किरात राई यायोक्खा भन्छ– ‘खुवालुङ पानीढुंगामात्र नभई समग्र किरातीहरूको अति महत्वपूर्ण सांस्कृतिक आस्थाको केन्द्र हो’

कला साहित्य -संस्कृति विचार / ब्लग

सम्पदा : खुवालुङ संरक्षणमा यायोक्खाको चासो

जनक राई

खुवालुङ किराती सभ्यता र संस्कृतिको महत्वपूर्ण स्थानको रूपमा रहेको छ । खुवालुङको बारेमा किरात राई समुदायमा प्रशस्तै मिथकहरू रहेको छ भने आज पर्यन्त संस्कार संस्कृतिगत काम गर्दा नछौंहरूले सशरीर नै पुगेर वा नछौंको ज्ञान शक्तिको माध्यमबाट भए पनि खुवालुङ पुग्ने वा खुवालुङलाई पुकार्ने काम हुँदै आएको छ । खुवालुङ समग्र किराती समुदायसँग सरोकार राख्ने विषय भए पनि यो लेखमा अलिक बढी किरात राई जातिभित्र खुवालुङको पक्षलाई समावेस गरिएको छ ।

२०७७ चैत १७ गते यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश समन्वय समिति, खुवालुङ बचाउ संघर्ष समिति, किराया जिल्ला र गाउँनगर कार्यसमितिहरू, भातृ र भाषिक संस्थाहरूसहितको यायोक्खाको टोली र मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा प्रदेश सरकारको टोली, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, विषयविज्ञहरू र सामाजिक अभियन्ताहरूको टोली एकसाथ खुवालुङको स्थलगत अवलोकन

किरात राई भित्रको विभिन्न भाषिक समुदायमा खुवालुङको बारेमा मिथक रहेको छ । मौखिम परम्परामा चलिआएको किरात राई जातिको मूल्य मान्यताहरूमा खुवालुङको मिथक र खुवालुङलाई बुझाउने शब्दमा केही विविधता भए पनि सार भने एउटै रहेको छ । किरात राई जातिको मिथक र सांस्कृतिक मूल्य मान्यता अनुसार धनकुटा, भोजपुर, उदयपुर र सुनसरी जिल्लाको सिमानामा पर्ने दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी पानीको धार माझमा अवस्थित ठूलो ढुङ्गालाई खुवालुङ भनेर भनिन्छ । किरात राई जातिको भाषामा ‘खुवा’ भन्नाले ‘पानी’ र ‘लुङ’ भन्नाले ‘ढुङ्गा’ अर्थ लाग्दछ । जसलाई पानीमा भएको ढुङ्गाको रूपमा यसको अथ्र्याउने गरिएको छ ।

मिथकअनुसार आदिम किरात पुर्खाहरू चीनको नियामाबाट यलहँ हुँदै खुवालुङमा आइपुग्दा कोशी तर्ने ठाउँमा ठूलो ढोका बन्द अवस्थामा थियो । त्यो ढोका खोलेर अगाडि जानको लागि जेठा भाइ मुकुबुङले चराको भोग दिएर पुजा गरेपछि÷भोगदिएपछि ढोका खुल्यो र पारि तर्यो । त्यसपछि फेरि त्यो ढोका बन्द भयो । अब माइला भाइ हर्कबुङले कसरी दाइ पारि तरिगए भनेर दाइलाई सोध्दा रगतको भोग दिएर आएको भनेर जवाफ दिए । त्यसैले सँगै रहेकी चेलीको खुट्टाको कान्छी औंला सिरूको पातले काटी रगत चढाएपछि ढोका खुल्यो र पारि तरिगए । तर चेलीको रगत थामिएन । रगत खसेको केराको पात बाख्राले खाइदिएपछि चेलीको तत्काल मृत्यु भयो । त्यसपछि नै किरात राईहरूले बाख्राको मासु मुल चुलामा नपकाउने र घरमुलीले नखाने चलन रहिआएको भन्ने भनाइ रहेको छ । जब कान्छा भाइ रिब्लबुङ खुवालुङ आइपुगे ढोका बन्द थियो । ढोका नखुलेपछि कान्छा भाइ उतै फर्किगए र उतै बसे । उक्त स्थानलाई अहिले पनि मुन्दुममा थारूहँ, बाजिहँ भनेर सम्बोधन गरिन्छ । थारूहरू पनि किराती हुन् भन्ने भनाइ रहिआएको छ । त्यही ढोका पार तरेर विभिन्न कालखण्डमा अरूण, तमोर, दुधकोशी, सुनकोशी पछ्याउँदै गएका जेठा र माइला पुर्खाका सन्तानहरू नै आजका किरातीहरू हुन् । विभिन्न ठाउँमा छरिएर रहेका छन् भन्ने मान्यता रहिआएको छ । त्यसैले किराती पुर्खाहरू त्यही स्थान हुँदै अहिलेको किरात बस्तीहरूमा छरिएर रहेकोले खुवालुङलाई किराती समुदायको अहिलेको बसोबास स्थलको प्राग ऐतिहासिक प्रवेशद्वारको रूपमा लिइन्छ ।

किरात राई जातिको संस्कार संस्कृतिको काम गर्दा पनि मुन्दुमको रिसियामा खुवालुङको वर्णन गरिन्छ । मुन्दुमविद भोगिराज चाम्लिङका अनुसार किरात चाम्लिङ राई बस्तीमा साकेलाको अनुष्ठान गर्दा ‘खुवालुङ तिमीलाई हामीले उहिले उहिलेदेखि श्रद्धा गर्दै आएका हौं है, नदी मिसिने ठाउँमा रहेको तिमी खुवालुङ हाम्रो लागि पुज्य छौ..’ भनेर नछौंले भन्ने गर्दछन् । सामाजिक सांस्कृतिक अभियन्ता मुम्चे राईका अनुसार वाम्बुले राई समुदायमा पितृकार्य गर्दा (न्वागी, ल्याक्रो, खाउमो) तीन चुला अनिवार्य रूपमा पुज्नु पर्ने हुन्छ, जुन क्रममा किरात वाम्बुले राई समुदायमा तीन चुलाको नाम जम्मा १४ प्रतीकहरूको रूपमा पुकारिन्छ । तीन चुलाको नाम पुकार्दा सातौं स्थानमा खुवालङु शब्द आइपुग्छ र यस ढुङ्गालाई ड्अिवालुङ भनेर पनि भन्ने गरिन्छ । यसको अर्थ हुन्छ खुवालुङ मुन्दुमको प्रतीक, ड्अिवालुङ भन्नाले चेतनाको प्रतीकको रूपमा रहेको छ । त्यस्तै नछौं चिन्ता बस्दा ज्ञान र शक्तिको हिसाबले नछौंको बाटोमा हिंड्दै जाने क्रममा खुवालुुङमा पुगेपछि ढोलमाथि चढेर नाच्दै गरेको अवस्थामा मरेको अभिनय गरेको हामी सबैले देखेकै हो । नछुङ धनिराम राईका अनुसार ‘पहिले पहिले त खुवालुङमा मान्छेको भोगदिने चलन थियो, हिजोआज चाहिँ मान्छेको भोग दिनुको साटो यसरी नछौं आफैं मरेर भोग दिने गरिएको छ र यो गर्नै पर्दछ ।’ यसरी किरात राई समुदायमा विभिन्न संस्कार संस्कृति गर्दा पनि खुवालुङ पुग्नु वा खुवालुङलाई पुकार्नु पर्दछ । त्यसैले सांस्कृतिक हिसाबले पनि खुवालुङको महत्व कति छ भनेर अनुमान गर्न सकिन्छ ।

खुवालुङसँगै जोडिएको स्थान उदयपुर जिल्लाको बेलका नगरपालिका पर्दछ । उक्त क्षेत्रमा अहिले पनि बेल्काकोट गढीको प्राचीन भग्नावशेष रहेको छ । आदिम किरात पुर्खाहरूले समाजलाई व्यवस्थित गर्दै राजनीतिक सत्ताको अभ्यास गरेको आदिम ठाउँ पनि हो, खुवालुङ क्षेत्र । त्यो क्षेत्रबाट किराती पुर्खाहरूले मानव सभ्यताको विकास गर्दै अगाडि बढेको र त्यो बेलाको समाजलाई व्यवस्थित गर्ने काम गरेको पाइन्छ । त्यसैले यो किरात राई समुदायको लागि मात्र होइन राष्ट्रकै लागि एक महत्वपूर्ण ऐतिहासिक क्षेत्र पनि हो ।

यत्ति उल्लेख गरिसकेपछि भन्न सकिन्छ खुवालुङ भनेकोे किरात राई समुदायको जिवन्त संस्कृतिको एक महत्वपूर्ण सांस्कृतिक निधि हो जो हजारौं वर्षदेखिको विभिन्न प्राकृतिक प्रकोपदेखि लिएर ढुङ्गा माटो सहितको पानीको बहावको बीचमा पनि त्यही कोशीको बीचमा उत्तिकै अविचल रहेको छ जसलाई किरात राईहरूले आस्था र विश्वासका साथ हजारौ वर्षदेखि मानिआएका÷पूजिआएका छन् । साथै खुवालुङ वरिपरिको क्षेत्रमै किरातहरूले आदिमकालमा राज्य संचालन गरी राज्यसत्ताको अभ्यास गर्दै त्यो बेलाको मानव समाजलाई व्यवस्थित गर्ने कार्य गरेको किरातहरूको लागि मात्र होइन राज्यकै महत्वपूर्ण प्राग्ऐतिहासिक क्षेत्र पनि हो, खुवालुङ ।

खुवालुङ संरक्षण अभियान गतिविधिहरू
माथि नै उल्लेख गरिसकियो कि मुन्दुमी मूल्य मान्यता, संस्कृति र सभ्यताको हिसाबले खुवालुङ र खुवालुङ क्षेत्र महत्वपूर्ण स्थान हो भन्ने कुरामा दुइमत रहेन । भाषिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताले सम्पन्न यो देशका राज्य संचालकहरूले यस्तो महत्वपूर्ण क्षेत्रको सांस्कृतिक पर्यटन र प्रवद्र्धनको लागि विशेष कार्ययोजना बनाइ सांस्कृतिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नु पर्ने हो । आर्थिक, सामजिक क्षेत्रको विकास गराउनु पर्ने हो । तर एकतर्फी सोंच राखेर जल यातायातको नाममा यत्रो महत्व बोकेको खुवालुङलाई राज्यको तर्फबाट नदी माझको ढुङ्गा फुटाउन खोज्नु संवेदनाहीन कार्य गर्न खोजिदैछ । राज्यले कस्तो सांस्कृतिक व्यवहार गरिरहेको छ भन्ने सहजै अनुमान गराउन सकिन्छ । जब जल यातायात व्यवसायीहरूले आफ्नो व्यावसायिक नाफाको लागि खुवालुङले असर गरेको छ भन्ने रिपोर्टिङ सरकारको सरोकारवाला निकायलाई गराए तब किरात समुदाय र स्थानीयसँग छलफल परामर्श नगरी एकतर्फी रूपमा खुवालुङलाई फुटाउने तयारी गरेको किरात राई यायोक्खालाई जानकारी आयो । त्यसपछि यायोक्खाले यसलाई गम्भिर समीक्षा गरी संरक्षणका निम्ति चुनौती र अवसरको रूपमा लिएको छ । जसअनुसार अहिलेसम्म सम्पादन भएका केही गतिविधिहरूलाई बुँदागत उल्लेख गरिएको छ ।

–यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा उपमहासचिव शुभचन्द्र राई, सचिव दोर्पध्वज राई, सल्लाहकार/निवर्तमान अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई सहितको सहभागितामा २०७७ कात्तिक महिनामा खुवालुङको स्थलगत भ्रमण, अध्ययन, अवलोकन सम्पन्न भएको थियो ।

–यायोक्खाको पहलकदमी र संयोजनमा किरात राई यायोक्खाको सम्बन्धित क्षेत्रको जिल्ला कार्यसमितिहरू सुनसरी, धनकुटा, भोजपुर र उदयपुर जिल्ला र किरात धर्म संघको प्रतिनिधित्व हुनेगरी किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष बलराम राईको संयोजकत्वमा २०७७ माघ १ गते उक्त स्थानमै भेला राखी खुवालुङ बचाउ संघर्ष समिति गठन गरियो । उक्त संघर्ष समितिको तर्फबाट चरणवद्ध कार्यक्रम घोषणा गरि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने, ज्ञापनपत्र दिने, प्रचारप्रसार गर्ने जस्ता कार्यहरू भयो ।

–अभियानकै क्रममा बराह क्षेत्रमा २०७७ माघ २३ गते संघर्ष समितिको आयोजनामा खुवालुङको बारेमा प्राज्ञिक गोष्ठी भएको थियो । जसमा किरात राई सांस्कृतिक कलाकार संघका उपाध्यक्ष तथा किरात राई प्रज्ञा परिषदका सदस्य शालिक शातासाक र किरात धर्म संघका ईन्द्रहाङ खम्बुको कार्यपत्र प्रस्तुति तथा यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राईले खुवालुङको अभियानबारे जानकारी दिने काम भएको थियो ।

–२०७७ फागुन ४ गते किरात राई यायोक्खाको सचिव दोर्पध्वज राईको नेतृत्वमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति, खुवालङ बचाउ संघर्ष समिति, किरात राई सांस्कृतिक कलाकार संघ, किरात धर्म संघ, किरात याम्फु समाज, आठपहरिया समाज लगायत संस्थाहरूले संयुक्त रूपमा प्रदेश–१ का मूख्यमन्त्री शेरधन राईलाई विराटनगरस्थित कार्यालयमा खुवालुङको महत्व, संरक्षण र प्रवद्र्धनको लागि ध्यानाकर्षणपत्र बुझाएको भयो ।

–२०७७ फागुन ८ गते मोरङको विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङलाई लक्षित गरेर जल यातायातको लागि अवरोध गरिरहेको सप्तकोशीको ठूलो ढुङ्गा फुटाउने उद्घोष गरे । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर छिनभरमै संसारका किरात राईहरूमात्र होइन सम्पूर्ण समुदायका संस्कृतिकर्मी, सामाजिक अभियन्ताहरू लगायतको खबरदारीको प्रतिक्रिया आउन थाल्यो ।

–प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि भने विश्वभरिका किरातीहरू सभ्यताको ढोकाका रूपमा रहेको खुवालुङको संरक्षणार्थ आवाज बुलन्द बनाउन जुरमुराए भने खुवालुङ भूगोलमा रहेका किरात राई यायोक्खा जिल्ला कार्यसमितिहरू, भ्रातृ, भाषिक संस्थाहरू, लेखक, स्रष्टा कलाकारहरू, पत्रकार, विभिन्न तहका स्थानीय जनप्रतिनिधिहरू र नागरिक समाजले स्थलगत खुवालुङ बचाउ खबरदारीमा उत्रिदैआएका छन् । भित्ते लेखन, नाटक प्रदर्शन, स्रष्टा र्याली, संभाषणहरू दिदै मूलधारका छापा तथा विद्युतीय आमसञ्चारका माध्यमहरू खुवालुङलाई अन्तर्राष्ट्रिय चासोको विषय बन्न पुग्यो । सामाजिक संजालमा खबरदारी भइरहेको छ ।

–२०७७ फागुन २४ गते नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका अध्यक्ष तथा अभियन्ता राजन मुकारुङको नेतृत्वमा किरात राई लेखक संघ, किरात राई विद्यार्थी संघ, विभिन्न समुदायका लेखक, साहित्यकार, सामाजिक अभियन्ताहरूले खुवालुङको स्थलगत अध्ययन अवलोकन भ्रमण गर्नुका साथै खुवालुङको संरक्षणको लागि खबरदारी गर्ने काम भयो । धरानको रंगभूमि नाटक एकेडेमीले खुवालङ संरक्षण सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गर्यो ।

–२०७७ फागुन २४ गते किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा यायोक्खाका केन्द्रीय पदाधिकारी सदस्यहरूको सहभागितामा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई किरात राई यायोक्खाको तर्फबाट पुनः ध्यानाकर्षणपत्र बुझाउँदै खुवालुङको महत्व र संरक्षण सम्वद्र्धनको लागि छलफल गरियो ।

–२०७७ फागनु २८ गते खुवालुङको दीर्घकालीन संरक्षण प्रवद्र्धनको लागि विषयविज्ञहरू (मुन्दुमी अध्यता, अनुसन्धाता, पर्यटन व्यवसायी, कानुनविद, स्रष्टा कलाकार), सरोकारवाला समुदाय र संस्था, सामाजिक सांस्कृतिक अभियन्ताको सहभागितामा खुवालुङको मुन्दुमी, सांस्कृतिक, ऐतिहासिक महत्व, पर्यटनको महत्व र सम्भावना, संरक्षणको लागि कानूनी पाटो विषयक प्राज्ञिक गोष्ठीको आयोजना गरी बृहत छलफल गरियो । किराया केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमाहलमा भएको गोष्ठीमा मुन्दुमविद भोगिराज चाम्लिङ, पर्यटन व्यवसायी अभियन्ता रमेश राई, लाहुरनिपबाट अधिवक्ता भिम राई लगायतले विषयवस्तुको गहनता प्रस्तुत गरेका थिए ।

–खुवालुङको दीर्घकालीन संरक्षण र प्रवद्र्धनको लागि किरायाका भातृसंस्थाहरू, यायोक्खा जिल्ला कार्यसमिति सुनसरी, उदयपुर, मोरङ, धनकुटाबाट जिल्ला र गाउँ नगर समितिहरूले स्थलगत भ्रमण गरी खबरदारी गर्ने, भित्तेलेखन गर्ने, साइन बोर्ड राख्ने कामहरू निरन्तर जारी राखेका छन् ।

–२०७७ चैत ४ गते किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिको आयोजनामा संघका उपाध्यक्ष शाकिल शातासाकको प्रस्तुतिमा धरानस्थित यलम्बर स्मृति संग्रहालयमा खुवालुङ सम्बन्धि प्राज्ञिक गोष्ठीमा यायोक्खा केन्द्रीय उपमहासचिव शुभचन्द्र राई, सचिव दोर्पध्वज राई लगायतको सहभागिता रह्यो ।

–२०७७ चैत ९ गते प्रदेश–१ का सांसदहरू ईन्द्र आङबो, रामकुमार राई ‘पासाङ’, मोहन खड्का, शौभाग्यवती राई किरात, सिता थेबे, राजन राई, सुयर्माराज राई लगायतले खुवालुङको स्थलगत भ्रमण गरी खुवालुङ संरक्षणमा ऐक्यवद्धता जनाए भने स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिहरूले ऐतिहासिक खुवालुङ क्षेत्रको भ्रमण, अवलोकन कार्य गर्दै आएका छन् ।

–अभियानको सिलसिलामा २०७७ चैत १७ गते यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश समन्वय समिति, खुवालुङ बचाउ संघर्ष समिति, किराया जिल्ला र गाउँनगर कार्यसमितिहरू, भातृ र भाषिक संस्थाहरूसहितको यायोक्खाको टोली र मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा प्रदेश सरकारको आन्तरिक मामला मन्त्री हिक्मत कार्की, प्रदेश सांसद अम्बिका थापा, बिमल कार्की लगायतको सहभागितामा प्रदेश सरकारको टोली, प्रदेशअन्तर्गतका विभिन्न कार्यालय प्रमुखहरू, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, विषयविज्ञहरू र सामाजिक अभियन्ताहरूको टोली एकसाथ खुवालुङको स्थलगत अवलोकन कार्य भयो । अवलोकनको अवसरमा आयोजित कार्यक्रममा यायोक्खा अध्यक्ष दिवस राईले खुवालुङ ऐतिहासिक र सांस्कृतिक पक्षको विश्लेषण गर्दै खुवालुङको संरक्षणको लागि प्रदेश सरकार र सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण गराउनु भयो । जल यातायातविज्ञ बिपुल पाण्डेले जल यातायातको लागि खुवालुङले कुनै असर नगर्ने र असर गरेको खण्डमा पनि अन्य विकल्प रहेको जानकारी गराउनु भयो । मुख्यमन्त्री शेरधन राईले खुवालुङलाई प्रदेश सरकारले बिनास होइन संरक्षण गर्ने र यसको लागि प्रदेश सरकार लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

खुवालुङ संरक्षणको बाँकी कार्यभार
के ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा उद्घोष गरेका प्रधानमन्त्रीले फागुन ८ गते दिनु भएको खुवालुङ प्रतिको भाषणले लक्ष्यप्राप्तिमा सहयोग पुग्ला त ? कदापि पुग्न सक्दैन । सभ्यता र संस्कृति बिनाको विकास फिका हुनेछ । राज्यले विविध जातजातिका सांस्कृतिक निधिहरूको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्ने हो । तर संरक्षणको सटटा यस्ताखालको भाषण गर्नु दुःखद हो । यत्तिका ध्यानाकर्षण गराउँदा पनि व्यवहारमै खुवालुङ फुटाउन तम्सिन्छन् भने सम्बन्धित समुदायबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कल्पना गर्न सकिन्नछ । किनभने यो खुवालुङ धार्मिक आस्थाको केन्द्र हो ।

तसर्थ केही कार्य गर्न जरुरी छ–
सरकारले गर्ने काम :
–सर्वप्रथम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले खुवालुङलाई महत्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा सुचिकृत गर्नुपर्दछ । त्यसपछि दीर्घकालीन संरक्षण र सांस्कृतिक प्रवद्र्धनको लागि तत्कालै नीति तथा कार्यक्रमम बनाइ गुरुयोजना निर्माण र बजेटको व्यवस्था गरी काम अगाडि बढाउनु पर्दछ ।

–प्रदेश सरकारको तर्फबाट बारम्बार भएको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन तत्कालै आर्थिक वर्षमा ०७८÷७९) नीति तथा कार्यक्रम बनाइ गुरुयोजना र बजेटको व्यवस्था गर्नुपर्दछ । दुःखको कुरो यही २०७८ जेठ १५ गते ओली नेतृत्वको कामचलाउ सरकारले प्रस्तुत गरेको बजेट भाषणको बुँदा नं. ३०४ मा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइनेछ’ उल्लेख छ । यो वाक्यले के संकेत गरेको हो ? स्पष्ट छैन, संशय जन्माएको स्थिति छ । खुवालुङलाई प्रदेश–१ को महत्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा सूचिकृत गरिनु पर्नेमा आशंका पैदा भएको छ ।

–तीनै तहको सरकारले खोटाङ, भोजपुर, उदयपुर, धनकुटा लगायतको क्षेत्रमा गरिने पदमार्ग (मुन्दुम टे«ल) लगायतको पर्यटकीय क्षेत्रको प्रस्थान बिन्दुको रूपमा बिकास गर्न आवश्यक पूर्वाधार तयार गरी काम अगाडि बढाउनु पर्दछ ।

–खुवालुङको मिथक र मुन्दुम दर्शनसँग सम्बन्धित पात्र र बिम्बहरूको साथै किराती सांस्कृतिक बिम्बहरूको विशाल भौतिकिरण गरिनु पर्दछ । यो काममा सम्बन्धित किरात जातिको स्वामित्व हुनुपर्छ ।

किरात राई जाति विकास बिरोधी होइनन् । जल यातायात संचालन गर्नुपर्दछ तर सांस्कृतिक निधिको बिनास गरेर होइन । विकल्प सहित विकासलाई अगाडि बढाउन सकिन्छ । एउटै मात्र उदाहरणको रुपमा काठमाडौंको बीर हस्पिटल, ट्रमा सेन्टर अगाडि दिनमा हजारौं गाडी गुड्छन् । सडक पनि अन्त भन्दा साँघुरो छ । त्यही सडकको बीचमा एउटा पिपलको बोट छ । त्यही सडकको पूर्वतर्फ महाँकाल मन्दिर पनि छ । पिपल र मन्दिर दुवै धार्मिक आस्थाको विषय भएकाले संरक्षण गरेर दुई किनाराबाट सडक यातायात सुचारु गरिएको छ । त्यसैगरी खुवालुङ क्षेत्रमा जल यातायात संचालन गर्नको लागि विकल्प सोचिनु पर्छ ।

–तीनै तहको सरकारको सहकार्यमा खुवालुङका साथै त्यस क्षेत्रमा रहेका बेल्काकोट गढी लगायत समेटेर ऐतिहासिक सांस्कृतिक क्षेत्रको रूपमा बृहत गुरुयोजना बनाई विकास गर्नु पर्दछ ।

बजेट भाषणपछि यायोक्खाको विज्ञप्ति

समुदायको काम
–संघीय सरकारले भर्खरैमात्र सार्वजनिक गरेको आ.व. ०७८/७९ को बजेट भाषणमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात संचालन गर्न जलमार्गमा रहेको अवरोध हटाइनेछ ।’ भन्ने वाक्यांशले शंका जन्माएको छ । यदि सरकार त्यो खुवालुङ फुटायो भने बृहत किराती मोर्चा बनाई संघर्षको कार्यक्रम अगाडि बढाउनुको विकल्प छैन । साथै कानूनी रूपमा पनि अगाडि बढ्नु पर्दछ ।

–सरोकारवाला संस्था र समुदायले बारम्बार राज्यको ध्यानाकर्षण गराउने, खबरदारी गर्ने, आवश्यकीय साथ सहयोग र सहकार्य गर्न जरुरी छ । उक्त क्षेत्रको स्थलगत भ्रमण गर्न प्रोत्साहित गर्ने, स्थानीय क्षेत्रमा किराती खानपिन, खुवालुङ सम्बन्धी थप खोज अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने, गीत संगीत, वृत्तचित्र निर्माण गरी प्रवद्र्धन गर्ने कार्य गरिनु पर्दछ ।

–नेपालको उत्कृष्ट १०० गन्तव्यमध्ये एक खुवालुङ र मुन्दुम ट्रेलको पनि प्रस्थान बिन्दुको रूपमा जोड्न जरुरी छ ।
यसो गर्न सकियो भने खुवालुङलाई १ नं. प्रदेशको महत्वपूर्ण सांस्कृतिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । जसको कारण किरातीहरूको आस्थाको केन्द्र, किरातीको मात्र होइन नेपालकै प्राचीन सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन हुनुपर्छ । जसले गर्दा खुवालुङलाई फुटाएर जलयात्राबाट गरिने आम्दानीभन्दा कैयौं गुना बढी आम्दानी खुवालुङको सांस्कृतिक पर्यटन र प्रवद्र्धनको माध्यमबाट गर्न सकिने छ । यसको प्रत्यक्ष फाइदा राज्यलाई नै हुनेछ । भौगोलिक विशेषताको कारण पनि त्यो क्षेत्रलाई प्रदेश–१ कै मुख्य पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने छ । उक्त क्षेत्रको व्यापार व्यावसायलाई प्रत्यक्ष फाइदा हुनेछ भने स्थानीय ज्ञान, सिप र संस्कृतिको प्रवद्र्धन भई आय आर्जन पनि गर्न सकिने छ । यसबाट त्यहाँका स्थानीयको जिवनस्तर उकास्ने निश्चित छ । नेपालको प्राचीन सभ्यता र संस्कृतिको थप अध्ययन र अवलोकन हुनेछ । किराती समुदायको प्राचीन सभ्यता र सांस्कृतिक आस्थाको केन्द्रको संरक्षण र प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन सकिने छ । राज्यको लागि यो अवसर हो भने समुदायको लागि यो अवसर र चुनौती दुवै हो । सबै मिलेर यो सांस्कृतिक निधिको संरक्षण र प्रवद्र्धन गरौं ।

(लेखक जनक राई किरात राई यायाक्खा केन्द्रीय कार्यसमितिको महासचिव हुनुहुन्छ ।)

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार (किरात येले संवत् ३८००÷सन् २०२१) मा प्रकाशित आलेख यहाँ प्रस्तुत गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published.