शुभचन्द्र राई (सुबास)को कथा : स्थानीय चुनाव

कला साहित्य -संस्कृति

कथा : स्थानीय चुनाव

शुभचन्द्र राई (सुबास)

टन्टलापुर घाम लागिरहेछ । उखरमौलो गर्मीले रूखबिरूवामा पातहरू पनि ओइलाएका छन् । पर बरको झ्याङभित्र कोइलीचरी कुहुऽ कुहुऽ गरेर कराइरहेछ । असाध्य गर्मी भएर होला कोइली चरीको त्यो मधुर आवाज पनि झन्झट लाग्दो सुनिंदैछ । हावा फिटिक्क चलेको छैन ।

घरको बरण्डामा राखिएको थोत्रो खाटमाथि पल्टिएर ओल्टयाङ्ग, पल्टयाङ्ग गर्दै निदाउने प्रयास गर्दैछ भद्रबहादुर बूढा । ऊ कहिले हातमा लिएको टोपीले आपैmलाई हम्किन्छ । कहिले मुखलाई बंग्याएर हावा बोलाउँछ । हावा भने बेपत्तैछ । झारको एउटा पात पनि हल्लिएको छैन । बूढालाई झिंगाले पनि उत्तिकै दुःख दिदैछन् ।

“हत्तेरी कत्तिसारो गर्मी भएको हौ आज ? होन पुर्परोमा आगो नै पो बल्ला जस्तो छ राम..। राम.. । राम..। गन्गनाउँदै भद्रबहादुर खाटबाट जुरूक्कै उठे ।

समय त्यस्तै दिनको २ बजेको हुँदो हो । परिवारका सबै सदस्यहरू आ–आफ्नो काममा गैसकेका छन् । बूढाकी श्रीमती मनमाया गाेंठमा गाई भैसीको भकारो सोहोर्दै थिइन् । बूढा उठेर खाटमै टुक्रुक्कै बसे र आलस्यपूर्ण एक लामो हाई काढे । अनि गोजीबाट पातमा बेह्रेको ठुटा सुल्पा निकालेर सल्काएर लामो लामो कस लिन थाल्यो । बूढाका नाकदेखि निस्केका सुल्पाको धुँवाले वातावरण कुइरिमण्डल भयो । त्यसै बेला माथि सिरानटोल तेर्सो मानिसहरू कराएको, नाराहरू लगाएको आवाज सुनियो । आवाज अस्पष्ट थियो त्यसैले भद्रबहादुर बुढा घरमाथिको डिलमा निस्किएर त्यो आवाज राम्ररी ठिम्याउने कोशिर गरे ।

नेपाली कांग्रेस – जिन्दावाद ।
भोट कसलाई – नेपाली कांग्रेसलाई
भोट केमा – रूखमा ।

चारतारे झण्डा बोकेका एक हुल मानिसहरू बडो जोससँग नारा लगाउँदै तेर्सो लागिरहेका थिए । लस्करका अगाडि युवाहरू बुरूक्क, बुरूक्क उफ्रँदै चिच्च्याइरहेका थिए । तिनीहरूलाई पटक्कै गर्मी भएको थिएन ।

हल्ला सुनेर मनमाया पनि बूढाकै छेउमा आइपुगिन् । उनी पनि जुलुसलाई ठिम्याउने प्रयास गर्दै थिइन् । निधारको पसिना पुछ्दै भद्रबहादुर बूढा बोले – “राम.. राम.. राम..। यस्तो उखर्मौलो गर्मीमा कसरी सकेका होलान् चिच्च्याउँदै हिड्न यिनीहरू ?”

“ए बूढा । हेर त.. । हेर त.. । ऊ त्यो अगाडि माथि माथिसम्म हात उठाएर नारा लगाउने चतुरे होइन ?” बुढीको कुरा सुुनेर बूढाले राम्ररी ठिम्याउँदै बोले – “हो क्यार.. हो । हो । चतुरे नै हो ।”

“हेर दइचिउरे मोरा । यस्ताले पनि के राजनीति गर्छन् ? हिजोसम्म राप्रपामा हिड्दै थियो । अब राप्रपामा घिच्नु पाएन होला फेरि कांगे्रस भएछ आजदेखि । थुइक्क मोरा ।” मनमायाले टाढै भएपनि जुलुशतर्फ फर्केर धारेहात गर्दै पिचिक्क थुकिन् र नराम्रो गरी मुख बिगारिन् ।

“यो सब कमजोरी पार्टी र नेताहरूकै हो । पार्टीले योग्य, सक्षम, इमान्दार उम्मेद्वारहरूलाई चुनावमा उठाएको भए जनतालाई घुस खुवाउँदै किन हिंड्नु पथ्र्यो ? जसले चाकरी चाप्लुसी ग¥यो त्यसैलाई टिकट दियो, इमान्दार कार्यकर्ताहरूको दुई पैसाको मोल छैन । अनि पनि यस्तो हालत हुँदैन त पार्टीहरूको ? चतुरेले ठीक ग¥यो । यिनीहरूको सस्तो पैसा त खाइदिनै पर्छ । खै भेट्टाए त म पनि पो खान्थें हौ ।” भद्रबहादुर बूढाले राजनीतिक विष्लेषण गर्दै रोष प्रकट गरे । त्यसैबेला पुछार टोलको गल्लीमा पनि कोलाहल र माइक बजेको आवाज सुनियो । भद्रबहादुर बूढा र मानमायाले आफ्नो ध्यान त्यतैतिर आकर्षित गरे ।

नेकपा एमाले – जिन्दावाद ।
रातोघाम – लालसलाम ।
भोट केमा – सूर्यमा ।
भोटकसलाई – नेकपा एमालेलाई ।

एक लस्कर मानिस जोडजोडले नारा लगाउँदै अगाडि बढिरहेका थिए । हँसिया हथौडा अंकित रातो झण्डा, नेकपा एमालेको चुनाव चिन्ह घाम अंकित रातो झण्डा बोकेका जोशिला युवाहरूले त्यो तालुसेक्ने मध्यदिनको घाममा बडो जोसका साथ नारा लगाइरहेका थिए । माइकबाट उम्मेद्वारको नाम लिएर आकाश पाताल जोड्दै भोट माग्दै युवाहरू अगाडि बढिरहेका थिए । त्यो दृष्य साँच्चै रमाइलो थियो । घामले आपूmहरूलाई पोलिरहेको कुरालाई पनि बिर्सेर बूढाबुढी कहिले कांग्रेसको त कहिले नेकपा एमालेको जुलुसहरूलाई हेरिरहेका थिए । दुबै पार्टीको जुलुस बतासे डाँडामा पुगेर आमसभामा परिणत हुनु पर्ने थियो । भद्रबहादुर बूढालाई पनि के जोस चल्यो कुन्नि हत्तपत्त तल पिंढीमा झ¥यो । भित्तामा झुण्ड्याएर राखेको थोत्रो इस्टकोट लगायो । टोपी टाउकोमा राम्ररी मिलायो र स्वास्नीलाई एक बटुको जाँड मागेर स्वाट्टै पारी, हात पछाडि बाँधेर बतासे डाँडातिर लागे ।

बतासे डाँडामा जोडजोडले एकजना नेता माइकबाट भाषण गर्दै थियो । गाउँका केही मानिसहरू यत्रतत्र छरिएर भाषण सुन्दै थिए । भद्रबहादुर बूढा पनि आमसभा स्थलमा पुगे । आमसभा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी रहेछ ।

“आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू, एमाले, कांग्रेस पार्टी भनेका जनतालाई ढाँटेर छलेर भोट माग्ने पार्टीहरू हुन् । कांग्रेसको सरकार हुँदा कांग्रेसले देशको कोशी गण्डकी महाकाली नदी भारतलाई बेचेर देशलाई अन्तरघात ग¥यो । त्यसैले कांग्रेस भनेको अराष्ट्रिय पार्टी हो । त्यस्तै संसारमा हराउँदै गएको अवस्थामा नेपालमा पलाउँदै गएको नेकपा एमाले वास्तवमा कम्निस्ट पार्टी होइन । कम निष्ठ भएको पार्टी हो । धोकेबाज र ढाँट पार्टी हो । जनतालाई सपना बाँड्ने पार्टी हो । त्यसैले यो स्थानीय चुनावमा एमाले र कांग्रेसलाई भुलेर पनि भोट नदिनुहोला । राप्रापाको हलो चुनाव चिन्हमा आफ्नो अमूल्य मत दिनु होला । किनभने हलो भनेको किसानको चिन्ह हो । किसानको पार्टी हो ।” आफ्नो पार्टीको नीति र कार्यक्रमभन्दा बिपक्षी पार्टीलाई लान्छना र गाली गरेर राप्रपाको नेताले आफ्नो भाषण सके । त्यसैबेला एमाले र कांग्रेसको जुलुश पनि आमसभा स्थलमा आइपुग्यो ।

दुबै पार्टीको आमसभा शुरू भयो । कांग्रेसका नेताले भन्दै थिए राप्रपा भनेको पुनरउत्थानवादी शक्ति हो यो पंचायतको नविकरण हो । शोषक सामन्त भ्रष्टहरूको पार्टी हो । त्यस्तै एमाले भनेको कम्युनि२ट होइन षड्यन्त्रकारी र प्रजातन्त्र विरोधी पार्टी हो यी पार्टीहरूलाई झुक्किएर पनि भोट दिनु हुँदैन ।

उता कम्युनिस्ट नेता कुर्लँदै थिए । कांग्रेस भनेको देश बेचुवा पार्टी हो । कांग्रेस भारतबाट संचालित छ । यो पार्टीले देशको नदीनालाहरू बेचेरमात्र चित्त बुझाएन । यो पार्टीले टनकपुर बेच्यो । मेचीको सिमानामा रहेको नेपाली भू–भाग भारतलाई बेच्यो । यस्तो पार्टीलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरोले हान्नु हो । त्यस्तै राप्रपा भनेको मण्डले कुण्डलेहरूको पार्टी हो । यो पार्टीलाई भोट दिनु पुनः तीसवर्षे पंचायती कालरात्रिलाई निम्त्याउनु हो । त्यसैले आदरणीय जनसमुदाय नेकपा एमालेको सूर्य चिन्हमा तपाईको अमूल्य मत खस्न जरूरी छ किनभने एमाले भनेको एकमात्र जनताको पार्टी हो । विकासको ढोका खोल्ने पार्टी हो । लाल सलाम ।

कार्यकर्ताहरू आ–आफ्नो नेताको भाषणको बिचबिचमा पुङनपुछर ताली बजाइरहेका थिए । पार्टी नेताहरू एक आपसमा नीतिगत तर्कभन्दा व्यक्तिगत लान्छना लगाएर हिलो छेपाछेप, गाँड कोराकोर, कट्टु फुकालाफुकाल गर्दै थिए ।

नेताहरूको भाषण सुनेर भद्रबहादुर बूढा अचम्मै परे । यी नेताहरूले यसरी एकापसमा गाँड कोराकोर फोराफोर नगरेर आ–आफ्ना कार्यक्रम प्रस्तुत गरेर जनतासामु भोट मागे भोट पाउदैनन् र ? एउटा पार्टीले अर्को पार्टीलाई होच्याउँदैमा, गाली गर्दैमा आरोप प्रत्यारोप लगाउँदैमा बढी भोेट आउँछ र ? आखिर प्रजातन्त्र आएको छ जो कोहीलाई कुनै पार्टीमा लाग्ने मौलिक अधिकार छ । तर एउटै गाउँमा एउटै ठाउँमा बसेर यसरी तलै झरेर गाली गरागर गर्नु कत्ति सम्म ठीक हो ? भद्रबहादुर बूढा यिनै कुराहरू सोच्दै घरतिर लागे । देशका जल्दाबल्दा यी पार्टीहरूमध्ये कुन पार्टीलाई भोट लगाउने हुन् जनताहरू ? भद्रबहादुर बूढाले विचार गर्दै छ । हेरौ बूढाले पनि कुन पार्टीलाई भोट हाल्ने हुन् यो स्थानीय चुनावमा ।

(यो कथा प्रजातन्त्रकालमा रचना गरिएको र धरानबाट प्रकाशित विजयपुर साप्ताहिक २०५४ जेठ २ गते प्रकाशनमा आएको थियो । सो कथालाई २०७९ वैशाख ३० गते हुन गइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो स्थानीय निर्वाचन सान्दिर्भक भएको हुँदा पुनः प्रकाशन गरिएको छ । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *