिदै कालीकोटको मान्मा नाग्मा हुँदै सिंजा भ्यालीभित्र बहने हिमा नदी नागबेली बगिरहेकै पायौं ।

प्राकृतिक सौन्दर्यको रोचक दृश्यमा लतमटिदै रसिलो झरिलो जुम्लाको जिया गाउँमा फलेको स्याउ टोक्दै युरोपियन वतावरण र भूगोलमा झैं अनुभूत भएको थियो । भुलभुले गाउँ हुँदै स्वर्गको एक टुक्रा खसेजस्तै लाग्ने छायाँनाथ हिमाल र चंखेली लेकको आकृति रारा तालमा मित लगाउँदै बसेको दृश्य आहा नभन्ने कोही हुन्न । रारा तालमा पुग्दा स्वर्णिम नीलो तालमा पुगेका थियौं । हामी जहाँ जहाँ पुग्यौं, त्यहाँ सम्भव भएसम्म फेसबुक लाइभबाट यात्राको वर्णन गर्ने गरेको छु ।

दैलेखको राकाम गाउँबाट कर्णाली नदीमाथि निर्मित पक्की पुल तर्दै अछामतर्फ बढ्यौं । मध्य पहाडी लोकमार्गतिर गुडिरहँदा साकुरा फूल फुलेकाले जापान पुगेको जस्तो लाग्दै थियो । साँफेबगरको पश्चिमेली भेषभूषा देख्दा हामी पुर्वेलीलाई गजब लाग्दो रहेछ । खप्तड निकुञ्जले छरेको स्वच्छ पवन लिंदै डोटीको दिपायल पुग्दा सेती नदीले मुस्कुराउदै स्वागत गरेको देख्दा खुशीले हामी गदगद भयौं ।

देउती प्रथा प्रचल देख्न पाइन्छ कि भन्दै डडेलडधुरातर्फ लाग्यौं । नेपालले महाकाली नदीको पानी पुरै भारतलाई बेचेको ब्यारेज टनकनपुर नियाल्न नेपालको भूमिबाट दृश्यालोकन गर्ने योजना थियो । तर झुक्किएर भारतको भूमि प्रवेश गरी मर्माहित हुँदै दृश्यालोकन गरेछौं । बाँधले सुख्खा भएको महाकाली नदी पारी भएको नेपाली गाउँ दोधरा पुगी मरुभूमि जस्तै लाग्ने बगरे महाकाली नदी हेर्दै कफीको सुर्का लगायौं । महेन्द्र राजमार्गभित्र पर्ने शुक्ला फाँटा आरक्ष बर्दिया निकुञ्ज र बाँके निकुञ्ज भित्रका वातावरणसँग उठबस गर्न पाउँदाको आनन्द बिर्सिनै सकिन्न ।

अर्घाखाँचीको सन्धिखर्क लाग्दा बाटामा साकुर फूल र दहहरू भेटिनाले राईडिङको थप गहनाजस्तै लाग्थ्यो । सन्धिखर्कदेखि गुल्मीको तम्घास आउँदा बाटाभरि धानका बालाहरू झुलिरहेका थिए । तस्बिर भिडियो खिच्न हैरान बनायो । तम्घासदेखि रिडि आउँदा आकर्षित गर्ने गाउँहरु भेटिए । कालिगण्डकी कोरिडर हुँदै मिर्मि जलविद्युत ड्याम नियाल्दै स्याङ्जाको आँधीखोला भित्रका बेसीहरू नियाल्दा कत्ति आनन्द अनुभूत भयो । पोखरा निस्कदै गुरिल्ला राईडिङको अन्तिम साँझ रमझम गरी काठमाण्डु फर्किने भन्दै राईडिङ समापन गर्ने योजना बन्यो । तनहुँको बन्दिरको थुम्कातिर उक्ल्यौं । गुरिल्ला राईडिङ ट्रेल बाह्रौं दिनमा काठमाण्डु खाल्डो प्रवेश गरेका थियौं ।

जनयुद्ध कालमा माओवादी जनसेनाहरू रुकुम, रोल्पा र कालीकोटतिरका लेकतिर तालिम गरेका थिए । तालिम क्षेत्रका लेकहरू कस्ता रहेछन् भन्ने कारणले हाम्रो यात्रालाई गुरिल्ला राईडिङ ट्रेल नामकरण गरेको हुँ । दीर्घकालमा जति पनि मध्य पहाडी लोकमार्गमा मोटरसाईकल र कार ड्राईभिङ गर्ने रुचिकर ड्राईभरका लागि सबैभन्दा राम्रो रुट रहेछ । निचोडमा भन्नु पर्दा ड्राईभिङ टुरिष्टका लागि उच्च रुट हो मध्य पहाडी लोकमार्ग । नेपालको पूर्वी भेग होस् वा पश्चिमी भेग । प्राकृतिक स्वर्ग भूमिको जय होस् ।

(मानेभन्ज्याङ–५ साँस्पुले भ्याली, ओखलढुंगा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *