कवि गगन राईको मृत्यु चिन्तन कविता- म अकालमा मरें भने

कला साहित्य -संस्कृति

म अकालमा मरें भने

गगन राई

 

कर्कलाको पातमा अडेको पानी जस्तै
भर नभएको मन्छेको जीवन
कुन हावाको झोक्काले
कति बेला झारिदिन्छ
कसैलाई थाहा हुन्न।

मेरी आमा
मेरो खातिर
आँसुको बलिन्द्र धारा झार्दै
पिडाले भरिएको छाती आफैले पिटीपिटी
अनि अभागी आफ्नो निधार
भुइँ र घरका भित्ताहरूमा ठोकीठोकी
डाँको छोडेर
अरुभन्दा बढी रुनु हुँदो हो

मेरो निस्वास मुहार मायाले सुम्सुम्याउँदै
म बिना बाँच्न सक्दिन भन्दै
म सँगै प्राण त्याग्न खोज्नु हुँदो हो

यदि
उहाँ भन्दा पहिले
म अकालमा मरें भने
मेरो बाबा
मेरो खातिर
बेस्सरी रुनुहुँदो हो
तर
मेरी आमाभन्दा केही कम रुनुहुँदो हो
संसार नै यस्तै रहेछ भनी
आफ्नो मन बुझाउनु हुँदो हो
मेरी आमाको जस्तो हालतमा
शायद उहाँ नपर्नु हुँदो हो
मेरो शोकले विह्वल अनि बेहोस् मेरी आमालाई
काखमा राखेर सम्हाल्नु हुँदो हो
म छु नि तिम्रो सहारा भन्दै
सहारा र सहानुभुूति दिनुहुँदो हो
यदि
कलिलै उमेरमा
म अकालमा मरें भने ।

मेरा आफन्त र शुभ चिन्तकहरू
मेरा दुर्लभ तस्बिर अनि भिडियोहरूले
आफ्नो फेसबुकको भित्ताहररू रङ्गाउँदै
मेरो नाममा शब्दका गुच्छाहररू वर्षाउँदै
मलाई श्रद्धान्जली दिंदा हुन्
अनि मेरो शोकाकुल परिवारप्रति
गहिरो समवेदना व्यक्त गर्दा हुन्
यदि
कालै नआई
म अकालमा मरें भने ।

मान्छे मरेर गए पनि
उसको आत्मा मर्दैन अरे
त्यो त अमर हुन्छ अरे

आजसम्म जिउँदा
मैले यही सत्य महसुस गरेको छु
शायद मेरो मृत्युपछि
मेरो आत्मा
मेरी आमालाई नै सम्झेर बढी रुँदी हुन्
किनकि
मेरो मृत्युमा अरुभन्दा बढी रोइदिने
निश्चित छ
त्यो अरु कोही नभएर मेरी आमा नै हुन् ।

मेरो कारण कोही दुखी होउन
अनि कसैको दुःखमा म रमाउँ
अहँ
मेरो आत्माले आजसम्म मानेको छैन
त्यसैले मेरो अभावमा छट्पटी दिनेहरुका लागि
मलाई सम्झेर रोइदिनेहररूका लागि
मेरो आत्मा पक्कै छट्पदाउँदो हो
भक्कानिएर
एक्लै एक्लै रुँदो हो
बिरक्तिएर भौतारिदो हो
साँच्चिकै
केही गरी
म अकालम मरें भने ।

म त सम्झिने छु
र सम्झिरहने छु
मेरो परिवार, छिमेकी, आफन्त अनि साथीसंगीहरू
सुख दुःख बिसाएका ती देउराली, भन्ज्याङ्ग अनि चौतारीहरू
तर
मेरी आमा र मेरो बुवा बाहेक
कसैले दुई चार दिनमै
कसैले दुई चार हप्तामै
अनि कसैले दुई चार महिनामै
मलाई चटक्कै बिर्सेलान्
जसरी घामले छायाँलाई बिर्सन्छ
सुखले दुःख बिर्सन्छ
मुसाफिरले चालेको आफ्नो पाइला बिर्सन्छ
अनि खोलाले बगर बिर्सन्छ
यदि
साँच्चिकै
म अकालमा मरें भने
म अकालमा मरें भने ।

मानेभन्ज्याङ गापा वडा नं.६ हिलेपानी, ओखलढुंगा ।

Leave a Reply

Your email address will not be published.