गाउँघरबाट : शुभचन्द्र राई (सुबास)को कथा ‘डुम्फुरे’

कला साहित्य -संस्कृति

गाउँघरबाट : डुम्फुरे

-शुभचन्द्र राई

पिठ्यूको सानो बोराको पोकोलाई नाम्लोसँगै कुनामा फ्यात्त फाल्यो र खुइया सुइसुला मारेर पिंढीमा थचक्कै बस्यो डुम्फुरे । उसले मैलाले कक्रिएको ठाउँठाउँमा फाटेको शिरको ढाका टोपीलाई निकाल्यो र त्यसैलाई रुमाल बनाएर अनुहारको पसिनालाई पुछ्यो । चाउरिएको गाला, टोड्को परेको आँखा, टुसुक्क निस्किएको ध्याब्रे नाक, ओंठमाथि २०, २५ वटा जति सराबरी फुलेको जुङ्गा र चुस्स बोकेदारी, जुगदेखि नमाझेको पहेलो कालो दाँत, बाँस जस्तो लिन्ठिङ्ग सुकेको शरीर साँच्चै डुम्फुरे खेतमा बाँदर तर्साउन बनाएको बुख्याचा झैं देखिन्थ्यो ।

उसले आफ्नो फाटेको झुत्रो इष्टीकोटको बगली छाम्यो र एउटा मैलो थैलो झिक्यो । थैलोबाट पात र सुर्ती झिकेर उ सुल्पा (सुर्ती) बेर्ना थाल्यो । उसले छस्सै सलाई कोर्यो र सुल्पालाई सल्काएर एक लामो कश लियो । धुँवाले सर्केर होला डुम्फुरे एकपल्टप्राण परेर खोक्यो र ख्याक्क गरेर एक लप्रा खकारफ्यात्तै थुक्यो र फेरी सुल्पा तान्न थाल्यो ।

साँझ पर्नै लागेको थियो । घरसुनसान थियो । एक दुएक भएका कुखराहरु बास बस्नका लागि खोर छेउ छाउ प्याँउप्याँउ, पिउँपिउँ गर्दै यताउता गरिरहेका देखिन्थे । घर पछाडी बनाएको सानो छाप्रोमा बाख्रीपाठी कराएको सुनियो म्यायायाक् म्यायायक्..।

दिनभरी कामको खोजीमा बजार चाहारेर भोकै र रित्तै घर फर्केको डुम्फुरेलाई घरको वातावरण देखेरदिक्क लाग्यो । ऊ जुरुक्कै उठ्यो र यताउता गर्दै गनगनाउन थाल्यो । होइन घरका सब कहाँ मरेछन् हँ ? उ पिंढीबाटै लेघ्रो तानेर करायो –‘ए सन्तेकी आमा….? सन्तेकी आमा … ।?’

पल्लो घरकी सेतेकी आमा आँगनमा निस्किन् र बोलिन् –‘सन्तेकी आमा त सिरान टोल धामी कहाँ पो गएकी छिन् है काइला । खै अघि बेलुकादेखि प्यान्चीलाई के लाग्यो लाग्यो । फत्रक फत्रक भईन् भन्दै थिइन् ।’डुम्फुरे झसङ्ग भयो । उसले नमिठो मुख बनाउदै‘ए….।’ भनेर लामो लेघ्रो तान्यो । ‘अनि सन्ते, चुर्सी, मैना चाँहि कता गए त भाउजु, एउटै छैनन् त घरमा…?’डुम्फुरे गनगनायो । ‘खै सन्ते त तिमी हिड्न साथ घरबाट हिडेका रे आएकै छैन भन्थी काइली …, अरु चाँहि कता लागे कोनी ? अघि सम्म त घरमै पो थिए हौ…..।’सेतेकी आमाले डुम्फुरेलाई बेली बिस्तार लगाइन् ।

त्यसैबेला चुर्सी र मैना आइपुगे । खोल्छी धारामा पानी लिन गएका रहेछन् । करिब ९ बर्षकी चुर्सी र ७ बर्षकी प्यान्ची आफ्नो क्षमता र ओजन भन्दा गह्रौ सिलबरे गाग्रो र प्लाष्टिकको जर्किनमा सकिनसकी पानी लिएर आएका थिए ।

‘दाजु खोई चुर्सी ?’ डुम्फुरे कुर्ले ।

‘दाजु त खै कता गए कोनी आएकै छैनन् ।’ चुर्सीले सोझो जवाफ दिइन् ।

डुम्फुरेलाई सनन रिस उठ्यो, उ गनगनाउँदै हुत्तिएर घरभित्र पस्यो र चुलामा आगो फुक्न थाल्यो । झमक्कै अँध्यारो भैसकेको थियो । भर्खरै कामबाट आइपुगेको, भोक र थकाइले पनि उसलाई त्यत्तिकै सताएको थियो तर पनि समस्या आइलागे पछि भोक थकाई भन्न पाइएन, उ छोरीहरुलाई भात भान्साको बन्दोबस्त मिलाउन अह्राउँदै झुप्रो घरको पछाडि बनाएको छाप्रो तर्फ लाग्यो । माईला साहुले अधियामा पाल्न दिएको एउटी पठ्याङग्री कराएर मर्न लागेको रहेछ । डुम्फुरेले नजिकै राखेको डाले घाँस हालिदिए । त्यत्ति नै बेला सन्ते देखा पर्यो । डुम्फुरेको पारो एक्कासी १०७ डिग्रीमा पुग्यो ।

‘तेरीमा छाडा तेरो घर आउने बेला बल्ल भयो …?’ डुम्फुरेले टाढैबाट लौरोको झट्टी हान्यो सन्तेलाई । लौरो सन्तेको खप्परमै गएर बज्रियो । ऊ हुरुक्कै भयो । डुम्फुरेको रिसै मरेन । उसले अझै गएर सन्तेलाई ३, ४ सिर्कना बजायो । सन्ते रुँदै लडिबडी गर्न थाल्यो । सधै कामबाट ढीला आउने बाउ आज पनि राती मात्र आउलान् भनेर अबेला सम्म साथीहरुसँग भकुण्डो खेलेर फर्केको सन्तेलाई शनिग्रहले छोयो । उसको अनुमानले फेल खायो । बाउ त दिउसै पो आइपुगेछन् र उसले यो दशा भोग्नु पर्यो ।

नानीलाई ढाँडमा तौलियाले बेरेर हातमा एक मुठा साग लिइ आइपुगिन् सन्तेकी आमा चमेली पनि । डुम्फुरेको पारा केही कम भयो । ‘पेन्चीलई अहिलेकस्तो छ हँ?’ उसले हत्तपत्त प्रश्न तेर्साए ।

‘खै अघि पाठीलाई यसो एकमुठा डालेघाँस ल्याईदिन पर्यो भनेर नानीलाई च्यापेर त्यो साझे जङगलतिर गएकी थिएँ त्यहींको वायू लागेछ । माथि तल भईहाली । धामीले फुकेपछि भने मसक्कै निदाईन् अब ठीक हुन्छ होला, होइन त्यो ठाउँको वायु त कस्तो छत्छत्तीको हौं । झन्डै मार्यो मेरी छोरीलाई ।’ चमेली फत्फताईन ।

साँझको भात भान्सा सकियो । केटाकेटी सबै भात खाएर सुते । सन्तेले कुटाई खाएकोले होला अलि कम भात खायो । बूढाबूढी घरको टाकानटुकुन सकेर गफ गर्न थाले ।

‘अनि आज त बेलामै कामबाट फर्केछौं । केही काम पाएनौ कि के हो ? घरमा चामल, दाल नून, तेल सबै सकिनै लागेको छ । सकिए पछि सबै एकैचोटी सकिन्छ । सन्तेकी आमाले रसाएको आँखाले बुढालाई पुलुक्कै हेर्दै घरको समस्या पोखिन् ।

‘खै सन्तेकी आमा यो कोरोना र लकडाउनले त हामी जस्तो गरिबलाई जिउदै मार्ने भयो । सहर बजारमा सबै साहुमहाजनको पनि बिजोगै देख्छु । दोकानहरु बन्दका बन्दछन् । खोले पनि किन्ने मान्छे छैनन् । सबै व्यापार व्यवसाय चौपट भएको छ । यस्तो बेला काम पनि कहाँ पाउनु ? कस्ले काम दिने ? हामी जस्तो भरियाहरु बजार गयो नाम्लो बोकेर दिनभरी बजारको चौतार रुँघ्यो । कसैले बोलाईहाले आनासुकी भईपनि हाल्छ नत्र बेलुका खालीपेट, रित्तो हात घरफक्र्यो । पुलिसले भेटे लकडाउनको बेला कहाँ हिडिस् भनेर कुकुरलाई झै भाटाले खेद्छन्यस्तै नै रैछ हाम्रो जिन्दगी….थुक्क यस्तो जिन्दगी…।’ सन्तेको बाउँ डुम्फुरे केटाकेटी जस्तै घुक्क घुक्क रुन थाल्यो ।

आफ्नो लोग्ने रुएको देखेर सन्तेकी आमा चमेलीले पनि मन थाम्न सकिनन् ‘अब त हामी जस्तो गरिब गुरुवाले त भातै खान नपाईने भयो… कसरी बाँच्ने त ?’ उनी पनि लोग्नेसँगै सुकसुक रुन थालिन् ।‘आज एकजना साहुको आलुको बोरा गोदामबाट पसलसम्म लागि दिएको सयरुपे दिएको थियो त्यै पैसाले ४ किलो सस्तो दामको चामल ल्याएको छु । यसले पनि दुईतीन छाक त टर्छ । आज त एक गिलास रक्सी खाने पैसा पनि भएन ।

पसलमा सबै सामानको भाउ बढेर छोईसक्नु छैन । नुन, तेल, आलु, लसुन प्याज, टमटर, अदुवा सबैको मूल्य आकाशिएको छ । हामी जस्तो गरिबले त किन्ने हैन हेर्ने मात्र हो । त्यै पनि काम पाए त अलिलि पैसा हुन्थ्यो महँगै भएपनि एकदुई छाक आँत मार्न त पाईन्थ्यो तर काम नै नपाएपछि अब भोकै बस्नु बाहेक हामीलाई कस्ले दिन्छ, ?कस्ले हेर्छ ? हामी गरिबको लागि सरखार त छैन, छैन । भगवान पनि रैन छ नत्र यस्तो दुःखमा त हेर्नु पर्ने हो ? डुम्फुरेले दाहिने हातले स्याप्पै आँशु पुछे ।

‘त्यो सार्केकी बुढी रामकली सुत्केरी भएछिन् हिजो मात्र । छोरो पाईन् रे । घरमा खाने अन्नको दाना छैन रे । तिमीजस्तै सार्केले पनि काम नपाएको महिनौ भयो रे । बिचरा घर निमार्णमा लेबरकाम गर्थे अहिले ठेकेदारले काम नै छैन भन्छ रे । हामी गरिबलाई ऋण पनि कसले पत्त्याउछ र ? सबैको अवस्था त्यस्तै हो । छरछिमेकी मिलेर माना मुठी उठाएर केही चामलर एकरुपे दुइरुपे जम्मा पारेर अलिकति नूनभुटन र एउटा कुखुरा किनिदिए रे । आपतको बेला गरिब नै गरिबको सहारा बन्ने रैछ । तिमीले चामल ल्याएछौ एक किलो जति दिनु पर्छ है रामकलीलाई ।’ सन्तेकी आमा चमेलीले आफ्नो अवस्था जस्तो भएपनि रामकली प्रति सहनुभूति पोखिन् ।

‘ए… सार्के फेरी बाउ बनेछ ? खै सहयोग त गर्नुपथ्र्यो नि । त्यसले पनि तँ सुत्केरीहुँदा एक सेर रक्सी र एउटा कुखुरा किनेर ल्याईदिएको गुन कहाँ बिर्सेको छु र ? त्यतिबेला त त्यो पनि कमाउथ्यो म पनि कमाउथे । खै अहिले यस्तो बेहाल छ । हुन्छ घरमा जे छ त्यहि लगिदिनु ।’ डुम्फुरेले अमिलो मन बनायो ।

प्रधानमन्त्रीज्यूले देशमा जनताको सरकार छ कोही नेपाली भोकै बस्न पर्दैन, भोकले मर्न दिंदैनभन्थे । जनताको घरमा चामल सकिए कार्यकर्ताहरु बोरामा चामल बोकेर घरमै आईपुग्छ भन्थे । जेष्ठ नागरिकहरुको हातमै ट्याक्कै पाँचहजार बृद्ध भत्ता आउछ भन्थे । सिलिण्डर बोकेर ग्याँसको लाईनमा उभिन पर्दैन घरमै पाईपबाट ग्याँस आउछ भन्थे । डिजेल पेट्रोलले चल्ने धुँवा उडाउने गाडी हैन अब देशमा धुँवा रहित बिजुलीबाट सलल चल्ने गाडी गुड्छ भन्थे ।

केरुङ देखि रेल सलल कुदेर पोखरा कुश्माहुँदै बेनी पुग्छ । कुश्मामा त रेल स्टेशन नै हुन्छ भन्थे । नेपालको पानी जहाज नेपाली झण्डा फरफराएर समुन्द्रमा सलल कुद्छ भन्थे। समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लेखेर काठमाण्डौको बिजुलीको पोलैभरी प्रधानमन्त्रीज्यूको फोटो टाँसेर रातरात देश विकास भयो भन्थे तर डुम्फुरे र सार्केहरुले यसबारे कहिल्यै थाहा पाएनन् । उनीहरुलाई यस बारे चासो पनि भएन, रहेन । किनकी उनीहरुलाई त डोको नाम्लोले कहिल्यै छोडेन । बिहान खाए बेलुका के खाउँ ? बेलुका खाए बिहानको छाक कसरी टारौ भन्ने चिन्तामै उनीहरुको जिन्दगी सकिन लाग्यो ।

हेर्दाहेर्दै जङ्गल पसेका नेताहरु सहर पसे । स्याप्पै भुँडी सुकेका ख्याउटे मरन्च्याँसे नेताहरुको भुँडी पुटुस्सै उक्सिएर खाईलाग्दो भयो । हात्ती छाप चप्पल लगाएर लुखुर लुखुर हिड्ने नेताहरु टाईसुट लगाएर चिल्ला गाडीम गुड्ने भए । देख्दा देख्दै गाउँमा बुकुरो घर भएका नेताहरुको सहरमा आलिशान बंगलाहरु ठडिए । कहिले काही ढीडो र गुन्द्रुक पनि नजुर्ने नेताहरुको खाने टेबलमा मार्सी चामल र कुखुराको साप्रा, खसीको सुरुवा सजियो तर चमेली र रामकलीहरुले सुत्केरीहुँदा पनि गुन्द्रुकको झोल समेत खान पाएनन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट जनतालाई जोगाउने नाममा बिना तयारी, बिना योजना हतारमा सरकारले मुलुकलाई लकडाउनको घोषणा गर्यो । केही दिन त सबैलाई काम गर्दागर्दा थकित ज्यान बिसाउन पाएकोमा हुनसम्मको मज्जा र आनन्द नै आयो । तर लकडाउन दिन, हप्ता, हुँदै महिना पुगेपछि डुम्फुरे र सार्केहरुको घरमा रासनपानी सकिंदै गयो र उनीहरुको छटपटी बढ्दै गयो । यसबिच सरकारले करोडौको राहत बाँडेको खर्चको हिसाब निकाल्यो तर त्यो राहत ककस्ले पाए कोनी यता चमेली र रामकलीहरु चै भोकै थिए ।

कोरोनाबाट जनतालाई बचाउने सरकारको कर्तव्य थियो । लकडाउन गर्न ठीकै थियो होला । मासिक सरकारी तलब थाप्नेहरुलाई त लकडाउन सारै गजब भयो पनि । तर डुम्फुरे र सार्केहरुजस्तो दिनभरी काम गरेर हातमुख जोर्नेहरुको लागि भने लकडाउन काल बन्यो । चमेली र रामकलीहरु भोकै बस्न पर्दा सरकारको मन पटक्कै दुखेन । सायद संसारकै उत्कृष्ट जनताको सरकारको नमूना होला यो ।

यता जनता कोरोनाले, रोगले,भोकले मर्दै छन् उता सरकार करोडौ, अरबौको भ्रष्टचार गर्ने र गर्नेहरुलाई जोगाउने खेलमा व्यस्त भेटियो । यता लकडाउनले शिक्षा, स्वास्थ्य, यातायात, व्यापार, व्यवसाय, उद्योग कलकारखानाहरु चौपट छन् उता नेताहरु कुर्सी पद र पैसाकाो बार्गेनिङमा व्यस्त देखियो । यसैलाई भनेको होला समृद्ध नेपाल, सुखी नेपाली ।

‘भोली त अलि झिसमिसे मै हिड्नु पर्यो । बिहान बा केही काम पाईहालिन्छ कि ? भोली काम पाएँ भने चै आधा किलो जति सुँगुरको मासुपनि ल्याउनु पर्यो केटाकेटीले मासु नखाएको पनि धेरै भयो ।

मस्यौरासँग मिसाएर पकाउनु पर्छ सबैलाई पुगिहाल्छ । त्यो सार्केको जहानलाई पनि चार दाना जति कुखुराको फुल ल्याईदिनु पर्यो । पैसाले पुगे अलिकति तेल र चामल पनि ल्याउछु ।’ डुम्फुरेले भोलीको मिठो सपना बुन्यो र आफ्नो योजना स्वास्नी चमेलीलाई सुनायो । लोग्नेको कुरा सुनेर चमेलीको रुन्चे अनुहार पनि उज्योलो भयो ।

आखिर गरिबले पनि सपना त देख्न पाउछ नि ।…‘लु सुतौ अब ।’ डुम्फुरेले जिउ तन्काउदै लामो हाई काढ्यो । रात बिस्तारै छिपिंदै थियो । टाढा कतै कुकुर रुएको बिरहीलो आवाज आयो उहुउँउँ…….। उहुउँउ……।।

धरान, सुनसरी
२०७७ साल

Leave a Reply

Your email address will not be published.