कवि सोनाम सज्जन किरातीको रचना : नुनको संघर्षभन्दा महान धरहरा

कला साहित्य -संस्कृति

अर्थतन्त्रको रुखमा गुन्द्रुकको गुनासो

सोनाम सज्जन किराती

 

धरहराको टुप्पोमा
निरन्तर
एउटा अदृश्य
सम्भोगबाट खसेर
शिव पार्वतीको रासलिला उम्रिने छ
सैनिक टुंडिखेल भित्र

र आँकडा हुनेछ
खुलामञ्चमा गुन्जने
मसिना मसिना मानिसहरुको गुनासाहरु
जस परिदृष्यले बोकिरहनेछ
विशाल मनहरुभित्र नभाँचिने खम्बा

तर सरकार
त्यही मसिना मसिना मानिसहरुको
ढाँड भाँचेर
मृत आत्माको भन्दा पनि
आफ्नै अपराधको ढाकछोप गर्न
भगवान भरोसामा रमिरहेछ
एउटा नाङ्गो भष्माशुर

जसलाई जति पटक
भूइँचालोले उखलेर ढाले पनि
उही धरहराको परिकल्पनामा पलाइहाल्दोरहेछ
त्यस्ता भस्माशुरे सरकारहरु

मानिससित नुन छैन
सरकार राजश्व उठाएर
भगवानहरुको मुर्ति निर्माण गर्न
सिंगार्न हतार गर्छ

र आफै घोषित छ
सफल विकास प्रणेतामा गनिन
यसर्थ सरकार तिमीलाई धन्यवाद
कम्तिमा खानलाई नुन नभए पनि
म तिम्रा विकासे
सुनको मूर्ति पुजा गर्ने
महङ्गी भक्तजन त अवश्य परें ।

हलेसी तुवाचुङ नगरपालिका–२, खोटाङ
हाल– काठमाडौं

Leave a Reply

Your email address will not be published.