उपराष्ट्रपति निर्वाचनको मिति घोषणा

मुख्य समाचार राजनीति समाचार

लिभु संवाददाता
काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन २०७४ साल चैत्र ९ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ ।

बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको अध्यक्षता बसेको आयोगको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । यसै गरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

सम्वत् २०७४ साल फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकोले उपराष्ट्रपति पदको लागि उल्लिखित लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्न, गराउन पाइनेछ ।

प्रकाशित निर्वाचन कार्यक्रम अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । चैत्र ९ गते शुक्रबार विहान १० वजे देखि अपरान्ह ३ वजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन आयोगले उपर्राष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्न तयारी शुरु गरिसकेको विर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.