एमबिबिएस भर्नामा मनोमानी शुल्कविरुद्ध विद्यार्थीको विरोध

समाचार

काठमाडौँ ।  एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध ¥याली निकालेका छन् ।

विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बंैक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए । आइओएम क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा सो विरोध ¥याली निकालिएको थियो ।

सो अवसरमा विद्यार्थीले वार्षिक शुल्क, सुरक्षा शुल्क, इन्टरनसीप शुल्कलगायतका शीर्षकमा अतिरिक्त शुल्क असुली गरी विद्यार्थीलाई मनि बंैकका रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

आइओएमका स्ववियु सभापति डा मिलन गैरेले सरकारले निर्धारण गरेकै शुल्कमा नै अन्य शीर्षकका शुल्क समेटिए पनि निजी कलेजले विद्यार्थीसँग विभिन्न शीर्षक थप गरी रकम लिइरहेको आरोप लगाउनुभयो ।

कलेजले अतिरिक्त शुल्क लिइरहेको गुनासो आएपछि आइतबार (आइओएम) ले सूचना जारी गर्दै बढी शुल्क नलिन कलेजलाई ध्यानाकर्षण गराएको छ । आइओएमद्वारा जारी सूचनामा बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरिएको छ ।

सूचना जारी गर्दै आइओएमको डीन कार्यालयले निजी कलेजले अतिरिक्त शुल्क लिन पाउने शीर्षक तोक्दै परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्कमा मात्र थप शुल्क लिन पाउने स्पष्ट पारेको छ । अहिले आइओएमअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस भर्ना चलिरहेकाले कलेजले तोकिएकोभन्दा बढी शुल्क लिइ भर्ना लिइरहेको गुनासो बढेको छ ।

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार लिन पाउने व्यवस्था गरेको छ । आइओएमले सरकारले तोकेको रकममा माथि उल्लेखित तीन शीर्षकबाहेक अन्य शीर्षकमा थप रकम नतिर्न विद्यार्थी र अभिभावकलाई सचेत गराएको हो ।

यसैबीच सोलिडारिटी फर डा केसी अलाइन्सले पनि विज्ञप्ति जारी गर्दै ठगी गर्ने मेडिकल कलेजलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारबाही अघि बढाउन हामी सम्बन्धित निकायसँग माग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.