गायक रुपकुमार राईको संस्मरण : संगीतको भाकाहरूमा यात्रा गर्दै जाँदा

कला साहित्य -संस्कृति

–रुपकुमार राई
प्रकृतिले पूर्णता दुइटै कुराको कारणले गर्दा पाएको छ– नकरात्मक र सकारात्मक । यी दुईमध्ये संगीत सकरात्मक चेतसँग सम्बन्ध राख्दछ । सृष्टि यहाँसम्म आउनु र निरन्तर चलिरहनुमा संगीतको अपरिहार्यता छ । जस्तै, हावा चल्नु । सुस्तरी चलेको हावाको स्पर्श वा आवाजले दिने अनुभूतिले मान्छेलाई आनन्दित तुल्याउँछ । सकारात्मक शान्त अनुभुत गराउँदछ भने त्यही हावा ठूलो चल्दा आँधी हुरी हुन्डरी भनिन्छ । जसले पछार्ने भाँच्ने उडाउने क्षति गर्छ । जसरी यो समय निरन्तर छ, त्यहाँ संगीत छ, जसलाई संगीत्मा ताल (टाइमिङ्ग) भनिन्छ । यो सृष्टि यहाँसम्म आइपुग्दा हामी मानिसहरूले आफ्नो–आफ्नो दर्शन र इतिहासलाई व्याख्या गर्दा, प्रयोग गर्दा संगीतकै सहयोग लिइरहेको हुन्छौँ । जस्तै किरातीहरूको पितृ मुन्धुम, लामाहरूको ग्यान, ब्राम्हण क्षेत्रीहरूको देवली पितृ बेद इत्यादि ।

सुन्दर कुराहरूलाई अझ सुन्दर वा भाव सकारात्मक तथ्यमा पु¥याउन सबैमा संगीतकै प्रयोग र साहारामा सम्भव छ । नेपाली संगीतको विविध भण्डार र स्रोतहरू छ । तर त्यसको लिपिवद्ध व्याख्या र व्यवस्थापन हुनसकेको छैन । हाम्रो देशमात्र नभई दक्षिण एसियाकै निम्ति रहस्यमय छ । पूर्वीय संगीत भनेर जो हामी जान्दछौं । इलाहबाद शास्त्रीय संगीत भन्दछौं । संगीतको शक्ति यत्ति अद्भूत छ कि सामान्य अवस्थाबाट पानी पारिदिन्छ । परिरहेको पानीलाई रोकेर घाम उदाउने तुल्याउँछ । शास्त्रीय राग गायनले गराउथ्यो भन्ने मान्यता छ ।

यी सबै सबै बुझाइहरू, मान्यताहरू र तथ्यहरू यो सृष्टिको सकारात्मक स्रोतहरूबाट उत्पादित संगीत हुन् । त्यस्तै गरी हाम्रो नेपाली समाज र नेपाली संगीतको पनि महत्वपूर्ण विषय छ । हाम्रो समाजको आफ्नो मौलिकता छ । त्यहाँ आफ्नै विविधता, रैथानेपन छ । मौलिकताबाट उठेको संगीत र बाह्य संगीतको प्रभावमा सिर्जित संगीतको आ–आफ्नो बिशेषता छन् । नेपाली संगीत बजार सबैखाले अवस्थाबाट अगाडि बढिरहेको छ । यद्यपि नेपाली मौलिकताको प्रभाव नेपाली संगीत बजारले खोजिरहेकै हुन्छ ।

अहिलेको संगीत बजार व्यावसायिक छ । विशेष गरी विश्वको धेरै देशहरूमा नेपालीहरू आफ्नो सीप, क्षमता र कार्यदक्षताअनुसार आफूलाई प्रस्तुत गरिरहेका छन् । आफ्नो देश, आफन्त छोडेर विदेशिनुको मर्म आफैंमा मूल्यवान छ । त्यसले गर्दा पनि विदेशमा हुनु हुने सबै नेपालीहरूमा आफ्नो भाषा, भेषभुषा, कला संस्कृतिप्रति अलि बढी नै चासो चिन्ता माया हुन्छ । त्यसैले गर्दा जुन जुन देशमा नेपालीहरू पुगेका छौँ, त्यहाँ नेपाली सांस्कृतिक सांगीतिक कार्यक्रम अलि बढी नै महत्वका साथ लिने गरिएको छ ।

मेरो आफ्नो सन्दर्भ सांगीतिक जीवनयात्रा २०५५ सालदेखि आरम्भ भएको हो । विदेशमा रहनु भएको दाजुभाइ दिदीबहिनीमाझ पुग्ने अवसरको मेसो मिलेकोचाहिं २०६३ सालदेखि हो । मैले खोटाङ सेरोफेरो समाज मलेसियाले आयोजना गरेको सांगीतिक कार्यक्रम मेरो पहिलो अनुभव थियो । त्यसैपछि हङकङ (२०६८), कुवेत (२०७१), कतार (२०७३)सम्म पुगेर कार्यक्रममा नेपाली गीत प्रस्तुत गर्ने अवसर मिल्यो ।

पछिल्लो पटक २०७९ जेठ पहिलो साता किरात राई यायोक्खा इजरायलको निम्तो मनाउन पुगियो । सन्दर्भ थियो– ‘उभौली साकेला येलेदोङ ५०८२ ।’ सांगीतिक कार्यक्रम साकेला सिलीको माहौलको चर्चा गरिसाध्य छैन । नेपालबाट म (रुपकुमार राई) र गायिका कला राई पुग्यौं । कोभिड महामारीपछिको यो नै पहिलो विदेश यात्रा थियो, मेरो निम्ति । विदेशी भूमिलाई कर्मथलो बनाएर बस्नु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूको भव्य स्वागत पाउनुको गर्व शब्दमा व्यक्त गर्न सकिन्न ।

नेपाली भाषा, कला, संस्कृतिप्रतिको मोह र खातिर अवर्णनीय लाग्छ । हामी कलाकारले स्वदेशमा गरिरहने कार्यक्रमभन्दा विदेशमा हरेक हिसाबले बढी अर्थ रहन्छ । जस्तै, हामीले पाउने माया, सम्मान, मूल्यांकन, अनुभव, ज्ञान जानकारी अमूल्य छ । विदेशमा भएका भौतिक विकासको दृष्टिले व्यवस्थित, सुन्दर, रमणीय, अनुपन दृश्यहरूबाट आनन्द लिने र सिक्ने आधारहरू हुन् । त्यहाँको शासन प्रणाली, समाजको व्यवस्था र अनुशासन देखेर मिल्ने प्रेरणा हुन् ।

दर्शकहरूको माग आफ्नो राष्ट्रियता र मौलिकता बोकेको गीत संगीत नै हुन् । मैले आफ्नो प्रस्तुति यसैमा केन्द्रित गर्ने गरेको छु । मैले अहिलेसम्म लगभग ५०० ओटा गीतहरू रेकर्ड गरिसकें । यी गीतहरूको संकलन, रचना, संगीत, स्वरहरू धेरै जना सर्जकहरूसँग सहकार्य र योगदान छ । यत्तिका धेरै गीतमध्ये थोरैमात्र दर्शक–स्रोताको मागमा पर्ने गरेका छन् । जसमा ‘गुन्द्रुक किनामा’ र ‘राम्साइली’ सर्वाधिक माग हुने गरेको छ । मैले संकलन गरी गाएको अनि तपाईंहरूले गुनगुनाउन मनपराइरहनु भएको ‘राम्साइली’ एक टुक्रा सम्झाउन चाहन्छु :
राम्साइली !
सुरुबुरु लाँकुरीको लँकै पुग्यो जरा
लँकै पुग्यो जरा लै लै
राम्साइली !
यत्ति है राम्री पातलीको लाग्छै माया बर्रा
आऽ है है

राम्साइली !
हिमालै चुली त्यो पल्लोपट्टि सुकी गयो सेउला
सुकी गयो सेउला नि लै लै
राम्साइली !
इतिमा राम्री मायालुको मै त हुँला बेउला

राम्साइली !
असारे मासमा रोपेको केरा कुन महिना पसाउँछ
कुन महिना पसाउँछ लै लै
राम्साइली !
सबैको बैस एकचोटि आउँछ, दुनियाँ हसाउँछ
राम्साइली !
सबैको बैस एकचोटि आउँछ, दुनियाँ हसाउँछ…

यसो त मेरो गायनको जरा भनेकै किराती संस्कृति हो । त्यसैले मैले धेरै धेरै किराती संस्कृतिजन्य गीतहरू गाएको छ । ती गीतहरू दर्शकदीर्घाबाट बढी माग हुने गरेको छ । आफ्नो मौलिक संस्कृति र राष्ट्रियताको भाव बोकेको सृजनाले सँधै उत्साह जगाउँछ । सँधै सँधै संगीतप्रति आभारी बोध हुन्छ ।

देश नेपाल आम नेपालीको हो । एक पटकको नेपाली सधैंको नेपाली । चाहे साकेला गीत गाउँ या देउडा, होरी गाउँ या भोटेसेलो, राजमति गाउँ कि हुर्रा या कौरा, सालैजो, हाक्पारे सबै उस्तै हुन् । स्वाद बेग्लै हुनु फरक हो । ती नेपाली ठेट भाकाहरू हुन् । त्यसैले हामी संगीतकर्मी गायक गायिकाहरूलाई स्वदेशमा मात्र होइन, विदेशमा पनि औधी माया गर्नुहुन्छ । हामीले गाएका गीतहरू गौरवका साथ गाउन लगाउनु हुन्छ । हामी गाउँछौं, देशको माया सम्हालेर । छोटो जिन्दगीमा कत्ति नै पो गाइएको छ र । तैपनि नेपालीपन बोकेकैले स्रोता र दर्शकरूको माया पाउने अवसर जुरिरहेको छ ।

(लेखक रुपकुमार राई गायक संगीतकार तथा खोटाङ कलाकार समाजका अध्यक्ष हुनुहुन्छ । यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ९ अंक १६, पूर्णाङ्क ८९, २०७९ वैशाख–असारमा प्रकाशित छ ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *