ल्होसारको शाब्दिक अर्थ नयाँ वर्ष हो । ‘ल्हो’ भन्नाले वर्ष र सार भन्नाले नयाँ भन्ने बुझिन्छ, अर्थात् हाम्रा पुर्खाहरूले नयाँ वर्ष मनाउने चलन धेरै अघिदेखि चलाउँदै आएका रहेछन् । बाह्र ओटा पशु–पंक्षीलाई मूख्य आधार मानेर तिनीहरूकै नाममा लोसार मनाउने परम्परा रहिआएको छ । क्रमशः च्यि लोे (मुसा वर्ष), लाङ लो (गोरू वर्ष¬¬), तग्लो (बाघ वर्ष), ह््यो लो (खरायो वर्ष), डुकलो (गरूड वर्ष), डुल्लो (सर्प वर्ष), त लो (घोडा वर्ष), लुग्लो (भेडा वर्ष), टेलो (बाँदर वर्ष), च्यालो (चरा वर्ष), ख्यिलो (कुकुर वर्ष) यसका प्रकार छन् ।
१२.फाग् लो (सुँगुर वा बँदेल वर्ष) ।
यी हरेक वर्ष प्रतिनिधि बनाइएका, मुसो, गोरू, माघ, खरायो, गरूड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वा बँदेल गरी जम्मा बाह्रवटा पशुपंछीहरूमा समर्पित लोसार अर्थात् नयाँ वर्ष हरेक वर्ष एकपछि अर्को गर्दै आउँछ । यस प्रकार सबै पशु–पंक्षीहरूको एकसरो पालो पुग्नका लागि बाह्र वर्ष लाग्छ । त्यसपछि त्यो चक्र पुनः दोहोरिन्छ । प्रत्येक वर्षको लोसारमा कुनै एक पशुपंक्षीको समय प्रारम्भ भएपछि अर्को लोसर (नयाँ वर्ष) नआएसम्मको लागि त्यो वर्षभरि नै उसको शासन चलिरहन्छ । त्यो वर्षभरि जन्मिएका बालबालिकाहरू त्यही लो अर्थात् वर्गभित्र पर्दछन् । उसको व्यवहार र स्वभाव पनि त्यही लो (वर्ग) अनुसार नै रहन्छ भन्ने परम्परागत मान्यता रही आएको छ ।
भन्न त हाम्रा विद्धान, ज्योतिषहरूले पात्रोको आधारमा संवत् या वर्ष एक पटक मात्र फेरिने भनिए पनि फरक फरक भौगोलिक परिवेश र क्षेत्रमा बसोबास गर्ने हाम्रा पुर्खाले, विभिन्न समुदायले आ–आफ्नै विविध कारणहरूले गर्दा, अनि आ–आफ्नै समय र कार्यव्यस्तता, परिस्थिति इत्यादि मिलाएर लोसार मनाइएको पाइन्छ । हिजोको दिनमा त्यो समय थियो होला । आजको नेपालमा एकीकृत रूपमा ज्योतिष विज्ञान र सर्वमान्य प्रमाणहरूलाई आधार मानेर एउटै लोसार मनाउन नसकिने होइन । अहिले हामीलाई सञ्चार, यातायत र अन्य प्रविधि र विज्ञानले धेरै सजिलो पनि बनाइदिएको छ ।
अहिलेसम्म हाम्रा पुर्खा तथा अग्रजहरूले विभिन्न कारणले भिन्नाभिन्नै समयमा लोसार मनाउनु परेको कथा व्यथाहरू प्रचार प्रसारमा छन् । अहिलेको युगमा यस्ता खाले लोक श्रृति र लोक कथाहरूलाई कतिको विश्वास र मान्यता दिइन्छ । साथै वैज्ञानिकहरूको कसीमा यी कतिको खरो रूपमा उतार्न सक्छ । यो अर्को प्रसंग हुनसक्छ । अर्को समस्या पनि हो । समस्याहरूको समधान भने एक दिन गर्नै पर्ने हुन्छ । आज सम्म सुन्नमा आएका पाँचदेखि सातवटा लोसार रहेता पनि नेपालमा मनाइने मुख्य तोला लोसार, सोनाम लोसार र ग्याल्पो लोसार हुन् । यहाँ ग्याल्पो लोसारको बारेमा केही चर्चा परिचर्चा गर्ने प्रयास गर्दछु ।
ग्याल्पो लोसारको मनाउने परम्परा बौद्ध पात्रो र नयाँ वर्ष र संवत् फेरिने दिनमा पर्छ । ग्याल्पोको शाब्दिक अर्थ मुख्य नायक अथवा राजा भन्ने जनाउँछ । अर्थात् यो लोसार कुनै पनि बाध्यताबस नभएर कुनै ठूलो काम गरी त्यसबाट विजय भई ढुक्कसँग एक उत्सवको रूपमा मनाइएको वा त्यस बेलाको समय भनेकै कुनै पनि प्रकारमा आफ्नो शक्तिद्धारा अरूलाई पराजित गर्नु, युद्ध जित्नु, राज्यको बिस्तार गर्नु र शासन गर्नु थियो होला । त्यसकै उपलक्ष्यमा ढुक्क भएपछि पात्रो र परम्परालाई विकसित गरेको पाइन्छ । नयाँ वर्षको नयाँ दिनमा नै यो ग्याल्पो लोसार मनाइन्छ । यसको धार्मिक र ऐतिहासिक कारणहरू पनि छ ।
ग्याल्पो लोसारको नामकरण र संवत्को विषयमा प्रकाशमा आएका शास्त्रीय प्रमाण, बौद्ध पात्रो, संवत्, वर्ष, परिवर्तन तर्फ हेर्दा बौद्ध धर्म भित्रका आजसम्म देखिएका त्रियान अर्थात् हिनायान, महायान र बज्रयान सबैलाई ग्राह्य हुने शास्त्र संवत्, तर्क प्रमाण, ज्योतिष शास्त्रको वर्ष र संवत् परिवर्तन अनुसार देखिन्छ ।
आज सम्म हाम्रो पुर्खाहरूले व्याख्या गरेका धर्मशास्त्र अनुरूप तत्कालिन हिमावत् खण्डमा मानिसहरूको जुन चेतना थियो, त्यसअनुरूप मनाइन्थ्यो । समाजले एउटा सर्वमान्य व्यक्तित्वको खोजी गरिरहेको बेला अचानक एकजना असाधरण व्यक्ति देखा परे । उनको व्यवहार र आचरण अलौकिक थियो । प्रायः मौन बस्ने र आकाशतिर मात्र हेरिरहने भएकोले उनलाई देवलोकबाट आएको बोधिसत्व डिम्पानाम्सेल मानियो र उनलाई सबैले काँधमा बोकेर लगी राजा बनाइयो । र, उनको नाम ङ्याठी चेन्पो राखियो । जसको अर्थ काँधमा आशन भन्ने हुन्छ । राजा ड्याठी चेन्पो हिमवत् खण्डको प्रथम राजा भनेर मानिन्छ । यो घटना ईश्वी संवत १२७ पूर्व, जुन आजभन्दा २१४५ वर्ष अघिको कुरा मानिएको छ । यो समयको प्रमाण हाम्रो इतिहासविद्हरूले गरेकै होलान् । तर एउटा सानो प्रमाण र परम्परा त हाम्रै अगाडि देखिन्छ । हिमवत् खण्डमा राजा र धर्म गुरू एउटै हुँदोरहेछ भन्ने कुरा तिब्बतका दलाई लामाको प्रथाबाट पनि पुष्टि गर्दछ । अन्यत्र सिक्किम, भुटान जस्ता राज्यमा पनि राजा भन्दा धर्म गुरू प्रभावशाली देखिन्छन् ।
लोसार मनाउने विधि
हाम्रो पुर्खाहरूले लोसार मनाउने विधिको पनि व्यवस्था गरिदिएका छन् । यसको पूर्व तयारी कार्यान्वयन र समापन गरी तीन चरणमा विभाजन गरिदिएका छन् । वर्षको अन्तिम बाह्रौं महिनाको दिन प्रारम्भ भएपछि अर्थात् एक महिना अघिदेखि नै यसको थालनी गरिन्छ । गाउँ, घर, टोल, बाटो, चौतारीहरूको सरसफाई गर्नु पर्दछ । घरहरूको रंगरोगन र लिपपोत गर्नुपर्दछ । १२ औं महिनाको पन्धौं दिन (ग्याल्दावा)को पन्धौं तिथिका दिनदेखि लोसार आउनु पन्ध्र दिन अगाडि नै गहुँ, जौं, मकै मिलाएर जमरा राखिन्छ । लोसारको लागि नयाँ कपडा, खाप्से बनाउने सरसमानहरूको व्यवस्था गर्नु पर्दछ । यी सबै कुराको तयारी गरेपछि लोसार आउनु दुई दिन अगाडि अर्थात् औंसीको अघिल्लो दिन वर्षभरि देश विदेशमा छरिएर रहेका आफन्त नातागोता एक ठाउँमा जम्मा भएर गुथुँक नामको परिकार खाने चलन छ । गुथुँकको अर्थ नौ प्रकारको खाद्यबस्तुहरू मिसाएर बनाइएको थुप्पालाई जनाउँछ । अर्थात् त्यस दिनको बेलुका विभिन्न प्रकारको गेडागुँडी मिसाइ बनाइएको थुप्पामा मनोरञ्जनको लागि विभिन्न प्रतिकहरू बनाइन्छ । जस्तै चन्द्रमा, सूर्य, र्तोरमा, धर्मशास्त्रका ठेली, आसन, कोइला, पृथ्वी, तारा, खुर्सानी, डमरूको आकृति आटामा बनाएर पकाइन्छ । आफ्नो भागमा जुन प्रतिक पर्दछ त्यही अनुसार व्यक्तिको आगामी वर्षको फल प्राप्त हुन्छ भन्ने परम्परागत मान्यता रहेको छ । वास्तवमा यो मनोरञ्जनको लागि मात्र गरिन्छ ।
भोलिपल्ट औंसीको दिन बिहान नुवाइधुँवाई, घर सरसफाई गरी बेलुकीपख त्रिरत्नलाई पूजा गर्न बनाइएको स्थान (छ्योसुम)मा विभिन्न पेय पर्दाथ तथा खाद्य पदार्थ चढाइन्छ । त्यसमा अष्टमंगलको चिह्न बनाई अनेकौ विधिहरू पूरा गरी लोसार पर्व मनाइन्छ । त्यसको दोस्रो दिन गाउँघरका ठूलाबडाहरूसँग भेटघाट गर्ने, तेस्रो दिन गाउँघर बस्तीका सबै जना नजिकैको गुम्बा तथा पवित्र स्थानमा जम्मा भएर यसपालीको बालीनाली राम्रे होस् । झैंझगडा, नहोस् । प्राकृतिक विपत्तिहरू नआओस् भनी प्रार्थना गरिन्छ । चौथो दिन पाहुनापाछा बोलाउने अथवा आफन्तकोमा जाने भेटघाट गर्ने गरिन्छ । एवम् क्रमले यो पर्वलाई मनाउँदै पन्धाँै दिनमा भगवान बुद्धले ऋद्धि शक्ति प्रदर्शन गरेको दिन रहेकाले विजय, उल्लास रूपमा मनाउने परम्परा रहिआएको छ ।
जे जसरी भएपनि हाम्रो पुर्खाहरूले यस्तो वैभवशाली परम्परा हामीलाई छाडेर गएका छन् । तर, आज हामी विभिन्न भूगोलमा रहेका विभिन्न क्षेत्रमा रहेका हरेक समुदायका मानिसहरूले आ–आफ्नै बाध्यता र परिस्थिति मिलाएर आफ्नो समय अनुकुल मनाउने विविध प्रकारका लोसार (तोला, सोनाम र ग्याल्पो जस्ता थरिथरिका लोसार) मनाएर आफ्नो शक्ति, श्रम, तन र धन खर्च गरिरहेका छौं । यही नामको यही लोसार मान्नुपर्छ भनी एकदम किटानीका साथ कही कतै लेखिएको छैन । नयाँ वर्ष भनेको पात्रो अनुसार नै संवत् परिवर्तन हुँदा मनाइने पर्व हो । चन्द्र सूर्य जातैपिच्छे फरक फरक ढंगबाट घुम्ने होइन । एकै किसिमले घुम्ने हुँदा लोसार (नयाँ वर्ष) मनाउने एउटै प्रचलन चलाउनु उचित हुन्छ । भोट चन्द्र पात्रोको शास्त्रीय मान्यतालाई हेर्दा ग्याल्बो लोसार नै मान्नुपर्ने प्रष्ट आधार देखिन्छ । यसले हाम्रो एकतालाई पनि बलियो बनाउँछ । भाषिक साँस्कृतिक अधिकारको आन्दोलनलाई पनि यसले बल पु¥याउँछ ।
हामीलाई हाम्रो पुर्खाहरूले यो लोसार पर्वको रूपमा हामीलाई एकतामा बाँध्ने एउटा अमोध अस्त्रका रूपमा छाडेर गएका रहेछन् । आजको युगमा संगठित भएर सशक्त ढंगबाट आउन सकेनौ भने राज्यले उपेक्षा गर्ने रहेछ । राज्य शक्ति सञ्चालन गर्ने ठाउँमा पुग्न नसकिने रहेछ । भन्ने कुरा संविधान निर्माणको क्रममा नेपालका आदिवासी जनजातिले उठाएका मुद्दामा भएको उपेक्षावाट पनि सिद्ध हुन्छ । यसबाट पाठ सिक्दै सम्पूर्ण बौद्ध धर्मलम्बीहरूको साँस्कृतिक बिम्ब बोकेको लोसार पर्वले शेर्पा, तामाङ, गुरूङ थकाली, ह्याल्मो, मगर, थारू लगायत अन्य समुदायलाई समेत साँस्कृतिक एक सूत्रमा बाँध्न सकिन्छ । यसलाई हामी सबैले साँस्कृतिक एकताको सूत्रमा बाँधी समृद्ध राष्ट्र निर्माण जुट्न जरुरी छ । संघीय नेपालको सबै प्रदेशमा छरिएर रहेको लोसार मनाउने समुदायमात्र नभई सबै नेपालीले कम्तिमा एक दिन सद्भावको पर्व बनाउन सकौं भन्ने मेरो आग्रह छ । मे फो टे लो २१४५ लोसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
लेखक हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष हुन् ।