अन्तर्वार्ता :
त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ बढाउने लक्ष्य छ
प्रा.डा. राजेशकुमार राई
(प्रा.डा. राजेशकुमार राई वि.सं.२०३२ साल श्रावण महिनामा ओखलढुंगाको बलखुमा जन्मिएका हुन् । उनले अस्टे«लियाको डेकिन विश्वविद्यालयबाट वातावरणीय अर्थशास्त्रमा विद्यावारिधि उपाधिप्राप्त गरेका छन् । वन व्यवस्थापन, वातावरणीय सेवाहरूको मूल्यांकन, मिचाहा प्रजाती तथा जलवायु परिवर्तनमा रुचि राख्ने राईको विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा वैज्ञानिक लेखहरू प्रकाशित छन् । नेपाल विद्याभुषण तथा महेन्द्र विद्याभुषणले सुशोभित राई प्राकृतिक श्रोत व्यवस्थापनको परम्परागत ज्ञान तथा प्रविधिमा विशेष रुचीका साथै तिनीहरूको प्रवद्र्धन गर्नु जलवायु परिवर्तन अनुकुलनको लागि भरपर्दो उपाय भएको उल्लेख गर्छन् । त्रिभुवन विश्वविद्यालयले अनुसन्धानात्मक विशिष्टताका आधारमा फास्ट ट्रयाक विधिबाट दुई प्राध्यापक र १६ सह—प्राध्यापकहरू बहाल गरेको छ । तिनै प्राध्यापकमध्ये डा. राई परेका छन् । यही २०७७ मंसिरबाट बल्खुस्थित त्रिवि वनविज्ञान अध्ययन संस्थाको स्कुल अफ फरेस्ट्री एण्ड नेचुरल रिसोर्सेस म्यानेजमेन्टका निर्देशक पदको जिम्मेवारी पाएका प्राध्यापक राईसँग इक लिब्जु–भुम्जुका लागि सम्पादक गणेश वाम्बुले राईले २०७७ पुस १४ गते गरेको शैक्षिक यात्राबारे कुराकानी प्रस्तुत गरिएको छ ।)
डा. साब, तपाईं प्रतिस्पर्धाबाट देश नेपालको जेठो त्रिभुवन विश्वविद्यालयको प्राध्यापक बन्न सफल हुनु भएकोमा बधाई छ ।
धन्यवाद छ ।
विश्वविद्यालयको नियमित प्रक्रियाअनुसार शिक्षण सहायक, उपप्राध्यापक, सहप्राध्यापक भएपछि मात्र प्राध्यापकमा बढुवा हुन पाइन्छ । तपाई लगायत १८ जना विद्वान सिधै सह÷प्राध्यापक बन्न सफल हुनु भयो । खास कुन कुन आधारमा एकैचोटि प्राध्यापक बन्नु भएको हो ?
त्रिभुवन विश्वविद्यालयको कर्मचारी तथा शिक्षक नियमअनुसार छनोटका दुइटा विधि रहेछ । एउटा एउटा खुल्ला प्रतियोगिताबाट र अर्को चाहिं अनुभव र कार्य सम्पादनको आधारमा बढुवा हुँदै जाने रहेछ । खुल्ला प्रतियोगिता भनेर अनुसन्धानात्मक विशिष्टताको आधार रहेछ । जसमा प्रतिस्पर्धिहरूले कति अनुसन्धान गर्नु भएको छ । लेख, रचनाहरू कति छाप्नु भा’छ । त्यसको साथसाथै रिसर्च ग्रान्टहरू ल्याउने र काम गर्ने तथा कार्य अनुभवको आधारमा छनौट गर्ने छुट्टै विनियमावली ल्याइएको रहेछ । यसलाई फास्ट ट्रयाक विधि भनिदो रहेछ । यसअघि एक पटक लिइएको थियो । यो दोस्रो पटक हो । यसमा म पनि परें ।
तपाई विदेशमा रहँदै अनलाइनबाट छनोट हुनुभयो ? यसरी छनौट गरिएको पहिलोचोटि हो ?
यो अनुसन्धानात्मक विशिष्टताका आधारमा प्राध्यापक, सहप्राध्यापक छान्ने नेपाल सरकार र विश्वविद्यालयको नीति रहेछ । त्यो के भने हामी जहिले पनि ब्रेन ड्रेनका कुरा गर्छौं । हाम्रो बौद्धिक शक्तिहरू चाहिं विदेशमा पलायन भयो भनेर कुरा गर्छौं । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले यो बौद्धिक शक्तिलाई कसरी देश फर्काउँने ? भन्ने एउटा अभियानको रूपमा लिएको रहेछ । त्यो भएको हुँदा विदेशमा रहनेहरूलाई प्राथमिकता दिइयो । जसले विभिन्न संघसंस्थाहरूमा अनुभव लिएका छन् । विदेशी विश्वविद्यालयहरूमा अध्ययन, अध्यापन गरेका छन् । यो क्रममा उहाँहरू (त्रिवि)ले हरेक विषयमा तीन जना, चार जना अन्तरवार्ताको लागि छनोट गर्दाखेरी अन्तरवार्ताकै लागि विदेशबाट यहाँ (नेपाल) आउँदा पैसा खर्च होला भन्ने हिसाबले बरु यसलाई प्रविधिलाई प्रयोग गरौं भनेर यसरी अनलाइनबाटै लिने निर्णय गर्नुभएछ । यसको साथै कोभिडको समस्याका वावजुद प्रविधिको पहँुचले यस कार्यलाई सहयोग पुर्याएको देखियो ।
तपाईं त्यतिखेर कहाँ हुनुहुन्थ्यो ?
म त्यतिखेर थाइल्याण्डको बैंककमा थिएँ । म त्यहाँ रेकफ्ट (रिजनल कम्युनिटी फरेस्ट्री ट्रेनिङ सेन्टर)मा कार्यरत थिएँ । त्यसले दक्षिण–पूर्वी एसियाको ६ देश र नेपाल गरी सात देशमा सामुदायिक वन सम्बन्धी नीति, नियम र अनुसन्धान, साथसाथै समूह र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने काममा सहयोग गर्छ । विगत १४ महिनादेखि त्यहाँ कार्यरत थिएँ । मेरो विषय वनविज्ञान हो ।
स्वदेश फर्केर विश्वविद्यालयमा नियुक्ति पत्र लिइसक्नु भयो ?
हजुर नियुक्ति पत्र लिइसकें । त्रिविले अहिले स्कुलहरू भनेर चारवटा स्कुल स्थापना गरेको छ । त्यसमा वनविज्ञान अध्ययन संस्थाको स्कुल अफ फरेस्ट्री एण्ड नेचुरल रिसोर्सेस म्यानेजमेन्ट रहेको छ । यो बल्खुमा रहेको छ । यो स्कुलले मुख्यगरी दुइटा मास्टर्स कोर्स र फरेस्ट्री विषयमै पीएचडी प्रोग्रामलाई पनि संयोजन गर्छ । अहिले म त्यहाँ अध्यापनरत छु । यो स्कुलको निर्देशकको रूपमा पनि काम गर्दैछु । प्राध्यापन, अनुसन्धान र निर्देशन कार्य गर्छु ।
उमेरको हिसाबले ४५ वर्षमै त्रिविमा प्राध्यापक भएर प्रवेश गर्न पाउँदा कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
हामीजस्ता अनुसन्धानमा लाग्ने अनुसन्धानकर्ताहरूको लागि यो एउटा लक्ष्य पनि हो । म यसमा आफूलाई खुशी र भाग्यमानी पनि ठानेको छु । किनभने यही समयमै त्रिवि सेवा आयोगको परीक्षा खुल्यो । दोस्रो कुरा हामीसँग धेरै अपेक्षा आशा राखिएको छ, बाहिर बस्ने र त्रिभुवन विश्वविद्यालय भित्रबाट पनि । यसलाई मैले ठूलो चुनौतीका रूपमा लिएको छु । जिन्दगीमा अहिलेसम्म जति गरियो सफलता हासिल गरियो, यो चाहिं परीक्षाको कसी जस्तो लागेको छ ।
शिक्षा सबैभन्दा महत्वपूर्ण कुरो हो । तपाईंले विद्यावारिधि कुन उमेरमा गर्नुभयो ?
मैले ३६ वर्षको उमेरमा अस्ट्रेलियाको डेकिन विश्वविद्यालयबाट विद्यावारिधि गरें ।
विद्यावारिधिपछि के के काम गर्नुभयो ?
विद्यावारिधि गरेपछि नेपालमै आएँ । इसिमोडको स्यान्डी भन्ने संस्था जसले इनभाइरोनमेन्ट इकोनोमिक्स अनुसन्धानमा काम गर्छ। त्यसमा मैले पोस्ट डक्टरेटको फेलोका रूपमा एक वर्ष काम गरें । त्यसपछि त्यही नै इनभाइरोनमेन्टल इकोनोमिस्टका रूपमा झन्डै पाँच वर्ष काम गरें । इसिमोडले हिन्दकुश हिमालयको आठ वटा देशमा काम गर्छ । त्यसपछि म थाइल्याण्डको बैंकक गएँ ।
शिक्षाको यत्तिका उचाईमा पुग्नुभयो । तपाईको पारिवारिक पृष्ठभूमिबारे जानकारी दिनुहोस् न ।
पुख्र्यौली ओखलढुंगा जिल्ला अहिले सुनकोशी गाउँपालिका वडा नं.१ बलखु साँधीगाउँ हो । साबिक बलखु गाविस थियो । हामी जेरो राई हौं । बुवा साधारण किसान, आमा गृहिणी हुनुहुन्छ । हामीमा सुरुदेखि नै अलि पढ्नु पर्छ है भनेर जोड दिनु भएको थियो। हाम्रो अघिल्लो पुस्तादेखि केही न केही लागी राख्नु भएको थियो । त्यसरी हामी लागी प¥यौं । हामी दुई दाजुभाइमा म कान्छो हो । जेठो दाजु प्रकाशकुमार राई काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कर्मचारी प्रशासन महाशाखा प्रमुख हुनुहुन्छ । चार दिदीबहिनी हुनुहुन्छ । एक जना दिदी युके र बहिनी अस्ट्रेलियामा हुनुहुन्छ । जेठी दिदी भरखरै राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त हुनुभयो । साइँली दिदी स्कुलमा अध्यापन गरिराख्नु भएको छ । बुवा धर्मध्वज राई र आमा धनकुमारी राई हो । बुवा स्वर्गे भइसक्नु भयो । आमा हुनुहुन्छ । मेरो श्रीमती सजिना राई (थुलुङ) हुन् र एकजना छोरा सभ्यध्वज राई आठ वर्ष पुगेको छ । अहिले दुई कक्षामा पढ्दैछ ।
तपाईले विद्यालय तह कहाँ पढेर कति सालमा कुन डिभिजनमा एसएलसी पास गर्नु भयो ?
मैले ओखलढुंगा र रामेछापको सीमाना साँघुटारस्थित हिमगंगा माध्यमिक विद्यालयमा पढें । २०४६ सालको एसएलसी दिएर दोस्रो श्रेणीमा पास गरें।
त्यसपछि कुन क्याम्पस पढ्नु भयो ?
त्यसपछि आईएस्सी र बिएस्सी दुवै त्रिवि वनविज्ञान अध्ययन संस्थान हेटौडामा अध्ययन गरें । बिएस्सीमा वनविज्ञानतर्फ मैले सर्वोत्कृष्ट नतिजा ल्याएँ । मैले महेन्द्र विद्याभूषण ‘ग’ पनि पाएको थिएँ । त्यसपछि केही समय वन क्षेत्रमा काम गरें । चार–पाँच वर्ष काम गरेपछि मास्टर्स पढ्न ईरास्मस मुन्दुस स्कलरसिप पाएँ । युरोपको ६ वटा देशहरूमा अध्ययन गर्ने मौका पाएर त्यहाँ मास्टर्सको अध्ययन गरें । मुख्यतः फिनल्याण्ड र जर्मनीमा पढें । र त्यसपछि त्यहाँ पनि केही समय रिसर्च असिस्टेन्ट भएर काम गरें । त्यसपछि अस्ट्रेलिया गएर पीएचडी गरें ।
तपाईं सरकारी विद्यालयको विद्यार्थी होइन ? अंग्रेजी कसरी छिचोल्नुभयो ?
हो, सरकारी विद्यालयको विद्यार्थी हुँ । अंग्रेजी एक भाषा हो । कमजोर ठान्नु मनोविज्ञान हो जस्तो लाग्छ । अझ भन्ने हो भने दोस्रो भाषा भनेको जहिले पनि गाह्रै हुन्छ । अब हामीले कुनलाई चाहिं दाँज्ने भन्ने हुन्छ । हामी मातृभाषीका रूपमा आएका छौं । आफैंले आफैंलाई सुधार गर्दै लग्ने हो । मुख्य कुरो अभ्यास हो । साधारण ग्रामर ज्ञान हुनैपर्छ । बोल्न अभ्यास हुनुप¥यो । लेख्नु शुद्ध हुनुप¥यो । आत्मविश्वास भयो भने गाह्रो केही हुन्न ।
वनविज्ञान भनेको कस्तो विषय हो ?
वनविज्ञान भनेको वनलाई कसरी उमार्ने, व्यवस्थापन गर्ने र त्यसलाई काटेर उपयोग गर्ने भन्ने सिधा अर्थमा हो । यसका विभिन्न पाटाहरू छन् । वन्यजन्तु संरक्षण, माटो संरक्षणका कुरा छन् । अलिकति अगाडि जाँदा जब व्यवस्थापनको कुराहरू छन् । बजारीकरणको पक्ष छन् । वनका उद्योगका कुरा छन् । त्यतिमात्र नभएर साना–साना काठ जोडेर ठूला काठ बनाउने प्रविधिका कुराहरू छन् । वनले दिने सेवाहरू जस्तै पहिरो नियन्त्रण, पानी सफाई, जलवायु परिवर्तन न्यूनिकरणका आर्थिक पाटाहरू पनि छन् । वनविज्ञान हेर्दा वनैमात्र देखिए पनि यसको एकदमै फराकिलो पाटा छन् ।
यो विषयमा देशभरि कति जनशक्ति हुनुहुन्छ ?
अहिले सरकारी हिसाबले मात्र हेर्दा आठ सय जना जति छ । तर सबैतिर वनका विविध क्षेत्रमा संलग्नलाई हेर्ने हो भने लगभग पाँच हजार जना जति छन् । तर यहाँको उत्पादनहरू नेपालमा मात्रै नभएर संसारभरि नै छ । महत्वपूर्ण कुरो संसारभरिका विभिन्न विश्वविद्यालयमा अनुसन्धानरत, अध्यापनरत हुनुहुन्छ । अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत हुनुहुन्छ ।
तपाईंले कुन–कुन देशमा विषयविज्ञका रूपमा काम गर्नुभयो ?
मैले काम गरेको हिसाबले हेर्दाखेरी दक्षिण एसिया हिन्दुकुश, दक्षिण पूर्वी एसियामा काम गरेको छु । मैले आफ्नो विशेषज्ञताका रूपमा अलिकति अफ्रिकामा पनि काम गरेको छु । मैले अध्ययन गर्दाखेरी रिसर्च एसिस्टेन्टका रूपमा, प्रशिक्षार्थीका रूपमा पनि युरोपको स्विडेन र फिनल्याण्डमा काम गरेको छु । साथै, अस्ट्रेलियामा पनि काम गरेको छु ।
तपाईका इन्टरनेसन जर्नलहरूमा के केति अनुसन्धान लेखहरू छापिएका छन् ?
साइन्टिफिक जर्नलमा पियर रिभ्यु भन्छौं, जसका इम्प्याक्ट फ्याक्टर हुन्छ त्यसमा मेरा तीन दर्जन आर्टिकल प्रकाशित छन् । अरु बुक च्याप्टरहरूमा मैले लेखेको छु । र केही किताब रिसर्च रिपोर्टका रूपमा प्रकाशित छन् ।
हामी नेपालीलाई विदेशमै बस्दा बढी लाभकारी हुन्छ भन्ने सोच्छौं । तर तपाईं नेपालै फर्किनु भयो किन ?
दुइटा पाटो रहेछ, जिन्दगीलाई कसरी हेर्ने भन्ने कुरा । एउटा पाटो भनेको पैसाले डो¥याउँदो रहेछ । अर्को पाटो भनेको जिन्दगीलाई आफूले केही लिइसकेपछि समाजको लागि पनि केही गर्ने भन्ने महत्वपूर्ण हुने रहेछ । मेरो पक्षमा एउटा कुरो सायद जनजातिको छोरो भएकोले पनि होला । भूमिपुत्र भएर पनि होला । त्यो भनेको अलिकति पौरख गरेर खानु पर्ने रहेछ, भूमिपुत्रले । मैले मेरो जिजुबाजेदेखि त्यो कुरा सुन्दै आएको हुँ । र जहिल्यै पनि त्यो कुराबाट उत्प्रेरित भएको छु । अर्को कुरा मेरो समाजबाट पनि म उत्प्रेरित भएको हो । समाजकै लागि केही गर्नुपर्छ । यो आर्थिक पाटो भनेको दोस्रो पाटो हो । समाजलाई केही दिऊँ, जसले गर्दाखेरी हामीले अर्को सन्ततीलाई राम्रो बाटो मिल्न सकोस् । अर्को कुरो जहिले पनि देश बनेन भन्ने तर आफूचाहिं राम्रो खोज्ने ? त्यो भएकोले पनि यहाँ आएर सेवा गर्ने उत्प्रेरणा मिलेको हो ।
शिक्षा भनेको खास के रहेछ, तपाईंको बुझाइमा ?
सानैदेखि शिक्षा भनेको विकासको मेरुदण्ड भनेर सुनियो । तर अहिले बुझ्दै जाँदाखेरी शिक्षा भनेको यस्तो चिज रहेछ कि हामी अहिले जतिसुकै राजनीतिलाई गाली गर्छौं । कर्मचारी प्रशासनमा भ्रष्टाचारका कुरा गर्छौं । यो शिक्षाको जग दह्रो भएन भने यो स्कुलिङ भन्दोरहेछ, त्यो नभइकन केही पनि राम्रो नहुने रहेछ । त्यस कारणले विद्यालयदेखि अझ विश्वविद्यालयमा कस्तो खालको शैक्षिक पद्धति लिने ? विद्यार्थीहरूलाई चाहिं चिट चोर्न अभिप्रेरित गर्छौं कि अथवा होइन मेरो आफ्नो क्षमताले, खुबीले मिहिनेत गरेर म डिग्री हासिल गर्न प्रेरित गर्छु । कस्तो खालको शिक्षा दियौं भने त्यसले अझ राम्रो खालको जनशक्ति उत्पादन हुन्छ । त्यतिमात्र नभएर इमानदारिता पनि त्यो स्कुलिङबाट निर्देशित हुनुपर्छ । त्यसकारण शिक्षाको सुधार सबभन्दा महत्वपूर्ण कुरो हो ।
वर्तमान अवस्थामा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षाको कस्तो अवस्था पाउनु भएको छ ?
हाम्रो शिक्षा पहिलेदेखि धावन्ते खेती घोकन्ते विद्यातिर लगाइयो । त्यो एक समयमा ठीक पनि थियो होला । तर अहिले प्रविधिको समय आइसक्यो । केही घोक्नु पर्दैन । सबैको हातमा मोबाइल छ । डेटा खोलेर गुगल अन गरियो भने मैले चाहेको कुरा जे पनि आउँछ । भनेपछि अब हाम्रो निम्ति शिक्षा भनेको कुरो घोक्नु परेन । त्यो कुरोमा सबैको सहज पहुँच छ । दिमागमा राख्नु परेन । अब हामीले के गर्नु प¥यो भने यो शिक्षालाई उपयोग गर्नका लागि क्षमता, दक्षता, सीप बढाउनु प¥यो । त्यतातिर लाग्नु पर्ने हो । अहिले त्यतातिर अलिकति कम देखिएको छ । विभिन्न कारण छन् । विद्यालय, विश्वविद्यालयमा राजनीति हावी भएको छ । त्यसले गर्दा कहीं न कहीं जेलिराखेको छ ।
त्रिभुवन विश्वविद्यालयमा अब तपाईंको कार्ययोजना कस्तो हुनेछ ?अबको दश वर्षभित्र तपाईं ५५ वर्षको हुनुहुनेछ । ६३ वर्षको हुँदा अवकाश पाउनु हुनेछ । त्यतिन्जेल तपाईं के के गर्नु हुन्छ ? तपाईंको केही तयारी छ ?
प्रथमतः अनुसन्धानात्मक विशिष्टताका आधारमा आएका शिक्षकहरूसँग त्रिभुवन विश्वविद्यालयको आफ्नै अपेक्षा रहेको छ । त्यो अपेक्षा भनेको के हो भने तिमीहरूले लिनेभन्दा पनि दिनेचाहिं बढी गर्नुपर्छ । त्यो पनि हो । किनभने हामी एक किसिमले आर्थिक रूपमा धेरै सुख सुविधा छोडेर आएका छौं । दोस्रो कुरा अघि नै भनिसक्नु भयो, प्राध्यापक बन्न धेरै लामो दूरी तय गर्नु पर्नेमा एक्कैचोटि आएका छौं । त्यो हुनाले अहिले त्रिवि आफैंले देखेको छ कि किन विदेश जान्छन् त हाम्रा विद्यार्थी ? हाम्रो विश्वविद्यालयको शिक्षाको गुणस्तर कुरा एउटा र अर्को चाहिं गुणस्तर राम्रो भएको ठाउँहरूमा पनि र्याङ्किङ चाहिं नभएको अवस्था छ । हामी विश्वको र्याङ्किङमा धेरै पछि छौं । त्यो भएकोले विश्वविद्यालयको र्याङ्किङ बढाउनको लागि मुख्य कुरा यो विश्वविद्यालयहरू अध्यापनमा मात्र सीमित नभई अनुसन्धानमा पनि जानु पर्छ । त्यसो भएकोले हाम्रो मुख्य काम अनुसन्धानलाई कसरी प्राथमिकता राख्ने र बढाउने रहेको छ ।
अनुसन्धान गर्नको लागि फन्ड चाहिन्छ । त्यो नेपाल सरकारबाट मात्र सम्भव देखिन्न । किनभने धेरै ठूलठूला फन्डहरू चाहिन्छ । त्यसका लागि हामीजस्ता विदेशमा विभिन्न संघसंस्थामा काम गरेर आएका मान्छेको छुट्टै नेटवर्किङ हुनसक्छ । र त्यो नेटवर्किङलाई उपयोग गरेर कसरी अनुसन्धान गर्ने, अनुसन्धानको फन्ड मिलाएर अघि बढाउने हो । त्यसले गर्दा विश्वविद्यालयको र्याङ्किङ चाहिं अगाडि आओस् भन्ने एउटा लक्ष्य छ ।
दोस्रो लक्ष्यचाहिं के छ भने हामी अहिले जति अनुसन्धानहरू गर्छौं । एउटा सीमित क्षेत्रभित्र गर्छौं । त्यो भनेको के हो भने मैले वनको क्षेत्रमा काम गरें भने वनकै मात्र अनुसन्धान गर्छु । तर यो वनविज्ञान भन्ने कुरो समाजसँग जोडिएको छ । अहिले देखिएको यो कोरोनाको कालमा वन भन्ने कुरो स्वास्थ्यसँग जोडदिएका छौं । अब हामी इन्टर डिसिप्लिनरी रिसर्च हुनेछ । म अहिले वनविज्ञानमा छु । मेरो रिसर्चको सहयात्री इन्स्टिच्युट अफ मेडिसिन पनि हुनसक्छ । त्यसका साथसाथै हाम्रा जडिबुटीहरू छ । केमेस्ट्री विभाग पनि हुनसक्छ । यसरी अन्तर विभागीय समन्वय बढाएर यस्ता खालका मल्टि डिसिप्लिनरी रिसर्चहरू अगाडि लान सकिन्छ भन्ने छ ।
र अर्को चाहिं तत्कालीन रूपमा मैले वनविज्ञान अध्ययन संस्थान र मेरै स्कुलभित्र गर्नुपर्ने चाहिं विद्यार्थीहरूलाई सकेसम्म धेरै भन्दा धेरै सिप कसरी दिने ? त्यो भनेको हामी रिसर्च गर्नको लागि डेटा कसरी कलेक्सन गर्ने ? त्यसपछि विश्लेषण कसरी राम्ररी गर्ने ? जसले गर्दा उनीहरू आफ्ना थिसिसहरू ठूला जर्नलहरूमा निकाल्न सकुन् । त्यो नै मेरो अहिलेको लागि लक्ष्य हो ।
(प्रस्तुत अन्तर्वावार्ता ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक, वर्ष ७ अंक १०, पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस (किरात येले संवत् ३७९९÷सन् २०२०)बाट पुनःप्रकाशन गरिएको हो । सम्पादक)