इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा १२ जना मारिए, दजनौं पक्राउ

प्रवास

एजेन्सी । इरानमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १२ जना प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १२ जना मारिएका हुन् ।

गत बिहीबारदेखि चर्किएको प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेको सरकारी टेलिभिजनले जनाएको छ । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन् ।

राष्ट्रपति रुहानीले शान्तिपूर्ण प्रदर्शनमा हिंसा नभड्काउन र प्रदर्शनमा सामेल नहुन चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘सरकारविरुद्ध नागरिकको प्रदर्शन एक अवसर हो । तर, प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गर्नु सरकारविरुद्ध चेतावनी हो । हिंसा भड्काउने प्रदर्शनकारीविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुनेछ ।’

उनले प्रदर्शनकारीलाई मिलेर अर्थतन्त्रबारेको समस्या समाधान गर्ने बताएका छन् । तर, प्रदर्शनकारीले भने अबैधानिक आर्थिक संस्थाका कारण मूल्यबृद्धी आकाशिएको भन्दै राष्ट्रपतिले राजीनामा नदिएसम्म विरोध कायम रहने जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान सरकारलाई जनताको सम्बोधनको माग गर्न सुझाव दिएका छन् । ट्रम्पले इरानमा प्रदर्शन चर्केकामा अमेरिकाको ध्यानाकर्षण भएको भन्दै जनताको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.