संस्कृति – महामारीको संकेत स्वरुप मनाइने पर्व पाहाँचह र घोडेजात्रा

विचार / ब्लग
पदम श्रेष्ठ

पाहाचह्रे
प्राकृतिक उपद्रो र रोगको महामारी शुरू भयो भन्ने संकेत स्वरूप चैत्र चतुर्दशीका दिन (२०७४ चैत २ गते तिथि परेको) काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ । नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो । पाहाचह्रे अघि चउला महिना पदार्पण हुनासाथ हुरी–बतास र वर्षात् शुरू हुने हुँदा घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी (साःगाः) सफाइ गर्ने र टोल–टोलमा आजु÷अजिमाद्यः(पुर्खा देवता)लाई समयद्यो (समयबजी चिउरा, छोयला, माछा आदिको थुप्रो) प्रदर्शन गरी पूजा गरिन्छ । देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोका आदि बलि दिई तन्त्र पद्धतिअनुरूप लुकुमाद्यः पूजा गर्ने र इष्टमित्र परिवार बोलाई भोज खाने गरिन्छ । यसदिन लुकुमाद्यः भन्दै फोहोरको ढल, साःगाः खोजीखोजी पुजिन्छ ।

अनेक किवदन्ती जोडिएको पाहाँचह्रेका दिन लुकुमाद्यः पूजा गर्नु धर्ती अर्थात् भूमि पूजा हो । घर, टोल, चोक फोहोर भएमा महामारी रोग फैलिने हुँदा लुकुमाद्यःको नाउँमा ढल साःगाः सफाइ गरी पुज्ने र अर्को वर्ष के हो के हो भन्ने मनसायबाट यसै वर्ष परिवारजन, इष्टमित्र बसी भोज खाने परम्परा हो । पाहाँचह्रे पूजामा तोरी र मूलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्मा प्रवेशमा रोक लगाउँछ भने भोजमा लसुन, मूलाको प्रयोगले रोगबाट बचाउँछ भन्ने विश्वास छ । लुकुमाद्यः पूजामा बालेको धूपको गाजल बनाई यसै दिन लगाइन्छ, यसबाट उडेर आउने धूलो आँखामा पर्दैन भन्ने विश्वास पाइन्छ ।

आख्यानअनुसार, अष्टमातृका दिदी–बहिनी एकै ठाउँमा बसी भोज खाने भेलामा सबै लुगा–गहनामा ठाँटिएछन् तर जेठी दिदी लुती इन्द्रायणी अजिमा गरिब र धेरै सन्तान, दुब्लो, झुत्रो लुगा लगाएर भोजमा भेला भइछन् । यस्तो देखेर बहिनीहरूले लुती अजिमालाई बस्नका समेत भनेनछन् । छोराछोरी भोक लाग्यो, भोक लाग्यो भनिरहँदासमेत कुनै वास्ता नगरेपछि भावविह्वल लुती अजिमा छोराछोरी लिएर घर फर्किछन् । बाटोमा पाकेको फर्सी भेटेकाले त्यही फर्सी उसिनेर छोराछोरीलाई खुवाउनुपर्ला भन्ने विचार गरी घर लगिछन् । तर छोराछोरी सुतेकाले त्यसै छाडी भोलि बिहान उठी हेर्दा त फर्सी सुनमा परिणत भइसकेको रहेछ । अर्को वर्षको पाहाँचह्रे पर्वमा उसै गरी दिदी–बहिनी भेला हुँदा फर्सीबाट प्राप्त सुनका गहना, राम्रा–राम्रा लुगा लगाएर जाँदा ती नौ दिदी–बहिनीबाट ठूलो सम्मानपूर्वक भोज राखिदिएछन् । तर लुती इन्द्रायणी अजिमाले विगतमा आफू र आफ्ना सन्तानप्रति गरेको भेदभावलाई सम्झँदै सबै भोज लुगा र गहनामा दल्न थालिछन् । यसबाट आश्चर्यचकित अष्टमातृका दिदी–बहिनीले यो के गरेको भनी प्रश्न राख्दा लुती अजिमाले भन्छिन्– ‘छन् गेडा सबै मेरा, छैनन् गेडा सबै टेडा, हिजो यही लुगा–गहना नहुँदा म तथा मेरा छोराछोरी भोकभोकै फर्कनुपरेको थियो ।’ यो भोज यही गहना र लुगालाई खुवाएको हुँदा लुगामा दलेको भनी घर फर्किइछन् । यसै दिनदेखि लुती अजिमा क्षेत्रपाटीस्थित इन्द्रायणी देवीको बालाचतुर्दशीका दिन जात्रा हुन्छ भने अन्य अष्टमातृका देवीको खटजात्रा पाहाँचह्रेको दिन हुने गर्दछ ।

 

दुरु च्यां च्यां जात्रा (बत्सलेश्वरी आमा)
प्रत्येक वर्ष चिल्लागा चःहे अर्थात् घोडेजात्राको एक हप्ता दिनअघि पाहाँचह्रेका दिन पशुपति भुवनेश्वरी (बछलामाजु) सहित उपत्यकाका विभिन्न अजिमा पीठको खटजात्रा हुने गर्दछ । पशुपतिस्थित भुवनेश्वरीलाई अजिमाहरूकी आमाका रूपमा लिइन्छ । त्यसैले पाहाँचह्रेको भोज बोलाउन चिल्लागा अष्टमीका दिन दुरु च्यां च्यां बोलको दुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी, चार भण्डारीमध्येका एक जना सानो खटमा शिवलिङ्ग राखी छोरी देवताहरूलाई निमन्त्रणा गर्न जाने गर्छन् ।

यसै बीच उपत्यकामा नक्साल भगवती तखती अजिमा, लुँर्चु अलु अजिमा, न्हायकंतला अजिमा, कङग कजिमा, न्यतमरु अजिमा, लुमरी अजिमा (वंतु र तेबा खट) र प्यङगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ । दुन्दुभी बाजाको बोल दुरु च्यां च्यां हुने भएको कारण जात्राको नाउँ नै बोलका आधारमा बन्न गएको हो भने छोरीलाई निमन्त्रणा गर्न पशुपति महादेव सानो शिव बछलामाजु (भुवनेश्वरी)को प्रतिकृतिस्वरूप खटजात्रा गर्दै देवपाटन (ग्वल)को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरी हुँदै असन जनबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, चिकंमुगल न्हुँघ लगन, टेकुदोभान पचलीभैरवमा विशेष पिचा तः बनेगु भोग बलि पूजा गरिन्छ । त्यहाँबाट लगन, ब्रम्हटोल, ह्यूमत, जैशीदेग, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यङ्गल, कमलाछी, कमलपोखरी, ज्ञानेश्वर हुँदै पशुपति पु¥याइन्छ । शीतलाष्टमी पनि भनिने दुरु च्यां च्यां जात्रा पाहाँचह्रे आउन लाग्यो एक हप्ता बाँकी भन्ने सूचना दिने पर्वका रूपमा लिइन्छ । भनिन्छ,पशुपतिमा दुन्दुभि वाजाका साथ पाहाँचह«े जात्रा शुरु भएपछि उपत्यकाका सम्पुर्ण क्षेत्रमा जात्रा शुरु हुन्छ ।

घोडेजात्रा
आपत, विपत, रोगव्याधि घोडा दौडिएझैं आउँछ । अनि दुष्टात्मालाई पन्छाउन सेतो वायुपङ्खी घोडाले भूमिका खेल्छ भन्ने उपत्यकावासीमा मान्यता पाइन्छ । यही मान्यतालाई पाहाँचह्रेको भोलिपल्ट काठमाडौं र पाटनको टुँडिखेलमा घोडादौड जात्रा प्रदर्शन गर्ने परम्परा छ । यस पटक २०७४ चैत ३ गते घोडेजात्रा परेको छ ।

मल्ल कालदेखि शुरू भएको घोडेजात्रा गर्नाले दुष्टात्मा र अनेक प्राकृतिक उपद्रव शान्त हुन्छ भने मान्यताअनुसार काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री उपस्थिति हुने प्रचलन छ । फूलपाती बढाइँका साथ काठमाडौंको टुँडिखेलमा धेरै घोडाबीच दौड प्रतियोगिता गराइन्छ भने पाटनको भोलाख्यो बालकुमारीमा रक्सी खुवाइएको एकमात्र घोडा कुदाउने गरिन्छ । काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं.७८७ तिर पाटनमा एक्लो घोडा कुदाउने परम्परा थालिएको बताइन्छ । आफ्ना पाटनवासी जनताले काठमाडौंको घोडेजात्रा हेर्न जानु नपरोस् भन्ने मनसाय राखी भोलाख्यो बालकुमारीमा एक्लो रक्सी खुवाइएको घोडा कुदाई मनोरञ्जन गर्ने परम्परा थालिएको हो ।यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा टोल–टोलमा मलजा (सुकेको पातमा बेसार भात, गेडागुडी, तरकारी, जाँड, रक्सी, दूध सलिचामा राखी) खुवाउने परम्परा छ । यसरी मलजा खुवाउनाले यस वर्ष केटाकेटीलाई अनेक रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ ।

 

असंभलु (अन्नपूर्ण) अजिमा जात्रा
असन अन्नपूर्ण (असंभलु) अजिमास्थलमा प्रत्येक वर्ष पाहाँचह्रे(घोडेजात्रा)का बेला चैत्रकृष्ण औंसीका दिन अष्टमातृका दिदी–बहिनी भेट्ने खटजात्रा जुधाइने गरी मनाइन्छ । अन्नपूर्ण अजिमाअगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कङकेश्वरीको कङ्ग अजिमाको खट जुदाए पनि नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैतीदेवीकी मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला अजिमाको पनि छुट्टाछुट्टै जात्रा हुने गर्दछ ।

यी दिदी–बहिनीमध्ये क्षेत्रपाटीकी लुतीमरु अजिमा(इन्द्रायणी)खटजात्रा भने बालाचतुर्दशीका दिन हुने परम्परा छ । असन चोक पूरै धातुरागमा बजाइने क्वँचाखी,ं पश्चिमा, दापाखींजस्ता बाजाको तालमा खटजात्रा भइरहँदा झ्याल–झ्यालबाट भक्तजनहरूले सुगन, रोटी, चट्टामरी र लोचामरी वर्षाएको देख्दा लाग्छ असन सहकाल अन्नपूर्णको केन्द्र नै हो । चैत्रशुक्ल प्रतिपदाका दिन देखि नयाँ वर्ष शक संवत् परिवर्तन हुने हुँदा असन माछा देवता गणेश डबलीमा देशभरका ज्योतिषी बसी वर्षको शुभ–अशुभको चिना हेर्ने र देवीदेवताको खटजात्रा गर्ने परम्परा बसेको कथन छ ।

 

पाहाँचह्रे धर्मस्थलीको धमाथु जात्रा
पाहाँचह्रेका दिनदेखि शुरू हुने धमाथु (धर्मस्थली) जात्रामा पीठखट जुधाउँदै शुभकामना आदानप्रदान गरिन्छ । लाछी टोलमा इन्द्रका ३२ हाते ढुंगे स्तम्भ खडा गरी थालिने जात्रामा महांकाल, पिङला अजिमा र तीनवटा गणेश समेत ५ खटको भव्य जात्रा हुने गर्दछ ।‘पाँच दिनसम्म मनाइने पाँच खटको धमाथु (धर्मस्थली) जात्रा काठमाडौं नगरको रक्षार्थ स्थापित अष्टमातृका गणजागृत गराई पाहाँचह्रेको भोलिपल्ट घोडेजात्राको दिन देवदेवीका खटलाई लाछीमा भेलागरी बजार घुमाइन्छ भने तेस्रो दिन चैत्रशुक्ल द्वितीयाका दिन मु जात्राका नाममा राति सिन्दुर जात्रा गरिन्छ । चतुर्थीका दिन सुल नाममा विश्राम भए पनि स्थानीय युवा जमातले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रस्तुत गर्ने परम्परा छ । लिच्छविकालीन राजा धर्मदेवद्वारा स्थापित धर्मस्थली बालाजु बाइपासबाट करिब ७ किमि दक्षिण–पश्चिमको बस्ती हो ।

 

इचङ्गु महालक्ष्मी जात्रा
राजा हरिदत्त बर्माद्वारा स्थापित हल्चोकको इचङ्गुनारायण स्थानमा मनाइने महालक्ष्मी जात्रा घोडेजात्राका दिन खटजात्रा गरी मनाइन्छ । यसका लागि पाहाँचह्रेका दिन द्यःछेबाट महालक्ष्मी देवताको मूर्ति खट निकाली गणेशसहित इचङ्गु नारायणको दक्षिण कुनामा अवस्थित पीठमा प्रतिष्ठापित गराइन्छ । यस दिन दशा हटाउने नाउँमा साँझ देवस्थलमा आगो बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट चिल्लागा औंसीको दिन महालक्ष्मी देवीलाई हाँस, राँगा, बोका आदि बलि दिई अबिर यात्रा गरिन्छ । महालक्ष्मी÷गणेश खट बोक्नेहरूले जुत्ता लगाउन हुँदैन । यसै दिन इष्टमित्र, आफन्तलाई भोज खान बोलाउने पनि गरिन्छ ।

padamcha@hotmail.com

Leave a Reply

Your email address will not be published.