गुरुको मार्गनिर्देशको सम्झना : साक्षात गुरु विश्वराज ढुंगाना

कला साहित्य -संस्कृति

गुरुपूर्णिमा व्यतीत भएको चौथो दिन गुरुको मार्गनिर्देशको सम्झना
गणेश राई (काठमाडौं)
भरखरै (२०७९ असार २९) गुरुपूर्णिमा तिथि व्यतीत भएको छ । २०४४ सालदेखि गुरु विश्वराज ढुंगानासँग गाँसिएको चेलाको सम्बन्ध यसपालि पनि नविकरण भएको छ । ती ३५ वर्ष आफैंसँग बितेको छ, गुरुको गाढा सम्झना गर्दै । गुरुकै प्रेरणा र मार्गनिर्देशनले यी पंक्तिहरू लेखिनयोग्य लेखक बन्न सफल भएको छु । कसरी ? जिज्ञासा स्वभाविक छ ।

किरात वाम्बुले राई कुलमा जन्मिएको एउटा केटो अहिलेसम्म पनि राम्रोसँग खस नेपाली भाषा (संविधानत: नेपालमा बोलिने मातृभाषाहरू राष्ट्रभाषा भएकाले सबै राष्ट्रभाषा नेपाली भाषा हुन्) पर्गेलेर बोल्न जान्दैनथ्यो । लेख्न झनै जान्दैनथ्यो । त्यो मै थिएँ । वाम्बुले राई मातृभाषा बोल्थें । कामचलाऊ नेपाली बोल्थें । मिलाएर लेख्न जान्दिनँथें । २०४४ सालमा उदयपुरको कटारीस्थित श्री त्रिवेणी माध्यमिक विद्यालय कक्षा ९ मा भर्ना हुनपुगें । मेरो नियमित पढाइ केही वर्ष छुटेको थियो । पढाइको क्रम टुटेको थियो । मैले लय पक्रेर पढ्नै पर्ने प्रतिवद्धतासहित विद्यालय भर्ना भएको थिएँ । सातवटा विषय पढ्नु पथ्र्यो । हामीले नेपाली, अंग्रेजी, गणित, भूगोल, औद्योगिक शिक्षा र इतिहास थिए ।

विद्यालयको नियमित कक्षा छँदै थियो । विश्वराज ढुंगाना सर कक्षामा पस्नासाथ हामी पछाडि बेन्चकाहरूलाई अगाडि बोलाएर बस्न लाउन हुन्थ्यो । थुरथरी हुँदै अगाडि बसिन्थ्यो । मैले मेरो गणित विषय सुधार्न विश्वराज सरसँग ट्युसन पढ्न जाने निधो गरें । किनभने मेरा मिल्ने साथीहरू उहाँसँग पढ्न जान्थे । साथीहरूले म पनि पढ्न आउने भन्नेबारे जानकारी दिएपछि सरले अनुमति दिनुभयो । थोरै ट्युसन फिस तिथ्र्यौ । सर अलि खरोमात्र होइन, मिहिनेत गरेर उहाँको अगाडि उभिन सकिएन भने ‘भोलिपल्टदेखि म कहाँ नआइज’ भनिहाल्नु हुन्थ्यो ।

एक दिन गणितको होमवर्क गर्दैगर्दा भन्नुभयो– ‘ए केटा नेपाली शुद्ध लेख्न आउँदैन कि क्या हो ? लु अबदेखि तेरो गणितमात्र होइन नेपाली पनि शुद्धलेख्न सिकाइ दिन्छु । भोलिदेखि नेपाली पाठ्यपुस्तकको अक्षरहरू दिनको एकपाना सारेर मलाई देखाऊ । पाठमा जे जे लेखिएको छ, त्यसलाई जस्ताको तस्तै सारेर लेऊ । त्यसमा ह्रस्व, दीर्घ, मात्राहरू सुधार हुन्छ । नबुझेको कुरो सोध ।’ गुरुको त्यही मन्त्र अर्थात् गुरुमन्त्रले २०४९ सालदेखि अक्षरखेती गर्ने कदममा निरन्तर छु । प्रसिद्ध साहित्यकार मदनमणि दीक्षित सम्पादक रहनु भएको ‘समीक्षा साप्ताहिक’ पत्रिका वर्ष ३३, अंक ३८, २०४९ असोज २ गते शुक्रबारका दिन ‘म विरक्तिदै छु’ कविता (गणेश दोरङ्चा राई नामबाट) प्रकाशित छ । त्यो नै मेरो प्रथम प्रकाशित रचना थियो ।

वाम्बुले राई भाषा, साहित्यको श्रीवृद्धिमा २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ साहित्यिक त्रैमासिक (हाल– इक लिब्जु–भुम्जु) पत्रिका हालसम्म प्रकाशन/सम्पादक भएर निरन्तर प्रकाशन गर्दै आएको छु । म वाम्बुले भाषा बोल्छु । लेख्छु । छाप्छु । वाम्बुले भाषामा मेरा एक निबन्ध र दुई कवितासंग्रहसहित सातवटा पुस्तक प्रकाशित छन्, जुन वाम्बुले र नेपाली भाषामा छन् । मैले सम्पादन गरेका दर्जनभन्दा बढी किताब प्रकाशित छन् । कान्तिपुर राष्ट्रिय दैनिकमा २०५७ सालदेखि हालसम्म पत्रकार/सवाददाताका रूपमा कार्यरत छु । मैले कान्तिपुर दैनिकमा गुरु विश्वराज ढुंगानाका बारेमा लेखेको छु । गुरुसँगको सामिप्यताबारेमा चाहिं अहिले लेखिरहेको छु ।

यसैपटक पनि मैले गुरु विश्वराज ढुंगाना र उहाँका गुरु आख्यानकार ध्रुवचन्द्र गौतमको भेटबारे लेखेको थिएँ । तर छापिएन । किन छापिएन भनेर सोधिनँ । समाचारकर्म समूहकार्य (टिमवर्क) हो । मैले लेखेको समाचार टिमवर्कभित्रको प्राथमिकतामा परेन होला । मैले लेखेको उक्त समाचार यस्तो थियो ।

५३ वर्षदेखि निरन्तर गुरु–चेला
गुरुपूर्णिको दिन गुरु र चेला भेटघाट गरेर आशिर्वाद लिने र दिने परम्परा छ । त्यो पनि ५३ वर्ष अर्थात् २०२६ सालदेखि । प्रसिद्ध आख्यानकार ध्रुवचन्द्र गौतम गुरु हुन्, जसले त्रिचन्द्र कलेजमा पढाएका चेला हुन् विश्वराज ढुंगाना । त्यही बेलादेखि आज २०७९ असार २९ गते गुरुपूर्णिका दिनसम्म गुरु–चेलाको सम्बन्ध निरन्तर छ ।

यसरी नै गुरुचेलाको निमन्त्रणालाई स्विकार्दै गौतम बुधबार बिहान कपनस्थित चेलाको ढुंगाना निवासमा आइपुगे । हल्का कालो सफारी सूटमा सजिएका थिए गौतम । चेला ढुंगाना सेतो सर्ट, पाइन्ट, जुहारी कोट अनि ढाका टोपीमा थिए । उमेरले १० वर्षका जेठो–कान्छो गुरुचेला दुवैको कपाल सेताम्मे देखिन्थे ।

गुरुका गलामा फूलमाला अर्पेर चेला नतमस्त बने । गुरुले फूलगुच्छा समातेर आशिर्वाद दिए । अनि चेलालाई माला लगाइदिए । अनि स्विकारे चेलाका एक वर्षभित्र प्रकाशित ‘नेपाल दर्शन’ र ‘परलोकको विमर्श’ कृति उपहार । अनि गुरुले आफ्नोबारे लेखिएको ‘ध्रुवचन्द्र गौतम : लेखनयात्राको आठौं दशकको पूर्वसन्ध्या’ कृति उपहार प्रदान गरे । गुरुचेलाबीच अन्तरंग संवाद भयो । भोज ग्रहण गरे ।

‘विश्वराजसँग त्रिचन्द्र कलेजदेखिको सम्बन्ध हो,’ गौतमले भने, ‘उनी एकमात्र चेला जसले सधैं गुरुपूर्णिमाको दिन सम्झिनु हुन्छ । परम्परागत रूपमा गुरुलाई फूलमाला, धूपदीप गरेर गुरुपूजा गर्नुहुन्छ । कोरोनाकालमा समेत फूलमाला पठाइ दिनुहुन्थ्यो । आज पनि उहाँका निवासमा भेट गर्‍यौं ।’ यसैगरी अर्की चेली कवि साबी पहारीले फूलमाला उपहार प्राप्त गरेको गौतमले सुनाए ।

आख्यानकार गौतमको पहिलो उपन्यास ‘अन्त्यपछि’ २०२४ सालमा प्रकाशनमा आएको थियो । त्यसयता हालसम्म ६० वटाभन्दा बढी उपन्यास, कथा र नाटक संग्रह प्रकाशित छन् । ‘गुरुत्वाकर्षण कम भएपनि गुरु मान्नु भएकोमा खुसी लाग्छ,’ आख्यानकार गौतमले भने, ‘गुरु भएको सार्थक लाग्छ ।’

‘गुरुले मलाई मेरा दुई अनुसन्धानात्मक शैलीका कृति प्रकाशन भएकोमा असाध्यै सन्तुष्टि व्यक्त गर्नुभयो,’ ढुंगानाले भने, ‘भविष्यमा कुनै लोकप्रिय पौराणिक ग्रन्थलाई रसिक पाराम प्रस्तुत गर्न सुझाव दिनु भएको छ ।’

६८ वर्षीय ढुंगाना चार दशक शिक्षण पेसा रहेर हाल सेवानिवृत्त हुन् । ढुंगानाको हालैमात्र नवौं कृति ‘परलोकको विमर्श’ सार्वजनिक भएको छ । यसअघि ‘सरल रामायण’ (बालसाहित्य), ‘सरल पञ्चतन्त्र’ (भावानुवाद), ‘पञ्चतन्त्र’ (बालसाहित्य), ‘आमाको कथा’ (खण्डकाव्य), उपहार (उपन्यास), ‘नेपाली मझौला शब्दकोश’, ‘नेपाली सजिलो शब्दकोश’, अंग्रेजीमा ‘एन इलेमेन्ट्री नेपाली–इङ्लिस, इङ्लिस–नेपाली डिक्सनरी’ र ‘नेपाल दर्शन’ कृति प्रकाशित छन् ।

फोटो क्याप्सन :
गुरुपूर्णिको अवसरमा गुरु आख्यानकार ध्रुवचन्द्र गौतम र चेला विश्वराज ढुंगाना बुधबार कपनमा गुरुपूजापछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *